शब्दद्वारा परिभाषित गर्नुपर्दा गीत भनेको मानव मनको अन्तरआत्मादेखि प्रष्फुटन हुने कोमल भावना हो अर्थात मनको सुन्दर सशक्त र शक्तिशाली अभिव्यक्ति हो । नेपाली बृहत् शाब्दकोषले गीतलाई यसरी परिभाषा गरेको छ – गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्य-रचना गाना गान ने.रा.प्र.प्र. नेपाली बृहत् शब्दकोष २०४० पृ.३४० । यस परिभाषाले पनि गीतका दुई महत्वपूर्ण विशेषताहरू – लयात्मक र सुललितलाई औंल्याएको छ । सङ्गीतवद्ध गरेर गीतलाई गाउँदा जुन स्वर दिइन्छ त्यो लयात्मक हुनु पर्दछ र गीत सुन्दा सबैले बुझ्न सक्ने सरल अर्थात सुललित हुनुपर्दछ । त्यसरी गाइएको गीतले मानिसको मनमा आनन्द दिनुको साथसाथै उसको हृदयलाई समेत झङ्कृत पार्दछ । गीतले मानिसको मनमा गहिरो प्रभाव पर्ने हुनाले नै गीतलाई भावनाको सुन्दरतम् अभिव्यक्ति भनिएको हो । किनकि गीतले मानिसको भित्री भावना बोलेको हुन्छ । उसको मनको कोमल भाव गीत बनेर उसकै ओठबाट निस्किएको हुन्छ । गीतका शब्द-शब्दमा रहेको मार्मिक अर्थभावले गीतलाई बढी सार्थक तुल्याउँछ । गीतको शब्दलाई स्वर र सङ्गीतले प्राण संचार गरिदिएपछि मात्र गीत हृदयस्पर्षी बन्छ र गीत सुन्नेलाई आनन्द प्रदान गर्दछ । जुन गीत सुन्दा मानिसको मनमा आनन्द आउँदै र उसको दुःख-सुखमा साथ दिँदैन भने त्यस्तो गीतको कुनै अर्थ रहँदैन । सङ्गीत र लय अर्थात मीठो स्वरले गीतलाई जिवन्तता प्रदान गर्दछ । भनाइको अर्थ गीतको शब्द सङ्गीत र स्वर तिनवटै कुराको संयोजन विशिष्ट हुनु अनिवार्य छ । किनकि गीतको शब्दलाई गायकको स्वरले र सङ्गीतको मीठो धुनले गीत सुमधुर सुललित र सुस्वादको बनाउँछ । त्यसरी सिर्जित गीत जति सुने पनि मन तृप्त हुँदैन र सधैंसधेै सुनिरहुँ लाग्छ । त्यस्ता गीतहरू नै लोकप्रिय हुनुको साथसाथै कालजयी पनि हुन्छन् ।
माथि भनिएका कुराहरू सबै गीतमा भेटिन्छन् भन्ने छैन र सबै गीतहरूले मानिसलाई उत्तिकै सन्तुष्टि दिन्छ भन्ने पनि होइन । तर पनि गीत भनेपछि त्यसले मानिसको मनलाई स्पर्श गर्न सक्नुपर्छ र उसको हृदयलाई झङ्कृत पार्नुपर्छ । अनि मात्र त्यो गीतको महत्व हुन्छ । गीत सस्वर गाउँदा त्यति प्रभावकारी र मीठासिलो हुँदैन जति त्यसलाई सङ्गीतवद्ध गरे गाउँदा हुन्छ । त्यसैले गीतमा सङ्गीतको ठूलो भूमिका हुन्छ । त्यसो त मीठो स्वर अर्थात लय नपाईकन गीत गीत बन्दैन । त्यसैले गायकको स्वर सङ्गीतकारको सङ्गीत र गीतकारको सुन्दर शब्द रचना को उत्तिकै महत्व र विशेषता रहेको हुन्छ गीतमा ।
हाम्रो देश जहाँ भाषा संस्कृति र परम्परामा अनेक विविधता छ । त्यसैले स्थान भाषा मानिस संस्कृति र परम्पराको आधारमा गीतमा पनि त्यतिकै विविधता पाइन्छ । लोकगीतमा पाइने अनेक प्रकारका गीति रचनाहरू नै यसका ज्वलन्त उदाहरणहरू हुन् । हामी नेपालीहरूको यौटा परम्परा के छ भने हामी कुनै पनि सांस्कृतिक पर्व चाड वा अवसरहरूमा गीत गाउने भजन गाउने नाच्ने आदि कार्यहरू गर्दछौं । यी गीत भजन र नाच स्थान विशेष अनुसार फरकफरक प्रकारको हुने भएकोले तिनका बेग्लाबेग्लै विशेषता र महत्व छन् । हामी जीवनका दुःख-सुखलाई गीत मार्फत व्यक्त गर्छौं । चाहे त्यो वन जङ्गलमा घाँसपात लिन जाँदा होस् चाहे त्यो गोठाला जाँदा होस् कि खेतीपाती गर्न जाँदा होस हामी नेपालीहरू गीत गाउँछौं । आफ्नो मनका भावनाहरूलाई कहिले एक्लै त कहिले साथीभाईसँग र समूहमा पनि गाउँछौ । अनि गीतका शब्दबाट नै आफ्ना मनका पीर-व्यथाहरूलाई व्यक्त गर्दछौं । हाम्रो देशमा लोकगीतको प्रारम्भ यसै गरी भएको हो । त्यसैले लोकगीत हाम्रो जीवनसँगै गाँसिएको छ टाँसिएको छ र जीवन्त बनेको छ ।
नेपाली लोकगीतको यो परम्पराले नेपालीको पहिचानलाई अरु प्रष्ट पारेको छ । तर आजकल कोठामा बसेर लोकगीत रच्ने र त्यसैलाई लोकगीत हो भन्ने प्रचलन बढेको पाइन्छ । लोकगीतमा पनि विदेशी शब्दहरू प्रयोग गरेर त्यसको मौलिकतामा आँच पुराउने कार्य भइरहेको छ । सस्तो लोकप्रियताको लागि लोकगीतको वास्तविक मर्म र त्यसको महत्वमाथि खेलबाड गर्ने परिपाटी बढेको पाइन्छ । हिजोआज जे गरे पनि हुने भन्ने प्रचलनले भाषा संस्कृति परम्परा र मान्यतामाथि नै सबैतिरबाट आक्रमण भइरहेको छ चाहे त्यो राजनीतिक सामाजिक र गीत-सङ्गीतको क्षेत्र नै किन नहोस् । आफ्नो देशको भाषा संस्कृति परम्परा आदिको मौलिक अस्तित्वलाई जोगाई राख्नु त्यसको संरक्षण गर्नु र त्यसको उन्नति-प्रगतितर्फ दत्तचित्त भएर लाग्नु सबैको कर्तव्य हो । त्यसतर्फ ध्यान दिनु पर्छ सम्बन्धित निकायले । तर त्यसो भइरहेको छैन । जसले जे गरे पनि छुट छ अहिले । भविष्यमा गएर त्यसले देश र समाजमा के कस्तो नकारात्मक प्रभाव पार्छ त्यतातिर कसैको पनि ध्यान गएको पाइन्न ।
आधुनिक गीत लोकगीतभन्दा नितान्त पृथक प्रकृतिको हुन्छ । लोकगीतले लोकजीवन र लोक संस्कृतिलाई उजागर गरेको हुन्छ भने आधुनिक गीतले मानव जीवनका अनेक पक्षलाई छोएको हुन्छ । नेपालबाट जहानिया राणा शासनको अन्त्य भएपछि र रेडियो नेपालको स्थापना भएपछि मात्र नेपालमा आधुनिक गीतले प्रवेश गरेको इतिहास छ । सुरुका दिनहरूमा आधुनिक गीतको रिकर्ड गर्न पनि भारतको कलकत्ता (हालको कोलकाता) जानु पर्ने वाध्यता थियो भने अहिले गीत रिकर्डिङ्गका आधुनिक सुविधाहरू स्वदेशमा नै उपलव्ध भएका छन् ।
नेपाली साहित्यिको फाँटमा आधुनिक गीतको छुट्टै र स्वतन्त्र अस्तित्व छ । धेरै कवि गीतकारहरू आधुनिक गीत लेखनमा सक्रिय छन् भने गायनको क्षेत्रमा पनि पुरानादेखि नयाँ पुस्ताका यवा गायकहरूले गाएका गीतहरू लोकप्रिय भएका छन् । हुन त लोकगीत र आधुनिक गीतको बीचमा यौटा पश्चिमा शैलीको पप गीत पनि नेपालमा धेरै पहिलेदेखि गाईंदै आएको छ र यसलाई नेपालमा भित्रुउने पहिलो गायक हुन् ओम विक्रम विष्ट । पछि धेरै धेरै युवा गायकहरू पप गायकको रुपमा स्थापित भए र अध्यावधी त्यही क्षेत्रमा क्रियाशील पनि छन् ।
नेपाली साहित्यमा कथा कविता उपन्यास गीत आदि विधामा कलम चलाउने असङ्ख्य साहित्यकारहरू छन् । तर गीत लेखेर चर्चित अर्थात सफल हुने थोरै मात्र गीतकार छन् । पुराना गीतकारका गीत र नयाँ गीतकारका गीतमा आकाश जमिनको अन्तर पाइन्छ । गीतको शब्द चयन भाव र प्रस्तुतिमा धेरै भिन्नता छन् । हालका वर्षहरूमा नेपाली युवाहरू पठन-पाठनको लागि र रोजगारको लागि विदेशिने क्रम निकै बढेको पाइन्छ । तिनै विदेशमा प्रवाशी जीवन विताइरहेका धेरै युवाहरूले कविता कथा उपन्यास र गीत लेखेर विदेशमा बस्नुपर्दाका आफ्ना पीडालाई व्यक्त गरेका छन् ।
स्वदेशको माया र सम्झनालाई आत्मसात् गर्दै साहित्य सिर्जना गर्नेहरूको सूचिमा आपुनो पनि नाम दर्ता गराएका छन् पूर्वी नेपालको भोजपुरमा जन्मिएका विमल गिरी जो अहिले बेल्जिएमको ब्रसेल्समा बस्दै आएका छन् । यिनै गिरी आपुनो पहिलो साहित्यिक कृति “सम्झनाका तरेलीहरू” गीतिसङ्ग्रह लिएर नेपाली साहित्याकाशमा झुल्किएका छन् र आफुलाई गीतकारको रुपमा उभ्याएका छन् । यस लेखमा उनै विमल गिरीद्वारा रचिएका गीतहरूको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
अमेरिकाको वाशिङ्गटन डीसीमा रहेको अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले २०६६ सालमा प्रकाशित गरेको विमल गिरीको गीतिसङ्ग्रह “सम्झनाका तरेलीहरू”मा आधासय अर्थात पचासवटा आधुनिक गीतहरू समावेश गरिएको छ । यी गीतहरू मध्य केही गीतमा सङ्गीतकार विपिन आचार्यको सङ्गीतमा रामकृष्ण ढकाल, नरेन्द्र प्यासी, जगदीस समाल र पुष्पा पौडेलले स्वर प्रदान गरेका छन् । यस सङ्ग्रहमा रहेका गीतहरूलाई पढ्दा मनन गर्दा र त्यसका विशेषताहरूलाई केलाउँदा धेरै जसो गीतमा प्रवाशी भएर बाँच्नुपर्दाको पीडा र आफन्तसँगको वियोगभाव पाइन्छ भने कतिपय गीतहरूमा देशप्रतिको माया भक्तिभाव र प्रियसीप्रतिको आशक्ति पाइन्छ । गीतमा प्रयोग गरिएका सरल विम्बहरूले गीतलाई यथार्थपरक तुल्याएको छ । जीवनको दुःख-सुखका क्षणहरूलाई जस्ताको जस्तै टिपेर गीतमा समावेश गरी भित्रिमनका भावनाहरूलाई कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।
यो सत्य हो कि अहिलेको अवस्थामा नेपाली लाखौं युवाहरू विदेशमा रोजगारको निम्ति गएका छन् र तिनले पराइभूमिमा अनेक दुःख-कष्ट पाएका छन् । यहाँसम्म कि हजारौं युवाहरूले विभिन्न कारणवश विदेशीभूमिमा नै मृत्युवरण गर्नु परेको छ । त्यस्तो त्रासदीपूर्ण अवस्थामा प्रबासी भएर बाँच्नु पर्दाका अवस्था र डरलाग्दा क्षणहरूमा आपुनो देश घर-परिवार साथीभाई इष्टभित्र आदिलाई सम्झेर जो कोही पनि आहत हुन्छ जसको मन पनि पीडाले छटपटिन्छ । मानिसको मन स्वभावैले भावुक हुन्छ । त्यसैले जीवन भोगाईको क्रममा घटेका अनेक घटना दुर्घटनाहरूले ल्याउने दुःख पीडा र विछोडको अनुभव र अनुभूतिले मन आत्र्रुान्त हुन्छ । विक्षिप्त हुन्छ । अनि तिनै दुःख पीडा र राम्रा नराम्रा घटनाहरूलाई यौटा सफल कवि वा गीतकारले आपुनो कविता वा गीत मार्फत व्यक्त गरेको हुन्छ । उसले त्यसरी व्यक्त गरेको सुकोमल भावले अरुको मनलाई पनि स्वतः प्रभाव पार्दछ । त्यसैले मनको भावलाई अरुको सामु अर्थात सबैको अगाडि प्रस्तुत गरिने सबैभन्दा लोकप्रिय विधा हो गीत ।
जब मानिस आपुना दुःख-सुखका क्षणहरूमा गीत गुन्गुनाउँछ त्यसले उसको मन हलुको हुन्छ । मनको पीर अलिकति घटछ र आफुलाई थोरै भए पनि पीडा मुक्त भएको महशुस गर्छ । त्यसैले पनि गीत सम्प्रेषणको दृष्टिकोणले काव्यका अन्य विधाहरूमा सबैभन्दा प्रभावकारि शसक्त सुकोमल सुललित र सर्वप्रिय मानिन्छ ।
गीत लेख्न गाह्रो छ । त्यतिकै लेिखंदैन गीत । अनि गीत गाउन पनि सजिलो छैन । गाईएको गीत सबैलाई मन पर्छ भन्ने पनि छैन । गीत लेख्न भावुक हृदय हुनुपर्छ । गीतको अर्थ भाव शब्द गीतले दिने सन्देश आदिलाई कुशलता पूर्वक संयोजन गर्न सक्नु पर्छ अनि मात्र गीत गीत बन्छ । अर्को महत्वपूर्ण कुरा गीत लेखेर मात्र पनि हुँदैन त्यसलाई सस्वर सङ्गीतवद्ध पनि गर्नु पर्छ । गीत लेख्नमा गीतकारले जति मेहनत गर्छ त्योभन्दा धेरै मेहनत गायक र सङ्गीतकारले गर्नु पर्छ । किनकि विना सङ्गीतको गीत यौटा गीतिकविता मात्र रहन्छ । पढेर मात्र गीतको वास्तविक मिठास पाइन्न । जब त्यसलाई सङ्गीतबद्ध गरेर सस्वर गाइन्छ तब मात्र त्यसले श्रोताको मनलाई स्पर्श गर्छ ।
हिजोआज गीत जथाभावी गाउने चलन पनि बढेको पाइन्छ । अहिले क्वाँक्वाँ रोएर र अट्टाहास हाँसेरै पनि गीत गाएका छन् । तर त्यस्ता गीतलाई गीत भन्नै सकिन्न । किनकि पहिलो त ती गीतमा हृदयलाई झङृत पार्ने शक्ति हुदैन अनि दोस्रो हो त्यस्ता गीतले श्रोताहरूको मनमा आनन्द र मनोराजन दिन सक्दैन । अर्को महत्वपूर्ण कुरा हो त्यस प्रकार गाइएको गीतले श्रोताको मनलाई स्पर्श गर्न र उनीहरूको भावनाको प्रतिनिधित्व पनि गर्दैनन् । त्यसै कारण ति रहरले प्रयोगको निम्ति मात्र गाइएका गीत हुन् । त्यस्तो गाइजात्रे प्रयोग धेरै दिन टिक्दैन र त्यस्ले स्थायीत्व पनि पाउन सक्दैन । ठूलोठूलो स्वरमा चिच्च्याएर र ठूलोठूलो आवाजमा सङ्गीत साधन बजाएर मात्र गीत हुने होइन । त्यस्ता गीत सुनेपछि मानिसहरू आनन्दमा रमाउनुको साटो दिक्क मानेर कान थुन्न पुग्छन् । त्यसै भएर होला गत वर्ष सन् २०१० को भारतमा भएको कुनै यौटा गीति कार्यक्रममा आधुनिक पप गायिकाले चिच्च्याई चिच्च्याई माचनै थर्काउने गीत गाउँदा भारतकी सदावहार विशिष्ट गायिका लता मङ्गेसकरले आँखा चिम्लेर र कान थुनेर बसेको दृष्य भारतीय टेलिभिजनमा प्रसारण गरेको देखिएको थियो । तीनै लता मङ्गेसकर हुन जसले भारतीय स्वतन्त्रता दिवसमा गीत गाउँदा तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको आँखामा आँशु आएको थियो । त्यस्तो शक्तिशाली हुनुपर्छ गीतको प्रभाव गीत गाउनसक्ने क्षमता र गीतको अर्थ । यो कुरा किन उल्लेख गरेको भने गीतको सबैभन्दा महत्वपूर्ण विशेषता हो श्रोताको मन जित्न सक्ने क्षमता । अनि मात्र त्यो गीत गीत हुन्छ ।
प्रवाशमा मान्छे एक्लो हुन्छ । उसलाई दया माया गर्ने कोही हुँदैनन् । सबै कुरा देशमा नै छोडेर विदेशिएको मान्छेको मन सधैं देश र घर-परिवार सम्झेर रोइरहन्छ । गीतकार विमल गिरी आफैमा पनि देश छोडेर प्रवासी हुनुपर्दाको पीडा ज्यादै गहिरो छ । एक्लोपनले उनलाई दिनरात सताइरहेको छ । त्यसैले उनी स्वदेशमा नै दुःख-सुख गरेर बस्न चाहन्छन् । त्यही यथार्थतालाई गिरी गीतमा विलौना गर्न पुग्छन् यसरी –
सुख दुःख सँगै रमाउँ आपुनै स्वदेशमा
कैले खोज्छु मिर्मिरेमा कैले बतासमा (पृष्ठ २०)
दुःख पोख्ने ठाउँ छैन
आँसु पुछ्ने बाहु छैन
बाँचिराुछु पीडा भोग्दै
कहाँ जाउँ बास छैन । (पृष्ठ २४)
मानिस सधैं सुखको खोजीमा भौंतारिरहने प्राणी हो । तर उसले चाहे जति र खोजे जति सुख भोग गर्न पाएको हुँदैन र उसले जीवनमा अनेक दुःख-कष्ट भोग्न वाध्य हुन्छ । मानिसले दुःख अर्थात पीडा मात्रै सहनुपर्दा र घाइतो जीवनको क्षणलाई गीतकारले यसरी व्यक्त गरेका छन् गीत मार्फत –
पीडा बोकि जीउन पनि गाह्रो हुँदोरहेछ
घायल बनि बाँच्न पनि सारो हुँदोरहेछ । (पृष्ठ ३०)
मानिसको जीवन पनि अस्थायी हो । यो संसारमा जो आउँछ एकदिन उसले अवश्य पनि छोडेर जानु पर्दछ । यो संसारको नियमै हो । रीति हो । यसलाई कसैले पनि बदल्न सक्दैन । त्यसैले पनि एकदिन मर्नु पर्छ भन्ने जानेर जीवनमा पाप कर्म गर्नबाट टाढा होउ र आफुलाई स्वाबलम्वी बनाएर बाँच भन्ने आग्रह गर्दै लेखिएका गीतका केही अंशहरू यस प्रकार छन् –
एकदिन् त जानु नै छ डर राखी कर्म गर
आपुनो काम आफै गर अन्यत्रको भर नपर । (पृष्ठ ३१)
सम्झन्छु जीन्दगीमा लानु के छ मिर
तर पनि बुझ्दैन मन दुख्छ वरिपरि । (पृष्ठ ३३)
दुई दिनको पाहुना हो मानिसको जीवन
साथीसँगै हाँसी खेलौं भन्छ यो मन । (पृष्ठ ४४)
माथिका गीतहरू मार्फत गीतकारले दिन खोज्नु भएको सन्देश वा आग्रहले स्पष्ट पार्दछ कि हामी मानिसले आपुनो स्वार्थलाई त्याग्न सक्नु पर्दछ । हामीले यस संसारबाट लान पाउने केही पनि होइन । जसरी जन्मँदा यो संसारमा नाङ्गै जन्मिएका थियौं हामी त्यसरी नै यो संसार छोडेर मर्दा पनि नाङ्गै जानु पर्दछ । यो सबैलाई ज्ञात भएको कुरा हो तर पनि व्यवहारमा धेरैले लागु गर्न सक्दैनन् । किन त भन्ने प्रश्नको अनेक कारणहरू होलान् छन् ।
स्वदेशलाई छोडेर विदेशमा रगत पसिना चुहाउने मात्र होइन कतिपय नेपालीको ज्यानै समेत गएको खवरहरू बेलाबेलामा आइरहेका छन् नेपालमा । आपुनो घर-परिवारलाई सुखमा राखुँला भन्ने सपना बोकेर धन कमाउन भनी विदेशीयका नेपाली युवाहरूको संख्या तीसौं लाखभन्दा पनि नाघिसक्यो । विदेशमा पाएको दुःख र भोग्नु परेको पीडा त उनीहरूलाई नै थाहा होला । त्यसरी विदेशीयपछि आपुनो स्वास्नी छोरा-छोरी बाबु-आमा दाजु-भाई दिदी-बहिनी साथीभाई अनि जन्मेको ठाउँको सम्झनाले दिनरात सताउँदा उनीहरूको मन कस्तो हुन्छ होला त्यो अनुमान गर्न सकिन्न तर त्यसको वास्तविक पीडा विदेशमा भोग्ने नेपालीहरूलाई नै थाहा हुन्छ । अनुभव हुन्छ । गीतकार गिरी आफै पनि विदेशमा प्रवासी भएर बस्नु परेको र अरु विदेशिने नेपालीहरूको पीडा र स्वदेश प्रेमलाई आत्मसात गर्दै गीत रचना गर्नु भएको छ । उहाँको गीतमा प्रवासी नेपालीको पीडालाई यसरी व्यक्त गरिएको छ –
यो ढुकढुकी रहेसम्म तिम्रै गाथा गाइरहुँ
बादलपारी रहेसम्म नेपाल भन्न पाइरहुँ । (पृष्ठ ५०)
त्यसरी नै आपुनी प्रियतमालाई पनि उनी अत्यन्त माया गर्छन् अरुले जस्तै । प्रवाशमा रहँदा उनी मायालुको सम्झनामा तड्पन्छन् र छट्पटाउँछन् । अनि उनका ती तड्पाई छट्पटाई र सम्झनाका लहरहरू गीत बनेर निस्कन्छन् यसरी –
जता हेर्छु तिम्रै रुप जुनेलीमा तिम्रै छायाँ
यो छातीको ढुकढुकीमा तिम्रै मात्र माया । (पृष्ठ ५३)
यो संसारमा हाम्रो जीवन प्रेममय छ । प्रेमविनाको जीवन प्रकाशविनाको कोठाझैँ अँध्यारो हुन्छ । अपुरो हुन्छ । खल्लो र निरस हुन्छ । आफुलाई मन परेको बस्तु नपाउँदा मानिस विक्षिप्त असन्तुष्ट र चिन्तित हुन्छ । त्यसमा पनि आफुले चाहेको वा माया गरेको प्रेमी वा प्रेमिका नपाउँदा ऊ झनै पीडित र दुखित बन्न पुग्छ र आपुनै जीवननै समाप्त गर्न पनि उद्यत भईदिन्छ । त्यही भाव बोकेको र प्रेमी पागल र पागलझैँ भएर पनि हिँड्छ भन्ने यथार्थलाई आत्मसात गर्दै लेखिएको यौटा गीतको अंश –
जीवन लिलाम गर्दैछु म तिम्रो साटोमा
आँखासरि सागर अटाई मिल्दैछु माटोमा । (पृष्ठ ५४)
तड्पिएको मनलाई मल्हम हो सान्त्वना । सहानुभुति र सान्त्वनाले दुःखेको मनलाई केही हदसम्म भए पनि मल्हमको काम दिन्छ र शीतलता प्रदान गर्दछ । उनी आपुनी मायालुलाई पिपलको संज्ञा दिँदै त्यही पिपलमा लहराले बेरेझैँ आफु पनि प्रियसीको न्यानो अँगालोमा हराएको कल्पना गर्न भुल्दैनन् अनि उनै मायालुलाई अनुनय विनय गर्दै गीतमार्फत भन्छन् –
तिमी पिपल म त बर मैले जरा हालिसकें
तिम्रो न्यायो अँगालोमा लहराउन थालिसकें । (पृष्ठ ५५)
त्यसो त धोक दिने प्रियसीहरू पनि छन् यस संसारमा । स्वार्थी यो दुनियामा जसले जसबाट पनि धोका पाएकै हुन्छ । त्यसरी धोका दिनेमा आपुनै मायालु परिन भने त प्रेमीको मुटु झन टुक्राटुक्रा हुन्छ मन छियाछिया पारिदिन्छ । त्यस्तो धोका दिने प्रियसीलाई पनि गीत मार्फत दुःख प्रकट गर्दै गीतकार गिरीले गीतमा विछोडिनु पर्दाको पीडालाई यसरी शब्दहरूमा उतारेका छन् –
फूल रोजें काँडा रैछौ मुटु छिया पारी गयौ
बगरमा छट्पटाउँदैछु तिमी मात्र पारी गयौ । (पृष्ठ ६०)
स्वार्थी यो दुनियाँमा साथ दिनेहरू ज्यादै थोरै मात्र हुन्छन् । आपुनो मतलव साध्य नहुन्जेलसम्म लोलोपोतो गर्छन् र स्वार्थ पूरा भएपछि भने चटक्क छोडेर जान्छन् । जसरी मरेको बाख्रालाई उपियाँले छोड्छ । अर्थात बाख्राको रगत चुस्न पाएसम्म उपियाँ बाख्राको जिउमा टाँसिएर बस्छ जब बाख्रा मर्छ र उसको रगत पानी बन्छ तब ऊ बाख्रालाई छोडेर हिँड्छ । त्यसैले यहाँ दुःखमा साथ दिनेहरू कोही हुँदैनन् केवल सुखकोबेला भने जो कोही पनि साथी बन्न आईपुग्छन् । खासमा भन्नुपर्दा दुःखको बेलामा पो अरुको साथ चाहिन्छ तर यहाँ त उल्टो छ । दुःख परेको बेलामा नै सबैले चटक्क साथ छोडिदिन्छन् र परपर भैदिन्छन् । यो यौटा कटु सत्य हो । यही सत्यतालाई गीतकार गिरी गीतमा लेख्नुहुन्छ –
विपत्तिमा कोही हुन्नन् सुख हुँदा सबै साथी
साथ दिने थोरै हुन्छन् तनाव दिने सबै माथि । (पृष्ठ ६२)
संक्षेपमा भन्नुपर्दा गीतकार विमल गिरीका गीतहरूमा पाइने देशप्रतिको माया बिछोडका पीडा र मानवीय संवेदनाका स्वरहरू स्पष्ट छन् । गीतले पार्ने प्रभाव सशक्त छ । सरल र सुललित शब्द संयोजनले गीतलाई लयात्मक बनाएको छ । यस प्रकार नेपाली आधुनिक गीतको फाँटमा उनी पनि यौटा सफल गीतकारको रुपमा आफुलाई उभ्याउन सक्षम भएका छन् । गीतिसङ्ग्रहको आवरण स्तर मुद्रण र साजसज्जाको हिसावले पनि पुस्तक पठनीय र सङ्ग्रहनीय छ । आधुनिक गीतका पारखी र गायकी दुवैलाई यो पुस्तकका गीतहरू उपयोगी छन् । प्रस्तुत गीतिसङ्ग्रहको चारवटा मूल्य निर्धारण भएको छ – व्यक्तिगत रु.८९ संस्थागत रु.१५० अनि अमेरिकाको लागि ५ डलर र यूरोपको निम्ति भने युरो ५ तोकिएको छ । सायद यी मूल्यहरू देश र स्थानअनुसार ठीकै छन् ।
टीकाथली-५ ललितपुर ।
चैत्र ९ २०६७
