अखण्ड भण्डारी
एउटा सभासदको आत्मकथा
बाउले सौतेनी आमा ल्याए । दुवैजना मिलेर आमालाई रातदिन कुट्न थाले । जग्गाजमिन पनि सबै उनीहरूले नै कब्जा गरे । छेउको सानो गोठमा आमा, म र भाइबहिनी गरी चार जनाको शरीर ओत लागेको थियो । आमा अर्काको बनिबुतो गर्न जानुहुन्थ्यो । त्यहाँ खाजा खान दिएको रोटीका टुक्रा वा अलिकति च्युरा पोल्टामा पोको पारेर हामीलाई ल्याइदिनुहुन्थ्यो । आमालाई देख्दा हामी चारो लिएर आएको चराका बचेरा झैं खुसीले नाच्थ्यौं । अलिकति भए पनि सास आउँथ्यो । उता सौतेनी आमाको भान्छामा मासु-भात पाक्थ्यो । बाउ कान्छी स्वास्नीसँग बसेर भुँडी भर्थे । हामी बास्ना (गन्ध !) सुँघेर अघाउँथ्यौं ।
यो दसैंमा आइनँ आमा !
हेर्दाहेर्दै दसैं पनि आइसकेछ । सुन्छु- देशमा महँगी खुब बढेको छ रे । ढुंगैढुंगा मिसाएको चामलसमेत ५० रुपैयाँ केजीभन्दा तल पाइनै छाड्यो रे । तरकारी उस्तै । केही वर्षअघि २० रुपैयाँ किलो पाउने तरकारी पाउकै २० रुपैयाँ भइसक्यो रे । के खाएर कसरी टिक्ने हो ? मलाई त तपाईंकै चिन्ताले सताउँछ । यताबाट पठाउनु हो भने म आफ्नै समस्यामा फसेको छु ।
व्रत किन बस्छ्यौ चेली ?
आज अधिकांश नेपाली नारी पानीसम्म नखाई व्रत बसेका छन् । कोही भोकै-तिर्खै छमछमी नाचिरहेका होलान् भने कोही घाममा मन्दिरमा लाम लाग्दा फड्को भएर ढलिरहेका होलान् । धपक्क सजिएर मन्दिर र सार्वजनिक ठाउँमा जाँदा कतिका गहना लुछिन्छन् । कतिका ब्याग तानिन्छन् । कतिका मोबाइल चोरिन्छन् । तर पनि कोभन्दा को कमको फुर्तीसाथ खाली-पेट रमाइलो चलिरहेको छ ।
