Skip to content

कुमुद अधिकारी

मेरो बरन्डाको कुकुर

  • by

कुनै सम्प्रदाय विशेषमा श्राप दिनुपरे भन्छन् रे ­ “लौ, तैँले घर बनाउनुपरोस् ।” घर बनाउनेले भोग्नुपर्ने पीडाको सहज अभिव्यक्ति हुँदो हो त्यो । मैले पनि घर बनाएँ यसपालि र भोगेँ ती सबै पीडाहरू जो मेरोजस्तो हैसियत राख्नेका लागि शाश्वत थिए । घर बनाउने हैसियत मेरो थियो कि थिएन, त्यसमा बहस जरुरी भएन किनकि मेरो घर बनिसक्यो ।

म समानान्तर

  • by

म आशुतोष, पोखराको नाम चलेको पर्यटन-व्यवसायी । अहिले म बाराही मन्दिरका तलतिर सिंढीमा बसेर पानीका छालहरूलाई नियालिरहेको छु । घरिघरि आकाशमा हेर्छु केही देख्तिनँ । शून्य, रित्तोपन । अगाडिपट्टिको माछापुच्छ्रे पनि फोस्रोपनको पराकाष्ठामा पुगेको छ । अचानक मेरो मोबाइलमा धुन बज्छ ‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ….’ कुनै समयमा एकदमै राम्रो लागेर मोबाइलमा यो धुन हालेको थिएँ तर अहिले त यसले निस्सारतामाथि निस्सारता थपेको छ ।

तीन कथा-तीन पात्र

  • by

कथा एकः पात्र एक

कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले त यसले पीडामात्र दिइरहन्छ। कट्…..कट्…. उफ् ! म सहनै सक्तिनँ र बरन्डामा निस्कन्छु। बाहिर जुनेली रात रहेछ। चन्द्रमा ! आहा ! यो चन्द्रमा त मेरो चिरकालको साथी। अब त यही चन्द्रमा त रह्यो नि आफ्नो भन्ने ! चन्द्रलाई त निशाले लगिहाली नि।

धना दिदी

  • by

२०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला बिनाकारण निराश बन्छ । बिनाकारण निराशा हो वा निराशाको कारण म आफैँले पत्ता लगाउन नसकेर हो म निराश चाहिँ हुन्छु । भित्री निराशालाई प्रकट नगरी म छलफलमा भाग लिइरहेको थिएँ । त्यत्तिकैमा आँगनका पल्ला छेउमा दुईजना व्यक्तिहरू मलीन अनुहार लिएर देखा परे । मेरो परिचयको सूचिमा नपरेका व्यक्तिहरूले माल्दाजुलाई बोलाएर अलिपर लगे । म अलि अलमलमा परेँ। समयकाल ठीक छैन । कस्ता व्यक्ति हुन् – के गर्न आएका – मनमा कुरा खेलीरहे एकछिन । केही समयपश्चात् माल्दाजु आएर घोषणा गर्नुभयो “धना दिदी बित्नुभयो अरे । आमालाई अहिले नसुनाऊँ टीका लगाएपछि सुनाउँला ।” वहाँको घोषणाले मेरो मनको निराशालाई दुःखमा बदल्यो । मलाई लाग्यो मलाई कसैले ठूलो भीरबाट खसालिदिएको छ । हातखुट्टा शून्य भएर आए । केहीक्षण पछि चेतना फिर्‍यो । मेरी आमालाई सानीमा भनेकाले हाम्री दिदी हुनुभएकी धना दिदी यति चाँडै खस्नुहोला भन्ने मनको कुनै अन्तरकुन्तरमा पनि थिएन । वहाँ अस्वस्थ हुनुभएको त थाहा थियो तर यति छिटै वहाँको चोला उठ्ला भनेर सोचेकै थिइनँ । अझ टीकाकै दिनपनि धना दिदी टीका लाइदिन लठ्ठी टेक्दै टुप्लुक्क आइपुग्नुहुन्छ कि भन्ने आस बोकेको मनलाई वहाँको मृत्युको खवरले मर्माहत तुल्यायो ।

जीवन एक यात्रा

  • by

उफ् ….! यो हल्ला….! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्ने गरी “बदाम…. ए.. बदाम… ए चटपटे…नारियल…मेवा….आजको ताजा खबर….” मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग बसेका छन्। सायद यी सबैलाई मजा लाग्दो हो यो कोलाहल। कोही त मस्तसँग निदाइरहेका पनि छन्। जे भए पनि सहनै पर्‍यो….सायद जिन्दगीमा सहनुको अर्को विकल्प छैन, कमसे कम मेरा लागि।

अन्धकार अनन्त

  • by

मस्तिष्कले शून्यतामा पौडिरहेका बेलामा न केही लेख्‍न सकिन्छ न त केही सोच्न नै। सोचको शून्यता यति सारो भयावह लाग्दो रहेछ मैले यतिखेर अनुभव गरिरहेको छु। बितेका केही हप्ताहरूमा मैले केही लेख्‍न सकिरहेको छैन। भावशून्यताको पोखरीमा डुब्दाडुब्दै केही देखिन्छ कि, केही आउँछ कि किनारमा जसको सहाराले म पौडिन सकूँ भन्ने लागिरहेको थियो कैयौँ दिनदेखि। पढाउने-पढ्ने पेसा अँगालेको मलाई, यस्तै क्रममा एक दिन पहिलो घण्टी सकिएर दोस्रो घण्टी लाग्न लागेका बेलामा भीमदाइले आएर भन्नुभयो – “सरलाई भेट्न कोही आउनुभएको छ।”

बिर्खे दाइ

  • by

यसपालि म काठमाडौँबाट घर आउँदा निकै अस्थिर थिएँ। इलाम आक्रमण भएको पाँच दिन मात्र भएको थियो। सदरमुकाम आक्रमणपछि गाउँघरतिर हालखबर के छ भनेर बुझ्न मन लाग्यो र दौडिएँ घरतिर। दैनिक कामको व्यस्तता र देशको वर्तमान असहज स्थितिले हुनसक्छ, म विचलित पनि छु। यात्रा गर्दा वा केही गर्दा कहिले के हुने हो भन्ने कुराको निधो हुँदैन। कता बम पड्किने हो कि, कहाँ गोली चल्ने हो कसैले भन्न सक्तैन।

मुक्ति

  • by

अरे यो के ? होसमा आउँदा त म आफैँलाई खित्का छोडिरहेकी पाउँछु। हुन पनि अचम्मै हो, आठौँ आश्चर्यजस्तै, होसमा फर्किनु त्यो पनि खित्का छोड्दै। तर अहिले मलाई त्यस्तै भइरहेको छ। म खित्का छोडिरहेकी छु। खित्कैका क्रममा म देख्छु मेरा सिद्धार्थ मलाई हत्केलामा कुतकुती लगाइरहनुभएको छ। म खित्किएको एकछिनपछि उहाँले कुतकुती लगाउन छाड्नुभयो र सोध्नुभयो- “यशू ! अहिले दुखाइ कस्तो छ?”