म आशुतोष, पोखराको नाम चलेको पर्यटन-व्यवसायी । अहिले म बाराही मन्दिरका तलतिर सिंढीमा बसेर पानीका छालहरूलाई नियालिरहेको छु । घरिघरि आकाशमा हेर्छु केही देख्तिनँ । शून्य, रित्तोपन । अगाडिपट्टिको माछापुच्छ्रे पनि फोस्रोपनको पराकाष्ठामा पुगेको छ । अचानक मेरो मोबाइलमा धुन बज्छ ‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ….’ कुनै समयमा एकदमै राम्रो लागेर मोबाइलमा यो धुन हालेको थिएँ तर अहिले त यसले निस्सारतामाथि निस्सारता थपेको छ ।

“बुबा ! मलाई नोकिया ७६१० किन्दिस्योस् भन्या खोइ ? सबै साथीहरूको एक से एक मोबाइल छ, मेरो चाहिं यस्तो ब्ल्याक एन्ड हृवाइट !” छोरी नीलिमा रुन्चे स्वर पारेर गन्थन गर्छे निकै पहिलेदेखि नै गरिरहेकी पनि हो । उसित एउटा मोबाइल त छ तर समयको माग अरे राम्रो क्यामेरावाला मोबाइल । छोरीको मागलाई पूरा गर्न नसकेर लाचार म मोबाइल खेलाउन थाल्छु । मेरो त उही सामसुङको पुरानो एचसी २०० मोडेलको छ । पछाडिपट्ट करेक्सन पेनले लेखेको छु ‘आशुतोष उपाध्याय’ । म कुनचाहिं आशुतोष उपाध्याय परें ? एकछिन रनभुल्लमै हुन्छु । फेरि मेरो मोबाइलमा धुन बज्छ ‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ….’ हेर्छु छोरा प्रमोदको रहेछ । मनमा चस्स पसिहाल्छ – अब छोराले के भन्ने हो !

“बुबा ! मेरो कम्प्युटर अपग्रेड गरिदिन्छु भन्या खोइ त ? अटोक्याड र कोरल ड्र चलाउन मेमोरीले नै पुग्दैन । बुबा पनि ! अस्तिको महिना नै बीस हजार दिन्छु भन्या हैन । इन्टेलको हाइपर थ्रेडिङवाला प्रोसेसरलाई नै झन्डै पन्द्र हजार परिहाल्छ, फेरि मदरबोर्ड, साउन्डकार्ड, ग्राफिक्सकार्ड र र्‍याम पनि ५१२ को हाल्नुपर्छ । कम्तीमा पनि पच्चीस हजार त चाहियो चाहियो । यसपालि त मलाई नदिई हुँदैन है बुबा ।”

प्रमोद र नीलिमाका मागहरूको औचित्य प्रमाणित गर्न खोजिरहेछु म अहिले । केही समय अघिसम्म उनीहरूले जे भन्यो त्यही दिन सक्थें म तर खै अहिले त सोच्नैपर्ने भएको छ । जथाभावी मसँग पैसा पनि छैन र दिने हैसियत पनि गुमाइसकेको छु । जता हेर्छु शुन्य मात्र देख्छु । मानवसम्बन्धमा यति धेरै रिक्तता पनि हुँदो रहेछ । मैले अहिले चाल पाएँ ।

——-

म आशुतोष । मेरा तीनवटा ट्राभल एजेन्सीहरू छन् । जसले ट्रेकिङ, राफ्टिङ र बन्जीका लागि कार्यक्रम बनाउँछन् र चलाउँछन् पनि । एउटा कार्यालय बसपार्क नजिक छ, अर्को लेकसाइडमा र तेस्रो चाहिं, लेखनाथ नगरपालिकामा । म विवाहित र मेरी धर्मपत्नीको नाम संयुक्ता । मेरो ससुराली आसाम । आसामको डिब्रुगड । म आसाम गएको छैन, भनौं मौका मिलेको छैन । मेरो बिहे भने बिर्तामोडको अतिथिसदनबाट भएको । संयुक्ताले धेरै पटक भनिसकिन् -“आसाम जाऊँ न ! बुबा-मुमाले कति पटक बोलाइसक्नुभयो, हजुरले पनि कति बेवास्ता गरेको ।”

म भन्छु – हैन प्रिय ! हेर न यो बिजिनेस पनि । ल ! भरसक चाँजो मिलाउँछु है त ! ” भन्न त भन्छु तर उही त हो, एकै दिन निस्कन भ्याइँदैन, संयुक्तालाई लिएर काठमाडौं त जान नसकिरहेका बेलामा, आसाम त कताबाट जाऊँ ।

मलाई जहिले पनि समयले जितिहाल्छ । मैले अहिलेसम्म यसलाई जित्न सकेको छैन । जित्न त कसैले पनि जितेको छैन तर मचाहिं नाथे नै रहेछु । समयसँग सँगसँगै दौडिन पनि सकिरहेको छैन । हेर्दा हेर्दै छोराछोरी जन्मिएर कलेज पढ्ने भैसकेछन् आफू पनि पैंतालीसको भैसकिएछ र पनि अझै पोखराका सडकहरू नापिरहेको छु । सडक नापेरै जीवनमा खुसी बटुलेकामा त्यति धेरै विचलितचाहिं पक्कै छैन । हो संयुक्तासँग आसाम जान नसक्दाचाहिं साँच्चै दिक्क लाग्छ । तर अब छोरा प्रमोदले बिजिनेस हेरिदियो केही दिनका लागि भने, बूढाबूढी बुढेसकालको हनिमुन मनाउन सुटुक्क लाग्नुपर्ला गौहाटीतिर । पैंतालीस कै भए पनि बूढो भएँजस्तो त पक्कै लाग्दैन । त्यसैले एक दिन संयुक्ताका कानमा खुसुक्क यो कुरा सुनाएको त लाजले राती भइन् । कति सुन्दर अनुहार ! म खुसीले फुरुङ्ग भएँ । जीउ बूढो भए पनि मन कहाँ बूढो हुन्छ र !

——-

म आशुतोष । आम्रपालीको प्रेमी । अचम्म ! छयालीस वर्षको उमेरमा पनि कोही कुनै महिलाको प्रेमी हुन सक्छ र ? किन नसक्नु ? एउटा जिउँदो उदाहरण त म नै हुँ । आम्रपाली ! सुरुमा त अचम्मको नाम लागेको थियो यो । तर पछि ….. । ती अचम्मका सबै कुरा गए …… कता गए गए …….. ।

एक दिन बसपार्कको अफिसमा छिरेको मात्र थिएँ, छिरिङले भनिहाल्यो – “सर ! हाम्रो घान्द्रुकको ट्रेकिङ टिमलाई त त्यो स्नोभ्यु ट्रेकले उडाइसकेछ ।”

मेरो पनि कन्सिरी तात्यो । बीसजना फ्रान्सेलीहरूको राम्रो ट्रेकिङ टिम थियो । यसबाट राम्रै कमाइ हुने आशा गरेको थिएँ । जङ्गएँ – “तिमीहरूको चाहिं काम के नि – त्यति पनि डिलिङ गर्न सक्तैनौ भने -”

कालो मुख लगाएर छिरिङले भन्यो – “सर ! भाषाले हामीलाई अंग्रेजीमात्र आउँछ, त्यो स्नोभ्युकी आम्रपालीलाई फ्रेन्च पनि आउँदो रहेछ । त्यसैले उतै गएछन् सर !”

“आम्रपाली रे ! कस्तो नाम हो, मैले त नेपालीमा यस्तो नाम सुनेकै छैन ।”

“सर ! आसामबाट आएकी रे, तर नेपाली नै हो रे ।”

“ल भैगो, अलिक चनाखो भएर काम गर्ने गर !”

आम्रपाली ! सुन्दा त नाम राम्रै लाग्छ । भेटौं न त एकपल्ट । आफ्नो ट्राभल एजेन्सीमा ल्याउन पाए त व्यवसाय निकै फस्टाउँथ्यो होला । एकपल्ट लोभ पो देखाइ हेर्नुपर्‍यो । फ्रेन्च जानेको स्टाफ भयो भने धेरैजसो पर्यटकहरूलाई समेट्न सकिन्छ ।

सर्र लागें स्नोभ्युको अफिसतिर । रिसेप्सनिस्टलाई सोधेर भित्र गएँ । भित्र रिभल्भिङ चेयरमा एकजना गहुँगोरो वर्णकी सुन्दर महिला बसेकी थिइन् ।

सोध्नै लागिरहेथें “आम्रपाली को हुनु …. -”

“ओहो ! आशुतोष सर ! आज कताबाट बाटो बिराएर – ….. म नै हुँ आम्रपाली ।”

“तर तपाईंले मलाई कसरी चिन्नुभयो -”

“पोखराको पर्यटनक्षेत्रमा तपाईंलाई नचिन्ने को होला र -”

“ठीकै हो आम्रपालीजी, तर म पो कस्तो लाटो जस्तो भएँछु, तपाईं यहाँ आएको थाहै छैन मलाई ।”

“कसरी थाहा होस् त सर ! म आएकी नै कति भएको छ र – पाँच दिन त भयो नि ! यसअघि म काठमाडौंमा यति टुर्समा थिएँ ।”

“भर्खर स्नोभ्यु जोइन गर्नुभएको रहेछ । एउटा कुरा भनौं कि जस्तो लागेको थियो -”

“भन्नुहोस् न सर !”

“यदि नराम्रो मान्नुहुन्न भने मेरो ट्राभल एजेन्सी जोइन गर्नुहोस् न ! म तपाईंलाई यहाँको भन्दा डेढा दिन्छु ।”

“सरको प्रस्ताव त राम्रै हो तर …. केही दिन सोच्ने समय दिनुहुन्न सर Û”

“हुन्छ हुन्छ ! समय लिएर सोच्नुहोला है । तर म आशावादी छु नि ।”

आम्रपालीले निर्णय लिन ठयाक्कै एक महिना लगाइन् । तर महिनै लगाए पनि उनले मेरो ट्राभल एजेन्सीमा काम थालिन् ।

यसरी हाम्रो भेटले निरन्तरता पायो । एउटै कार्यालय र तत्सम्बन्धी कामहरूले पनि हामीलाई नजिक्याउँदै लग्यो । हामी पर्यटनकै विषयमा विभिन्न कामहरू लिएर यात्रामा पनि निस्कन थाल्यौं ।

आम्रपाली आसामकी नै रहिछन् । उनको गाउँ माझगाउँ रहेछ । मेरो ससुराली डिब्रुगड भन्ने चाल पाएपछि त उनी मलाई सिधै भिनाजु भनेर सम्बोधन गर्न लागिन् । ठीकै छ, मेरा त साली छैनन्, खै संयुक्ताले कहिल्यै बहिनी छ भनेको जस्तो लागेन । तर अन्तरमुखी संयुक्ता माइतीको कुरै गर्दिनथिन् । मैले पनि साह्रै सोधीखोजी गरिनँ, सोचें केही होला दुःख जसलाई उनी भुल्न चाहिरहेकी होलिन् । ल ! साली नै सही । मलाई पनि नराम्रो लागेन । आखिर “साली आधी घरवाली” भन्छन् नै । यसरी हामी बीचमा प्रेमको मुना पलायो र झाङ्गिदै गयो । मेरी साली, मेरी आम्रपाली मेरी प्रेमिका भइन् र म उनको प्रेमी भएँ ।

——

म आशुतोष । संयुक्ताको पति । मेरी पत्नी संयुक्ता, म संयुक्तालाई असाध्यै माया गर्छु मेरी छोरी नीलिमा र छोरा प्रमोद आदर्श छोराछोरीका रूपमा देखिएका छन् । कहीं कतै पहिले भन्ने गरेको सुनेको थिएँ । आसामका केटीहरू सुसंस्कृत हुन्छन् रे , घरपरिवारको राम्रो रेखदेख गर्छन् रे … । मेरो हकमा त यो कुरा शतप्रतिशत साँचो साबित भएको छ । हरेक उतारचढावमा केही नभन्ने संयुक्ता, कहिल्यै उफ नगर्ने संयुक्ता ….. निरक्षर थिइन् तर शिक्षित थिइन् । मैले मात्र सायद छोराछोरीमा राम्रो संस्कार दिन सक्ने थिइनँ कि – संयुक्ता आइन् र मेरो घर बनियो । छोराछोरी भए, पढे बढे, सुसंस्कृत भए । छोरा प्रमोद बीसीए तेस्रो वर्षमा पढ्दै छ र छोरी नीलिमा कक्षा बाह्रमा ।

म घर गएपछि र विशेष संयुक्ताको अनुहार देखेपछि झसङ्ग हुन्छु । आफैंलाई कतै हराएजस्तो लाग्छ । आफैंदेखि घृणा लागेर आउँछ । यस्ती सुसंस्कृत पत्नी पाएर पनि मैले अम्रपालीसँग प्रेम गर्नुपर्ने – आफैंलाई धिक्कार्छु भएभरका गाली र जानेजतिका नराम्रा शब्दहरू बर्साउँछु आफूमाथि । घरमा गर्ने सम्पूर्ण कामहरूमा मलाई आफू अपराधी भएझैं लाग्छ । पत्नी समर्पित हुन्छिन् । म उनकै मायामा डुब्छु र संकल्प गर्छु भोलिदेखि आम्रपालीसँग मेलजोल बढाउने छैन ।

भोलिपल्ट नास्ताको टेबलमा सानो स्वरले संयुक्ता भन्छिन् – “एउटा कुरा भन्छु, नरिसाउनुहोस् है ।”

“अरे तिमी भन न मात्र, म किन रिसाउँछु र -” प्रेममय दृष्टिका साथ म उनलाई आश्वस्त पार्छु

“लागेको बानी के गर्नु, छुट्दैन !”

“हेर लाटी ! पतिपत्नीको जस्तो साइनो कसैको हुँदैन । मानवीय सम्बन्धमा शारीरिक र मानसिक रूपले सबैभन्दा नजिक हुन्छ, अनि त्यति नजिकको मान्छेसँग कुरा गर्न केको डर -” यी आदर्श वाक्यहरू भन्दा मेरो मनको कुनामा आम्रपाली चिसो बरफ भएर बसेको पाउँछु । डराउँछु कतै त्यही चिसो अनुहारमा त आएन । अनि फेरि हिजो बेलुकाको सङ्कल्प दोहोर्‍याउँछु ।

मेरो हँसिलो मुखतिर हेरेर उनी भन्छिन् -“बुबाले दिनुभएको सारङकोटको त्यो पच्चीस रोपनी जगामा एउटा रिसोर्ट खोलौं न है । म रेखदेख गर्छु कति घरमै बसिरहनु, अब त छोराछोरी पनि ठूला भैसके । मेरो पनि यसो समय कटनी हुन्थ्यो ।”

“ल गज्जब ! यस्तो राम्रो आइडिया रहेछ, म केको रिसाउनु नि – बरु यताका व्यवसायमा पनि तिमी सल्लाहकार बस न ।”

“हजुरले मलाई अनपढ छ भनेर जिस्क्याउनुभएको -” उनको मुख रातो हुन्छ । साँच्चै हो संयुक्ताले औपचारिक शिक्षा लिएकी छैनन् । यसैले उनका बाबुआमाले छोरीलाई केही सहयोग होस् भनेर सारङकोटमा पच्चीस रोपनी जग्गा किनिदिएका थिए ।

म उनको हात च्याप्प समाउँछु र भन्छु – “हैन संयुक्ता ! मबाट यस्तो निकृष्ट काम कहिल्यै हुनेछैन ।” तर मनभित्र कतै चिसो त फेरि पसिगयो । ।

——

म आशुतोष । आम्रपालीको प्रेमी । आम्रपालीसँगका भेटघाटहरू लम्बिँदै छन् । बेगनासको बोटिङ त हाम्रो दिनचर्या नै भैसकेको छ । आखिर आफ्नै नौका छँदै छ, मैले खियाउन जानेकै छु । म डुङ्गाको बीचमा बसेर बहना चलाउँछु, आम्रपाली मेरो काखमा शिर राखेर आकाश हेर्छिन् । हामी लगभग बेगनासको मध्यभागमा पुग्छौं । चारैतिर क्षितिजमा कतै संयुक्ता, प्रमोद र नीलिमा देखिएको भान हुन्छ, मनको एउटा कुनु चिसो हुन्छ । झवाट्ट आम्रपालीलाई हेर्छु उनी त्यसै गरी आकाशका बादलहरू हेरिरहेकी छन् । म फेरि त्यतै हेर्छु केही देख्तिनँ । कतै मैले बादल देख्न छाडेको त हैन, मभित्र केही हुन लागेको त हैन । होस्, जे होस् ।

आम्रपालीलाई हेरेर भन्छु- “आम्रपाली ! तिम्री दिदीले यो चाल पाइन् भने के गर्लिन् – मेरा छोराछोरीले चाल पाए भने के होला – म त आशुतोष रहन्नँ । तिमी पनि आम्रपाली रहन्नौ । तिमीलाई डर लाग्दैन -”

आम्रपाली निश्चिन्त भएर भन्छिन् – “आ हजुर पनि ! बेगनासका बीचमा आएर पनि यस्तो कुरा गर्ने हो – आफूलाई हजुरका काखमा सुत्न पाउँदा जन्नत प्राप्त भइराखेको छ ।”

“तिम्रो यो हिन्दुस्तानी बोली पनि म बुझनै सक्तिनँ । के हो यो जन्नत भनेको -”

“अरे …… हजुरलाई जन्नत पनि थाहा छैन ….. -” भन्दै आम्रपाली जुरुक्क उठेर अट्टहास गर्न थाल्छिन् । डुङ्गामा कम्पन हुन्छ । साथै बेगनासको पानीमा तरङ्गहरू डुङ्गाबाट निस्केर किनारतिर लाग्छन् । तर किनार नपुग्दै विलीन हुन्छन्, बेगनासकै अथाह जलराशिमा, फेरि उही समतल पानी, उही शून्यता ।

—-

म आशुतोष । संयुक्ताको पति । म घर पुग्छु । दिनभरि आम्रपालीसँग बेगनासमा बिताएर आएको कुरा यहाँ कसैलाई थाहा छैन । तर फेरि चाल पाइहालेका छन् कि भनेर भित्र पस्दा पनि मुटुले ठाउँ छोड्न खोज्छ ।

संयुक्ता बैठकमा बसेर चियाका लागि पर्खिरहेकी हुन्छिन् । उनको सोझो र निर्दोष अनुहार देख्ता मलाई फेरि ग्लानि हुन्छ । मलाई यस्तो किन हुन्छ, मैले नै बुझन सकिरहेको छैन । म संयुक्तालाई असाध्यै माया गर्छु उनी मेरो जीवनमा आउनु भनेकै मेरो परिचय बन्नु हो । म आशुतोष हुनु भनेको संयुक्ताको निस्वार्थ प्रेम हो बलिदान हो । उनको पर्खाइले मलाई पगाल्छ र सजल नेत्रले भन्छु – “लेमन टी बनाऊ न त है ।”

“हवस् ! ” हावामा पारिजातको सुगन्ध र्छर्दै उनी उठ्छिन् ।

“प्रमोद साइटमा पुगेर आयो त – ” उनले कागती चिया लिएर आएपछि सोध्छु ।

उनी मेरै छेउमा बस्छिन्, आफ्नो चियाको कप लिएर भन्छिन् – “गएर आइवरी, बजारतिर लाग्या छ, खै र्‍याम कि के चाहियो रे ।”

“काम कति भएछ त -” म सारङकोटको रिसोर्ट कन्स्ट्रक्सन साइटमा नगएको पनि तीन दिन भइसकेको थियो । दुइ दिन पर्यटन-व्यवसायीहरूको बैठकले नै खाइदियो र आज ……… ।

दसवटा मध्ये तीनवटा हटमा मात्र वाइरिङ गर्न बाँकी छ रे । अरू सबै सकियो भन्दै थियो ।” उत्साहले भरिएको स्वर छ संयुक्ताको । मलाई पनि खुसी लाग्छ, केही त दिन सकें संयुक्तालाई ….. । तर आम्रपाली ….. ।

——

म आशुतोष । आम्रपाली को प्रेमी । खै यी आम्रपाली पनि । कति हो कति लठ्ठ पारिसकिन् मलाई । आम्रपालीसँग भेट नभएको त दिनै हुँदैन । हरेक व्यस्तताहरूले पनि केही छेकेनन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं हाम्रो भेटको अवसर निस्किहाल्थ्यो ।

आज फेवामा बोटिङ गर्दै बाराही मन्दिरबाट पश्चिमपट्ट जङ्गलका छेउमा जाने निधो गर्‍यौं । तरिका उही म नाउ खियाउने र उनी मेरा काखमा शिर राखेर आकाश हेर्ने । तर आज मलाई त्यसो गर्न मन लागेन । मैले भनें – “साली आम्रपाली ! यसपाली ठाउँ साटौं है ।”

“नाइँ ! म के ! ” उनले लाडिँदै भनिन् ।

“आज एक दिन मात्रै क्या ! मेरो त्यति बिन्ती पनि मान्दिनौ -”

“ल हुन्छ । तर मैले भनेको मान्नुपर्छ । आज जति ढिलो भए पनि मेरो कथा सुन्नुपर्छ ।”

“ल बाबा ! मानें, हुन्छ …… ”

अनि त्यसपछि उनले बहना सम्हालिन् र मैले उनको काख पाएँ । सुखद काख । तर डुङ्गाको काँटीले चस्स घोचिहाल्यो । सम्झें कतै म संयुक्ताको काखमा त सुतिरहेको छैन । मलाई किन यस्तो हुन्छ – आम्रपालीसँग हुँदा म आम्रपालीकै मात्र भएर रहन किन सक्तिनँ । मेरो मानवीय कमजोरी या अरू केही –

“के सोच्न थाल्नुभयो -” बोलिन् आम्रपाली ।

“तिमीले कस्तो कथा भन्न लाग्यौ भनेर सोच्न लागेको ।”

“मजस्तीको कथा कस्तो हुन्छ र – तर पनि मेरो कथा केही अनौठो पनि चाहिं अवश्य छ ।”

“ल भन न त सुरु गरिहाल ।”

आम्रपालीले सुरु गरिन् – “तपाईंलाई थाहा छ, मैले पोखराको लेकसाइडमा एउटा राम्रो घर किनेकी छु -”

“अरे हो र – मलाई त थाहै थिएन ।”

“यो घर किनेको दुइ वर्षभैसक्यो । तर मैले कसैलाई भनेकी थिइनँ । यो पहिलोपल्ट तपाइलाई भन्दै छु । किनकि अब मलाई मेरो जिन्दगीले बाटो पक्रियो जस्तो लागेको छ । मेरो सपना पूरा हुन्छ होला जस्तो लागेको थिएन । सपना देख्नु एउटा कुरा र सफल हुनु अर्कै कुरा । तर अहिले सम्मको जीवनयात्राले अगाडिको बाटो केही मात्रामै भए पनि स्पष्ट पारेजस्तो लागेको छ ।”

“मैले त केही बुझिनँ नि तिम्रो कुरा !” म अन्योलमै थिएँ ।

उनले अगाडि थपिन् -“तपाईंलाई पहिलो पटक तपाईंको र संयुक्ता दिदीको बिहेमा बिर्तामोडमा देखेकी हुँ । तपाईंलाई देख्नेबित्तिकै म कामें । एकछिन पछि फेरि हेरें अनि हेरिरहें । तपाईंको व्यक्तित्वले मलाई लठ्ठ पार्‍यो । त्यसपछि अघिपछि गरेर तपाईंलाई हेरिरहें । धेरै हेरिरहँदा पनि साथीभाइले गिज्याउलान् भन्ने डरले लुकीलुकी हेर्न थालें । जतिपल्ट हेर्थें त्यतिपल्ट नौलो र मीठो अनुभूति हुन्थ्यो । यसै क्रममा तपाईंहरूको गोडा धुने बेलामा हाम्रो आँखा जुधे । मलाई त के भयो, के भयो । मैले त्यहाँबाट भागेर भित्र कोठामा गएर भित्तामा राखेको ऐना हेरें । आश्चर्य ! मेरो शरीरमा तपाईंको शरीर मिसिएको आकृति देखा पर्‍यो ।”

“अनि के भयो -” मेरो जिज्ञासा चरम बिन्दुमा थियो ।

“अनि के हुनु नि ! तपाईंले संयुक्ता दिदीलाई लिएर जानुभयो र हामी आसाम फर्कियौं । आसाम फर्केपछि मलाई बसिनसक्नु भयो । धेरै अत्तालिएँ, अस्थिरताको पराकाष्ठामा पुगें र ढिलै गरी भए पनि एउटा निर्णय लिएँ । एउटा सङ्कल्प गरें तपाईंलाई जसरी पनि प्राप्त गर्छु यदि प्राप्त गरिनँ भने, जीवन नै अन्त्य गर्छु त्यसपछि मेरो दिनचर्या बदलियो ।”

“कसरी -” विवाहित मान्छेप्रति कन्याकेटीले यतिसाह्रो आसक्ति देखाएको मलाई रमाइलो लागिरहेको थियो ।

“म बेस्सरी पढ्न थालें । पढेर पैसा कमाउने ममा धुन सवार भयो । पढें, मज्जाले पढें । व्यवस्थापनमा स्नातकोत्तर गरें र आमाबाबुसँग झगडा गरेर काठमाडौं भित्रिएँ । पढाइ राम्रै थियो, यति टुर्समा काम थालें । बीचबीचमा तपाईंहरूको खोजी नीति गरिरहन्थें । यति टुर्समा दस वर्ष काम गरेर पोखरा आएकी र त्यहीं कमाएको पैसाले घर किनेकी । थाहा छ मैले घर किन किनेकी -”

“किन -” मेरो बुद्धिले आम्रपालीको कथाको टुप्पो अझै भेटेको थिएन ।

“किनकि तपाईंले मलाई बिहे गर्नुहुन्छ भन्ने पूरा विश्वास जाग्यो । संयुक्ता दिदीको घरमा सौता भएर पस्न मन लागेन । सौतै भए पनि अलग्गै बस्ने निधो गरें । थाहा छ तपाईंलाई – संयुक्ता दिदी मेरी आफ्नै दिदी हुन् । पहिले तपाईंले शङ्का गर्नुहोला भनेर मेरो घर आसामको माझगाउँ भनेकी हुँ ।”

“के अरे -” डुङ्गा हल्लियो, फेवामा छालहरू उठे र म झन्डै डुबें । अगाडि हेरें माछापुछ्रेले आकाश छोएको छ, शिखरमा संयुक्ता छिन् र म कतै तल छोडिएको छु । मेरा पछिपछि आम्रपाली आउँदै छिन् ।

“संयुक्ताले त कहिल्यै बहिनी भएको कुरो गरिनन् त !” मेरा मुखबाट अनायास खुस्कियो ।

“होला ! दिदी त्यसै पनि अन्तर्मुखी हुनुहुन्छ तर त्यसभन्दा पनि ठूलो कारण अर्कै छ ।” आम्रपालीले भनिन् ।

“त्यो चाहिं के नि -” म रहस्यको खाडलमै डुबिरहेझैं लाग्यो ।

“तपाईंहरूको बिहे हुनुभन्दा एक वर्ष अगाडि मलाई उल्फाका उग्रवादीहरूले अपहरण गरेर लगेका थिए । उनीहरूले नराम्रो केही गरेनन् र पन्ध्र दिनपछि छाडिदिए । उनीहरूले पन्ध्र दिनसम्म सांस्कृतिक सचेतनाको तालिम दिइरहे र मलाई कलेजमा गएर सोही अनुसार काम गर्न अह्राए । तर यही त हो हाम्रो नेपाली समाज । मेरो विषयलाई लिएर घरमा ठूलो तनाव उत्पन्न भयो । ठूलाठालू भनाउँदाहरूले बस्न दिएनन् । हामीले ठाउँ सर्नुपर्‍यो । त्यसपछि संयुक्ता दिदीको बिहेको कुरा चल्यो र त्यसपछाडि त तपाईंलाई के भन्ने । संयुक्ता दिदीले कहिल्यै आफ्ना पिरमर्का कसैलाई भन्नुभएन । म पनि भन्दिनँ तर तपाईं अब मेरो भैसकेपछि मैले चाहिं लुकाउन उचित ठानिनँ ।”

सूर्य अस्त हुन लागिसकेछन् । डुब्न लागेका सूर्यको रातो उज्यालोले माछापुछ्रेलाई पनि रातै बनाइसकेको थियो । यस्तो रातो प्रायः सधैं देखिन्छ तर आजको रातो मलाई केही विशेष लाग्यो ।

——-

म आशुतोष । संयुक्ताको पति । आम्रपालीको कुरा सुनेपछि , मैले संयुक्तालाई अझ बढी आदरभावले हेर्न थालेको छु । उनीप्रतिको प्रेम बढेको छ । यसै बीचमा सारङकोटको रिसोट बनाउने काम पनि सकिइसकेको छ । उद्घाटन पनि गरिसकियो । संयुक्ता दिउसो सारङकोट जान्छिन्, दिनभरि अफिसमा बस्छिन् र बेलुका आउँछिन् ।

रिसोर्टको व्यवसाय राम्रै चलेको छ । संयुक्ताका अनुहारमा गहिरो सन्तुष्टि देख्छु । लाग्छ मैले केही दिन सकें उनलाई । तर आम्रपाली ……… मेरी साली …………. । संयुक्ता ………. मेरी पत्नी ………।

——–

म आशुतोष । म आम्रपालीको पति । आम्रपालीको कथा पछि मैले उनीसँग बिहे नगरी धरै पाइनँ । उनले जबरजस्ती त गरिनन् तर उनीसँग यति लामो यात्रा गरिसकेपछि मैले नै उनलाई छोड्न सकिनँ । व्यावसायिक कामका नाममा हामी पोखराबाट भाग्यौं । दिल्ली गयौं, मैले संयुक्तासँग वाचा गरेको हनिमुन आम्रपालीसँग मनाएँ । तर पनि संयुक्ताले कहिल्यै मेरो साथ छोडिनन् । पचास वर्षमा हनिमुन …. ।

——

म आशुतोष । म अहिले धेरैजसो लेकसाइडकै घरमा बस्छु । आम्रपालीको सपना पूरा भएको छ । संयुक्ता घर छाडेर रिसोर्टमै गएर बस्न थालेकी छन् । उनी मेरो अनुहार हेर्न चाहँदिनन् । छोरा प्रमोद र छोरी नीलिमा पनि रिसोर्टमै बस्छन् । अहिले मेरो व्यवसाय खस्केको छ । पहिलेको जस्तो कमाइ छैन । परिवार पनि दुइवटा भए । अहिले आएर आम्रपालीको शङ्काले विकराल रूप लिंदै छ । म घरबाट निस्किएको राम्रो लाग्दैन उनलाई । घरबाट निस्कियो कि म संयुक्ताकहाँ नै जाइहाल्छु अरे । कस्तो अचम्म ! उता संयुक्ता भने मेरो नामै सुन्न नचाहने, यता आम्रपाली घरबाट निस्कन नदिने । कुनै महिलाको सनक पूरा गर्नु मलाई के बाध्यता थियो र – मलाई निकै रित्तोपनको आभास हुन थालिसक्यो ।

आम्रपालीले पनि मलाई सन्तान दिन आँटेकी छन् । संयुक्ता भन्छिन् रे छोराछोरीको जिम्मेवारी मेरो हो । हो पनि, तर उनी पनि कमाउँछिन्, उनको पनि त केही जिम्मेवारी बन्दो हो । आम्रपाली पनि त उनकै बहिनी हुन् नि । प्रमोद र नीलिमाका फर्माइसहरू पूरा गर्न म अहिले असमर्थ छु ।

——-

म आशुतोष । म न संयुक्ताको पति न आम्रपालीको । संयुक्तासँग हुँदा आफूसँगै समानान्तर जाने आम्रपालीको विचारले कहिल्यै छोड्दैन । आम्रपालीसँग हुँदा संयुक्ताको साथले त्यसै गर्छ । म भने कहिले बराही मन्दिर, कहिले बेगनासका बीचमा गएर दुइ समानान्तर जिन्दगीहरूको बीचमा भएको शून्यलाई अनि शून्यताबाट सिर्जित रिक्ततालाई हेरिरहेको हुन्छु । मलाई लाग्छ म मेरो परिचय कहिल्यै नभेटिने समानान्तर रेखाहरूको बीचमा हराएको छ ।

२०६३ भदौ १२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *