२०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला बिनाकारण निराश बन्छ । बिनाकारण निराशा हो वा निराशाको कारण म आफैँले पत्ता लगाउन नसकेर हो म निराश चाहिँ हुन्छु । भित्री निराशालाई प्रकट नगरी म छलफलमा भाग लिइरहेको थिएँ । त्यत्तिकैमा आँगनका पल्ला छेउमा दुईजना व्यक्तिहरू मलीन अनुहार लिएर देखा परे । मेरो परिचयको सूचिमा नपरेका व्यक्तिहरूले माल्दाजुलाई बोलाएर अलिपर लगे । म अलि अलमलमा परेँ। समयकाल ठीक छैन । कस्ता व्यक्ति हुन् – के गर्न आएका – मनमा कुरा खेलीरहे एकछिन । केही समयपश्चात् माल्दाजु आएर घोषणा गर्नुभयो “धना दिदी बित्नुभयो अरे । आमालाई अहिले नसुनाऊँ टीका लगाएपछि सुनाउँला ।” वहाँको घोषणाले मेरो मनको निराशालाई दुःखमा बदल्यो । मलाई लाग्यो मलाई कसैले ठूलो भीरबाट खसालिदिएको छ । हातखुट्टा शून्य भएर आए । केहीक्षण पछि चेतना फिर्‍यो । मेरी आमालाई सानीमा भनेकाले हाम्री दिदी हुनुभएकी धना दिदी यति चाँडै खस्नुहोला भन्ने मनको कुनै अन्तरकुन्तरमा पनि थिएन । वहाँ अस्वस्थ हुनुभएको त थाहा थियो तर यति छिटै वहाँको चोला उठ्ला भनेर सोचेकै थिइनँ । अझ टीकाकै दिनपनि धना दिदी टीका लाइदिन लठ्ठी टेक्दै टुप्लुक्क आइपुग्नुहुन्छ कि भन्ने आस बोकेको मनलाई वहाँको मृत्युको खवरले मर्माहत तुल्यायो ।

त्यसपछिका घटनाक्रमहरू यन्त्रवत् घटिरहे । शारीरिक रूपले मैले तिहारको टीकामा भाग लिए पनि मनचाहिँ धना दिदीसँगै विगतमा घुमिरह्यो । दिदी पानी लिएर दाजुभाइहरू बसेको स्थान परिक्रमा गर्न थाल्नुभयो । दिदी पछाडि पनि मैले धनादिदी नै देखिरहेँ। वहाँ टीका लगाउने सबै प्रकृयाहरूमा दिदीकै पछिपछि हुनुहुन्थ्यो । मलाई असामान्य केही लागेन । धना दिदीको अनुपस्थितिको भान नै भएन । अचानक दिदीले कपालमा तेल लगाई दिन टाउकामा हात पुर्‍याउनुभयो । म झसङ्ग भएँ, ओहो धना दिदी त हुनुहुन्न, म त तन्द्रामा पो रहेछु ।

दिदीले टाउकामा तेल लगाइदिनुहुँदै छ । मलाई याद भयो धना दिदीले भनेको कुरा- म सानै थिएँ रे । वहाँले मलाई माया गरेर काँधमा बोक्नुहुन्थ्यो रे । काँधमा बोक्दा मेरा हातले वहाँको टाउको समात्थेँ रे । एकपल्ट यसै गरी बोक्ता वहाँको काँधमा मैले छेरिदिएको थिएँ रे । यी सबै कुरा सुनेर म त्यत्तिकै हाँसिदिन्थेँ पहिले तर अहिले यिनै कुराले मन रुवाइ रहेछ । म आफूलाई बालकमा परिवर्तन गरेर उक्त घटनाको नायक बन्न खोज्छु । मुटुमा भक्कानु मात्र फुट्छ । सायद मैले छेरेको कारणले धना दिदी रिसाउनु भएको हो कि । अहिले वहाँ नजीक भए मैले छेरेकोमा क्षमा माग्ने थिएँ जुन काम मैले पहिले कहिल्यै गरिनँ।

कार्यक्रम अगाडि बड्यो, दिदीलाई टीका लगाएर दक्षिणा दिने बेला भयो । मलाई धेरै पटक लागेको कुरो हो चाडबाडमा दिदीहरूलाई राम्रै दक्षिणा दिऊँ, ठूलै रकम दिऊँ, तर दिने बेलामा उही खर्चका हिसाबकिताब अगाडि सर्छन् र दक्षिणाको रकम प्राथमिकतामा पर्दैन । दिदीलाई दक्षिणा दिएपछि लाग्यो धना दिदीलाई पनि अलि बढी दक्षिणा दिन पाए कति खुसी हुनुहुन्थ्यो वहाँ । तर अब त धेरै ढिला भैसकेको थियो । खै चेलीबेटीलाई धक फुकाएर दक्षिणा दिने बेला हाम्रो जीवनमा आउला कि नआउला ।
खाने बेला भयो । भागमा परेका फलफूल टोक्दै गएँ। मोही खान मन लाग्यो । मोहीको गिलास समातेपछि फेरि झल्याँस्स भएँ धना दिदी भन्ने गर्नुहुन्थ्यो “मेरा घरमा मुसा पालेकी छु, सुन्तलेमा भाइ, सुन्तले गएर मुसा दुहुनुपर्छ, दूध जमाउनुपर्छ मोही पार्नुपर्छ र पिउनुपर्छ ।” मनमा टीस उठ्छ । अहिले मलाई थाहा छ मुसा दुहेर दूध खान सकिन्न तर त्यस बेला वहाँले भनेको असत्य लाग्दैन थियो । कल्पना गर्थेँ ठूला मूसा होलान् गाईकै जस्ता चारवटा थुन होलान् । ससाना ढुङ्ग्रा होलान् मुसा दुहुने, त्यही रकमका सानै ठेका-टोलङ होलान् दूध जमाउन र मोही पार्नका लागि । केटाकेटीको कल्पनाबाट आखिरी के पो अछुतो छ र ।

खानपिन सकेर माल्दाजु र म सुन्तले जाने भयौँ। आँगनबाट निस्केर गल्लीमा पुग्यौँ। गल्ली- मैले सानामा खेलेको गल्ली- सहर बजारमा धेरैधेरै घरका बीचमा साँघुरो बाटो नभएर ठूलो वरको फेदबाट गएको तेर्सो बाटो- यही गल्लीमा गाडी आउँछ भन्दा मन फुरुङ हुन्थ्यो सानामा, आफ्नै कल्पनाका गाडीहरू, ती गाडीमा चडेको कतैकतै गएको, अहिले सम्झँदा रमाइलो लाग्छ । धना दिदी गाडीको कुरा गर्दा भन्ने गर्नुहुन्थ्यो- “गल्लीमा गाडी आउँछ, हुर्र चढौँला, इलाम जाउँला सिलाम खाउँला ।” गाडीका कल्पना माथि धना दिदीले इलाम र सिलामको सपना थपिदिनुभएको थियो । इलामको कल्पना त धेरथोर वास्तविकतासँग मेल खायो नै तर सिलामको स्वादचाहिँ पटक्कै कल्पित स्वादसँग मेल खाएन ।

हामी फेरि अगाडि बढ्यौँ। बाटादेखि मुन्तिर यामबहादुरको सानो घर छ । घर टाटीले बारेको र खरले छाएको । ठ्याक्कै यस्तै घर थियो धना दिदीको पनि सुन्तलेमा । म वहाँसँग सुन्तले धेरैपल्ट जाँदाका यादहरू मेरा मानसपटलमा सुरक्षित छन् । वहाँको घर सानो, चिटिक्क परेको टाटीले बारेको, खरले छाएको हुने गर्थ्यो । भित्रपट्टि सबै माटाले टाटी भरेर रातामाटाले राम्ररी लिपेको हुन्थ्यो । टाटीका बीचमा दुईतिर केही भाग माटो नलगाई आँखी झ्याल राखेको हुन्थ्यो । झ्यालको वरिपरि अलिकति माटो उठाएर कलात्मक रूप दिएको हुन्थ्यो । एकापट्टि कुनामा सानो खाट थियो र खाट सामुन्ने सानो चुल्हो थियो भइँमा । मैले त्यो चुल्हो देख्दा त्यो जहिले पनि रातो माटाले लिपेर सफा बनाएको मात्र देख्थेँ । चुलामाथि एल्युमिनियमको मख, कालो फलामे चिम्टा, बुलाकी लगाएको चुलेसी आदि भित्तामा झुन्डिएका हुन्थे । धना दिदीले त्यो चुलेँसीले इस्कुस ताछ्दा चुलेँसीको बुलाकी र वहाँको नाकमा भएको बुलाकी सँगसँगै हल्लिन्थे । मलाई चाहिँ त्यो दृश्य बिछट्ट रमाइलो लाग्थ्यो । त्यस घरमा दैलो र खाटचाहिँ काठकै देखेको थिएँ । म धना दिदीसँग सुन्तले जाने बित्तिकै, दूध दिने मुसा खोज्न थाल्थेँ । दिदी भन्नुहुन्थ्यो “गए त ती मुसा त गोठमा, केटाकेटीका छेउमा ती आउँदैनन् । भरे तँ सुतिसकेपछि म बोलाएर दुहुन्छु है ।” म पनि होला नि भनेर चुप लाग्ने गर्थेँ । अँध्यारो हुँदै गएपछि मलाई डर लाग्थ्यो । धना दिदीको घरमास्तिरपट्टि नेपालबारी साँल्दाजुको घर थियो । बेलुका भएपछि धना दिदी कराउनुहुन्थ्यो उँभो फर्केर “ए साहिँली ! ढोका लगा, पर बाटामा भोटे आयो है, केटाकेटी सुते कि सुतेनन् ।” त्यसपछि साँल्दाजुका घरमा ढोका लगाएको आवाज र आग्लो चढाएको आवाज आउँथ्यो । मचाहिँ धना दिदीको सानो खाटमा भित्तापट्टि डल्लो पर्थेँ डरले । मलाई त्यस बेला भोटे भनेपछि साह्रै डर लाग्थ्यो । लामालामा हातखुट्टा भएको, जिउभरि काला भुत्ला भएको भालूको जस्तो मुख भएको, वनमान्छे जस्तो आकृति लाग्थ्यो भोटे । धना दिदीले भोटे आयो भनेर भित्र पसी दैलो लगाइसकेपछि मात्र म आँखा हेर्थेँ। तैपनि खाटमास्तिर रहेको सानो टाटीको आँखीझ्यालबाट भोटेले हात छिराएर तान्छ कि भन्ने लागिरहन्थ्यो ।

सोच्दासोच्दै निकै अगाडि बढिसकिएछ । माघेखोला तरेर अलैँचीबारीको उकालो उक्लेपछि माल्दाजुले एकछिन उभिएर जाऔँ भन्नुभयो । उभिने क्रममा वहाँले गोजीबाट चुरोट निकालेर सल्काउनुभयो । म यो देखेर फेरि स्मृतिको पानामै फर्किएँ । मलाई थाहा छ, यो माघेको हाम्रो घरकै घटना हो । मलाई रुघाखोकी लागेको थियो । त्यस बेला धना दिदी चुर खानुहुन्थ्यो । मलाई चाहिँ चुरको गन्ध एकदमै मन नपर्ने । मलाई रुघा लागेको देखेर वहाँले भन्नुभयो -“ल भाइ ! म दबाई गर्छु त्यसपछि वहाँले चुर बेर्ने कागजमा ज्वानु बेरेर चुर सल्काएजस्तै सल्काउनुभयो र मलाई पनि तान्न दिनुभयो । म त केटाकेटी, चुरोट वा चुर कहिल्यै नतानेको एकपल्ट तान्नेबित्तिकै भित्रभित्रै आगो लागेजस्तो भयो । खोकी लागेको लाग्यै भयो म राल र सिँगानसरि भएँ । धना दिदी भने त्यही ज्वानाको चुर मज्जाले तानिरहनुभएको थियो ।

यस्तै उकालीओराली गर्दै हामी दाजुभाइ गन्तव्यमा पुग्यौँ । त्यहाँको बोझिल वातावरणमा केही व्यक्तिहरू तास खेलिरहेका थिए । दिदी जिन्दगीभरि आफ्नो परिवारसँग नबसेर एक्लै बस्नुभएको थियो । धेरै वर्षनेपालबारी साँल्दाजुको घरछेउमा कटेरोरूपी घरमा बस्नुभयो र त्यसपछि विजया भाउजूकामा बस्दै आउनुभएको थियो । धना दिदीको चोला पनि विजया भाउजूको घरमै उठेको थियो । मेरो ज्ञानले भ्याएअनुसार भिनाजुको खोजी गर्दा, धना दिदी भिनाजुसँग नमिलेर एक्लै बस्नुभएको जानकारीमा आयो । आफ्ना श्रीमान्-सँग जिन्दगीभरि छुट्टिएर बसे पनि शवयात्रा निकाल्न भने घरकै मान्छे चाहिने रे – त्यसैले शवयात्रामा ढिलाइ भएको थियो । यो देखेर आफ्नो मनमा चाहिँ आफ्नै संस्कारप्रति वितृष्णा जागेर आयो । धना दिदीका घरबाट मान्छे आएका थिएनन् । आफूलाई त्यहीँ बसिरहन उकुसमुकुस भएर आयो । जे भए पनि धना दिदीले यो पृथ्वीलाई त्यागिसक्नुभएको थियो । धना दिदीको स्मृतिसँगै हामी गह्रौँ मन लिएर त्यहाँबाट हिँड्यौँ ।

आज मलाई मेरी प्यारी धना दिदीलाई तिहारमा हजारैहजारका नोट खाममा हालेर दक्षिणा दिन मन लागेको छ । मलाई अहिले बालक हुन असाध्य मन लागेको छ । पहिले जस्तै वहाँको अर्को काँधमा चढेर दिसा गरूँ र- दिदी ! तपाईँ कति राम्री भनूँ जस्तो लागेको छ । धना दिदीले पालेका मुसाको दूध विछट्ट खान मन लागेको छ, र खै किन हो सबैभन्दा धेरैचाहिँ भोटे आउने डरले वहाँको काखमा लुक्न मन लागेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *