यसपालि म काठमाडौँबाट घर आउँदा निकै अस्थिर थिएँ। इलाम आक्रमण भएको पाँच दिन मात्र भएको थियो। सदरमुकाम आक्रमणपछि गाउँघरतिर हालखबर के छ भनेर बुझ्न मन लाग्यो र दौडिएँ घरतिर। दैनिक कामको व्यस्तता र देशको वर्तमान असहज स्थितिले हुनसक्छ, म विचलित पनि छु। यात्रा गर्दा वा केही गर्दा कहिले के हुने हो भन्ने कुराको निधो हुँदैन। कता बम पड्किने हो कि, कहाँ गोली चल्ने हो कसैले भन्न सक्तैन।

यस्ता असहज परिस्तिथिका सर्जक को हुन् र यसको समाधान कहिले होला भन्ने मनमा तर्कना मात्र रहन्छ। समाधानका लागि कोही पनि सिरियस भएको पाइँदैन। मान्छे स्वार्थ र आत्मपरकताले यति धेरै ओतप्रोत छन् कि, कोही मर्यो भने मानिसलाई केही हुँदैन। मानवीय संवेदना मृतप्राय छ। आफ्नू टाउकामा बम नपड्किऊन्जेल वा आफूलाई गोली नलागुन्जेल मान्छेले अर्को मान्छेको पीडा बुझ्नै सक्तैन। फेरि सुरक्षा फौज हुन् या विद्रोही हतियारको उन्माद यति धेरै छ कि सर्वसाधारणको एउटा शब्दले मात्र पनि उसको ज्यान लिन सक्छ। यस्तो उन्माद र संवेदनहीनता बोकेर यस देशका मानिसहरूले देशलाई कहाँ पुर्याउने हुन् केही पत्तो छैन।
घर आएर झोला बिसाइ यसो पल्टिन मात्र के लागेको थिएँ, तल्ला घरमा रुवाबासी भैरहेको सुनेँ। तल्लो घर अर्थात् मेरा छिमेकी बिर्खबहादुर सुन्दासको घर। हतारहतार लागेँ त्यतैतिर। मलाई देख्ने बित्तिकै कान्छी भाउजू छाती पिटीपिटी रुन थालिन्। कान्छी भाउजू, बिर्खे दाइकी जहान। हेर्छु मानिसहरूको भीड लागेको छ। उनीहरूका आफन्तहरू पनि छन्। आँखाभरि आँसु पारेर बसेका। बिर्खे दाइकी एउटी छोरी र दुईवटा छोराहरू पनि शोकमग्न छन्। ठूलै दुर्घटनाको आशङ्काले अर्का छिमेकी इन्द्रलाई सोध्छु- “के भयो ? किन यसरी शोक मनाइरहेका ?”
“बिर्खे दाइ 21 गतेको हवाई आक्रमणमा मारिएछन्। अहिले भर्खर खबर आइपुगेको।”
“अरे ! कसरी ?” म छक्क परेँ। बिर्खे दाइ त बिद्रोही हैनन्। फेरि कसरी यो हवाई कार्बाही ? फेरि हवाई कार्बाही त अस्ति फागुन 21 गते इलाम सदरमुकाममा भएको हो। समालबुङबाट बिर्खे दाइ कसरी इलाम पुगे र हवाई कार्बाहीमा मारिए ? बिर्खे दाइका छोराहरू केही बदमासजस्ता त देखिन्थे पहिले पनि तर पनि उनीहरूको सम्बन्ध बिद्रोहीसँग भएको त मलाई थाहा थिएन। मनमा चिसो पस्यो कतै यिनै केटाहरूले गर्दा त हैन बाबु भुमरीमा परेका। तर यत्रो फटाईँ गर्लान् भन्ने त लागेको थिएन। नहुन पनि सक्छ। जे होस् यो समय तर्कना गर्ने थिएन।
म कान्छी भाउजू त्यसरी रोएको हेर्न सक्तिनँ। यस्तो दुःखको समयमा कसरी सम्हालिऊन् पनि। कान्छी भाउजू दमिनी या बिर्खे दाइ दमाइँ नै भए पनि मेरा लागि केही फरक पर्दैन। त्यसो त पहिले पनि परेको थिएन। उनीहरूका जिउज्यानमा पनि मेरोजस्तै रातै रगत बग्छ, उनीहरूको कपाल मेरैजस्तो कालो छ। बिर्खे दाइ हा…हा…हा…हा.. गरेर हाँस्दा मेरै बुबाले हाँसेजस्तो सुनिन्छ। म उनका छेउमा जान्छु। देख्छु वरिपरिका आँखाहरूले मलाई अनौठो पाराले हेरिरहेका छन्। कान्छी भाउजूका हातहरू समाउँछु। यस्ता दुःखका बेलामा मलाई शब्दले सान्त्वना दिन आउँदैन, खै किन हो जान्दिनँ। मनका भावनाहरूलाई शोकको घडीमा शब्दमा उतार्न पटक्कै आएन मलाई। चाहे जो होस् शोकमा परेका व्यक्तिको हात समाउँछु म। मलाई लाग्छ दुईचार फोस्रा र बनिबनाउ शब्दहरूले भन्दा हातको न्यानो स्पर्शले धेरै गुणा बढी समवेदना प्रकट गर्छ। मैले कान्छी भाउजूको हात समाएर मौनताको भाषामा उनका दुःखहरू घटाइरहेको छु। मैले निकै बेर हात सुमसुम्याएपछि भाउजूको विलौना केही कम हुन्छ।
विस्तारै सोध्छु भाउजूलाई – “कान्छी भाउजू कसरी यस्तो भयो, कसैले दुष्ट्याइँ गरेको त हैन ?”
भाउजू रूँदै भन्छिन्-“हैन नानी ! हैन ! तपाईँ त छ महिना यता घर आउनुभएको छैन। जे भयो यही छ महिना भित्रै भयो। म त डुबेँ नानी ! म त डुबेँ !” भाउजूले यसभन्दा बढी केही भन्न सकिनन्। धिक्कारेँ आफूलाई किन यस्तो बेलामा मलाई पनि बेलिबिस्तार चाहिएको होला। भाउजूको रुवाइ बढ्न थाल्यो। म फेरि भाउजूको हात समातेर उनको दुःखको पहाडलाई केही होच्याउने प्रयत्न गर्नतिर लागेँ।

बिर्खे दाइको काजक्रिया पनि सकियो। उनको दाहसंस्कार पनि गर्न सकिएन। हवाई आक्रमणमा परेका मानिसहरूको सनाखत नै हुन सकेन। लासहरू यति धेरै क्षतविक्षत भएका थिए कि कसको हो चिन्ने कुरै थिएन। कति मारिए भन्ने कुराको त यकिन छैन। सरकारी तथ्याङ्कले एउटा कुरो भन्छ भने विद्रोहीहरूको बक्तव्यले अर्कै। सर्वसाधारण त जहिले पनि मारमा। सही सूचनाको अधिकार समेत जनतालाई छैन।
म घरबाहिर सिकुवामा बसेर बिहानीको दोस्रो चिया खाइरहेको थिएँ। भित्र आमाले दूध तताउँदै हुनुहुन्थ्यो। एकछिन पछि आमाले भन्नुभयो- “ए साने ! कुराउनी कोर्ने हैन। कराई सुकिसक्यो।”
“हुन्छ आमा !”भन्दै हतार हतार भान्सामा गएँ र किटको ठूलो कराइमा लागेको कुराउनी कोर्न लागेँ। मेरो सानैदेखिको स्वभाव वा बानी हो यो। दूध तताएपछि कुराउनी कोर्ने र कुराउनीको डल्लो क्वाप्लाक्क मुखमा हालेर हिँड्ने। आमाले मेरो बानी मन पराएरै होला जहिले पनि म घरमा आउँदा, मलाई नै कुराउनी कोर्न लगाउनु हुन्थ्यो। हो उमेर चालीस कटिसक्यो तर पनि बालापनको बानी गएको छैन। कुराउनी कोरिसकेर कराई किलामा झुण्ड्याउँदा अचानक मलाई ठूली दमेनाको सम्झना आयो।

ठूली दमेना ! नाम के हो थाहा छैन। नाम त मलाई बिर्खे दाइकी पत्नी कान्छी भाउजू कै पनि थाहा छैन। साइनो लागेर बोलाउने गाउँले परिवेशमा धेरै आफन्तहरूका नाम मलाई थाहा छैन। साइनोको सम्बोधन यति प्यारो र आफ्नोपनले भरिएको हुन्छ कि वास्तविक नाम या कागजमा भएका नामको कुनै अर्थै रहँदैन। कानुनी प्रक्रिया अथवा लेखापढी गर्दामात्र नामको प्रयोजन हुन्छ। जे होस् कुरो हुँदै थियो ठूली दमेनाको। ठूली दमेना बिर्खे दाइकी आमा थिइन्। म र बिर्खे दाइ लगभग दौँतरी हौँ। उनी मभन्दा दुई वर्षमात्र ठूला हुन्। तर उनीहरूको पारिवारिक कारणले उनको छिटै बिहे भयो र छोराछोरी पनि छिटै भए। त्यसैले मेरा छोराछोरीहरू र उनका छोराछोरीहरूमा उमेरको निकै अन्तर छ। ठूली दमेना र कराईसित मेरो अविस्मरणीय घटना गाँसिएको छ।
एकदिन म बिर्खे दाइसँगै उनकै आँगनमा खेलिरहेको थिएँ। मलाई बिर्खे दाइको घरभित्र आउनुजानुमा केही रोकटोक थिएन। खाजा खाने बेला भएको थियो। ठूली दमेनाले बिर्खे दाइलाई खाजा खान भित्र बोलाइन्। म पनि सँगसँगै भित्र पसेँ। किटको ठूलो कराईमा मकैको चामलको पुवा पकाएको रहेछ। ठूली दमेनाले मलाई – “साना ! पुवा खाने ?” भनेर सोधिन्। मलाई पनि खेल्दा भोक लागिरहेको थियो र भनेँ-“ल खाने दमेना।” त्यसपछि बिर्खे दाइ र मैले घिउमा भुटेर पकाएको मकैको पुवा र साँदेको गुन्द्रुकको अचार खायौँ। साँझ घर गएर मैले ठूलो पुरुषार्थ गरेझैँ आमालाई सुनाएँ- “आमा ! आमा ! मैले त ठूली दमेनाकहाँ मकैको पुवा खाएर आएँ।” आमाले बेस्सरी झपार्नुभयो, दमाइँको घरमा किन खाएको भनेर। मलाई त्यसबेला दमाइँ को हो, किन उनीहरूले छोएको खान नहुने आदि कुराको जानकारी थिएन। मैले मतलब पनि राखिनँ। बिर्खे दाइ मेरा साथी थिए, एकदम मिल्ने साथी त्यसैले होला। अँ दुईटा कुरा अलिक भिन्नै चाहिँ थिए। उनीहरूको घर मुन्तिर कान्लामा सुँगुरको खोर थियो जुन हाम्रामा थिएन र उनीहरूले लुगा सिउँथे। तर लुगा त हाम्रा बाले पनि सिउनुहुन्थ्यो र उनीहरूको भन्दा राम्रो कल थियो हाम्रामा।
अरे ! मेरा त आँखामा आँसु आइसकेछन्। कठैबरा बिर्खे दाइ ! मेरा बालसखा ! छ महिना पहिले म घर आउँदा कति हँसिलोँ पाराले ठट्यौली गरेर छुट्टिएका थियौँ। अब त केवल सम्झना मात्र रह्यो। थाहा छैन यो असहज परिस्थितिले केके खोस्ने हो ! मेरा प्यारा बिर्खे दाइलाई त खोसिसक्यो।

यसैबीच इन्द्रबाट थाहा पाएँ इतिबृतान्त। हाम्रो सीमान्त गाउँ समालबुङमा प्रायः विद्रोहीको चलखेल सामान्य मात्र थियो। कहिलेकाहीँ चन्दा माग्न आउँथेजान्थे। सुरक्षा फौज पनि बेलाबखत आएर जान्थे। त्यस्तो धेरै दुःख दिएको थाहा छैन। जे होस्, मेरा लागि अकल्पनीय घटना घटेको थियो। बिर्खे दाइ यसरी मर्लान् भनेर सोच्दै सोचेको थिएन। कतै मनका अन्तरकुन्तरमा पनि यस्तो घटनाको आशङ्का थिएन। म त काठमाडौँबाट हिँड्दा बिर्खे दाइसँग तासको एकदुई बाजी जमाउँला भन्दै आएको थिएँ। तर उनी त तासको महल जस्तै ढलिसकेछन्। म मर्माहत भएको छु। कान्छी भाउजूलाई कसरी जिन्दगीको बाटो देखाऊँ ? बिर्खे दाइ र कान्छी भाउजूको प्रेमबाट धेरै कुरो सिकेको थिएँ मैले। औपचारिक शिक्षाले नछोएका बिर्खे दाइ र कान्छी भाउजूको जोडी मेरा नजरमा आदर्श जोडी थियो। मैले उनीहरूको जस्तो व्यवहार र समझदारी काठमाडौँका धेरै पढेलेखेका भनाउँदाहरूमा पनि देखेको छैन।
समस्या बिर्खे दाइका छोराहरूबाटै सुरु भएको रहेछ। केटाहरू केही उच्छृङ्खल त थिए। बेलामौकामा मातेर हामीलाई हेप्ने बाहुनहरू, काठाहरू सबलाई मास्नु पर्छ भन्ने गर्थे। तर तिनीहरूको अभिव्यक्ति रक्सीको मातसँगै हराएर जान्थ्यो। होला केही अवचेतन मनमा कि हामीहरू दलित हौँ र यिनै माथिल्लो जात भनाउँदा हरूले हामीलाई माथि उठ्न दिँदैनन्। तर उनीहरू माथि नउठ्नुमा सबभन्दा धेरै दोष चाहिँ उनीहरूकै थियो। बिचरा बिर्खे दाइले लुगा सिएर र बनीबूतो गरेर उनीहरूलाई यसैपालि एस.एल.सी. पास गराएका थिए। उनी आफू अनपढ भए पनि शिक्षाले मात्र हामीलाई उकास्छ भन्ने कुरो बुझेका थिए। आफू सानो जात भनेर कुर्लिनुको साटो पढेर ठूलो जात भनाउँदाहरूसँग वैचारिक युद्ध गर्नुपर्छ भन्ने कुरामा बिर्खे दाइ विश्वस्त थिए। म पनि उनलाई सधैँ यस्तै कुराहरूमा सहयोग गरिरहन्थेँ। बिर्खे दाइका कुरा सुन्दा उनी अनपढ भनेर कसैले भन्न सक्तैनथ्यो।
एक दिन विद्रोही का केही क्रान्तिकारी युवाहरू आएर बिर्खे दाइका छोराहरूलाई ‘दलित मुक्ति मोर्चा’ का उद्देश्यहरू बताउँदै, सदस्यता लिन अनुरोध गरेछन्। केटाहरूलाई के चाहिएको थियो र बाहुन-छेत्रीको थिचोमिचो बाट मुक्त हुने उपाय त अब हात लाग्यो भनेर तुरन्त सदस्यता लिइहालेछन्। सैद्धान्तिक कुराहरू एक ठाउँमा र व्यवहार एक ठाउँमा। बिर्खे दाइले चाल पाएर विरोध पनि गरेछन् तर के गर्ने लिइसकेको सदस्यता फिर्ता नहुने। अब दलित मुक्ति मोर्चा साथै विद्रोहीका अन्य कार्यक्रमहरूमा जान निम्तो आउन थालेपछि बिर्खे दाइको पसिना छुटेछ। उनी विचराले सशस्त्र क्रान्तिले कैयौँको ज्यान लिएको देखिसकेका थिए। मानिसको ज्यान नलिइ पनि संगठित भएर युद्ध गर्न सकिन्छ भन्ने धारणा थियो बिर्खे दाइको। सायद उनले चाल पाएको भए पहिले नै सदस्यता लिनबाट रोक्थे कि। अब जे हुनु भैसकेको थियो।
त्यसको केही दिनपछि केटाहरू दलित मुक्ति मोर्चाको बैठकमा सहभागी भएर आए। उनीहरूको उत्साह हेर्न लायकको थियो रे त्यसबेला। अब यी शोषक बाहुनहरूको खैरात छैन भन्दै गाउँभरि कुर्लिहिँडेछन्। त्यो देखेर बुबा आमा निकै डराउनु पनि भएछ। तर कुरो फेरि आयोगयो भएछ।

बिचरा बिर्खे दाइ । मेरा बालसखा बिर्खे दाइ। म झल्झली सम्झन्छु बिर्खे दाइसँग मैले बिताएका दिनहरू। हाम्रो प्यारो समालबुङ गाउँ, मेची खोला, पारि इन्डियाको चियाबारी। बिर्खे दाइ र म प्रायः हरेक दिन समालबुङको ऐँसेलु घारी चाहार्थ्यौँ। जिम्बुका रूखमा चढेर जिम्बु खान्थ्यौँ। काँचा मेलहरू खान्थ्यौँ। एक दिन त हामी लहड चलेर करफोक स्कुलको कुटी जङ्गलसम्म पुगेका थियौँ, गोरूसिँगे खानलाई। बिर्खे दाइसँग म कैयौँ पटक मिरिक गएको छु। चियाका बुट्टाहरूमा लुकामारी खेलेका छौँ हामीले। मिरिक गएर सयौँ पटक चिया र सिँगडा खाएका छौँ। साधारण लेखपढ गर्न नजानेका बिर्खे दाइ त्यसबेला अरूले किताबहरू पढेको साह्रै रुचाउँथे। एक पल्ट मेरा बुबाले मलाई मिरिकबाट ‘गान्धीको जीवनी’ किनेर ल्याइदिनुभएको थियो। मैले पढेको देखेपछि बिर्खे दाइले मलाई त्यो किताब पढेर सुनाउन भनेका थिए।मैले त्यो किताब बिहान-बेलुका गरेर एक महिनाभित्रमा पढेर उनलाई सुनाएको थिएँ। उनमा त्यसपुस्तकबाट परेको प्रभाव उनको जीवन मै देखिन्थ्यो। मैले बुबासँग मिरिक जाँदा पुराना किताबहरू बेच्ने ठाउँ देखेको थिएँ र पछिल्लो पल्ट उनीसँग जाँदा मैले त्यो ठाउँ उनलाई देखाएको पनि थिएँ। त्यसपछाडि बिर्खे दाइलाई मैले म्याक्सिम गोर्कीको ‘आमा’ पनि पढेर सुनाएको थिएँ। आफ्ना जिन्दगीका जिम्मेवारीबाट केही पैसा बचाएर मिरिकको त्यही दोकानमा गएर बिर्खे दाइ आफ्ना छोराहरूका लागि पुस्तकहरू किन्थे बेलाबेलामा। ‘कुन किताब किन्नु ? लेखिदिनोस् !’ भनेर बुबासँग लेखिमाग्दा रहेछन्। अघिल्लोपल्ट म घर आउँदा मैले उनका बाकसमा थुप्रै किताबहरू देखेको थिएँ। उनी छोराहरूले राम्रा किताब पढेनन् भनेर निकै चिन्तित देखिन्थे।

कान्छी भाउजूसँग म आँखा जुधाउन सकिरहेको छैन। उनका आँखामा आँसु सुकेका छैनन्। म कसरी सम्झाऊँ उनलाई। “म त एक्लिएँ नानी ! म त एक्लिएँ !” भनेर बिलौना गरिरहन्छिन्। त्यसदिन विद्रोहीहरूको बीसजनाको समूह आएको थियो रे। ‘दलित-मुक्ति मोर्चा’को विशाल आमसभामा जानका लागि लिन आएको भन्दै बिर्खे दाइलाई लिएर गएछन्। कहाँ जाने भनेर सोद्धा कड्केर नेपालटार जाने भन्दै ओरालो लागेका थिए रे। कान्छी भाउजू ले त त्यसैदिनदेखि डराएर खानपिन पनि राम्ररी गर्न छाडिसकेकी रहिछन्। अब कहिले आउलान् भनेर बाटो हेर्दाहेर्दै हप्तौँ बितेछ। त्यसै बीच इलाम सदरमुकाम आक्रमण भयो 21 गते। जनमुक्ति सेनालाई सघाउने भन्दै दलितमुक्ति मोर्चाका सदस्यहरूलाई पनि इलामतिर लिएर आउँदा पुवामाई नजिकै सेनाले हेलिकप्टरले बम खसालेछ। दलित मुक्तिमोर्चाका अन्य सदस्यसहित बिर्खे दाइलाई पनि सहिद घोषणा गरेछन् विद्रोहीहरूले।
यसरी बिर्खे दाइ बिदा भए हामीबाट। अब हामी माझ सानो खुसीको कुरा हुनासाथ हा…हा…हा…हा… गरेर गाउँ नै थर्काउने गरी हास्ने बिर्खे दाइ छैनन्। मेरा अभिन्न मित्र छैनन्। खै के गर्ने ? कान्छी भाउजूलाई अब एसएलसी पास गरेका छोराहरूको चिन्ता छ। म पनि उनीहरूका लागि चिन्तित छु। हेर्छु केटाहरूको रङ फुस्रो छ। युवा अनुहारहरूमा कान्ति छैन। उनीहरूको अनुहारले क्रान्तिको भ्रान्तिमा परेको स्पष्ट देखाइरहेको छ। तर के गर्नु र बोली र गोली छुटेपछि फर्काउन सकिन्न। मानिसको जिन्दगी पनि अचम्म लाग्दो छ। कतिपय कुराहरू पश्चाताप गर्दा पनि फिर्दैनन्। अब ती केटाहरूले त्यस्ता भेलाहरू, सभाहरूमा भाग लिनैपर्छ। सदस्य छन् उनीहरू। ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झैँ, शोषकलाई मजा चखाउने सुरमा बाबुलाई पनि उनीहरूले गुमाउनु पर्यो।

बीस दिनपछि म काठमाडौँ फर्किएँ। साथै लिएर आएँ कान्छी भाउजूले दिएका केही पुस्तकहरू जुन उनले छोराहरूका लागि जम्मा गरेका थिए। ती पुस्तकहरूमध्येमा एउटा थियो – मेरै बुबाले संस्कृतबाट अनुवाद गर्नुभएको ग्रन्थ-‘सरल गीता।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *