वसन्त थापा
रेडियोका गीत र समयको फेर
धनकुटामा सानै छँदा मैले देखेको अति नौलो र सङ्गीत निकाल्ने आधुनिक यन्त्र भनेको ग्रामोफोन थियो जो मैले सिरवानीको कुनै साहुको घरमा सत्यनारायण वा यस्तै कुनै पूजाको अवसरमा फुपू र आमालाई पछ्याउँदै जाँदा देखेको मिरमिर सम्ड्ढना आउँछ । एउटा चारपाटे बाकसमा हातले खुइँखुइँ दम दिएर त्यसमाथि राखिएको कालो ‘रेकाट’ माथि हाँसको लामो घिच्रोजस्तो लर्कने वस्तुमा रहेको सियोले कोर्दा गीत बज्थ्यो । त्यो बज्ने कालो र गोला रेकाट देख्दा हामीलाई हामीले हिउँदमा खाने कोदाको रोटीजस्तो लागेथ्यो । ग्रामोफोनको त्यो रेकर्ड देखेपछि खानुअघि कोदाको रोटीलाई टाउकामाथि राखेर त्यसमा चोर औँला घुमाएर गीत गाउँदै मैले खेल्न सिकेको थिएँ ।
घुमाउने चौतारा
घुमाउने चौतारा। जहाँ हामी उभिएका छौं। म छु, मेरो साथमा कुलप्रसाद राई छन्, सिद्धराज राई छन् र छन् रविन गिरि। तीनै जना पत्रकार। राई बन्धु धनकुटाका र गिरि धरानका, जो मेरो सहयात्री बनेर धनकुटा आएका थिए घुमघामका लागि। घाम मार्गपोखरीको डाँडापछाडि लुक्नै लागेको छ र मानौं हाम्रै लागि भनेर केही अल्मलिए जस्तो छ। घामको मन्दिम हुँदै गएको उज्यालोमा हामी हेरिरहेछौं तल खोंचमा बगेको तमोर कोशीतर्फ, जहाँबाट हावाको मुस्लो धनकुटे खोला हुँदै रमितेडाँडा र टेकुनालाको उकालो छिचोल्दै हामी उभिएको घुमाउने चौतारामा ठोकिन्छ।
दस रुपियाको नोट
खिजि्रङ–मिजि्रङ सामानहरूको एउटा सानो दोकान थियो माथ्लो छाताचोकमा, टाउको लुकाउने आफ्नै ओत भएपछि आमाले साहससाथ सुरु गर्नुभएको। त्यस चोकमा पहिल्यैदेखि रहेका अरू दोकानहरूको तुलनामा हाम्रो दोकान त फुच्चे र केही न कामको देखिन्थ्यो। तर आमाले बाको किञ्चित् सहयोगबिना खोलेको त्यही दोकान हाम्रो जीवनाधार थियो। हाम्रो खेतीपाती, बन्दव्यापार, अध्यवसाय त्यही दोकान थियो।
