पराल छ्याएको भुईं र जाडोको याम थियो। ठूलो पालभित्र भुईंमा पलेँटी मारेर दर्शकहरू बसेका थिए। आमाको दूध छाडिनसकेको म उहाँकै काखमा थिएँ। सामुन्नेको पर्दामा एक मोटो र दुष्ट पुरुषले एउटी गरिब दुखियारी आइमाईको हातको पानीको घैंटो लात्तीले हानेर फुटाइदिन्छ। त्यस दुष्टलाई मैले मोरो भनेर सरापेको कुरा आमाले पछिसम्म गर्नुहुन्थ्यो त्यति सानैमा यल्ले कस्तो बुझेको भनेर। त्यो ठाउँ विराटनगर थियो, जहाँ धनकुटाबाट हाम्रो परिवार र गाउँका आफन्तहरूको एक हुल बालाई भेट्न पुगेको थियो। बाले आफ्ना परिवार र गाउँलेहरूलाई टि्रट दिएको हुनुपर्छ, टुरिङ-टाकिजमा सिनेमा देखाएर। मैले सिनेमाको दर्शन गरेको त्यो पहिलो पटक थियो।
केही कालपछि हामी धनकुटाबाट विराटनगर बस्न गयौं बासँग। त्यसबेला हिमालय टाकिज चल्न थालिसकेको थियो र त्यसैको पश्चिमतर्फ केसलिया खोला जाने बाटामा बनेका झ्ुप्राहरूमध्ये एउटामा हामीले डेरा जमाएका थियौं। बाले आफ्नी पत्नी र छोराका साथै कान्छो भाइलाई पनि स्कूल पढाउने उम्मेदले झ्िकाउनुभएको थियो। साँझ् पर्नुअघि हिमालय टाकिजको छानाको माइकबाट हिन्दी सिनेमाका गीतहरू घन्किन्थे। उमेरले थोरै मात्र फरक हामी काका-भतिजाको साँझ्पख हिमालय टाकिजको फेरो मार्नु नित्य कर्मझ्ैं भएको थियो। हामी मानिसहरूले पान-चुरोट खाँदै हलभित्र छिरेको रमिता हेरेर डेरा फर्कन्थ्यौं, त्यहाँभित्र पस्न पाए कस्तो हुँदो हो भन्ने कल्पना बोकेर।
एक साँझ् सदाझ्ैं निरुद्देश्य सिनेमाहलको आँगनमा रल्लिरहेका थियौं। तीन-चार जना वयस्कहरू पान चपाउँदै चुरोट उडाउँदै एक-अर्कालाई घेरा मारेर बात मार्न मस्त थिए। त्यस्तैमा एकजनाको हातबाट सिनेमाको टिकट भुईंमा झर्यो। उसले त्यो पत्तो पाएन र उसका साथीहरूको ध्यान पनि त्यतातिर गएन। बरु उनीहरू कुराको सुरमा टिकटभन्दा अझ् पर्तिर सरे। हामीलाई लाग्यो त्यो टिकट हाम्रै लागि फालिएको थियो। काका उनीहरूको छेउमा गएर उभिनुभयो उनीहरूतिर टाउको ठड्याएर हेर्दै। मैले चाल मारेर गई टिकट सुटुक्क टिपेँ र लुसुक्क लागेँ आँगनको अर्कातिर। मानौं हामी काका-भतिजाकै लागि भनेर छाडिदिए झैं मेरा हातमा एउटा होइन दुईवटा टिकट थिए।
केही खुशी, केही डर, केही रोमाञ्चले उद्वेलित हामी हत्तपत्त सिनेमा हलको ढोकातर्फ दौड्यौं। पहिलो घण्टी बजिसकेको थियो र मानिसहरू हतारिँदै हलभित्र छिर्न लागेका थिए। मनमा भयानक डर थियो गेटकिपरले हामी दुई फुच्चाहरूलाई नपत्याएर भित्र पस्न नदिई फर्काइदेला भन्ने। तर उसले वास्ता गरेन र हामी भित्र छिरेर मजासित कुर्सीमा बस्यौं। अझ्ै मुटु उफ्रिरहेको थियो गेटकिपरले हामीलाई तानेर बाहिर निकालिदेला कि भनेर। त्यो डर व्यर्थ ठहरियो, तेस्रो घण्टी लागेपछि प्रोजेक्टरको ख्यार्यार्र आवाजसँगै फिलिम शुरु भइहाल्यो। खालि पेट तर भोकको किञ्चित अनुभव नगरी हामी बेलुकीको शो हेरिरहेका थियौं, त्यो पनि आफ्नै उद्यमबाट ठूलो जोखिम उठाएर।
यसरी पल्केका हामी दुई तिल्के विराटनगरको बास हुञ्जेल साँझ्पख हिमालय टाकिजको चक्कर बरोबर लगाइरहन्थ्यौं। शो शुरु हुनुअघि मानौं हामीलाई नै आमन्त्रण गरेझ्ैं सिनेमा हलको छानाबाट माइकमा फिलिमको गाना बज्थ्यो। तर फेरि त्यस्तो चिट्ठा परेन। बरू आफ्नै बा र विराटनगरमै काम गरेर बस्ने माइला काकाको उदारताबाट भने केही पटक त्यही हलमा फिलिम हेर्ने सौभाग्य जुर्यो।
त्यसपछि हाम्रो रासोबासो धरान सर्यो। धरानमा सिनेमा हल थिएन र टुरिङ टाकिजको दर्शन पनि त्यहाँ हुन पाएन। बरू एक-दुई पटक सर्कस आएको थियो बाघ-भालु, बाँदर, घोडा, हात्तीहरू लिएर। खुला मैदानमा फराकिलो ठाउँ गटेर हालिएको पालमा देखाइने सर्कस हेर्नलाई निःसन्देह रोमाञ्चकारी हुन्छ, तर सिनेमा हेरेको आनन्द सर्कसमा कहाँ!
सिनेमा हेर्ने तलतल वर्षमा एक-दुई फेर मेटाइदिन्थ्यो फुस्रे जाने बाटोछेउ खडा भएको इण्डियन कोलोनी ले। त्यहाँ सप्तकोशी बाँध आयोजनामा खटिएर आएका भारतीयहरू बस्थे। सर्दू खोलाको सिरानतिरको पश्चिम पाखा ताछेर त्यहाँको रोडा-ढुङ्गा सर्दूमा हालिएको घिर्लिङ र घोपादेखि चल्ने रेलबाट भीमनगर पुर्याउनलाई त्यो कोलोनी त्यहाँ बनेको थियो। कोलोनीका इण्डियनहरूले विश्वकर्मा पूजा बृहत् स्तरमा गर्थे। दुई-तीन दिन लगाएर धुमधामसित गरिने विश्वकर्मा पूजाका लागि ध्वजा-पताकाहरू टाँगेर कोलोनी सिंगारिन्थ्यो। प्रसाद वितरण, गाना-बजानाका साथै रात्रिबेला खुला मैदानमा सिनेमा देखाइन्थ्यो, निःशुल्क। भारत सरकारको फिल्म डिभिजनद्वारा निर्मित डकुमेन्ट्री बाहेक हर हर महादेव, गणेश विवाह जस्ता धार्मिक फिलिमहरू देखाइन्थे। त्यस बाहेक स्वास्थ्य र सरसफाइबारे शिक्षामूलक सन्देश भएका एज्रा मीरका कार्टूनहरू पनि हुन्थे। जाडो महिनातिर पनि त्यसैगरी सित्तैँमा फिल्म प्रदर्शन हुन्थ्यो। शायद त्यस्तो प्रदर्शन नयाँ वर्षको बेलातिर वा गणतन्त्र दिवसको छेक पारेर गरिएको हुँदो हो। जेहोस्, कार्टून या एनिमेसन फिल्म पहिलो पटक मैले हेरेको धरानको इण्डियन कोलोनीमै हो।
यता इण्डियन कोलोनी के बन्यो उता फुस्रेबजारको सिरानको पाखामा ब्रिटिस क्याम्प खडा भयो। कान्ला कान्ला परेको पाखामा एकपाखे छानाका टहरा र पालहरू गाडेर बनेको त्यो अस्थायी क्याम्प तल घोपामा चारकोसे जङ्गलको मुखमा स्थायी क्याम्प निर्माण गर्न बनाइएको थियो। ब्रिटिस-गोर्खाका सैनिकहरूले सदैव पहरा दिने त्यस क्याम्पमा गोरा साहेबहरू बस्ने गर्थे जो प्रायः सैनिक पोसाकमै हुन्थे। केही मेमसाहेबहरू पनि त्यहाँ देखिन्थे। फुस्रे क्याम्पको मैदानमा बेला बेलामा सिनेमा देखाइने गरेको खबर पाएर गर्मी महिनाको एक साँझ् हामी फुच्चाहरू केही जेठाबाठाको नेतृत्वमा गयौं हुल बाँधेर। गोरा साहेब र मेमसाहेबहरू लहरै राखिएका कुर्सीमा बसेका थिए। बिजुली बत्तीको उज्यालोले पूरा मैदान छ्याङ्ग थियो। हामी जस्तै अनाहुत अतिथि अरू पनि थिए साहेबहरूका कुर्सी अघिल्तिर मसिना रोडा छरिएका भुईंमा पलेंटी मारेर बसेका। बत्ती निभेपछि अघिल्तिरको सेतो पर्दामा गोरा मानिसहरू देखा पर्न थाले।
डेढ-दुई घण्टा चलेको अङ्ग्रेजी भाषाको त्यो फिल्म बुझे त मारिदिनु। जो पुरुष पात्र आए पनि उस्तै लाग्ने। सबै नारी पात्रहरू एकै अनुहारका लाग्ने। रोमान्टिक फिल्म थियो क्यार, हिन्दी फिलिमझ्ैं गीत पनि भएको। लामो लेघ्रो तानेर के गाएका हुन् के भनेका हुन् केही भेउ पाउन सकेको होइन। त्यो हेरी त हिन्दी फिलिमका गीतहरू गाउन समेत आउँथ्यो। भुईंका मसिना रोडाहरूलाई मुठीमा खेलाउँदै कष्टपूर्वक त्यो अङ्ग्रेजी फिल्म हेरियो। त्यो मैले हेरेको पहिलो अङ्ग्रेजी फिल्म थियो। त्यसपछि पनि फुस्रे क्याम्पमा केही पटक सित्तैँमा सिनेमा हेर्न गइयो। केही एक्सन फिल्महरू भाषा नबुझे पनि रमाइला लागेका थिए। चार्ली च्याप्लिन र लरेल एन्ड हार्डीको फिलिम हेरेर हाँस्न पाइएको थियो। तर सिनेमा देखाउने यकिन तिथिमिति हामीलाई अघिबाटै थाहा हुन्नथ्यो र क्याम्प प्रवेशमा बाहिरकालाई कडाइ पनि गर्न थालियो। त्यसले गर्दा त्यहाँको सिनेमा हेराइ पातलियो र पछि फुस्रेको क्याम्प उठेर घोपा सरेपछि त त्यसको मेसो नै हरायो।
त्यतिञ्जेलमा चतरालाइनमा शिवसिनेमा नामको हल खुलिसकेको थियो। अब इण्डियन कोलोनीमा आक्कलझ्ुक्कल देखाइने सिनेमा हेर्नलाई मरिहत्ते गरिरहनु जरूरी थिएन र ब्रिटिस क्याम्प सरेर गएकोमा बिस्मात् गर्नुपर्ने खण्ड पनि थिएन। शिवसिनेमाको रूपमा अस्तित्ववान भएको थियो मनको चाहना। अरू धेरैका झ्ैं मेरो ध्याउन्ना पनि कसरी त्यहाँ लागेको फिलिम हेर्ने भन्ने हुन्थ्यो। जसलाई अचेलभरि फ्रन्टस्टल भनिन्छ त्यसलाई उसबेला तेस्रो श्रेणी भनिन्थ्यो र त्यसको सपाट बेञ्चमा बस्न पाउनु नै मेरो लागि लाख हुन्थ्यो। टिकटको मोल केवल तीन आना भए पनि पैसाको मुख देख्न पाउनु दुर्लभ थियो।
नयाँ फिलिम फेरिँदा त्यसको प्रचार खुला जीपमा माइक फुकेर साथै हाते पर्चा बजारमा छरेर गरिन्थ्यो। शिवसिनेमाको रुपौलो पर्दामा अपार भीडका साथ चलिरहेछ फलाना फलाना अभिनीत फलाना फिलिम, दिग्दर्शन फलानाको, सङ्गीत फलानाको यस्तै मजबून रहन्थ्यो पर्चामा। एक किसिमको तरङ्ग दौडन्थ्यो नसामा माइकद्वारा गरिएको फिलिमको प्रचार सुन्दा। ठाउँ ठाउँमा टाँसिएका रङ्गीन पोस्टर देख्दा त झ्न् तत्कालै गई सिनेमाहलमा छिरौं जस्तो लाग्थ्यो। सिनेमाको मोहनीले मलाई धेरै पटक आमाको खुत्रुकेमा हात हाल्न लगाएको थियो। यस्तोमा अपराधबोध त हुन्थ्यो तर सिनेमा हेर्दा प्राप्त हुने आनन्दले त्यसलाई दबाइदिन्थ्यो।
पछि रत्नरोडमा गणेश टाकिज खुलेपछि मेरो सिनेमा हेर्ने समस्या झ्न् बढ्यो। दुई दुई वटा हलमा फेरिने फिलिम हेर्ने स्रोत कहाँबाट जुटाउने? उमेर र स्कूलमा क्लास बढ्दै जाँदा सिनेमाहलको श्रेणीमा पनि बढोत्तरी हुँदै गएको थियो। अब सेकेन्ड क्लासको काठे कुर्सीमा बस्ने भइसकिएको थियो। तर एसएलसी जाँच दिएपछि नै म खालिहात कहिल्यै बसिनँ। वास्तवमा जाँचको फारम नै मैले नगर पञ्चायतमा ज्यालादारी काम गरेर भरेको थिएँ। मेरो टाकनटुकुन कामले सिनेमाको खर्च टर्थ्यो र कहिलेकाहीँ साथीभाइको सदासयताले पनि टिकट जुर्थ्यो। फिल्मको आकर्षणले मलाई विराटनगर र कहिलेकाहीँ रानीसम्म पुर्याउँथ्यो। एक पटक बस चलाउने गाउँका एक जना काकाको पछिलागेर विराटनगर गएँ, चाहेको फिलिम पनि हेरें। दुई रात उनीसँगै बसमा सुतें। तर फर्कंदा ज्वरो बोकेर आएँ, जो टाइफाइड ठहरियो र त्यसका कारण मेरो त्यस सालको एसएलसी परीक्षा नै रोकियो।
कलेज जान थालेपछि मेरो सिनेमाको संसार हिन्दी फिल्महरूमा मात्र सीमित रहेन। घोपा क्याम्पभित्रको सिभिललाइनमा बस्ने एक सहपाठीसित मेरो जिगरी दोस्ती थियो र ऊमार्फत त्यहाँका आफ्ना दामलका अरूसित पनि दोस्ती फैलियो। त्यही दोस्तीको सहाराबाट मैले क्याम्पभित्र सिभिलियनहरूका लागि प्रत्येक हप्ता देखाइने इङ्गलिस फिल्म हेर्ने बाटो पाएँ। सिनेमालाई बाइस्कोप भन्ने गरेको त हाम्रो टोलमा डेरा गरेर बस्ने दार्जीलिङबाट फुस्रे क्याम्पमा काम गर्न आएका बाबुहरूका मुखबाट उहिल्यै सुनिसकेको थिएँ। अब क्याम्प जान थालेपछि मुभी भन्न पनि सिकें, नत्र मुखमा सिनिमा र फिलिम मात्र झ्ुण्डिएको थियो।
अङ्ग्रेजी सिनेमाका सम्वादहरूले विस्तारै अर्थ दिन थाले। फिलिमहरू थि्रलर, एक्सन, ड्रामा, रोमान्टिक, कमेडी, म्युजिकल, वार-मुभी, वेस्टर्न, साइ-फाइ इत्यादि नामले वर्गीकृत हुँदा रहेछन् र तिनको प्रदर्शन प्रमाणपत्र यु ए डबल ए एक्स डबल एक्स श्रेणीमा बाँडिएको हुँदोरहेछ भन्ने पनि ज्ञान भयो। मार्लोन ब्रान्डोदेखि जोन वेन, सोफिया लोरेन, रिचार्ड बर्टन, लिज टेलर, कर्क डगलस, रबर्ट मिचुयम, डिन मार्टिन, र्याक्वेल वेल्च, युल ब्य्रानर, पल न्युम्यान, जेन फोन्डा, उर्सुला अन्ड्रेस, माइकल केन, सिडनी पोइटियर आदिसम्म अनेक सिताराहरूसित पर्दामा परिचय भयो। डस्टिन हफम्यान भर्खर आएका थिए दी ग्य्राजुयट मा। क्लिन्ट इस्टउडको स्पाघेटी वेस्टर्न को तीनै अङ्क मेलैसित हेर्न भ्याइयो। मिस्टर जेम्स बोन्डलाई पनि डा-नो मा चिनियो। कस्तो फिलिमलाई सिनेमास्कोप भनिन्छ भनेर बुझने मात्र होइन हेर्ने मौका पनि मिल्यो। ब्रिटिस र हलिउड फिल्मबीचको भेद पनि थाहा भयो।
शायदै कुनै हप्ता हुन्थ्यो मैले घोपा क्याम्पमा फिल्म हेर्न बिराएको। तर त्यसका साथै धरान बजारका दुई वटा सिनेमा हलमा दिलीपकुमारदेखि देव आनन्द, शम्मी कपुर, मीना कुमारीदेखि वहिदा रहमान, आशा पारेख, शर्मिला टैगोर आदिसितको नाता पनि टुटेको थिएन। त्यो सबै भ्याउनलाई के के अप्ठ्यारा झेल्नुपर्थ्यो त्यसको कथा छुट्टै छ।
बाइस्कोप, मुभी या सिनेमाको अहिले पनि म भोगी छु। भ्याएसम्म कुनै मौका छाड्दिनँ हेर्न। पछाडि फर्केर हेर्दा लाग्छ, ठूलै भूमिका खेलेको छ सिनेमाले मेरो जीवन गिलो माटोझ्ैं भएका बेला। पहिले म सिनेमामा जीवन खोज्थें, अहिले म जीवनमा सिनेमा देख्न थालेको छु।
हिमाल खबरपत्रिका
१६-३१ भदौ २०६६
पूर्णांक २४९
