खगेन्द्र सङ्ग्रौला
सम्झनामा मधुपर्क
पैँसठ्ठी सालमा मधुपर्कबाट ‘सम्मान ग्रहण गरिपाऊँ’ भन्ने विजुलीमार्गी निम्ता मलाई आएथ्यो । सम्मान, त्यो पनि सरकारी पत्रिका मधुपर्कको ! अनौठो निम्ता थियो त्यो । मधुपर्कसँग मेरो के नै पो नाता छ र मलाई केका लागि सम्मान ? त्यसैत्यसै रनभुल्ल परेँ म । जोडा मिलाएर सम्मान दिइने अर्का निम्तालु रहेछन् वैरागी काइँला । पद्यतर्फको सम्मान उनलाई रे, गद्यतर्फको मलाई ।
कृष्णचन्द्रसिंह अवज्ञाको देउराली
कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास गाढा उदासी छायो । पाको उमेरका प्रधान यो सुन्दर संसारबाट बिदै हुने गरी थला परेको सुराकी मैले पाएको थिइनँ ।
सिद्धिचरण : एक रक्षाकवच
कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । उनका लागि ओखलढुंगा प्राकृतिक सौन्दर्यले सिँगारिएको स्वर्गसमान थियो र त्यसको प्रतिलोमरूपी काठमाडौँ थियो उजाड मरुभूमितुल्य मानव-बस्ती ।
आफ्नै नजरमा आफ्नो दुर्गति
‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल ।
‘जाने होइन दाइ हाइकिङ ?
मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो बाटो कतै निहुरिएर लौराले भुइँ छाम्दै, कतै बसेर घसि्रँदै हिँडेको सम्झना भयो । त्यो हाइकिङ निश्चय नै शक्तिबर्द्धक र आनन्दमय भएको थियो । वारि पाखाबाट माथि उक्लिँदा ओझेल, शीत र जोखिमको सङ्गत गरिएको थियो । पारि पाखाबाट झरेको ओरालो थियो पहारिलो, न्यानो र जोखिमरहित ।
माप चिडियाखाना
सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको थियो । ऊ एक खप्पिस अनुसन्धानकर्मी पर्यटक थियो । उसका पछाडि थियो होचो कदको नेपाली गाइड । बौद्धिक गाइडकर्ममा ऊ पनि कम निपुण थिएन । ज्ञानपिपासु पर्यटक नयाँ नेपालको नवीन यथार्थको अवलोकन गर्न आतुर थियो । उता गाइडचाहिँ चतुर गोराका गहन प्रश्नहरूको सटीक उत्तर दिन सकुँला कि नसकुँला भनेर चिन्तातुर थियो ।
