Skip to content

विजय कुमार के. सी.

गयौ तिमी टाढा

हाँस्दै हाँस्दै रुवाएर गयौ तिमी टाढा
सँग-सँगै भन्दा-भन्दै भयौ तिमी टाढा
इच्छा त थियो मसँग एक भएर बाच्ने
म छु आज तानसेनमा रह्यौ तिमी टाढा ।

दुखाउँदा मन चसक्क भो

दुख्दा त स्वभाविक हो दुखाउँदा मन चसक्क भो ।
लुक्दा त स्वभाविक हो लुकाउँदा मन चसक्क भो ।

बल्ल बल्ल जिन्दगीमा एक पटक आएको मौका
चुम्दा त स्वभाविक हो चुकाउँदा मन चसक्क भो ।

गाठो पारी राखेको मन भित्रको भित्री रहस्य नै
फुक्दा त स्वभाविक हो फुकाउँदा मन चसक्क भो ।

नाम चलेकैसँग घरबार बसायौ

ए नाम चलेकैसँग घरबार बसायौ तिमीले ।
उच्च कुलघरानमा नाता गसायौ तिमीले ।

मेरो प्रेमको सिहासन तिमीलाई सुम्पिदिए
मलाई भने सडकमा बास बसायौ तिमीले ।

माछा मिठा काँडा तिता निर्धोलाई नै मर्का पर्ने
निजी स्वार्थ पुरा गर्न मलाई फसायौ तिमीले ।

मैले आँखा देख्न छाड्दै छु

सायद अब मैले आँखा देख्न छाड्दै छु ।
आजदेखि गजल गीत लेख्न छाड्दै छु ।

बरु लडुँ केही प्रवाह छैन अब त
हिड्ने सहारा लामो लट्ठी टेक्न छाड्दै छु ।

छातीमाथि हात राखेर ज्यूनु पनि के
लागे लागोस गोली छाती छेक्न छाड्दै छु ।

आखिर दुःख साथी हुन्छ सुख भन्दा त
त्यस कारण म हाँसो समेट्न छाड्दै छु ।

म एक रातको कवि

म एक रातको कवि हु
जुन रात
मैले मनग्य कविता लेखें
तिम्रो सम्झनामा
पाना पल्ट्याउदै
त्यही विगतलाई
सम्झँदै सम्झँदै
जुन विगतमा
तिम्रो राम्रो उपस्थिति छ

नेपाली हु भन्न पाइएन

गौरवले नेपाली हुँ भन्न पाइएन ।
देशको पहरेदार बन्न पाइएन ।

साहुको खेतमै सधैं दिन बिताए नि
कठै हाम्ले आफ्नै भनी खन्न पाइएन ।

के भनौ खै! खुट्टा तान्दै ठिक्कै सबैलाई
कसैलाई देशभक्त गन्न पाइएन ।

मन भयो आधा मेरो

सोचेर पुराना कुरा मन भयो आधा मेरो
यसो पछाडी हेर्दा जीवन भयो आधा मेरो

तिमीसंग छुटेर बाच्दा एक्लै मलाई आज
टुक्रिएर हेर आफ्नै तन भयो आधा मेरो

बानी क्या मजाको

घुर्क्याई घुर्क्याई माया पस्कने बानी क्या मजाको ।
भर्खर भर्खर फक्रिएको जवानी क्या मजाको ।

तिमी रिसाए मैले अझै बढी माया गर्नु पर्ने
रिसको साटो माया पाउने लगानी क्या मजाको ।