प्रेम पुन
ढेडु बाँदरसंग जम्काभेट हुँदा
सावन महिना थियो।गर्मीले त्यो पहाडको बिचमा अडिएको एकटुक्रा खेत पनि ज्यादै तातिएको थियो।बाग्लो मकैबारीको भित्रदेखि आउने तातो हावामा सास फेर्न पनि निकै गार्हो पर्दैथ्यो।बाँधिएको भैसी पनि उकुस-मुकुसमा कहिले सुत्ने कहिले उठ्ने गर्दैथ्यो।म भैसी माथि पानी छ्यापेर खेल्दै थिँए।आमा र अरु दाई-दिदीहरु गाँउको घर जानु भएकोले सल्लेनीमा ‘बा’ र म मात्रै थियौ। बा’ले बिहान चरनको लागि छोडेका गाईका गोबर सोहोरेर आउनु भा’कोले उहाँको हातै भरि गोबर लागेको थियो।
