Skip to content

राजन प्रसाद घिमिरे 'जेष्ठ रोहित'

व्यर्थ भो

कुदेको कुद्दैछ कुद्दै झन् यो मानवै
चिनेको चिन्दैछ चिन्दै झन् यो समाजै
रोएका रुदैछन् रुदै झन् यो पलमै
भोगेको भोग्दैछ भोग्दै झन् यो धरामै

पसेको पस्दैछन् पस्दै झन् यो जीवमै
डुबेका डुब्दैछन् डुब्दै झन् यो शोकमै
छाडेका छाड्दैछ छाड्दै झन् यो लोकनै
पारेको पार्दैछन् पार्दै झन् यो घातनै

फिरेको फिर्दैछन् फिर्दै झन् यो घरमै
मोडेको मोड्दैछ मोड्दै झन् यो क्षणमै
छिरेका छिर्दैछन् छिर्दै झन् यो देशमै
बढेका बढ्दैछन् बढ्दै झन् यो त्रास नै

लागेको लाग्दैछ लाग्दै झन् यो कर्ममै
गरेका गर्दैछन् गर्दै झन् यो खोज नै
खोजेका खोज्दैछ खोज्दै झन् यो खोप पो
भेटेका भेट्दैनन् भेटेनन् यो व्यर्थ भो

पसिना बगाउन मेरो उचित लौ ठाम देउ

पसिना बगाउन मेरो उचित लौ ठाम देउ
सरकार राहत होइन बरू लौ काम देउ

निर्माताहरु भए बेकामे छैन है काम धन्दा
स्वरोजगार बनाउने योजना लौ रास देउ

खेतबारी बाँझो राख्दिन्थे तर यहाँ बीज छैन
बिजसँगै झर्न मल युरिया लौ पोटास देउ

शून्य त कर्मैले पाइन्न फल मिठो त्यो कतै
कर्मवीर पुज्दै कर्मठलाई लौ सलाम देउ

फलाउनेछु मुरीका मुरी पसिना नै पोखेर
श्रम सबै उत्पादनको गतिलो लौ दाम देउ

जाग उठ तिमी लाग देशलाई खाँचो पर्यो

जाग उठ तिमी लाग देशलाई खाँचो पर्यो
देशभक्त राष्ट्रवादी देशलाई खाँचो पर्यो

चन्द्र सूर्य फर्फराउँनु छ एक भई जुट्दै
सीमानामा झण्डा गाड्न देशलाई खाँचो पर्यो

उठ्नु छ बनेर अग्नी नटेरे भस्म पार्नु छ
ज्वालाझैं बन्दै सीमामा देशलाई खाँचो पर्यो

राष्ट्र हो प्राण हाम्रो राष्ट्रियता को भुल्दछ र
सिमाना मिच्दैछ बैरी देशलाई खाँचो पर्यो

कहिले सुस्ता दुख्यो कालापानी झन दुख्यो
डोब मेटाउने वार्ता देशलाई खाँचो पर्यो

श्रम महिमा

थुप्रै खेत छन् बारी उर्वर अति पाइन खान भन्छ उहीँ
खाली राख्दछ जमिन बाँझो सधै कर्मै नगरी बस्छ उहीँ
उर्बर देख्दैन आफ्नो कहिल्यै माटोमा बिउबिज छर्दैन
आफै मेहनत गर्न छाड्यो आलस्य छ उसको पेट भर्दैन

सुखको गाँस भन्दछ मिठास श्रम पसिना छैन बगेको
सुखै खोज्दछ सधैं उसले छैन दुःख सास्ती कतै सहेको
न मेहनत नै गर्यो कहिल्यै श्रमको न मूल्य बुझेको छ
बल छ बलियो बनाउने व्यर्थै अलकापुरी बसेको छ

न चैतन्य चेतना जगाउँछ न जाग्न लोकलाई भन्दछ
न नेतृत्व प्रदान गर्दै समाज जागा बनाउन उठ्दछ
हुन्छ आफ्नै मेहनत गतिलो रसदार मिठो अन्त्यसम्म
सिँचेर पसिना बगाए कर्मै धरामा बढ्नेछ झन् उमङ्ग

रुपको बहार बोकी सामू आउनेलाई मेरो सलाम छ

रुपको बहार बोकी सामू आउनेलाई मेरो सलाम छ
फुकाई गाँठो मनको गीत गाउनेलाई मेरो सलाम छ ।।१।।

रंगीदैछ थरीथरी फूल फूली मनको फुलबारी आज
छ्ड्के हेर्दै लोभी नजर लाउनेलाई मेरो सलाम छ ।।२।।

गहिरो आँखा कालो निलो त्यो सुन्दर महासागरमा
परैबाट मलाई तानीतानी डुबाउनेलाई मेरो सलाम छ ।।३।।

कस्तो रैछ छडके नजर लगाई रातो पिरो हुने बानी
मुस्काउने त्यो बानी राम्रो सर्माउनेलाई मेरो सलाम छ।।४।।

च्यापी रहेछ दिन-दिन खै लाछ कस्तो यो अनौठो रोग
नजिक हुदै मुटुको ढुकढुकी बढाउनेलाई मेरो सलाम छ।।५।।

मेरो जन्मदिनमा

म अवश्वै खुसी छु
आज मेरो जन्म दिन
लाग्छ म पक्कै खुसी पनि हुनुपर्छ
भन्छन् सबै यस नि कोही दुखी हुन्छ र ?
तर म आज शत प्रतिसत त होइन
अलि खल्लो अनुभूतिको आभाष
मनको महलमा
गर्दैछु एउटा नमिठो
कस्तो टर्रो अनि तितो तितो !!

एउटा जागिरे जिवन
भौगोलिकताको सिमाङ्कन
अनि कोसौंको दूरी र दूरता
छिच्छोल्न नसकेर होला
भेट्न पाइएन
ममताको खानी बोकेर
सन्तानको लागि
तन छिनाउने मन कुडाउने
मेरो लागि त्याग र तपस्या गर्ने
मेरी आमालाई भेट्न नपाउँदा
आज कस्तो कस्तो नमिठो लाछ
फोन हुनु एउटा कुरा
साक्षात्कारको बेग्लै मज्जा छ!!!

आज मेरो खुसीको दिनमा
यो कोलाहलपूर्ण सहरबाट
सम्झदैछु
उनले गरेका दुःख

सरकार राहत होइन बरू लौ काम देउ

सरकार राहत होइन बरू लौ काम देउ
पसिना बगाउन मेरो उचित लौ ठाम देउ

निर्माता भए बेकामे खै छैन काम धन्दा
स्वरोजगार बनाउने योजना कै रास देउ

बारि बाँझैं राख्दिन्थे तर यहाँ बीज छैन
बिजसँगै झर्न मल युरिया र पोटास देउ

शून्यता कर्मैले फल त पाइन्न मिठो कतै
कर्म गर्ने सबै ति कर्मवीरलाई सलाम देउ

फलाउनेछु मुरीका मुरी पसिना नै पोखेर
श्रम र सबै उत्पादनको गतिलो दाम देउ

अनागरिक भएं

मेरा खुट्टा लम्कदा
लाहुर अर्थात् परदेश
त्यो सपनाको संसारमा
म कमाउन जाँदा
कमाएर पठाउछ भनी
रेमिट्यान्सको आशामा
अपार खुसीको सागर
मनमटुमा सजाउने मेरो देश
आज अनाकन्टार ठाउँमा
अोडारमा पाइने
हजुर आमाले सुनाउनु भएको
दन्त्यकथाको राक्षस जस्तो भएको छ
यस्तो आभास गरिरहदा
मन बिछिप्त भएको छ
आफ्नै मुलुक आउने
ढोकामा बार लगाइदियो
बिरानो मुलुकको नागरिक जसरी
पवित्र मातृभूमिमा
आफ्ना पाइला टेक्न नपाई
माटोको स्निग्ध सुगन्ध
बास्न लिन नपाई
फर्किएर जा भन्दै
मेरालागि सीमा खुलेन
न खुल्यो हृदय
न खुल्यो ममता
न त देखियो मानवता
न त मलाई म नागरिक भएको
आभाष दिलाइयो

व्यवस्था यो

व्यवस्था यो हाम्रो तर पनि खुलस्तै भएन
व्यवस्था यो राम्रो तर पनि सुखदै रहेन

विषाणु छ यस्तो प्रवेश गरे शरीरै क्षीण
व्यवस्था यो सप्रो तर पनि जहरै कटेन

कायम भयो दुरी लौ एकान्तबास पनि
व्यवस्था यो चाम्रो तर पनि कहरै हटेन

श्रमजीवी छन् पिडित अर्थोपार्जन छैन
व्यवस्था भो काम्रो तर पनि पिङ नै हलेन

कहरैबीच आउने त क्वारेन्टाइन राख्न
व्यवस्था यो छाप्रो तर पनि दुःख तै परेन

(संघीयता, प्रभावकारी राहत वितरण र महामारीको व्यवस्थापनसम्बन्धि व्यंग्य समेटिएको)

न बजार बढ्यो बरू बढ्यो हतास पो

न बजार बढ्यो बरू बढ्यो हतास पो
न बेरुजु घट्यो बरू घट्यो राजस्व पो

पुगेन लक्ष्य भएन भन्छन् राजस्व संकलन
न गस्ती नै चल्यो बरू चल्यो लाइन पो

उसै अर्थतन्त्रै भो कोरानाले डामाडोल
न आशा नै रह्यो बरू रह्यो निराशा पो

सबै छन् सत्यवादी कर्म नगर्ने कर्मशील
न मस्तिष्क खोल्यो बरू खोल्यो वाइन पो

लौ ठुलो कहर छ मन झसक्क झस्किन्छ भित्र पट्टी

लौ ठुलो कहर छ मन झसक्क झस्किन्छ भित्र पट्टी
छाम्दा दुख्दैन मुटु तर चसक्क चस्किन्छ भित्र अति

सानो सञ्जालमा बसी व्या पार जस्ले गर्दथे हिजो
मुहारै मलिन बनाइ मसक्क मस्कन्छ भित्र बसी

साह्रै सुस्त भयो है व्यापार विस्तारैमा ताल्चा लाग्यो
ऋण फर्का लौ भन्दै साहू पटक्क पड्किन्छ भित्र पसी

राजश्व घट्दो छ सरकारको संकलनमा न्यूनता
अर्थतन्त्र राखौ है आशा फरक्क फर्किन्छ भित्र सखी

सेवा नै धर्म हो जागिरमा

सेवा नै धर्म हो जागिरमा पुग्नै पर्ने दश बजेपछि
नोकरीमा नातागोता सबै भुल्नै पर्ने दश बजेपछि

म फलानो यो ऊ भन्दै परिचय छाड्दै टाढा टाढा
द्रुत सेवा मुस्कानले, प्रवाह गर्नै पर्ने दश बजेपछि

सेवाग्राही ईश्वर हुन तिनलाई द्रुत सेवा दिनुपर्छ
मिल्ने काम फत्ते गर्न अघि सर्नै पर्ने दश बजेपछि

न त टार्न मिल्यो न त अलिकत्त्ति नि नकार्नलाई
लगाएकासँगै अह्राएका काम गर्नै पर्ने दश बजेपछि

पस्किएको थालको खाना खाई नौ बजेकै समयमा
लगामे घोडाजस्तै कार्यालय पुग्नै पर्ने दश बजेपछि

यो काम गरिदिनु, ऊ काम गरिदिनु भन्दै सेवाग्राही
लर्को लाग्नु अघि सुसांख्य अन गर्नै पर्ने दश बजेपछि

जन्मदिनमा तिम्लाई आशिर्वाद छोरी धेरै बधाई

प्रिया छिन् छोरी बढेर मिठासले तोते बोल्न थालेकी
बाबा आउ भन्दछे रे भन्छिन् प्रियतमा हातै उचालेकी
टाढा छु खोज्छ्यौ रे छोरी समिपमा निहाल्दै ढोका नेरी
पूर्णेको जस्तो चन्द्रझैं बढेर भएकी छ्यौ रे उजेली ॥१॥

हेर्न तिम्रो सुरम्य बालपनको मिठास् त्यो जिद्दीपन
टाढा छु देख्न पाइन घस्री हिडेको अमिलो भाछ मन
तिमीलाई सँगै बसेर काखमा यी हातले खेलाउने
हाँस्ने है जिस्कदै कस्तो थियो मन रहरै मेटाउने ॥२॥

टुकुटुकु हिड्दै समिप आको हेर्न मन छ लागेको
तिम्लाई डुलाउन वरपर ताते मनै छ भन्न त साह्रो
भाषा चक्षुका मृदुल तिम्रो कोमल मुस्कानमा रमी
तान्दै साह्रै मन छ समिपमा तिम्लाई वक्षमैं टाँसनी ॥३॥

म जान्छु भन्छु

म जान्छु भन्छु तिमी अघि सरेर आउँछौ किन
म जान्छु भन्छु तिमी अघि परेर आउँछौ किन

कर्म गर्नु छ सधैं जनसेवा गर्नु छ हर्दम
म जान्छु भन्छु तिमी अघि गरेर आउँछौ किन

फर्कन पाउ नेपाल

जन्मेर हुर्केको म प्यारो ठाउँ छाडेर आएथें
सपना नौला नौला हजार मनमनै सजाएथें
जोर्नेछु घरबारी नि तिर्नेछु त्यो साहूकै ऋण
श्रम बेच्न पछी परिन कत्तिनि सदा एकैछिन

दुःखै पर्दा नै सम्झन्छ्न् सबैले आमा र देश
दुःखै गर्दछु खोले खान्छु भन्छन् जान्न प्रदेश
आफ्नो देश फर्किने मन छ नेपालमै रमाउने
आमा छिन टाढा दुःख पर्दा काखमै सुताउने

न सुन्छ राज्य परदेशमा बसेकाहरुका पीडा
लाग्दैछ चिन्ता कसोरी आफ्नै नेपाल फर्कुला
महामारीको बेला यस्तो समस्या परेको बेला
आफ्नै देश घर फर्कने मन कस्लाई हुन्न होला

संकटको बेला राज्य नै हो सहारा नागरिकको
प्रदेशमा आप्रवासी भनेर शून्य साहारा कसैको

स्वास्थ्यकर्मी

पिडा लुकाइ बाहिर मुस्कान खुसी छर्दैछन् जो
कर्म पथमा अडिग छन् सोध्छन् सन्चो विसन्चो
दिन रातै नभनि सेवामा जो अटल तल्लिन छन्
आफ्ना दुःख भूली मलम अरुलाई जो लाउछन्

सौगात के दिउ खै हरजन्म राख्न तिमीलाई

सौगात के दिउ खै हरजन्म राख्न तिमीलाई
सौगात के दिउ खै हरजन्म बाँच्न तिमीलाई।।१।।
लेखेर सरसर्ती कोरेर मेरा भावना मनका सबै
सौगात के दिउ खै हरजन्म साँच्न तिमीलाई।।२।।
अमिर छौ म भन्दा तिमी हार दिन सक्तिन
सौगात के दिउ खै हरजन्म डाक्न तिमीलाई।।३।।
शिशिर लिन्छु म जिवनको वसन्त लैजाउ है
सौगात के दिउ खै हरजन्म टाँस्न तिमीलाई।।४।।
जिवनभर भलो होस् उत्तरोत्तर प्रगति अमिट
सौगात के दिउ खै हरजन्म हाँस्न तिमीलाई।।५।।

हेर चलिराछ

हेर चलिराछ
हेर गइराछ।।१।।
राजश्व कति धेरै
हेर छलीराछ।।२।
बजार भाउ कत्ति
हेर बढीराछ।।३।।
यता साहू जति
हेर हुर्कीराछ।।४।।
गरिबको भाग्य
हेर कुल्चीराछ।।५।।
बजेटमा बृद्धी
हेर भइराछ।।६।।

न फाल्न मिल्छ

न फाल्न मिल्छ
न बाल्न मिल्छ।।१।।
मनको घाउ यो
न गाल्न मिल्छ।।२।।
मलम पट्टीले
न टाल्न मिल्छ।।३।।
धेरै छ व्यथा
न पाल्न मिल्छ।।४।।
ठाउँ छ खाली
न हाल्न मिल्छ।।५।।
यस्तै छ सानू
न थाल्न मिल्छ।।६।।

कालो मुख पारेर रिसले नहेर कहिल्यै भन्छु म तिम्लाई

कालो मुख पारेर रिसले नहेर कहिल्यै भन्छु म तिम्लाई
बिषले हुन्न घात अरुको नहेप कहिल्यै भन्छु म तिम्लाई।।१।।

न उठ्छ समाज रिस रागले बरु आफैमा भासिन्छ झनझन
क्रोध पालेर अति रिसले नखेद कहिल्यै भन्छु म तिम्लाई।।२।।

हुन्छ र फाइदा सौदामिनीको त्यो गर्जनमा सगर थर्काइ
ईर्ष्या मोलेर अति क्रोधले नरोक कहिल्यै भन्छु म तिम्लाई।।३।।

आत्मा-आवरण वरिपरी तिम्रै खोजी हेर सत्यका कुरा
सत्य बेचेर अति झुठले नबोल कहिल्यै भन्छु म तिम्लाई।।४।।