Skip to content

इन्द्र प्रसाद गेलाल

याद

रुवाएर एउटा मान्छे गयो टाढा टाढा,
मनमा चाहिं उसकै छायाँ भयो गाढा गाढा
मान्छे लाग्थ्यो फुल सधैं छोइरहूं जस्तो
आज उसकै याद मनमा बनिरह्यो काँडा ||

किन मान्दिनौ?

नरोऊ अब हाँस भन्दा किन मान्दिनौ
अन्तै मायाँ गाँस भन्दा किन मान्दिनौ

तिम्रो हाम्रो भेटघाट दुइदिनको मात्र,
संधै हुन्न पास भन्दा किन मान्दिनौ

मेरो क्रिया

बोटै काटे हुन्छ फल, झरिसक्यो भनी
लौरो काटे हुन्छ नदी, तरिसक्यो भनी
साँच्चै अब जे गरे नि हुन्छ तिमीले,
क्रिया गरे हुन्छ मेरो, मरिसक्यो भनी ||

प्रजातन्त्र

हिजोसम्म आफ्नै आँखाअघि
गोली लगेर वा खुकुरी प्रहर हुँदा,
पीडा थाम्न नसकी ऐया ऐया भनी चिच्याउदा पनि
शत्रु ठानेर ठिक्क पर्यो भन्ने समर बहादुर”विजय”
आज चुनाब र विकास अनि सुरक्षाको खोक्रो सपना दिंदै
भोट मागिरहेछ ।

मेरो हजुर

नचिनेको नाता मिठो, नसुनेको कथा मिठो
नदुखेको व्यथा मिठो, नभोगेको गाथा मिठो
अदृश्य नै मिठो किन देखेपछी सस्तो किन
सधैँ सुन्छु तर उस्तै हजुर को भाषा मिठो ……
जति देख्यो मिठो लाग्ने हजुरको नाता मिठो

मेरो साथी

दुनियामा कोहि नभए मेरो साथी जुन छ हजुर
औंशीरातको अन्धकारमा आत्मा मेरो रुन्छ हजुर
लाग्छ माथि उडी उडी चन्द्रमालाई छोउं जस्तो
तर किन बदलुले मेरो बाटो थुन्छ हजुर ………
दुनियाको मेरो साथी त्यै आकाशको जुन छ हजुर

देखेर नि बाटो काटी

देखेर नि बाटो काटी किन हिन्छौ लाटी
मेरो मुटु अर्कैलाई किन दिन्छौ लाटी

आफ्नो पराइ पराइ आफ्नो भन्ने सुनेको थें
भुल्दै गाउँले परदेशीलाई किन चिन्छौ लाटी

IndraGelal-02

आज भोलि

मात्र तिमीलाई हेरेर रमाउँछु
आनन्दले अंगालोमा बेरेर रमाउँछु

लेख्दै हुन्छु कविता तिम्रो कल्पनामा डुब्दै
कल्पनामै तिम्रो चित्र केरेर रमाउँछु

तिम्रो साथ

तिमी सधै साथै हुन्थ्यौ र पो साथ मिठो हुन्थ्यो
तिम्रो हातले खुवाउथ्यौ र पो भात मिठो हुन्थ्यो

दुवै मिली जुनेलीमा लुकामारी खेल्दै गर्दा
कल्पनाका कुरा गर्थ्यौ र पो रात मिठो हुन्थ्यो

कहाँ थियौ

दुनियामा सहाराहिन हुँदा कहाँ थियौ
आफैलाई धिक्कार्दै रुंदा कहाँ थियौ
एक्लै बाँच्ने भएपछी किन आउछौ साथी
हृदयमा दुस्ताताले छुँदा कहाँ थियौ
मनको मैलो आँशुले धुँदा कहाँ थियौ !!

विचार आफ्नो आफ्नो

खै कसलाई पो के भन्नु र संसार यस्तै छ
खुसि मेरो लागि, पिडा तेरो लागि
सम्पति मेरो लागि, बिपत्ति उसको लागि
सम्बन्ध मेरो लागि, घात पराइको लागि
सुन्दा र देख्दा मेरा यी इन्द्रीयहरू कहिलेकहिँ सारै नै निस्क्रिय हुने गर्छन.
हुन त यहाँ कसलाई केको चासो हुनु पर्यो र ? तर किन किन मान्छे यति स्वार्थको खाडलमा पस्दो रहेछ कि आफ्नो पहिचान के हो उसको अस्तित्व बिर्सेर अरुको बिरोधमा तल्लिन हुँदो रहेछ