Skip to content

इन्द्र प्रसाद गेलाल

निष्ठुरी तिमी

निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ,
विश्वास गरी म माया गर्ने, तिम्रो चैं फरकपन रहेछ ।

भेट थियो छोटो, साथ दियौ मीठो, बिरानो त्यो शहर
रहरले मात्रै थिएन संयोग भाग्यको खेल नै झन रहेछ ।
निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ ।।

रहर

बेचेर जिन्दगी, सपना किन्न मन लागेको छ ।
छाडेर पाइताला, बाटो हिड्न मन लागेको छ ।
खै के रहेछ जिन्दगी आखिर बुझ्न सकिनँ मैले
बिर्सेर दुनियाँलाई, आफु चिन्न मन लागेको छ ।

केही मुक्तकहरु (प्रेमी भएर तिम्रो लागि)

प्रेमी भएर तिम्रो लागि, म हरामी भएछु,
सोचेर नानाथरी कुराहरु, म बिरामी भएछु ।
शायद चाहेजस्तो माया गर्न जानेनछु मैले ,
अनि आफैंले मन जलाएर म खरानी भएछु ।।१।।

हाम्रो माया दुनियाँलाई एउटा नयाँ कथा हुन्छ,
हरेक प्रेमील जोडीहरुमा चर्चा जतातता हुन्छ,
दुनियाँमा सस्तो माया सबैले नै गरेकै छन्
साँचो माया गर्नहरुको अब छुट्टै प्रथा हुन्छ ।।२।।

कठोर बाचा

हाम्रा ती कठोर बाचा भुलेर,
तिमीमा म आफैं अर्पीत भएछु ।
तिम्रो यौवनको बगैंचा डुलेर,
तिमीमा म आफैं समर्पित भएछु ।।

के गर्यौं र विघ्न हलचल जिन्दगीमा
सिवाय तितो प्रेमको निसाना,
छु अझै पागल पलपल जिन्दगीमा,
के बनायौ मलाई यस्तो दिवाना ।।

के भयो र हामीमा दिल खुलेर,
तिमीमा म आफैं त्रसित भएछु ।
तिम्रो यौवनको बगैंचा डुलेर,
तिमीमा म आफैं समर्पित भएछु ।।

यो कस्तो प्यास हो, या चाहना हो कि
आँखाले तिमीलाई खोजिरहन्छ,
या त पीर भुलाउने, कि बहाना हो कि,
संगमको मीठो साइत सोधीरहन्छ ।।

हराएछु म तिम्रै, मायामा घुलेर
तिमीमा म आफैं चर्चित भएछु,
तिम्रो यौवनको बगैंचा डुलेर,

बोल न साथी

किन हो किन, बुझ्नै सकिन आजकाल त बोल्दिनौ,
जीवनका कथा मनका व्यथा किन हो खोल्दिनौ

बोल न भनी भन्नलाई आज गाह्रो भो मलाई,
त्यो मनसंग नबोली बस्न साह्रो भो मलाई
नचिन्दा खेरि, नदेख्दा बरु बुझ्थ्यो कि मेरो मन
चिनजान हाम्रो त्यो पल राम्रो प्यारो भो मलाई ||

खै किन भयो, एक दिन थियो, भेट हाम्रो भएको
केहि थाहा छैन मन दुख्ने गरी नराम्रो भएको ||
तैपनि आजकाल हुँदैन भेट भाछैन गफगाफ,
भन न साथी यो मन धेरै, भइराछ निराश ||

आमा ! यसपाली तीजमा ब्रत नबस !

आमा ! यसपाली तीजमा ब्रत नबस !
नबस आमा, यसपालिको तीजमा ब्रत
आखिर यतिका वर्ष केही भएन तिम्रो ब्रतले,
न गरिबीको झुप्रो बलियो बन्यो
न जंड्याहाको बोत्तल रित्तियो,
न रहरले मन भरियो,

जवानीको प्यास

जवानीको प्यास मेट्ने भए आऊ
मात्र एकान्तमा भेट्ने भए आऊ |

टाढाबाट हेरी धेरैचोटी भेट्यौं
दिलको संघारमा टेक्ने भए आऊ |

बाहिरी रुप यस्तै हो कति हेर्छौ अझै ,
बास्तविक भित्रि रुप देख्ने भए आऊ |

मलाई बिश्वाश छ, तिमीलाई’नि होला
मेरो नाम साँच्चै दिलमा लेख्ने भए आऊ |

मेरो लागि यहाँ हाम्फाल्ने छन् कति कति
दुनियाको भिडमा मलाई छेक्ने भए आऊ |

शत्रु हुन्छन् मनभित्रका बाहिर पनि जहाँ सुकै
बैगुनीलाई न्यानो गुनले सेक्ने भए आऊ |||

मनको कुरा

तिमि संग मनको कुरा गर्नु थियो सानु,
सिंगो जीवन संगै बाँची मर्नु थियो सानु।

जीवन हो महासागर यसको अन्त्य कहिँ छैन
दुवै मिली जिबन सागर तर्नु थियो सानु।।

जिन्दगीको फूलबारीमा सुगन्धित सुवास छर्दै
मुस्काउदै फुल्नु अनि झर्नु थियो सानु।।

अधुरो छ तिमि बिना दुनिया मेरो जताततै
सम्बन्धले खाडलहरू, भर्नु थियो सानु।।

एक अर्काको सहारामा चलेको छ दुनिया यो
मलाइ पनि तिम्रै भर पर्नु थियो सानु।।

तीन हाइकु

मेरा नजरहरुमा अमिट बनेका,
बगैंचाका सुन्दर हरेक फूलहरुले
तिम्रै प्रतिबिम्बको आभास दिन्छ ||१||

मेरो हरेक चाहनाको तृप्ती अघि,
गहिरो तृष्णा र मिठो बाडुल्की बनी
तिम्रा झझल्कोहरु आईरहन्छ ||२||

मन र जीबनबाट दिनभरी टाढा रहेर,
आफ्नैसुरमा कता हराएको यो मन,
रातभरी तिम्रै साथमा रमाईरहन्छ ||३||

दुई मुक्तक (आज भोलि सपनीमा)

एक

आजभोलि सपनीमा तिम्रै छायाँ देख्छु,
मनभरि र मुटुभरि तिम्रै माया देख्छु
के हो यस्तो पागलपन, मलाई मात्र हो कि
जताततै तिमीलाई नै दायाँ बायाँ देख्छु

नेपाल निहुरिएको बेला

गोरखाले न्याय गुहारिरहेको बेला,
नुवाकोट पनि न्याय माग्दै रहेछ,
रसुवा रोइ रोइ बिलौना पोखिरहेको बेला
धादिंग आफैलाई धिक्कार्दै रहेछ,
भत्किएर भक्तपुर भक्कानिंएको बेला,
मन्दिर र गुम्बामा भगवान पुरिएछन्,
विद्याको मन्दिर पनि भत्किएको बेला
भक्त भन्दैछ “भगवान कुन भक्ति पुगेन ?”

दुई मुक्तक (दुनियामा कोही नभए)

एक

दुनियामा कोही नभए मेरो साथी जुन छ हजुर
अन्धकारको औंशी रातमा आत्मा मेरो रुन्छ हजुर
लाग्छ माथि उँडी उँडी चन्द्रमालाई छोउँ जस्तो
तर किन बदलुले मेरो बाटो थुन्छ हजुर ।

यस्तो मिठो प्यार

नहोस यस्तो मिठो प्यार कसैको,
दुनियाबाटै भाग्नुपर्ने हार कसैको |
सबैले पाउने यहाँ बाँच्न रमाएर
मेरो जस्तो एक्लो नहोस् संसार कसैको ||

मेरो देश

के भो यो देशमा आज कसले गर्यो कस्तो अतिरन्जित यो |
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

चार वर्ण छत्तीस जातको साझा फुलबारी यो हाम्रो देशमा
बिबिध जात किन दलित, जनजाति, मधेशी र पण्डित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

हिमाल-तराई र मेची-महाकाली थियो एउटै नाम नेपाली,
सुन्दर शान्त बिशाल प्यारो देश टुक्रा टुक्रामा खण्डित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

स्वतन्त्र स्वाभिमानी नेपाली जनता, गगनमा उड्ने पक्षी झैं
तिनै नेपाली बिना अर्थ आ-आफ्नै घरमा थुनिएर बन्धित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

तीन मुक्तक (खोजी, कोही, कसरी भनौं?)

खोजी

खोज्दै छु कहाँ छौ, हरायौ कि कतै,
अर्कै कुनै संसार मन, परायौ कि कतै ।
लाग्छ सधैं भेटिरहुँ, मनको मझेरीमा
भाग्छौ किन गोरेटोमै, डरायौ कि कतै ।।१।।