Skip to content

प्रवीण सिन्धुलीय

अवतार

लेखेको कुरा खै के छ, के छ ? देखेको कुरा त माकुराको जालो जस्तो छ । भोगेको कुरा चाहिं त्यही जालोभित्र कैद भएको अभागी झिंगाको जस्तो छ । मेरो जीवनमा पापी माकुरोले कुन बेलादेखि जालो बुन्न शुरु गर्यो र कहिले बुनिसक्यो मैले सुइँकोसम्म पाईंन । मैले चाल पाएको बेला म जालोभित्र छटपटाउँदै थिएँ । माकुरो भने स्वतन्त्र भैसकेको थियो । जालोबाट मुक्ति पाउन गरिएका हरेक प्रयत्न विफल यस अर्थमा भए कि, जालो कुनै चानचुने माकुरोले बुनेको थिएन । समयरुपि कालो माकुरोले बडो मिहिनेतकासाथ रेशमी मुटुहरू पगालेर रेशाहरू पैदा गर्यो । तान भने पहिले नै तयार थियो । रेशाहरू क्रमश: बुनिंदै गए । आयतन बढ़दै गयो । म र डोमा त यो दुर्घटनाका निमित्त नायक-नायिका मात्र थियौं । डोमा र मेरो मिलन एउटा संयोग मात्र थियो ।

PraweenSindhuliya

लाशको मोल

एक सालको कमाईले बिदेश पलायन हुँदा लिएको कर्जा फच्चे गरेपछि म्याग्दीको जीवन हर्मेल पनि अरुहरूको लहै-लहैमा लागेर कम्पनी छोडेर भाग्यो । भगुवा ज्यामीको लोभलाग्दो दैनिक ज्यालादरको कारण ऊ पनि त्यो अवैधानिक भीडमा मिसिएको हो । गुप्तचरको गिद्धे नजर नपरेसम्म त रियाल मज्जैले कमाइन्छ, पक्राऊमा परिएमा कतारी मामाघरमा पाहुना लाग्न गईन्छ! सबै भगुवाहरू एकदिन अवश्य गिरफ्तारीमा परिन्छ भन्ने कुरामा ढुक्क छन् । र, अधिकांशले आफ्नो गलत निर्णयलाई समय सापेक्ष नै ठानेका पनि छन् ।

थाकखोला

शरदऋतुको आगगमनको झ्याली पिटिई सकेको छ । काला बादलहरू पालैपालो नीलगीरी, धौलागिरी र अन्नपूर्ण हिउँचुलीहरूसित बर्षको अन्तिम चरणको मल्लयुद्ध लड्दै छन् । कालीगण्डकी खैरी छिन् । यो भेगको ढुंगा-माटो र बलौटो बगाउने ‘क’ श्रेणीको ठेकेदार हुन् उनी । नजाने कयौं खोला-नाला र खहरेहरूले कालीगण्डकीमा सर्वस्वसहित आत्मसमर्पण गरेर जन्मकुण्डली हराएका छन् । कालीगण्डकीलाई बिस्तारवादी बनाउने सहायक खोलाहरूमध्ये ‘तीन गाउँले’ र ‘पाँच गाउँले’ आदि थकालीहरूको मयल-पसिना पखाल्दै बघ्ने एक गन्नेमान्ने खोला हो- थाकखोला । र, यसैको अगलबगलमा त हो नि सूर्यमान गौचनले तीन दशक लगाएर यो कथा उत्पादनकोलागि आबस्यक पर्ने कच्चापदार्थ थुपारिदिएको ।

पाख्रीको बोट

त्यो “पाख्रीको बोट”जसको छहारीमा मेरो शैशवकाल बित्यो । त्यो पाख्रीको बोट जसले मभित्र बालाचरको बेर्ना तयार पार्यो । र, त्यो पाख्रीको बोट जसको बाहुलीमा मैले बालक्रीडाको अथक अभ्यास गरेँ । जसको डालीहरूमा मेरा शिशु-अंगुलीहरूले ल्याप्चे ठोकेका छन् । जसको आंख्लाहरूमा पैतालाका डामहरू छापिएका छन् । पाख्रीको बोटमा एउटा रमाइलो संसार आरक्षित छ । कापहरूमा सुनगावा फुल्छन् । हाँगाहरूमा अमरलता झुल्छन् । टोड्काहरूमा टिकटिकेहरू गूँण लाउँछन् ।

रात्री-बस

उनले एकैछिन् हातेथैली समाइदिन आग्रह गरिन्। मैले समाइदिएँ। भुइँमा लत्रिएको खास्टो बटुलिदिन भनिन्। मैले त्यसै गरें। उनका दुवै हात ब्यस्त थिए। त्यसैले उनी मेरा हातको सदुपयोग गर्दै थिइन्। हुन पनि मेरा हात बेरोजगार थिए। जब हातहरू बेरोजगार हुन्छन्, जसले जहाँ र जसरी प्रयोग गरे पनि हुन्छ। हात मात्र कहाँ हुनु, मेरो त सिङ्गो दिमाग नै बेरोजगार थियो। जब मथिंगल नै बेईलमी हुन्छ र त्यो पनि बैंशको चुलीमा, घडीका सूईहरू नै प्रतिगामी हुन्छन्। घडी दिग्भ्रमित भएको यस्तै दाउ छोपेर समयले आफू अमलेख भएको घोषणा गर्छ।