अवतार
लेखेको कुरा खै के छ, के छ ? देखेको कुरा त माकुराको जालो जस्तो छ । भोगेको कुरा चाहिं त्यही जालोभित्र कैद भएको अभागी झिंगाको जस्तो छ । मेरो जीवनमा पापी माकुरोले कुन बेलादेखि जालो बुन्न शुरु गर्यो र कहिले बुनिसक्यो मैले सुइँकोसम्म पाईंन । मैले चाल पाएको बेला म जालोभित्र छटपटाउँदै थिएँ । माकुरो भने स्वतन्त्र भैसकेको थियो । जालोबाट मुक्ति पाउन गरिएका हरेक प्रयत्न विफल यस अर्थमा भए कि, जालो कुनै चानचुने माकुरोले बुनेको थिएन । समयरुपि कालो माकुरोले बडो मिहिनेतकासाथ रेशमी मुटुहरू पगालेर रेशाहरू पैदा गर्यो । तान भने पहिले नै तयार थियो । रेशाहरू क्रमश: बुनिंदै गए । आयतन बढ़दै गयो । म र डोमा त यो दुर्घटनाका निमित्त नायक-नायिका मात्र थियौं । डोमा र मेरो मिलन एउटा संयोग मात्र थियो ।
