एक सालको कमाईले बिदेश पलायन हुँदा लिएको कर्जा फच्चे गरेपछि म्याग्दीको जीवन हर्मेल पनि अरुहरूको लहै-लहैमा लागेर कम्पनी छोडेर भाग्यो । भगुवा ज्यामीको लोभलाग्दो दैनिक ज्यालादरको कारण ऊ पनि त्यो अवैधानिक भीडमा मिसिएको हो । गुप्तचरको गिद्धे नजर नपरेसम्म त रियाल मज्जैले कमाइन्छ, पक्राऊमा परिएमा कतारी मामाघरमा पाहुना लाग्न गईन्छ! सबै भगुवाहरू एकदिन अवश्य गिरफ्तारीमा परिन्छ भन्ने कुरामा ढुक्क छन् । र, अधिकांशले आफ्नो गलत निर्णयलाई समय सापेक्ष नै ठानेका पनि छन् ।
धेरै चोटिको जासुसी छापाबाट जोगियो जीवन । काम, दाम र लुक्ने ठामहरू मौसम झैं बदलिए । अन्ततोगत्वा, ऊ ‘मन्तका सनाईया’ [औद्धोगिक क्षेत्र] भित्र छिरयो । जासुसी चक्षुलाई चक्मा दिन सनाईया भन्दा उत्तम थलो नै छैन कतारमा । नेपाली मजदुरहरूको बाहुल्यता मात्रै हैन थुप्रै खाले गैह्रकानूनी धन्दा समेत चल्छ यो क्षेत्रमा! जाँड-रक्सीका भट्टीहरू संचालित छन्; तास-जुवा र लंगुर्बुर्जाका खालहरू जमेका हुन्छन् । झन् चकितलाग्दो कुरा त के छ भने, ती धन्दा संचालकहरूबाट ‘हप्ता असुली’ गर्ने मुन्द्रे-गुण्डाहरू पनि छन् ।
कानूनको नजरमा अपराधी भए पनि जीवन हर्मेलको खाँचो भने अवश्य खट्केको छ यो तिब्र बिकासशील देशलाई । ‘पर्ल कतार’ नामक मानवनिर्मित टापू यो फुच्चे राष्ट्रको नयाँ मुटु नै हो । मोतीलाई छातीमा लुकाएको सिपीकीराको आकृतिको खरबौं रियालको ऊक्त टापू मासिक छ सय रियाल थाप्ने जीवन हर्मेलहरूले नै निर्माण गरिदिएका हुन् । आफ्नो गाउँको खण्डर स्याउले छाप्रो छाउन पनि अल्छी गर्ने युवाहरू, दूरदेशमा गगनचुम्बी धरोहर खडा गर्ने हैशियत राख्छन्!
‘शिमाल’ को [ऊत्तर दिशा] कुनै ‘मजरा’ [फार्म हाऊस] बाट बिहीबारे साँझ मनाउन निम्तो आएको थियो । ‘जुमा’ [शुक्रबार] सार्बजनिक बिदा भएकोले बिहीबारको रात प्राय: रंगीन हुन्छ । यो रातलाई नेपाली जिब्रोले ‘जुमा रात’ भनेर फट्कारछ । मित्रमिलन भयो । साथीहरूले जमेरै अतिथिपूजन गरे । मिष्टान्न भोजन पाक्यो । ‘लुमा’ का बोतलहरू भित्रिए । यो एक प्रकारको ‘कोलोन’ अर्थात संक्रमनात्मक अति सूक्ष्म कीटाणुनाशक मदिरा बर्गमा पर्ने अम्ल हो । यो अपरसलाई ‘कोदोको झोल’ का रुपमा नै स्वीकारेका छन् बहुसंख्यक निम्न आय भएका कामदारहरूले । मस्जिदका मिनारहरूबाट ‘फजर अदान’ [उषाकालीन प्रार्थनाको लागि ‘अल्लाह अकबर’ भन्दै गरिने उद्घोष] को उद्घोष भैसकेको थियो । लुमाका अनगिन्ति बोतलहरू रित्तिए पछि एकजनाले तोर्मे पारा झिक्यो । अर्कोले पाखुरा सुर्कियो । छिनभरमै त्यो आत्मीय जमघट युद्धभूमीमा रुपान्तरित भयो । निधार फूटे, करंग टुटे । लुमा मिस्रित रगतले भुइं र भित्ता रंगिए । कसैले आपतकालीन नम्बर ‘नौ नौ नौ’ मा खबर गरिसकेको कुरा उनीहरूलाई सुइँको सम्म भएन । ‘साईरन’ को ध्वनि सुन्नासाथ सुइँकुच्चा ठोक्न सफल मध्ये जीवन हर्मेल पनि पर्यो । यो बिन्दूसम्म त जीवन हर्मेललाई समयले मौका दिएकै देखिन्छ ।
नेपालीको रगतमा लुमा नामक बीष फैलिनुमा धीत मर्ने कारणहरू छन् । यहाँको ‘शारिया कानून’ [मुसलमानको पवित्र धर्मग्रन्थ ‘कुरान’ को मूल मर्मबाट प्रभावित] ले मदिरा सेवनलाई पूर्ण निषेध नगरेता पनि अंकुस भने लगाएको छ । तारे होटेलहरूमा ‘बार र डिस्कोथेक’ छन् । ज्यामी कामदारहरूको लागि ती ‘ल्हासाको सुन’ सरह छन् । उच्च ओहोदामा विराजमान आप्रवाशीहरूले चाहेमा व्यक्तिगत प्रयोजनका लागि मदिरा खरीद गर्ने अनुमतिपत्र प्राप्त गर्न सक्छन तर जीवन हर्मेलहरूको मनोरंजन गर्ने नैसर्गिक हकको भने घाँटी निमोठिएको छ । यहाँ सबैथोक उपलब्ध छ तर यहाँ सबैलाई सबैथोक उपलब्ध छैन! केही खुल्ला छ, केही ढाकिएको छ । वास्तबमा मदिरा सेवन सम्बन्धी यहाँको कानून ‘राम तेरी गङ्गा मैली’ की मन्दाकिनी जस्तो छ । अथवा, ‘डर्टी पिक्चर’ की बिध्या बालन जस्तो छ । लुमाले लाग्छ । ‘बकाला’ [किराना दुकान] को तखतामा बिक्रीको लागि राखिएको हुन्छ लुमा । लुमा सस्तो पनि छ । स्वाद पनि कोदोको झोललाई बिर्साईदिने खाल कै छ रे । स्वदेशमा हुन् कि बिदेशमा आम नेपालीहरूको मनोरन्जनको पहिलो छनोट बनिसकेको छ सोमरस । ती पीडित प्रवाशी नेपाली समुदायमा, त्यसैले, लुमा बिछट्टै रत्तिएकी छ । ऊ संग सबै झुम्मिएर नाच्छन, गाउँछन् –
‘रात पर्यो जुमा, बगलीमा रियाल छ, बकालामा लुमा!’
त्यतिबेला, गाउँमा बस्न दिंदैनथे, शहरले पाल्न सक्दैनथ्यो । नयाँ दुलहीको बास्ना मगमग आउंदै थियो । मायालाई जिम्बेबारीको जाँतोमा पिस्दा निस्केको पीठोलाई मुटुभित्र पोको पारेर जीवन विदेशिएको थियो । राजधानीको अशुरक्षित भीडमा पातली अलपत्र छुटी । छ बर्षे अन्तरालमा केही रहरहरू बाहेक पातालीका बाँकी रहरहरू क्रमश: पूरा हुँदै पनि गए । एकदिन एउटा समाचार चट्यांगसरी छातीमा बज्रियो । केहीबेरको लागि मुटु धड्किन सकेन । गिदी मुर्छा परयो । ‘पातली पोइल गएकी थिई ।’ दुई सालअघि आमा मास छर्न गएको समाचारले बरू थोरै दिन मात्रै पोलेको थियो, पातलीको बैगुनी नंग्राले कोतरेको घाऊबाट भने घृणाको पीप बगिनै रह्यो । यस्ता कुबेलाहरूमा, पीडा सेक्ने निहूँमा केही ‘लुमे’ साथीहरू भने लुमा पिउन नै उक्साउँथे ।
भगुवा कामदार समात्न प्रहरीहरू सक्रिय थिए । बस-अड्डा, गल्ली-गल्छेऊँडा, पुराना घर, अस्थाई टहरा, आदि लगायत सनैया क्षेत्र समेत अशुरक्षित बन्दै गए । र, राजधानी दोहा बाट लगभग सत्तरी मील परको एउटा मजरामा ऊँट-भेडा आदिको सेवामा जुट्न बाध्य भयो जीवन हर्मेल । गाँस र बासको बन्दोबस्त थियो । खमीरलाई खजुरमा मोलेर जाँड बनाउन थालेपछि त अरु के नै चाहियो र! दिनहरू यसरी नै बित्दै गए । समय परिबर्तनशील जस्तो लागे पनि त्यो त यौटै चक्रमा पो फनफनती घुमिरहेको हुँदो रहेछ । मानव शरीर र उसको सोचमा मात्र पो फेरबदल हुने रहेछ । जीवन हर्मेलको जीवनमा यसका संकेतहरू देखिन थालिसकेका थिए । महत्वकांक्षा कमजोर हुँदै गयो । मांशपेशीहरू सिथिल बन्दै गए । गृष्मऋतुका रवि रापिला थिए । केही दिनदेखि जीवन झोक्राउन लागेको थियो । भगुवा कामदारहरू समयानाकुल स्वास्थ जांच र उपचारबाट पदेन बन्चित हुन्छन । यस्तैमा एकदिन आफ्नो सहकर्मी सित शिघ्र फर्किने वाचा सहीत बिदा मागेर ऊ फुत्त बाहिरियो ।
त्यो दिनदेखि फेरी ऊ मजरामा फर्किएन । र, भगुवा भएकोले ऊसको खासै खोजि पनि गरिएन । तर, हप्ता दिन जति पछि कसैले जीवन हर्मेललाई मजराकै आसपासको ढुंगे-मरुभूमिमा भेट्यो । ‘सिद्रा’ [मरुभूमिमा पाईने बयरकोजस्तो बोट] बोटको सिंयालमा ऊ मस्त निदाएको थियो । जीवन हर्मेल उठेन किनकि त्यो त ऊसको भौतिक शरीर मात्र थियो । ऊ मर्यो भन्दैमा धरतीले घुम्न छोड्ने त कुरै भएन । सिद्राको छायाँले पनि ऊसलाई एक्लै छोडेर धरतीसंगै घुम्यो ।
अन्ततोगत्वा, एउटा भगुवा मजदूरलाई प्रहरीले पक्डेरै छाड्यो । ऊसको लागि सूरक्षा ब्यबस्था अझ कडा गरियो । चौबीसै घण्टा ‘डेडबडिगार्ड’ ले पहरा दियो । हमद अस्पतालको मूर्दाघरको बिशिष्ट पाहुना बन्यो जीवन हर्मेल । स्थानीय प्रशाशनले लाशको मूल्य बाह्र हज्जार कतारी रियाल तोक्यो । मुलुकको कानून मिचेको संगीन आरोप लागेको थियो ऊक्त लाशमाथि । त्यसैले, लाशको मलामीको हैन लिलामीको ‘टेन्डर’ खुल्यो । र, त्यो लिलामीमा नेपाली दूताबास सक्रिय बन्यो । केही तथाकथित सहयोग समाजहरूले चन्दा उठाएर धन्दा गरे । ‘खुरुज’ [बहिर्गमनको पूर्जी] बन्यो । जीवन हर्मेल ढुक्क भएर स्वदेश फर्कियो । आर्यघाटको घाटेबाहुन जीवन हर्मेललाई देखेर मुसुक्क मस्कियो ।
मझेरीमा पहिलो पटक प्रकाशित – 2012-11-27 07:46:12 +0545

साह्रै मार्मिक कथा । साँच्चै,
साह्रै मार्मिक कथा । साँच्चै, साहित्य समाजको दर्पण हो । त्यो अर्थमा यो कथा सच्चा साहित्य भन्न कसो नमिल्ला ?