शरदऋतुको आगगमनको झ्याली पिटिई सकेको छ । काला बादलहरू पालैपालो नीलगीरी, धौलागिरी र अन्नपूर्ण हिउँचुलीहरूसित बर्षको अन्तिम चरणको मल्लयुद्ध लड्दै छन् । कालीगण्डकी खैरी छिन् । यो भेगको ढुंगा-माटो र बलौटो बगाउने ‘क’ श्रेणीको ठेकेदार हुन् उनी । नजाने कयौं खोला-नाला र खहरेहरूले कालीगण्डकीमा सर्वस्वसहित आत्मसमर्पण गरेर जन्मकुण्डली हराएका छन् । कालीगण्डकीलाई बिस्तारवादी बनाउने सहायक खोलाहरूमध्ये ‘तीन गाउँले’ र ‘पाँच गाउँले’ आदि थकालीहरूको मयल-पसिना पखाल्दै बघ्ने एक गन्नेमान्ने खोला हो- थाकखोला । र, यसैको अगलबगलमा त हो नि सूर्यमान गौचनले तीन दशक लगाएर यो कथा उत्पादनकोलागि आबस्यक पर्ने कच्चापदार्थ थुपारिदिएको ।
थाकखोला उपत्यकामा स्याऊ र खुर्पानीले ढाकेको तीन बिघाजति पखेरो पालेर सूर्यमानले खोलेफाँडोको खाँचो टारेको थियो । त्यो मौसमी बालीलाई समयमै नगदमा बदल्न नसके या त खच्चरको खुराक बन्थे अथवा सुकुटे चाना । मार्फा, जोमसोम वा टुक्चेसम्म खेप्न सके पदयात्रीहरूले केही बढी मूल्यमा स्याऊ-खुर्पानी खरीद गरिदिन्थे । यस्तैमा एउटा समाजसेवी जर्मन नागरिकले पानीघट्टबाट बिजुली निकालेर रक्सी बनाउने भट्टी खोलिदियो । स्याऊ र खुर्पानीहरू बोतल र बटुकाहरूमा बसाउन थाले ।
प्रकृतिले बालदेखि वृद्धसम्मलाई लाम्टा चुसाउँछिन् । प्रकृति बहाडिलो भएसम्म त मानव बेधडक बाँच्छ । प्रकृतिको पनि त आफ्नै परिबन्द होला । उसका पनि त परिघाती परचक्रीहरू होलान् । सूर्यमानको खुशीमा फेरि ग्रहण लाग्यो । त्यो सालको झरीले थाकखोलालाई उसको हैसियतभन्दा बढी नै जल दियो । पाखो फाट्यो । सूर्यमानको सुन्दर बाग बगेर थाकखोलामा बिलायो । जीवनका अनगिन्ति गल्छीहरू फट्किदा गलेनी फाटिसकेका गौचनका औंलाहरूले आफू टेकिएको धरातल असुरक्षित रहेको कुरा बल्ल चाल पाए । पहिरोको डिलमा उभिएर सूर्यमानले लालपूर्जा पल्टायो ।
पर्जन्यको आकाशवाणी पैह्रोमा प्रतिध्वनित हुँदै सूर्यमानको भित्री कानमा ठोक्कियो – “नरोऊ सूर्यमान, धर्ती कसैको पनि पेवा हुन्न ।” सूर्यमानले मन बुझायो ।
बिपत्ति परेपछि त हो नि बिगत बौरिने । सूर्यमानले मैच्याङ्ग सम्झियो । जुँगामा जवानीको लिउन चम्किएको बेलाको कुरो हो यो । लोमान्थाङमा (उपल्लो मुस्ताङ) मुस्तामुस्ताङे राजाको दरबारमा पाले हुँदाको कुरो हो यो । मैच्याङ्ग दरबारभित्र सुसारे थिई । मैच्याङ्गलाई देख्दा सूर्यमानले आफूभित्र पाले कम र भाले ज्यादा महसुस गर्थ्यो । मैच्याङ्गको गाला पनि त मुस्तामुस्ताङे स्याऊ नै बिर्साईदिने खालको थियो नि । हुन त मैच्याङ्गले बक्खुभित्र बैंश लुकाएर लोभी आँखाहरूलाई झुक्याउन खोजेकी थिई, सूर्यमानको दृष्टि पनि त हिमाली गिद्धकोभन्दा कम कहाँ थियो र! आखीर, सूर्यमानले मैच्याङ्गलाई टिपेरै छाड्यो । थाकखोलाको चिप्लेटी ढुंगामाथि बसेर मैच्याङ्गको आङको मयल माड्दै गरेको देखेपछि पो गाउँलेहरूले सूर्यमानलाई मर्दजस्तो देखे । चौबीस महिनामा मैच्याङ्ग दुई पल्ट सुत्केरी भई । पहिलो बेतमा छोरी र दोश्रोमा छोरोले मैच्याङ्गको कोखलाई आमा बनाए । सूर्यमान दङदास थियो । अरु काम भनेको त्यस्तै-उस्तै हो यो बच्चा बनाउने कामचाहिं सूर्यमानलाई सहज लागेको थियो । यदि मैच्याङ्ग बेलैमा झारकोटे झिल्केसंग पोईल नगैदिएकी भए थाकखोलाको सेरोफेरोमा मान्छे नाथे त कति उम्रिन्थे उम्रिन्थे ।
छोरी पार्वती पट्ठी भएपछि मात्र त हो नि सूर्यमानको जीवनले फेरि सुखको कोल्टे फेरेको । छोरी हुर्केपछि सूर्यमानले मार्फामा एउटा पाहुनाघर खोल्यो । तरुनी भएपछि पार्वती बिछट्ट राम्री होली भनेर सूर्यमानले तर्कनासम्म गरेको थिएन । गोरा मोराहरू त पार्वतीको मुस्कान देखेर मख्ख पर्थे । पार्वती मुस्काउँदै गई, सूर्यमान भने फापरको फुस्रा सागसित हरिया डलर साट्दै गयो । अरु बाउहरूको मनसा त थाहा छैन, छोरीको बाउ हुन पाएकोमा सूर्यमान गौचनको छाती भने नाङ्लोजत्रै थियो । हुन पनि मार्फामा सूर्यमानको पाहुनाघरले पुग्यो नभनेसम्म बाँकि अन्य पाहुनाघरहरूलाई कमाइ खान धौ-धौ नै हुन्थ्यो । त्यसैले त्योबेला सूर्यमानको छानामाथि दाउराको खलियो हुन्थ्यो । गोटातीनेक घोड गधाहरू तबेलामा चोकर चपाइ रहेका हुन्थे । दाउरा र खच्चरको स्वामित्वको आधारमा त्यो ताका गाउँलेहरूले घरमूलीको गच्छे छुट्याऊँथे । गाउँलेले सुइँको सम्म नपाएको गुप्ती सन्दुकको हिसाब त छुट्टै नै थियो । लोमान्थाङ्गमा हुँदानै जोरजाम पारेको केही शालिग्राम र यूँ-आदि रत्नहरूले करेसामै बजार पाएका थिए ।
समयले कोल्टे फेर्दा सबैलाई फाप्छ नै भन्ने छैन । सूर्यमानलाई पनि फापेन । कन्तुरमा थुनिएकी लक्ष्मीभन्दा पनि बुढेसकालको सहारा भनेको लौरो नै रहेछ । छोरी पार्वती अचानक अलप भई । पार्वती सूर्यमानको बुढेसकालको टेको थिई । हुन त यो ‘अचानक’ भन्ने शब्दलाई शब्दकोशबाटै निलम्बन गरे पनि खासै फरक नपर्ने हो किनकि कुनै पनि घटना अचानक घटेको हुन्न । फल वा परिणाम पैदा गर्ने मूल तत्वको पत्तो नलागुञ्जेलसम्म मात्र अचानाकले अस्थायी जागीर खाएको हुन्छ । एकदिन पोखरा शहर झरेकी छोरी फेरि कहिल्यै फर्किन । जतिनै खोजखाज गरे पनि पार्वतीको पत्तो लागेन । छोरो दिलमान पर्बतारोहीहरूको पथप्रदर्शक थियो । केही साल पहिले जापानी टोलीको अगुवा बनेर नीलगिरी हिमशृंखलाको आरोहण गर्दा हिउँपैह्रोमा पुरिएर ऊ बेपत्ता भयो । बचेका जापानीहरूले उसलाई धुइँपत्ताल खोजे । दिलमानलाई भेटिने आशा दगल्चो नै रह्यो ।
बिगतका दिनहरूमा जेजस्ता असमान सन्धिहरूमा सहीछाप गरेको भएता पनि जिउन बाँकी दिनहरूको सम्झौता भने सूर्यामानाले खुर्पानीको मदपानीसित गर्यो । सूर्यमानले सपना नै देख्न छाड्यो । बिपनानै सपनाजस्तो भएपछि सम्भवत: सपनाको शृंखला पनि टुट्ने गर्छ । जीवनको त्यो अध्यायसम्म पाईला टेकेको सूर्यमानलाई जिउँदो प्रयोगशाला मान्ने हो भने मनगढन्ते धुपौरोमा धुन्धुकारी जगाउनेहरू र हत्केलाका बाङ्गाटिङ्गा धर्काहरूको टेडोमेडो माने लगाएर जिउन पल्केकाहरूलाई धुतारको संज्ञा दिने आँट आउँछ । चितुवा र चिप्लेकीराको दौड प्रतियोगिता गराएर समयको गति नापिने परिपाटी रहुञ्जेल समय पक्षपातीजस्तो देखिईनै रहने छ । जसले जे लखकाडुन्, आखिर समय निर्जीव झुलुङ्गो हो र यसले जिउँदाहरूलाई लगातार तर्साइरहेको हुन्छ । थाकखोलाले माटो बगाउँदा पनि नधरमराएको सूर्यमानको आत्मबल बुढेसकालमा थाकखोलाले लौरो बगाइदिएपछि भने काम्यो ।
सराङमा दाउरा सुक्न छाडे । गोल्फुमा उवा रित्तियो । यस्तैमा एकदिन सूर्योदयको लगत्तै एक जोडी जापानीले लटरम्म फलेको स्याऊको बोटसरी निहुरिएर सूर्यमनालाई ‘ओहायो गोजाईमास् ‘ (प्रभातकालीन प्रणाम) गरे । त्यो अनौठो दृष्यले ऊ झस्कियो । साथमा आएको नेपाली नाइकेले भाषाको उल्था गर्दै उनीहरू आउनुको अभिप्राय पनि सम्झायो । नीलगिरी दूर्घटनामा बाँचेको ‘वातानाबे सान्’ दिलमानको परिवारलाई भेटेर आर्थिक सहयोग गर्न चाहन्थ्यो । श्रीमती वातानाबेले एक बिटो नोट र कोसेलीको थैली सूर्यमानको हातमा थमाइन् । उसले रुँदै पैसा र सामान फिर्ता गरेपछि जापानी दम्पती बिलखबन्दमा परे । पानी सुकेका नीला औंलाहरू जोडेर सूर्यमान बर्बरायो- “सक्ने भए सासजानु अघि मलाई मेरो दिलेसित भेटाइ देऊ ।” दोभासेको उल्था सुनिसकेपछि जापानी जोडी पुन: निहुरिए ।
शारीरिक शिथिलतालाई बेवास्ता गर्दै लिँडेढिपी कसेकोले मुक्तिनाथको तीर्थयात्रामा आफन्तहरूले सूर्यमानलाई पनि समेटे । कागबेनीबाट उकालो लागेपछि छेपारी बटारिए पनि सूर्यमानले दुख्यो भनेन । कागेखोला पारिको अक्करमा सोक्पा लुक्नेजस्ता प्राकृतिक ओढारहरू छन् । ती गुफाहरू हेरेर ऊ धेरैबेरसम्म टोलाइरह्यो ।
“आहा, त्यो ओढारभित्र लुक्न पाए पनि हुन्थ्यो!” लोमान्थाङ्गबाट भाग्दै गर्दा मैच्याङ्गले बोलेको त्यो वाक्य गुफाभित्र अझै गुञ्जिरहेको भान भयो सूर्यमानलाई ।
अझ माथि झारकोट टेकेपछि त टक्क रोकिएर उसले चारैतिर आँखा नचायो- ” कतै, मैच्याङ्गनै पो देखापरिहाल्छे कि!” धोत्रिएको स्मृतिका पानाहरू पल्टाउन नपाउँदै धुजाधुजा भएर फाट्दै गए । तर पनि सूर्यमानभित्रकी मैच्याङ्ग भने जति सुमसुमायो उति नै तरुनी हुन्थी । मुक्तिनाथको एकसय आठ धारामा स्नान गरिसकेपछि सूर्यमान गर्ल्याम्म ढल्यो । स्वयंसेवकहरूले लेक लागेको लखकाटे । र, सूर्यमानलाई तत्काल कम ऊँचाइतर्फ ओरालियो । कागबेनीको ओह्रालो झर्दै गर्दा सूर्यमानले डोकेलाई टोक्मा अड्याउन आग्रह गर्यो । ऊसले धीत मरुञ्जेल काला सुरुङ्गहरू हेर्यो । एक हूल मलेवाहरू सुरुङ्ग छोडेर आकाशमा विचरण गर्न लागे । यहि मौका छोपी सूर्यमान एउटा अँधेरो सुरुङ्गभित्र सुटुक्क छिर्यो र अन्तरध्यान भयो । डोके र सहयोगीहरूले सूर्यमान गौचनले जिउने लन्ठाबाट छुटकारा लिएको ठहर गरे ।
एक गैह्र- सरकारी संस्थाको पहलमा बम्बैमा बेचिएका केही नेपाली चेलीहरूको उद्धार गरियो । त्यो समूहमा पार्वती गौचनको नाम पनि थियो । जोमसोम बिमानस्थलमा अवतरण गर्ने बित्तिकै पार्वतीको आङ गह्रुङ्गो भयो । “बाउ र भाइको मुखेञ्जी यो कलुषी अनुहार कसरी देखाउने! साथी-संगी र छर-छिमेकीको जिउरोलाई के भनेर तह लाउने!” पार्वतीले आफू चोखिने उपायहरू रच्न थाली । साँचो बक्दा समाजलाई नपच्ने; झूठो बोलेर कति दिनसम्म बच्ने! बम्बै यात्राको बेलीबिस्तार नबाहिरिएसम्म त हो नि तीनगाउँलेले पार्वतीलाई आफ्नै छोरी भनेर ढोग्ने ।
घरमाथि बारीको पाटामा ‘फिरफिरे यान’ अवतरण गर्यो । गाउँलेहरू झुम्मिए । तमासेहरूको भीडमा पार्वती पनि मिसिई । दिलमान आएको रहेछ । निगालोको काम्रोभित्र कोल्थाको बोरामा लपेटिएको दिलमानको अररो लाशलाई छाँद हालेर पार्वती भक्कानिई ।
जापानी जोडीले सूर्यमानको खोजी गरे । दिलमानलाई हस्तान्तरण गरेर उनीहरू ऋणमुक्त हुन हतारिएका थिए । सूर्यमानले केही महिना अरु बाटो हेरिदिएको भए उनीहरू मुस्कुराएर फर्किने थिए । जन्म र मृत्युको बीचको दूरी तय गर्ने क्रममा मानिस हरेक पल मर्ने गर्छ । जिउने रहरको नेपथ्यमा घिडघिडाहरू अनवरत क्रियाशील हुन्छन् । केही घिडघिडाहरूले मुक्ति पाउँछन् । कति त जीवनलाई पछ्याउँदै मृत्युको मुखभित्र नै छिर्ने गर्छन् । दिलमान पनि एउटा त्यस्तै घिडघिड़ो थियो ।
केही महिना पहिले टुक्चेमा लत्ता-कपडा किन्न जाँदा एउटा जवान थकालीले आँखा गाडेको थियो । दोश्रो भेटमा सम्बन्ध नजिकियो पनि । पार्वतीले कुसुमे रुमालमा फेरि रङ्गिन बुट्टाहरू भर्न शुरु गरेकी थिई । यस्तैमा पार्वती खोक्न लागी । पार्वतीको लहरे खोकी बेसार-अदुवाको काँडाले निको पारेन । सिप्लेकानोको सागले भोक जगाएन । चिराइतोको झोलले ज्वरो ओर्लिएन । शरीर हलुँगो हुँदै गयो । यौवनको मध्यान्तरमा नै पार्वती चाउरिई । रङ्ग-रोगन उड्दै गएपछि टुक्चे-ठिटो पनि पार्वतीको छेउछाउ मै पर्न छोड्यो । ओइलिएको गुलाफमा भमरा भुनभुनाउँदैन ।
पोखरा शहरसम्म पुगेकी भए रोगको निदान हुन्थ्यो कि । ऊ अन्तरात्मादेखि नै त्यो दुष्ट शहरदेखि रुष्ट थिई । पार्वतीको जीवनको कठोर यात्राको थालनी यसै शहरबाट भएको थियो । त्यो दलालले प्रेमको जालोमा फसायो र विन्ध्यवासिनीलाई साक्षी राखेर सिन्दूर हालिदियो । बैदामको महँगो पाहुनाघरमा मधुरात्री बित्यो । मुस्ताङे चरी फुरफुर गरी सपनाको महानगरको नरकमा त्यसरी छिरी । गाउँलेहरूले पार्वतीलाई राँकेभूतले छोयो भने । झाँक्रीले वीर-मसान मन्सियो । सम्भवत: पार्वती आगामी वर्षाऋतुसम्म कुर्ने छे । उर्लंदो थाकखोलाले बगरमा छापिएका पार्वतीका पदचिन्हहरू पखालेर कालीगण्डकीमा मिसाइदिने छ ।
र, यो सदीकै आतंककारी “एड्स” नामक पिशाच शंकास्पद भएर पनि पानीमाथि ओभानो हुने प्राय: निश्चित छ ।
———————-[समाप्त]———————–

साह्रै सुन्दर कथा
साह्रै सुन्दर कथा प्रवीणजी, हरेक तरहमा ।
अाधुनिक र उत्तर अाधुनिक युगमा
अाधुनिक र उत्तर अाधुनिक युगमा भावना र कल्पना अनि शब्दमा र बिम्वमा स्वच्न्दतावादको के अर्थ र। गुरुप्रसाद र रुद्रराज पाण्डे अनि रुपनारायण सिहकाे बेला बितेको सय वर्ष भइसक्यो । तपाइँ सय वर्ष पुरानाे दिशातिर लागेको देखिनु भो ।नेपाली कथामा अग्रगमन भन्दा पनि पश्चगमनमा तपाइँ देखिनुहुँदो रहेछ । अपडेट गर्नुहोला ।
कथा राम्रो लाग्यो ।
कथा राम्रो लाग्यो ।