उनले एकैछिन् हातेथैली समाइदिन आग्रह गरिन्। मैले समाइदिएँ। भुइँमा लत्रिएको खास्टो बटुलिदिन भनिन्। मैले त्यसै गरें। उनका दुवै हात ब्यस्त थिए। त्यसैले उनी मेरा हातको सदुपयोग गर्दै थिइन्। हुन पनि मेरा हात बेरोजगार थिए। जब हातहरू बेरोजगार हुन्छन्, जसले जहाँ र जसरी प्रयोग गरे पनि हुन्छ। हात मात्र कहाँ हुनु, मेरो त सिङ्गो दिमाग नै बेरोजगार थियो। जब मथिंगल नै बेईलमी हुन्छ र त्यो पनि बैंशको चुलीमा, घडीका सूईहरू नै प्रतिगामी हुन्छन्। घडी दिग्भ्रमित भएको यस्तै दाउ छोपेर समयले आफू अमलेख भएको घोषणा गर्छ।
उनको बायाँ पाउ बाउँडिएछ। मेरो बायाँ तिघ्रामा चिमोटेर ‘आइया’ भन्न बाध्य पारिन्। यसो गर्नाले निदाएको अंग बिउँझिने लोक मान्यता छ! हुन त यसको कुनै बैज्ञानिक ब्याख्या पनि होला। यो बिषयलाई फेरि कुनै दिन छुट्टै छलफल गरौंला। काकडभित्ता पुग्नु परेकोले अहिले म अलि हतारमा छु। कागबेनीको कुरा गरेर किन अलमलिनु। त्रिशुली नदीको किनारमाथि रात्री-बस हुइकिंदै थियो। जोगीमारा कटेपछि मन ढुक्क भयो। जोगिमाराको घुम्तीलाई पृथ्वी राजपथको राहु नै भने पनि हुन्छ। रैथाने बासिन्दाहरू अकालमा मरेको कुनै जोगीको आत्मा भट्किएको रे भन्छन्। विज्ञहरू निर्माणमा त्रुटि देख्छन्। तर, यात्रीहरू भने जोगीमारालाई भोको अजिंगर देख्छन्। यो मुद्दालाई पनि हाल मुल्तबीमा नै छोडौं। अगाडि बढेर अरु धेरै कुरा ओकल्न बाँकी नै छ। र, थुप्रै कुहिनेटोहरू काट्नु पनि त छ।
हाम्रो बगलका बूढाबाले कान्छी औंला ठड्याएर बिनम्र अनुरोध गरे – “ए खलाँसी बाबु, लौन एकैछिनलाई गाडी रोकाइदिनु पर्यो। खपिनसक्नु पो भो त, बा।” खलाँसी झर्कियो – “मुग्लिनमा रोक्दा चैं के हेरेर बस्याथ्यौ, ए बूढा? अब त नारनघाट पुगेपछि ठ्याम्मै रोकिन्छ।”
ती बिचरा बाले कुन मन्त्र जपेर मूत्र नियन्त्रण गरे त्यो पनि अनुसन्धान कै बिषय बनेको छ। उता अर्को छेउमा यौटी अधबैंशे आईमाई सँगैको अल्लारे ठिटोसित अनुनय गर्दै थिइन् – “मलाई झ्यालतिर बस्न देऊ न, बाबु। वाक-वाक लाग्लाजस्तो भा’छ।”
केटो भने ‘वाकम्यान’ सुन्नमै मस्त थियो। उसले कानबाट तार थुत्यो र ती पीडित स्त्रीको पीडाको गलत अर्थ लगायो – “किन छटपटाउनु भा’छ। बस्ने ठाउँमा उडुसले टोक्या छ कि क्या हो?”
त्यो सुनेर मेरो आमाशयमा काउछो दलेझें भयो। हाँस्नु त नहुने, रोक्नै नसकेर खित्का खुस्कियो। फलस्वरूप, अर्चनाको काखमा सुप्त बाल-पुरुष जुरुक्क उठ्यो। आँखामा आँखा जुधे। निम्छरो एकसाले स्तनपायीले पनि हान्ने राँगाको आँखाले हेर्यो। मैले उसका बलढ्याङ्गरे आँखाबाट आफ्ना आँखा हटाएँ। त्योभन्दा पनि अगावै उसको आमाको कुमबाट मैले मेरो कुम हटाइसकेको थिएँ।
बस नारायणघाट छिर्यो। कन्डकटरले झाकाएकाहरूलाई झस्कायो – “लौ, छिटो-छिटो खान-पिन गर्नुस्।”
लगभग सबै यात्रीहरू बाहिरिए। अर्चनाले खाना खाने रुचि देखाईनन्। खाना भन्दा पनि मलाई मेरो सिटनै प्यारो लाग्न थालेको थियो। झ्यालबाटै सुन्तला किनियो। सुन्तला रसिलो थियो। नढाँटी भन्नुपर्दा अर्चना त्योभन्दा पनि रसिली थिइन्। उनी त्यत्तिकै फरासिली र फराकिली पनि थिईन्। मेरो बाहुलीका रौँहरू मसार्दै भनिन् – “राहुलको बाबाको पनि यस्तै झ्यापझ्याप्ति रौँ छन्। बाँदरको खलक भनेर म जिस्काईदिन्छु। उहाँ भने रिसले आगो होइसिन्छ।”
अर्चना खितित्त हाँसिन्। रौँहरूको घर्षणबाट उत्पन्न विद्धुतले भने मेरो अंतरिन्द्रियमा बत्ति बालिदियो।
महेन्द्र राजमार्ग पूर्वीय क्षितिजतर्फ एकोहोरिई सकेको थियो। हाम्रो मित्रता चरणबद्धरुपले तला चढ्दै थियो। फाटेको अलकत्रे सडकमा गाडी उफ्रिंदा अर्चना मेरो छातीतर्फ फ्यालिने गर्थिन्। त्यतिबेला अतिरिक्त वजनको भार थेगिदिएर आफू भने मर्द हुनुको पदेन सजाय भोग्दै थिएँ। मैले उनका हातबाट आफ्ना हात हटाएँ। हात यसरी बढ्दा मलाई डर लाग्ने गर्छ। राहुलका हातले भने निन्द्रामै खै के हो कुन्नि खोज्दै थिए। दूधे बालक यदि नच्यापेकी भए उन्नाईस-बर्षे बक्ष चोलीभित्रबाट चियाउँदा देख्ने आँखाहरू नै लजाउनु पर्ने हुन्थ्यो।
राहुललाई मेरो काख आफन्ती लाग्दै आयो। ऊ मेरो अंगालोमा नि:संकोच आउन लाग्यो। उसले मेरो जुँगा तान्यो। जुल्फी लुछ्यो। र, सल्लाको खोटोजस्तो सिँगान गालाभरि पोतिदियो। किन हो किन त्यो फुच्चे मनु मलाई औधि मनपर्न लाग्यो। अर्चना उसकी आमा भएकीले त्यो बालक मलाई मन परेको हैन। अथवा, अर्चनाको मुटुको टुक्रा भएकोले ऊ मेरो दिलमा स्वतः छाएको पनि हैन। वास्तवमा त्यो अबोध जीवले मलाई नि:स्वार्थ माया गर्यो। मेरो छातीभरि बेगौती फाटेको दूध हुलुक्क ओकलेर आफ्नोपनको न्यानो बाँड्यो। उसको निष्कपट प्राकृतिक प्रेमको वजनको अगाडि उसको आमाप्रति मैले दर्साएको अप्राकृतिक प्रणय सिमलको भुवासरी थियो। बेऋतुमा पलाउने गरेको अशुद्ध जरुवाबाहेक त्यो दूधमुखाप्रति मेरो कुनै दु:खेसो थिएन। र, मैले मन दुखाउन मिल्दैनथ्यो पनि। किनकि, राहुलको शौचको हरकलाई उसकी आमाको अत्तरको अरकले खर्ल्लप्प निलिदिएको थियो।
‘चारकोसे झाडी’ को चकमन्न चित्रवनमा बस द्रुतगतिमा दगुर्दै थियो। प्रभातकालीन शीतलहरीलाई छेक्न हामीले आधा-आधा बाँडेको पछेउरालाई शुरुमा धौ-धौ परेको थियो। त्यो ढाकाको खास्टोभित्र क्रमश: तापक्रम बढ्न थालेपछि मुटु काम्न छोडेको थियो। मेरा हातहरू त्यतिसारो अटेरी पहिले कहिले पनि थिएनन्। परहेजमा बस्न नसकेका ती हर्थुङगाहरू परस्वमा लोभिंदै गए। खास्टोलाई खोल बनाएर तिनले गरेका उपद्रोलाई शब्दहरूमा उल्था गर्न नमिलेकोले यतिखेर म हैरान छु।
‘कोसी ब्यारेज’ पार गर्ने बित्तिकै ‘गणेश हात्ती’ (हाल परलोक)ले बाटो छेकेकोले एक घण्टाजति बस रोकियो। यो अवधिको अत्यधिक सदुपयोग भयो। हामीबीच थुप्रै व्यक्तिगत तथा घरेलु सूचनाहरू साटिए। अर्चनाले उनको बिगतको तसला मेरो अगाडि घर्लप्प घोप्टाइ दिईन। माईती काठमान्डू र घर ईटहरी। काठमान्डूमा उनको घरमा डेरावाल थिए एक बिद्ध्यार्थी युवक। मानिस पौरखी थिए। रात्री कलेजमा पढ्थे र दिनमा ‘ट्युसन’ पढाउँथे। उनी अर्चनालाई पनि पढाइदिने गर्थे। त्यसैले ती नौजवानले भाडामा छूट पाएका थिए। चुलबुली अर्चनाले गुरुलाई शुरु-शुरु उनको शयनकक्षमै छिरेर बीजगणित पढाउने थप छूट पनि दिन थालिन्। सरले अर्चनालाई धीतमर्ने गरी पढाए। फलत: अर्चनाको कोखमा राहुल टुसायो। रातारात अर्चनाको सिउँदो भरियो र भ्रूणरुपी राहुल वैधीकृत बन्यो। निर्दिष्ट समयमा राहुल बाहिरियो। राहुलकी माताले त्यतिबेला मात्र अनुत्तीर्ण भएको चाल पाईन जतिबेला उनले आफू श्रीमानको कान्छी श्रीमती भएको पत्तो पाईन्।
टिकेट जाँच्ने क्रममा कन्डकटरले मसित हामी दुबैको टिकेट मागेको थियो। मेरो एक्लो टिकेटले उसको भ्रम तोडियो। अर्चना तेतिसारो होसियार स्त्री भने होइन रहिछिन्। पोका-पन्तरा खोतल्दा पनि टिकेट फेला पारिनन्। कन्डक्टर जाग्यो – “सियो त हैन नि हो!” “यताउति पर्या होला। पछि दिउँला नि हुन्न र?” मैले खाली ठाउँ भरिदिएँ। ” तपाईंसित के सरोकार। म उहाँसित टिकेट माग्दै छु।” उसले ओठे जवाफ फर्काइदियो। तर, त्यो ‘सरोकार’ भन्ने शब्दले मेरो मथिंगल घुम्यो। “आखीर, अर्चनासित मेरो सरोकार नै के छ र!”
उनीसितको मेरो सईनोले स्पष्टिकरण माग्यो। मेरो नातोको हकमा अर्चना फगत एक संयोग-सुन्दरी हुन् जो संयोगबश सँगैको सिटमा परिन्। अथवा, मेरो यात्राको कुनै एक खण्डमा मधुरिमा छरिदिने मधुवाला हुन् उनी। वास्तवमा, अर्चना मेरो जीवन यात्राको त्यो कोसेढुंगा हुन् जसलाई किलोमिटरमा सजिलै नाप्न मिल्छ।
ईटहरी चोक आयो। अर्चना मेरो बल्लभ बबुरो च्यापेर झरिन्। बाटो लाग्नु अगाडि अर्चनाले मलाई नामीठोसित हेरिन्। हातका औंलाहरूमा गन्न मिल्ने पाजी समय पनि त्यो बिछोडको घडीमा काँचो पिंडालुझैं कोक्यायो। पिन्चे मुटुको त झन् कुरै भएन, भुतुक्कै भएर भक्कानियो। मेरो तन, मन र मुटुमा पोतिएर अर्चना अदृश्य हुने तरखरमा थिइन्। राहुलका कलिला हातहरू हावामा हल्लिंदै थिए। अघिल्तिरको राजमार्गलाई मैले दृष्टिगोचर गरें। बैरागलाग्दो बाँकि यात्रा अलकत्रे सडकमा लमतन्न सुतेको थियो। मैंले बाँकि यात्राको पुनरावलोकन गरें। “के मेरो यात्राको प्रस्तावनामा संसोधन वा निलम्बन गर्नै नमिल्ने कुराको उल्लेख छ र?” मेरो मन बटारियो। “काकडभित्ताकै ‘भिटो’ किन? फिरंतेको लागि दुई-चार छाकको खुराक त यो भेगले पनि त उपलब्ध गराउन सक्छ नि। ईटहरी माथि धरान; धरानमाथि भेडेटार। अझ माथि धनकुटा; त्यो भन्दा पनि माथि हिले र बसन्तपुर।” चालकले गाडी गुड्न लागेको ध्वनि-संकेत दियो। बाहिरिएका यात्रुहरू भित्रिन लागे। म भने झोला भिरेर बाहिरिएँ। खलाँसी चिच्याउँदै थियो – “ए दाइ, अब गाडी रोकिंदैन।”
मेरो पालो पनि गर्जिएरै जवाफ दिएँ – “तिम्रो ठाँडो अब चाहिँदा पनि चाहिंदैन।”
हलुवाईको दुकानमा पेंडा पोको पार्दै थिइन् अर्चना। उनको ध्यानाकर्षण गर्न मैले राहुलसित मित्रताको नवीकरण गर्नु परेको थियो – “पापा हाम्म गर्ने बाबु?”
अर्चना मलाई देखेर झस्किईन – ” आम्मै, तपाईं!” केहीबेर अगाडिको वियोगमा ऐरेलुको सर्बत पिएका मुटुहरू त्यही हलुवाईको किटको कराईको तातो चास्नीमा डुबुल्कि मार्न थाले। शब्दहरू मौन भए। आँखाहरू द्वारा मुटुहरू संचारित थिए। नि:शब्द संवादको त्यही विशेष रज्जुमार्ग हुँदै मेरो यात्राले छलांग मार्यो। समयको एउटा बतासे-खण्डबाट आकाशवाणी हुँदै थियो – “नयाँ यात्राको अग्रीम शुभकामना, वाशुदेव!”
**समाप्त**
