Skip to content

अमृता लम्साल

चारखुट्टे महात्म्य

म आफ्नो घरको ड्राइभ-वेमा उभिएर फोनमा कुरा गरिरहेको थिएँ; उ फुत्रुक – फुत्रुक उफ्रिँदै मेरो नजीक आयो| उस्को उँचाई र लम्बाई नाप्ने हो भने मुस्किलले एक बित्ता अग्लो र डेढ बित्ता लामो होला| उसको जातलाई ’चिवावा’ भन्छन क्यारे! हत्पति चारखुट्टेसँग मोहित नहुने मनले अचानक कोल्टे फेर्‍यो| मैले एक हातले ऊसलाई उठाएँ; काखिमा च्यापेँ| उसले लप-लप गर्दै मेरा नाँगा पाखुराहरुमा आफ्नो लामो जिब्रो लहरायो| ’माया’ र ’भावना’ जस्ता कुराहरुमा सँवेदनाहीन बनिसकेको मेरो हृदयमा अचानक मात्ॠ बात्सल्यको रक्त संचार भयो| त्यसपछि मलाई लाग्यो, किन अमेरिकनहरू कुकुर र बिरालो पाल्न मरिहत्ते गर्दा रहेछन !

आधुनिक ’सिन्ड्रेला’ र कल्पनाको ’राजकुमार’

केही हप्ता अगाडीको कुरो हो, सँधैको जस्तो हप्ताको एक दिन अस्पतालमा गर्ने स्वयँसेवाको जिम्मेवारी पूरा गर्न अस्पताल पुगेँ; सबैजना अफिसमा बसिरहेका थियौँ फोनको घन्टी बज्यो | अर्कोतर्फबाट खबर आयो, त्यहाँको फ्रन्ट-डेस्कमा करीव आधा घन्टाको लागि पालो दिनु पर्ने भयो | शिफ्ट क्याप्टेनले उता गएर मद्दत गर्न अह्राए; आज्ञा शिरोपर गर्दै लुरुलुरु त्यहाँ पुगेँ | सहकर्मी स्वयँसेविका एक आगन्तुकसँग ब्यस्त थिइन | डेस्कको पारिपट्टी दुई/तीन बिरामी र बिरामीका परिवारहरू बसिरहेका थिए |

उसको अस्तित्व

रातको निष्पट्ट अन्धकारमा
झ्यालको कापबाट छिर्न भ्याएको उज्यालोले
मौन वार्ताको प्रयास गर्दैछ
उ शब्द होइन, भाव प्रकट गर्दछ
चाहे म चासो लिउँ या नलिउँ,
उ मेरो आँखामा ठोक्किएर आफ्नो अस्तित्वको बखान गर्दैछ ।
मलाई थाहा छ, म उसको आगमनलाई छेक्न सक्तिन
त्यसैले उस्को अस्तित्वलाई चूनौती दिँदै मौन रहने प्रयत्न गर्छु ।
तर मेरो हृदय !
उ त रेसको घोडा झैँ बुर्कुसी मार्न तयार भइसक्छ
खडेरी परेको जमिनमा बिउ उमार्ने ताकत देखाउँदै परेको झरी जस्तै
भावनामा बहेका स्पर्शहरुले मेरो मन पगालिसक्छ ।
मलाई लाग्छ, उसको अस्तित्वको अगाडि मेरो अहँ कति नीरिह रहेछ!

विश्वास

उषाले लाली त हिजो पनि छरेकै थिई
उसले आफ्नो नियमित प्रक्रिया आज जस्तै हिजो पनि चलाएकै थिई ।
अपितु,
उसलाई के थाहा आज मनलाई तरँगित बनाउने लालीले हिजो श्राप र ताप दिएको कुरा!
आज त्यही लालीले कुण्ठित मनका भावहरुलाई जादुको छडीले छोएर आकासको परिधि नाघ्न सिकाएको कुरा!
त्यो लालीले सुटुक्क भन्न भ्याएको
जीवन आशा हो;
कल्पना हो;
भरोसा हो ।
त्यसमा निथ्रुक्क भिजेर रमाउन सिक ।
ती मुग्ध वचनहरु हार्न नसकेर,
म खोज्दै रहन्छु, ‘प्यान्डोराको बाकस भित्र’ कैद भएकी आशालाई,
कल्पनाको सागरमा निथ्रुक्क भिजाएर विच बाटोमा छाडिदिने सपनाहरुलाई,

शब्दहरुको खेल

अक्षर अक्षर मिलेर बनेका शब्दहरु
शब्द शब्द मिलेर बनेका बाक्यहरु
ती खुसीका भन्डार पनि हुन सक्छन
मायाका खडेरी पनि हुन सक्छन
या काँडै काँडाका थूप्रा पनि हुन सक्छन
तीनै शब्दका काँडाले घोच्दा नदेखिने रगत पनि बग्न सक्छन
त्यसैले होला, कोही ती शब्दको निर्माण मै कन्जुसी देखाउँछन|
कोही ती शब्दहरु बाटै आगो ओकल्छन|
तर म अनवरत रुपमा तिमीले बुनेका मिठा शब्दहरुको जाल कुरेर बसेकी छु,
हरेक क्षण तिम्रो अनुपस्थितिमा पनि तिमीले कुनै बेला बुनेका शब्दहरुको सपना सम्झँदै बाँचिरहेकी छु,
मन भरि शब्दबाटै मिठिनुको सपना साँचिरहेकी छु|
तर तिमी?
शब्द शब्दमा मितब्ययी बन्छौ,