अक्षर अक्षर मिलेर बनेका शब्दहरु
शब्द शब्द मिलेर बनेका बाक्यहरु
ती खुसीका भन्डार पनि हुन सक्छन
मायाका खडेरी पनि हुन सक्छन
या काँडै काँडाका थूप्रा पनि हुन सक्छन
तीनै शब्दका काँडाले घोच्दा नदेखिने रगत पनि बग्न सक्छन
त्यसैले होला, कोही ती शब्दको निर्माण मै कन्जुसी देखाउँछन|
कोही ती शब्दहरु बाटै आगो ओकल्छन|
तर म अनवरत रुपमा तिमीले बुनेका मिठा शब्दहरुको जाल कुरेर बसेकी छु,
हरेक क्षण तिम्रो अनुपस्थितिमा पनि तिमीले कुनै बेला बुनेका शब्दहरुको सपना सम्झँदै बाँचिरहेकी छु,
मन भरि शब्दबाटै मिठिनुको सपना साँचिरहेकी छु|
तर तिमी?
शब्द शब्दमा मितब्ययी बन्छौ,
मेरो मन तिमीलाई प्रश्नको बर्षाले निथ्रुक्कै बनाईदिन्छ;
शब्दको सागरमा हेलिँदा तिम्रा औंलाहरु दू:ख्छन?
शब्दहरु खेरा जान्छन?
तिम्रो हृदयमा माया र प्रेमको खडेरी लाग्छ?
धर्ती फाट्छ?
कि आकाश खस्छ?
शब्दको बाँडफाँडमा त्यति धेरै कन्जुस किन बन्छौ?
जब तिम्रा हरेक शब्दहरुले कसैको जीवनमा वहार ल्याउँछ भने
शब्दहरुको भन्डारले उज्यालो छरिदिन्छ भने!
तर तिमी……..?