Skip to content

उषाले लाली त हिजो पनि छरेकै थिई
उसले आफ्नो नियमित प्रक्रिया आज जस्तै हिजो पनि चलाएकै थिई ।
अपितु,
उसलाई के थाहा आज मनलाई तरँगित बनाउने लालीले हिजो श्राप र ताप दिएको कुरा!
आज त्यही लालीले कुण्ठित मनका भावहरुलाई जादुको छडीले छोएर आकासको परिधि नाघ्न सिकाएको कुरा!
त्यो लालीले सुटुक्क भन्न भ्याएको
जीवन आशा हो;
कल्पना हो;
भरोसा हो ।
त्यसमा निथ्रुक्क भिजेर रमाउन सिक ।
ती मुग्ध वचनहरु हार्न नसकेर,
म खोज्दै रहन्छु, ‘प्यान्डोराको बाकस भित्र’ कैद भएकी आशालाई,
कल्पनाको सागरमा निथ्रुक्क भिजाएर विच बाटोमा छाडिदिने सपनाहरुलाई,
भरोसाको नाममा सगरमाथाको टूप्पो देखाएर फेदसम्म पुग्न समेत नदिने विचारहरुलाई
सायद, लालीले मलाई भन्न भ्याईन, ती सबै भ्रम हुन ।
आशा र कल्पनाको भ्रम त पाल्न सकिन्छ;
तर भरोसा ?
‘त्यो तिम्रो हातमा छैन’, वारम्वार चेतनाले कानेखुसी गर्छे ।
म चेतनालाई धकेलेर भित्तोमा पुर्याइदिन चाहन्छु|
म प्रकट गर्न चाहन्न दूर क्षितिजमा मैले भरोसाको छायाँ देख्न भ्याएकी छु ।
म कुद्न चाहन्छु मृगमरीचिकाको रुपमा देखा परेको भरोसाको पछाडि,
अचानक चेतनाले जनाउ दिँदै भन्छे, सपना देख्न पनि औकात चाहिन्छ ।
आशा, कल्पना र भरोसाको मिठो सपनालाई
चेतनाको कर्कशा स्वरले भुईँमा थचारिदिन्छ
तासको खन्डहर गर्ल्यामगुर्लुम ढले झैँ,
वालुवाको महल माथि लात्ती बज्रे झैँ!
म हताश हुँदै शनैः शनैः ढलेका तासका पत्तिहरु मिल्काउन चाहन्छु|
वालुवाको थूप्रो हटाउन थाल्छु ।
विश्वाशमा अडिग रहन चाहन्छु,
लालीले किरण छरेरै जान्छे ।
भ्रमलाई यथार्थसँग साटेरै जान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *