म आफ्नो घरको ड्राइभ-वेमा उभिएर फोनमा कुरा गरिरहेको थिएँ; उ फुत्रुक – फुत्रुक उफ्रिँदै मेरो नजीक आयो| उस्को उँचाई र लम्बाई नाप्ने हो भने मुस्किलले एक बित्ता अग्लो र डेढ बित्ता लामो होला| उसको जातलाई ’चिवावा’ भन्छन क्यारे! हत्पति चारखुट्टेसँग मोहित नहुने मनले अचानक कोल्टे फेर्यो| मैले एक हातले ऊसलाई उठाएँ; काखिमा च्यापेँ| उसले लप-लप गर्दै मेरा नाँगा पाखुराहरुमा आफ्नो लामो जिब्रो लहरायो| ’माया’ र ’भावना’ जस्ता कुराहरुमा सँवेदनाहीन बनिसकेको मेरो हृदयमा अचानक मात्ॠ बात्सल्यको रक्त संचार भयो| त्यसपछि मलाई लाग्यो, किन अमेरिकनहरू कुकुर र बिरालो पाल्न मरिहत्ते गर्दा रहेछन !
केही बर्ष अगाडीको कुरो हो, जव मेरो छोरा पढाई र कामको शीलशीलामा मबाट छुट्टिएर टाढा जान हिँडेथ्यो; त्यति बेला मैले आफूलाई नीतान्त एक्लिएको महशुस गरेथेँ| हुनत, छोरीले छाडेर बिदेश जाँदा पनि म घन्टौँसम्म्म आफूलाई थाम्न नसकी डाँको छाडेर रोएथेँ| तर त्यो समयमा म ’केही’ भए पनि आफ्ना भनीनेहरूको बिचमा थिएँ; र त्यहाँ छोरा पनि थियो| त्यसैले आफ्नो मनलाई बुझाएथेँ| त्यो उनिहरुको इच्छा हो, आफूले उनिहरुको इच्छालाई बाँध्न हुन्न र सम्हालिन पर्छ भनेर| तर छोराले छाडेर जाँदाको स्थिति र वातावरण त्यस्तो थिएन; तर त्यहाँ उपाय पनि थिएन| त्यहाँको समाजमा वरपर आफ्ना भनीनेहरू कोही थिएनन| फेरी त्यो समाज, जुन समाजमा छोरा छोरी अठार बर्ष भएपछि घर छाडेर आफ्नो पौरख आजमाउन गएनन भने प्रश्न चिन्ह उठ्छ; त्यो समाजमा मेरो मन रोएको कुरो त हाँसोको बिषय पनि बन्न सक्तथ्यो |
फेरि सोचेँ,चराले पनि त आफ्ना बचेरालाई प्वाँख आएपछि उडाएरै छाड्छ! यो त मनुष्य धर्म हो,आफ्ना सन्तानलाई खुट्टा टेक्ने बनाउ अनि यो दुनीयाँमा पौडन छाडिदेउ !
छोराको प्रस्थान पछि, कसैले उसको प्रसँग उठायो कि, आँखा रसाएर आउँथ्यो; गला अवरुध्द हुन्थ्यो| मेरो त्यस्तो हालत देखेर मेरा नजिक बस्ने ब्यक्तिहरू ( अमेरिकनहरु)ले मलाई सुझाव दिए,’तिमीले अव एउटा पप्पि (कुकुरको बच्चा) ल्याउनुपर्छ; त्यसो भए तिमिले एक्लो महशुस गर्दिनौ|’ मलाई उनिहरुको कुरो सुनेर उदेक लाग्दथ्यो, उनिहरु कति सजिलै मानव प्रेमको साटो पप्पि प्रेममा रमाउन सक्छन! यस्तो पनि सँभव होला र? त्यस्ता सुझावहरूलाई मैले आफ्नो मन मष्तिष्कको कुनासम्म पनि ल्याउन चाहिन |
मैले अनेक बहाना बनाएँ; पप्पि किन्न धेरै पैसा चाहिन्छ, सामान्यत एउटा कुकुरको बच्चाको तीन/चार सय डलर भन्दा कममा पाइन्न’ कसैको जवाफ थियो, ’म किनेर ल्याइदिन्छु |’
त्यतिबेला म अपार्ट्मेन्टमा बस्थें, मैले भनेँ ’अपार्ट्मेन्टमा कुकुर बिरालाको लागि राख्नुपर्ने डिपोजिटको लागि मसँग फाल्तु पैसा छैन|’ जवाफ तयार थियो,’म तिरिदिन्छु |’
’म बाहिर घुम्न गएको बेला मैले त्यसलाई कता लागेर राखौँ?’ ’जवाफ आयो,’म डग-सिट (कुकुर हेर्ने काम) गरिदिन्छु |’
अन्त्यमा मैले भनेँ, ’अव म कुनै कुराको पनि जिम्मेवारी लिन चाहन्न!’ यसपछि थकित भएर कुकुर प्रेमीहरूले मेरो मन परिवर्तन गर्न सकिन्न भन्ठानेर त्यतिबेलालाई त्यो कुरा थाती राखे| तर अहीलेसम्म पनि यदाकदा मौका पायो कि, त्यो प्रसँग उठाईहाल्छन |
तर जव त्यो दिन सानो चारखुट्टेले मेरो अगाडी आएर मेरो धमनीमा मायाको रक्त बहाईदियो, त्यो दिन देखि हो नी त तिनीहरूको ’माया’ कति नीस्वार्थ हुँदोरहेछ! भन्ने लाग्नथालेको छ |
कुकुर प्रेमीहरू भन्छन, ’जव तिमी कामबाट थाकेर घर फर्कन्छौ, तब उसले तिमीलाई पुच्छर हल्लाउँदै, लपलपि चाट्दै तिम्रो स्वागत गर्दछ|’ हुनपनि, दिनभरी कता गइस?, को-कोसँग लठारिएर आईस?, के- के कुरा गरिस? त्यस्तो किन खाईस? अनि त्यस्तो किन लगाईस? भन्ने प्रश्न उसले कदापी गर्दैन | उसले त केवल मासुम आँखाबाट स्नेहको अभिब्यक्ति जाहेर गर्छ! बिना कुनै राग र द्वेष आलिँगनमा आबध्द गर्छ| जति रिसाउ; जति घ्रीणा ब्यक्त गर एकपटक आवाज दिने बित्तिकै फेरि सेवामा हाजीर भैहाल्छ |
आखीर हामी जतिसुकै विद्वान छौँ, जानीफकार छौँ र भद्र छौँ भने पनि हाम्रो भित्री मनले चाहना गर्ने कुरो त त्यत्ती त रहेछ !
साँच्चै कति पातलो रहेछ मान्छेको माया! अलिकति तलमाथी भयो कि, भ्वाँग परि हाल्ने! तर चारखुट्टेको माया? न त व्याख्या गर्नु पर्ने! न स्पष्टिकरण नै दीइरहनुपर्ने !
मान्छेको माया, ब्यक्ति पिच्छे परिभाषा खोज्छ; ’तँ’ एउटी महीला या पुरुष, फलानाले बिपरित लिँगी हुँदाहुँदै पनि ’तँलाई’ किन यति धेरै माया गरेको?त्यो माया भित्र के स्वार्थ्य लुकेको छ हँ?
’छैन बाबा! कुनै स्वार्थ्य छैन!’ केवल मानवता मात्रै जनाएको !
तर त्यो जवाफसँग कसलाई के मतलव? त्यो सोचसँग के सरोकार! भोली र पर्सीको दिनमा त्यो एउटा जवाफ ’चारवटा सवाल’ बनेर कानमा ठोक्किन आईसक्छ |
कम्तिमा, त्यो परिभाषा चारखुट्टेलाई त दिनु पर्दैन! चाहे पुरुषले ’पोथी’ चारखुट्टे पालोस या महीलाले ’भाले’ चारखुट्टे; त्यो चारखुट्टेले लपलपाएको जिब्रोको कारणले ’नाटक’ मन्चन हुँदैन,शँकाका आँखाहरूले पहराको काम गर्दैनन| त्यसैले पनि होला, चारखुट्टेसँगको सम्बन्ध दिन दुईगुना रात चौगुना बढ्दै गएको!
अझ सबैभन्दा धेरै पाइने जवाफ त,’उसले (चारखुट्टेले) जवाफ फर्काउँदैन’ रे! मानव कति कमजोर प्राणी भैसकेको छ, ’उ’ अरुलाई तथानाम गाली/गलौज त गर्न सक्छ तर आफू भने अर्काले फर्काएको जवाफ सुन्न सक्तैन अनी जान्छ चारखुट्टेको शरणमा !
मेरो एकजना परिचित छन, उनको आफ्नी पत्निसँग सम्बन्ध बिच्छेद भएको झन्डै डेढ दशक भैसक्यो रे! त्यसपछिका घडिमा ’गर्ल-फ्रेन्ड’ खोजेको खोज्यै छन| तर, उनका आबश्यकता र जाँच पडतालमा सफल हुन सक्ने महीला आजसम्म फेला परेकी छैनन| त्यसैले उनले दुईवटा बडेमानका चारखुट्टे ’प्रेमिका’ पालेका छन| उनको रीस यति कडा छ कि, हतपती महीलाले उनिसँग टिकेर बस्न गाह्रै पर्छ भन्ने लाग्छ; हामी अरु साथिहरू बीच त्यसबारे कुरो पनि हुन्छ| तर उनकी चारखुट्टे प्रेमिकाको तारिफ गरेर उनी कहील्यै थाक्दैनन|साधारणतया उनले पालेका चारखुट्टेको आयु १८/१९ बर्ष मात्रै हुन्छ रे! अहीले नौ बर्ष उमेर पार गरिसकेका ती चारखुट्टेको बारेमा ती परिचितको चिन्ता एउटै मात्र छ; तिनीहरू मरेपछी के गरेर जीवन बिताउने? वाह रे मान्छे! आफ्ना बाबु,आमा, छोरा,छोरी इष्ट-मित्र सबै गुमाउँदा त मान्छेले सँधैँको जस्तै जीवन बाँच्न सिकिसकेको हुन्छ|उनको भने त्यत्रो चिन्ता !
सबैभन्दा त छित्टै नबुझ्ने कुरो त उनिहरुको लागि गरिने खर्च र उनिहरुलाई ख्वाइने खाना देखेर लाग्छ|अमेरिकन टेलिभिजनमा एउटा बिज्ञापन आउँछ,’बेनेफुल-हेल्दी डग फुड’ भनेर| त्यसमा भनिन्छ, त्यो खानामा कुकुरलाई स्वस्थ्य राख्ने प्रोटिन,न्युट्रिसन, क्याल्सियम,अनी एन्टी-टक्सिड्यान्ट अर्थात, खानामा कुपथ परीहाल्यो भने त्यसबाट जोगाउने बस्तुसम्म त्यो खानामा हुन्छ रे! त्यो हेर्दा लाग्छ ’हुने र नहुने’को बिचमा यो संसारमा कति ठूलो दूरी छ| जव जव त्यो बिज्ञापन आउँछ, तव तव मेरो आँखामा कूपोषणले शुष्क पारिसकेको आमाको छातिमा लत्रिएका दुधका मुन्टा तान्न वाध्य केटाकेटीको तस्वीर आउँछ! तर के गर्नु? न त त्यो खाना र बिज्ञापन बनाउने अनी त्यो ख्वाएर आफ्ना चारखुट्टेलाई तगडा बनाउनेहरूको बिरोध गर्दै ती तमाम सम्पत्ति अर्कोतर्फ लगाउने सामर्थ्य म मा छ; न त ती आमाहरूको लाम्टालाई दुधले भरीलो पार्ने ताकत! म त यता पनि उता पनि अनन्यमस्क भावले टूलुटूलु हेर्दै बस्छु|
त्यस्ता खाना, चारखुट्टेका लागि खेलौना, लुगा, जुत्ता आदि आदीका लागि अमेरिकनहरूले आजभन्दा पाँच बर्ष अगाडिनै एकचालीस अरव भन्दा बढी खर्च गर्ने तथ्याँक आएथ्यो| अहीले त झन चारखुट्टेहरुका लागि ’ब्युटी पार्लर’ देखि लिएर ’फाइभ -स्टार स्तरिय होटेलसम्म खुलेका छन|जे होस, बिस्वका अरवौँ मानिसहरुका लागि अही खाए भरे के खाउँ भनेर सोच्नु पार्ने घडी र पलामा उनिहरुले युधिष्ठिरसँग स्वर्ग पुग्न पाएको कुकुरको जस्तो मस्ती गरिरहेछन | तर के गर्नु र, हामीले रीस गरेर नहुने! त्यसैले त केही महीना अगाडी अमेरीकी राष्ट्रपती पत्नी मिशेल ओवामाले टेलिभिजन सेलिब्रेटी बार्बारा वाल्टरसँगको अन्तरवार्तामा ”म अर्को जन्ममा ’बो’(उनीहरूले पालेको कुकुर)भएर जन्मिन चाहन्छु|”भनेकी!
हुँदाहुँदा केही दिन अगाडीको एउटा समाचारले त हदै पार गर्यो|अमेरिकाकै टेक्सस राज्यको ह्युस्टनमा जेनी नाम गरेकि ’ककर स्प्यानल’ जातकी एउटी चारखुट्टेलाई कतैबाट उध्दार गरेर ल्याएका रहेछन|उसको बाँच्ने दिन धेरै रहेनछ; त्यसैले उसको मालिकले उसलाई मार्नु भन्दा अगाडी राजसी ठाँट दिने बिचार गरेछन | त्यसपछि, उसको लागि ’बकेट लिष्ट’(मर्नुभन्दा अगाडी पूरा गर्न चाहेको सुसुप्त इच्छाहरू)बनाएछन |
मर्नुभन्दा गाडी जेनीको मुखमा मुस्कान देख्न चाहने उसकी अभिभावक क्यारेन पोले जेनीको लागि ’बकेट लिष्ट’बनाईछन| त्यसमा जेनीलाई ह्युस्टन स्थित स्पेस सेन्टर पुर्याउने, ज्यागुवार गाडी (महँगो गाडी मध्धेको एक) चडाएर स्टारबक्स(अमेरिकनहरूको सबैभन्दा प्रिय र ब्यस्त रहने कफी पसल)लग्ने, ग्याल्भष्टन बिच लग्ने, स्यान्ज्यासिन्टो मनुमेन्ट घुमाउन लग्ने रहेछ |
यो सुनेर रमाईलो पनि लाग्यो; साथै मनुष्यको दिमागले सामान्य हिसावले काम गरेकै होला त? भन्ने प्रश्न पनि मनैमनमा उब्जीयो|कारण,जेनीले स्पेस सेन्टर गएर एस्ट्रोनट माइक फोरम्यानसँग गरेको भेट र कुनै दूर्गम स्थानमा गएर भेटेको रामे/ श्यामेको बीचको फरक कसरी पत्ता लगाउंदो होला?
त्यसै गरी रामबहादुरले ठेलेको ठेलगाडा चढ्दाको अनुभव र ज्यागुवारको सैरको फरक कसरी खुट्याउँदो होला? अनी कालेको चीया पसल र स्टारबक्सको तुलना कसरी गर्दो होला ?
जेनीको निमित्त धरहराको टूप्पो र स्यान्ज्यासिन्टो मनुमेन्टको भेद कस्तो होला ?
साथै,जेनीले सानी भेरीको किनाराको बालुवा र ग्याल्भष्टन बीचको बालुवामा टेक्दाको अनुभवलाई कथामा बाँच्न सक्ली ?
तर म जस्ताको दीमगले सोच्ने कुराको जेनीहरू जस्ताको मालिकहरूलाई के मतलव?
ऊनीहरू त त्यस्तो इच्चा पुर्याईदिएर जेनीहरूको अनुहारमा मुस्कान देख्छन; भला ती पलहरुमा सानु,कालु, भुन्टी, च्यान्टीको आँखाहरू भोक र प्यासले शुष्क भएको कसले देखोस! ऊनीहरूको माथामा स्नेहको हात सर्सराउन नसकेको कसले भनोस! उफ्फ! मनुष्य,तिमीहरूको चर्तिकला देखिनसक्नु नै छ!
अर्काको कुरा गर्दा गर्दै आफू पनि धन्नै त्यो सानो ’चिवावा’ को कारणले धन्नै चारखुट्टे प्रेममा नफसिसकेको !
हे,धर्तिका भाग्यमानी जनावरहरू हो!तिमीहरूको भागमा पर्ने माया, ममता र खर्च अलिकति भए पनि यो सन्सारमा भोक, प्यास र स्नेहले तड्पिएकाहरुलाईँ बाँडन हो; त्यसो भए तिमीहरू पनि युधिष्ठिरको कुकुर झैँ स्वर्गै पुगौला !
