Skip to content

रातको निष्पट्ट अन्धकारमा
झ्यालको कापबाट छिर्न भ्याएको उज्यालोले
मौन वार्ताको प्रयास गर्दैछ
उ शब्द होइन, भाव प्रकट गर्दछ
चाहे म चासो लिउँ या नलिउँ,
उ मेरो आँखामा ठोक्किएर आफ्नो अस्तित्वको बखान गर्दैछ ।
मलाई थाहा छ, म उसको आगमनलाई छेक्न सक्तिन
त्यसैले उस्को अस्तित्वलाई चूनौती दिँदै मौन रहने प्रयत्न गर्छु ।
तर मेरो हृदय !
उ त रेसको घोडा झैँ बुर्कुसी मार्न तयार भइसक्छ
खडेरी परेको जमिनमा बिउ उमार्ने ताकत देखाउँदै परेको झरी जस्तै
भावनामा बहेका स्पर्शहरुले मेरो मन पगालिसक्छ ।
मलाई लाग्छ, उसको अस्तित्वको अगाडि मेरो अहँ कति नीरिह रहेछ!
मेरा सुईरा जस्ता तीखा शब्दहरुको बदलामा उसको मौन नै काफी रहेछ !
सायद, मैले पनि त्यो मौनलाई अँगिकार गर्न सकेकी भए !
ती उज्यालोले छरेका किरण समेट्न सकेकी भए !
उजिलिनुको मजा लिन पाउँथेँ होला !
चम्किलो प्रकाशका अमूल्य क्षणहरु समेट्न पाउँथे होला !
तर पनि बिना पश्चाताप,
झ्यालबाट छिरेको ज्योती मै भएपनि आफूलाई चूर्लुम्म डुबाएकी छु ।
मेरो अहँकारलाई उसकै पोल्टामा फाल्दै, मिठो सपनामा डुबुल्की मारिरहेछु ।
उसकै मौन मार्फत भाव साट्न पठाउँदैछु ।
उसको मौन र मेरो कल्पना……!
जीवन !
एउटा मिठो कल्पना न हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *