Skip to content

रोहित पराई

छन्द

खै छन्दका साधक नै हराए
भन्दै यहाँ स्यालहरू कराए
रोजै अनौठो रमिता हुँदै छ
छाडेर डाँको कविता रुँदै छ ।

छन् शब्द मात्रै लय-चेत छैन
मर्दै छ यो वाङ्ममय खेद छैन
झोसेर आगो घर बालिँदै छ
पूर्वीय नासो किन ढालिँदै छ ?

शिखरिणी

छिमेकी पीडाले अतिशय गलेका मनहरू
र नाकाबन्दीले प्रतिदिन ढलेका जनहरू
नढालोस् आस्थाको शिर सगरमाथा अझ पनि
तिमी देऊ न्यानो पलपल प्रभा हे शिखरिणी ।१।

सुनौलो आभाले झलमल उज्यालो कवि कुटी
तिमी नै हौ मेरो अमृतरस वा जीवनबुटी
तिमी ढुङ्गा-माटो गरिब अदनाकी धन तिमी
सदा देऊ बाटो प्रगतिपथको हे शिखरिणी ।२।

तुसाराले ढाक्यो जबजब खुसीको शिखरमा
झुलुक्‍कै आत्मामा तबतब उदायौ प्रियतमा
तिमी मेरी प्यारी सरस सविता हौ कि जननी
म लेखौँला तिम्रै गजल कविता हे शिखरिणी ।३।

घुमी डाँडापाखा वन चहुरका पल्लव लता
चुमी यी आँखामा मनमन नयाँ भाव सरिता
कुँदी बुट्‍टा भर्ने अनुपम कलाकौशल तिमी

RohitParai

इच्छा

आओस् यौटा नवयुग यहाँ घाम नौलो उदाओस्
नेपालीका मन मन नयाँ मन्द मुस्कान छाओस्
यो बाटामा नवयुवकले प्रेमको गीत गाऊन्
यो माटामा मगमग बुकी, लालुपाते फुलाऊन् ।१।

हाम्रो बोली अनलमय होस् युद्धको भर्त्सनामा
हाम्रो आत्मा अमृतमय होस् बुद्धको साधनामा
हाम्रो झन्डा फरफर गरोस् रौरवी टाकुरामा
हाम्रो बेग्लै परिचय बनोस् पौरखी पाखुरामा ।२।

प्यारो छ नेपाल यो

नेपाली पहिचान हो भुवनमा नेपाल मेरो घर
रातो केतन चन्द्र-सूर्य शिरमा गर्दै रहोस् फर्फर
प्यारो नन्दन यो हिमालमुनिको शालीन भूस्वर्ग यो
पूर्णात् पूर्णमिदम्…. अखण्ड जननी प्यारो छ नेपाल यो ।