Skip to content

प्यारो छ नेपाल यो


नेपाली पहिचान हो भुवनमा नेपाल मेरो घर
रातो केतन चन्द्र-सूर्य शिरमा गर्दै रहोस् फर्फर
प्यारो नन्दन यो हिमालमुनिको शालीन भूस्वर्ग यो
पूर्णात् पूर्णमिदम्…. अखण्ड जननी प्यारो छ नेपाल यो ।

डाँफे छर्दछ पर्वती गगनमा सौन्दर्यको मोहनी
गैँडा भर्दछ वेग लौ रनवनै नेपाल मेरो भनी
हाम्रो गौरवगान विश्‍व विजयी कैलाशको टाकुरो
धर्तीकै अमरावती प्रकृतिको प्यारो छ नेपाल यो ।

सामर्थ्यै छ असीम यो जगत नै पार्ने सबै झल्मल
कोसीमा बहँदो छ कञ्‍चन अहा ! स्वाधीनताको जल
गोलाकार अजेय शक्‍ति जनता दुर्भेद्य दुर्लङ्घ्य यो
माटामा पदचिह्‍न छन् सहिदका प्यारो छ नेपाल यो ।

शिल्पी हात चिनाउने अरनिको हाम्रै कलाकार हुन्
सीता, गौतम बुद्ध, भानु, भृकुटी नेपालकै शान हुन्
झुल्के घामसँगै सधैँ हिमचुली मुस्कान पासाङको
बाटामै नछुटून् सपूत सपना प्यारो छ नेपाल यो ।

नाना कौशल सभ्यता र वनका नीला छहारीहरू
चण्डी पालम रोदी घाटु सँगिनी जीवन्त भाकाहरू
भाषा भेष अनेक जातिहरूको यो फूलबारी न हो
खर्चौँ बर्कतले विवेक पसिना प्यारो छ नेपाल यो ।

(शार्दूलविक्रीडित छन्द)

– पथरी शनिश्‍चरे नगरपालिका
वडा नं. १३, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *