Skip to content

छिमेकी पीडाले अतिशय गलेका मनहरू
र नाकाबन्दीले प्रतिदिन ढलेका जनहरू
नढालोस् आस्थाको शिर सगरमाथा अझ पनि
तिमी देऊ न्यानो पलपल प्रभा हे शिखरिणी ।१।

सुनौलो आभाले झलमल उज्यालो कवि कुटी
तिमी नै हौ मेरो अमृतरस वा जीवनबुटी
तिमी ढुङ्गा-माटो गरिब अदनाकी धन तिमी
सदा देऊ बाटो प्रगतिपथको हे शिखरिणी ।२।

तुसाराले ढाक्यो जबजब खुसीको शिखरमा
झुलुक्‍कै आत्मामा तबतब उदायौ प्रियतमा
तिमी मेरी प्यारी सरस सविता हौ कि जननी
म लेखौँला तिम्रै गजल कविता हे शिखरिणी ।३।

घुमी डाँडापाखा वन चहुरका पल्लव लता
चुमी यी आँखामा मनमन नयाँ भाव सरिता
कुँदी बुट्‍टा भर्ने अनुपम कलाकौशल तिमी
म मागौँला तिम्रै सुमधुर गला हे शिखरिणी ।४।

बगैँचामा रातै ढकमक फुलेकी कुसुम हौ
र बारीमा मेरो लहलह झुलेकी फसल हौ
तिमी हौ चौपाला बस हृदयमा केवल तिमी
थुपारौँला नौलो कलन अलका हे शिखरिणी ।५।

तिमी छौ आँखैमा र त छ नि चिदाकाश सुकिलो
तिमी छौँ साथैमा र त छ नि चिदाभास रसिलो
तिमी हीरा मोती सुन रजत वा पारसमणि
सितारा धर्तीकी गुणनिधि तिमी हे शिखरिणी ।६।

हिमाली छायामा हलहल बढोस् जीवन तरु
पखाली मायामा सकल मनका कल्मषहरू
म हाँसौँला तिम्रै अकलुषित मुस्कान बटुली
म बाँचौँला रम्दै चतुर चपला हे शिखरिणी ।७।
– पथरीशनिश्‍चरे-१३, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *