Skip to content

झलक पाली ‘झरना’

JhalakPaliJharana-02

पावरबिना मान्छे

पावरबिना मान्छे न उता न यता हुँदो रहेछ
लागौं या नलागौं दुवै बाध्यता हुँदो रहेछ

म त भन्थे इमान्दारिताले मान्छे जरुर उँभो लाग्छ
तर यहाँ छलकपटले मान्छे नेता हुँदो रहेछ

जुत्ता फेरौंला जरुर

चोखो मन दिनेलाई मायामा बेरौंला जरुर
दुई मुटुको एक भए सुखदुःखमा हेरौंला जरुर
जालझेलमा फसाउने राख्यौ भने नियत
खुट्टा मात्रै रहोस् मेरो, जुत्ता फेरौंला जरुर

मनमा चोट सहेरै दुनियाँ, हँसाएको मान्छे म

डसिएको अनि कसैबाट, डसाएको मान्छे म
फसिएको अनि कसैबाट, फसाएको मान्छे म

आफू बरु सहेरै घाटा, समाजको भलाइमा
आफू कस्सिएर अरुलाई, कसाएको मान्छे म

बग्दछ कसरी त्यो सुन्दर छहरा

बग्दछ कसरी त्यो शुन्दर छहरालाई हेर
झनै शुन्दर त्यो पानीको फहरालाई हेर

बेला फेरिन्छ दिन फेरिन्न धुर्व सत्य कुरा
दोहोरीएर आउने बिहानी प्रहरलाई हेर

तितो तर सत्य हरदम पुकार्न तयार छुँ

निष्पट अँध्यारा बन्द ढोका उघार्न तयार छुँ
तितो तर सत्य हरदम पुकार्न तयार छुँ
खरो भएँ के बिगारें ? मनमा पाप छैन
पछि अरुलाई पहिले आफैलाई सुधार्न तयार छुँ ।

“तीन मुक्तक”

(1)
कुनै चर्चित म कवि होईन
न त म प्रसिद्ध छवि होईन
हो त केवल रुचि मात्रै मेरो
झरना बग्छु तर म रवि होईन

(2)
जीवितै छन् ईच्छा मारेको छैन
अलपत्र आफुलाई पारेको छैन
धेरै नसकुँला थोरै त गर्छु
जीवनसँग अहिल्यै हारेको छैन

(3)
तालि बजाउन दुई हात चाहिन्छ
चपाउन तलमाथि दाँत चाहिन्छ
एक पाङ्ग्राले रथ चल्दैन पनि
सफलतामा सबैको साथ चाहिन्छ

झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा,-१, सिलगढी, डोटी

खुशी देख्न खोजीरहेको छुँ

जान्दिन म साहित्य के हो, तर लेख्न खोजिरहेको छुँ
जीउने तागत राखेर पाईला टेक्न खोजिरहेको छुँ
घोच्छन् काँडा जीवनमा, संघर्ष हो जिन्दगी
तर पनि सदासर्वदा खुशी देख्न खोजीरहेको छुँ

झलक पाली ‘झरना’
सिलगढी, डोटी
(रचना मिति : २०७३ श्रावण २०)

आदर्श के छाँट्छौ ?

भूत लाग्यो वा बिमार हो, नाडी कम से कम जाँच्न त सिक ।
आँगन टेढो के देख्छौ, पहिले कम से कम नाँच्न त सिक ।
दया पो लाग्छ कठैबरा ! चाकरी र गुलामी गरेको देख्दा ।
आदर्श के छाँट्छौ आफै, पहिले कम से कम बाँच्न त सिक ।

झलक पाली ‘झरना’
सिलगढी, डोटी
(रचना मिति : २०७३ श्रावण २०)

साँच्चै दुनियाँमा खुशी छरेर देखाउ

भो ओज नहाँक, बरु गरेर देखाउ
साँच्चै दुनियाँमा खुशी छरेर देखाउ

ठूला सागर सजिलै तर्छु नभन
बरु स–साना जँघार तरेर देखाउ

एकसरो लाउन, खान, बस्न नहुनेलाई
सब्को मनमा उल्लास भरेर देखाउ

गरिबी, अशिक्षा, महँगी उस्तै छ यहाँ
हो साँच्चै विकासमा अघि सरेर देखाउ

खुशी त सबै हर्छन् कुरा दुःखको पो हो
अतः सबैका दुःख र दर्द हरेर देखाउ
साँच्चै दुनियाँमा खुशी छरेर देखाउ

झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा.-१, सिलगढी, डोटी
(रचना मिति : २०७३ बैशाख १० गते शुक्रबार)

मेरो धरणी आज भ्रष्टको खानी हुँदैछ

यहाँ कुटिल चालमा कुराकानी हुँदैछ
मेरो धरणी आज भ्रष्टको खानी हुँदैछ

गरिबी, अशिक्षा, स्वास्थ्य सबै क्षेत्रमा
हो यहाँ सर्वत्र तमाम लगानी हुँदैछ

युद्धस्तरमा पुग्दैन योजना हु–बहु
वास्तवमै लगानी बालुवामा पानी हुँदैछ

योजना अनि बजेटको बाँडफाँड
नाता गोता र आफन्ती छानी–छानी हुँदैछ

अन्जानमा त गल्ती हुन्छ पनि
तर यहाँ नियतैले जानी–जानी हुँदैछ

शुन्दर नारा ‘हरियो वन नेपालको धन’
तर वन दिनानुदिन कटानी–फँडानी हुँदैछ

जति जोगी आए पनि सबै कानै चिरेका
रोकिंदैन जुन सरकार फेर्दानी हुँदैछ

हुनेलाई मालामाल, नहुनेलाई अनिकाल
गणतन्त्रको नाममा यहाँ बेईमानी हुँदैछ

“परिश्रम”

अद्योगती हुन्छ त्यसैको, जो हुन्छ अकर्मण्य जन
बित्था बसी काट्छ दिन जो, हुन्छ त्यहि अकिञ्चन
अगध प्यार हुन्छ अखिलेशको, हुन्न भेद कसैकन
जो उद्यमी हुन्न त्यसैले, भोग्छ सदा क्रन्दन

निधी बोकी जन्म लिएको, हुन्न अदाच्छे जन
पसीना जो चुहाउँछ सर्वदा, हुन्छ त्यसैको धन
जो लाग्दछ नित्य कर्ममा, चल्छ सुखद गुजेस्ता
रित्तीन्न हात कहिल्यै उसको, गर्दछ जो घटा

पस्तैन मृग मुखभित्र कहिल्यै, सुतेर बस्ने सिंहको
धाउनु नै पर्छ चार दिशा उसले, साह्रा वन पाखाको
बसी–बसी विलासितामा, मग्नमस्ती नखोज
त्यो पाउँछ ऋद्धि जो गर्छ कष्ट, त्यै पाउँछ सन्तोष

झलक पाली ‘झरना’
लक्ष्मीनगर-३, बिनोडा, जोरायल, डोटी

अटुट अनि चोखो माया लाएर त हेर

कम से कम वाचा कसम खाएर त हेर
प्रितको गीत एक सुरमा गाएर त हेर

सिमित स्वार्थ पूरा गरि रमाउने तिमि
तिम्रै कारण जल्ने मनमा खुशी छाएर त हेर

बिगार्न र बनाउनमा सहजै छ बिगार्न त
सक्छौ फाटेको मन जुटाएर त हेर

पाक्ने नै भो खिचडी खाद्य सरजामको
कागले झैं ढुङ्गाको खिचडी पकाएर त हेर

असम्भव त केहि छैन चाहे सबै सम्भव
अटुट अनि चोखो माया लाएर त हेर

झलक पाली ‘झरना’
लक्ष्मीनगर-३, बिनोडा, जोरायल, डोटी
हाल : दिपायल सिलगढी न.पा.-१, सिलगढी, डोटी
(रचना मिति : २०७३ कार्तिक २ गते मंगलबार)

अधिक समय म आफ्नै कामकाजले मजबुर छुँ

अधिक समय म आफ्नै कामकाजले मजबुर छुँ
के हो जीवन ? दुःख या खुशी अन्दाजले मजबुर छुँ

दायाँ गयो खर्च, बायाँ गयो खर्च, यत्रतत्र खर्च
पैंसा भयो मेरुदण्ड तर अभावको राजले मजबुर छुँ

न देश उँभो लाग्दैछ, जनता झन् लाग्थे र कसरी !
समृद्धि खै कहिले पो मिल्छ ? गरीबको ताजले मजबुर छुँ

सोच्लान् आफन्त, कञ्जुस छ मान्छे, उहि त हो समाज
गरौं त कसरी, नगरौं त कसरी साँच्चै लाजले मजबुर छुँ

रोग पालेरै बस्ने विवशता, झनै कति रोलानी त्यो मन्
न त लाग्छ पत्तो बिमार कुनै उनको ईलाजले मजबुर छुँ

झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा. १, सिलगढी, डोटी

JhalakPaliJharana

झुसे बारुला के भो र ?

आच्छ्युँ खाएँ बाँच्छ्युँ खाएँ झुसे बारुला के भो र ?
जाई कटक नगर्नु झिकी कटक गर्नु, सेखी झारुँला के भो र !

विज्ञ धेरै छन् सर्वज्ञ छैनन् भन्ने पनि त बुझ्नुपर्छ
औंल्याई देऊ मेरा कमजोरीहरू स्वीकारुँला के भो र !