यहाँ कुटिल चालमा कुराकानी हुँदैछ
मेरो धरणी आज भ्रष्टको खानी हुँदैछ
गरिबी, अशिक्षा, स्वास्थ्य सबै क्षेत्रमा
हो यहाँ सर्वत्र तमाम लगानी हुँदैछ
युद्धस्तरमा पुग्दैन योजना हु–बहु
वास्तवमै लगानी बालुवामा पानी हुँदैछ
योजना अनि बजेटको बाँडफाँड
नाता गोता र आफन्ती छानी–छानी हुँदैछ
अन्जानमा त गल्ती हुन्छ पनि
तर यहाँ नियतैले जानी–जानी हुँदैछ
शुन्दर नारा ‘हरियो वन नेपालको धन’
तर वन दिनानुदिन कटानी–फँडानी हुँदैछ
जति जोगी आए पनि सबै कानै चिरेका
रोकिंदैन जुन सरकार फेर्दानी हुँदैछ
हुनेलाई मालामाल, नहुनेलाई अनिकाल
गणतन्त्रको नाममा यहाँ बेईमानी हुँदैछ
उदेक लाग्छ यस्तो पारा र ढर्रा देख्दा
अब त भ्रष्टाचार सँस्कार र बानी हुँदैछ
ज्ञान विज्ञानमा विश्व कहाँ पुगिसक्यो
तर यहाँ लुछाचुँडी र खिचातानी हुँदैछ
कस्ले गर्न सक्छ यसको जोड अनि घटाउ
नेपाल र नेपालीको कति हानी–नोक्शानी हुँदैछ
झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा.-१, सिलगढी, डोटी
(रचना मिति : २०७३ बैशाख ११)
