Skip to content

लक्ष्मीप्रसाद देवकोटा

गाउँ दिने कथा

  • by

हौदा चढ्यो घोडामाथि
    हौदामाथि हात्ती
चञ्चलेको राजालाई
    यस्तो भयो पात्ती ।

दुइटा ओडार काला काला
    त्यसमा दुइटा तारा
माथि झाँग छ तल झाडी
    त्यो हो के त प्यारा ?

तिनको घँसिया गीत

  • by

१.
मखमल कोमल घाँस फुलेका
     गिरिको रसिलो सुन्दर काख
पातहरूको हरियो छतमा
     चिरबिर छिरबिर चिडिया लाख ।
निर्मल गाढा नीर गगनका
     टुकडाहरू छन् बुट्टादार
पश्चिम लाली, पूर्व छ जाली
     बादल-पर्दा चित्राकार ।

कुहु-कुहु

  • by

को हँ ? को हँ वनमा कुन को हो
गर्छ क्या कुहुकुहू सुन ओहो !
हैन हैन म त हैन म हैन
को हँ को हँ तर को चिनिँदैन ।

फूलमा छ कि ? कि छाँग हरामा ?
वासमा छ कि उ हुन्छ चरामा ।
या मुनातिर ? कि एक मुनामा ?
हुन्छ भान सपना विपनामा ?

सम्झना

जब पृथिवीमा बादल आउँछ
    जीवनमाथि विषाद
जब बर्षन्छन् आँसु झरी
    उरमा शुष्क उजाड
जब सब तर्क बिलौना बन्छन्
    पीडा मनका याद
भूकम्पपछिका स्वप्न शहर
    सम्झनु अौंसी रात

जीवन वन

जादूगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी
बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी ।
भुल्छौं हामी अनेकौं झिलिमिलिहरुमा, मोह प्याला लिएर
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ।।

जीवन

  • by

बिउँझी रोदनमा कलिलो
   मधुरो उषाको मोहनीमा ।
      बैंस-वसन्त विहार सपना
         कुसुमाकरको ध्वनिमा ।।

प्रेम चकोर, जुनेली जादू,
   शराब नशामा, चमक नजरमा ।
      सुन्दरमा सब, विशाल विलासी
         सुखमा, कोमल स्पन्दनमा ।।

अन्त्यमा

  • by

पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।।
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ।।

पल्टन

ढरर ढम्म ढरर ढम्म
ढ्वाङ् ठोक सारा !
आज जानुपर्छ नानी
देशनिंति प्यारा !

लेऊ हात हात लाठी
लाम लाग सारा ।
मार्न जाऊ देश शत्रु
पोख्न रगत धारा ।।

LaxmiPrasadDevkota_Kopila

पाप लाग्छ

  • by

नटिप्नु हेर कोपिला !
नचुँड्नु पाप लाग्दछ ।
नच्यात्नु फूल नानि हो !
दया र धर्म भाग्दछ ।।

नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ ।।

LakxmiPrasadDevkota_SunkoBihan

सुनको बिहान

  • by

सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे
रँगिल सब बादल छाउँछ रे
जल चंचल भैकन गाउँछ रे !

चिडया बिउँझेर कराउँछ रे
सब मन्दिर घंट बजाउँछ रे
र हवा पनि बास उडाउँछ रे
दिल फूल सबै बिउँझाउँछ रे !

दुनियाँ सब चार्दछ धाउँछ रे
र हिमाल उँचा झलकाउँछ रे
जलविन्दु सुशीतल ल्याउँछ रे
सब उन्नत झल्ल तुल्याउँछ रे !

बादल

  • by

हामी सन्तति हौं अगाध जलका
ग्रीष्मर्तुको जन्म हो,
हाम्रो जन्म हुँदा महोत्सव थियो,
सारा उज्यालो सफा,
हाँस्थे सूर्य र छालमा उछलिंदा
टल्पल् गरी नाच्तथे,
टाढासम्म हावा निमन्त्रित थिए,
चल्थे बडा तेजले ।

घाँसी

  • by

सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ।।
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ।।

LaxmiPrasadDevKota_Bhikari

भिखारी

  • by

हेर भिखारी अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दु:खको मौन प्रकाश !
झीना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास !
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।

हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर !
जीवनपथमा बिचरा पथरा !
काँपिरहेका थुरथुर !
झल्लर झोली बढाउँछ बबुरा ।
करले अस्थिर, कातर !

20110326_LaxmiPrasadDevkota_Garib

गरीब

  • by

गरीब भन्छौ ? सुखको म झैं धनी
     मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैनँ म
     मीठो छ मेरो रसिलो परिश्रम ।

प्रयासको पत्थरमा नदीसरि
     बहन्छु हाँसी म तरङ्गले भरी ।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
     छ शुद्ध यो जीवनको सबै कण ।

आफ्नो घर

  • by

विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।
दिनोदय समानको मधुर दृश्य देखाउन
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन ।

माली

  • by


बिनी बिनी बीउ सजाउँछु
दिलको सलिल छरेर भिजाउँछु

बिरुवा बहुत बढाई,
जीवनभित्र सुगन्ध भिजाउँछु
कलिला फूल फुलाई
उमङ्गहरूमा म वसन्त फुलाउँछु
नव मलयपवन बहाई ।

झरना

  • by

पहाडको शिखरबाट
     देखें झरेको जल ।
मेरो मनमा बत्ती बले
     हजारौं झलमल ॥
त्यो पानीको झरनामा
     शक्ति कति छ लुकेको ।
देख्‍न सके कति त्यसमा
     बत्ती बिजुली बलेको ॥

छोटो किस्सा

  • by

छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुई मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र समयको घोडदौडका कारण छोटो किस्सा टेबुलमाथिको आँपभन्दा मीठो सम्झिइन्छ । वास्तवमा छोटकरी रचना नै आजकल सच्चा साहित्य बनिरहेछ।

नेपालमा पचासगजे नालिसको समय अझ राम्ररी छुटेको छैन । त्यसकारण कथा पनि थाङ्ने लम्बे हुनु अप्राकृत होइन । तर, थोरैमा मीठो र भरिलो हुनु छोटो किस्साको पानी हो ।