हेर भिखारी अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दु:खको मौन प्रकाश !
झीना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास !
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।
हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर !
जीवनपथमा बिचरा पथरा !
काँपिरहेका थुरथुर !
झल्लर झोली बढाउँछ बबुरा ।
करले अस्थिर, कातर !
वर्ष-वर्षका हेर तुषरा
शिरको उपर गिरेका ।
हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेका
दिन दिनले त्यो छातीमाथि
चिरा चरक्क चिरेका ।
अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरि भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ, स्वरले छाती चिर्दै,
‘चामल एक मुठी ।!’
मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन
भाइहरूसँग भिक्षाको यो
मुठी दयाको याचन ।
घाम उज्यालो आँगनमा यो
एक अँध्यारो अवलोकन !
गुलाबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।
को होला यो, कसको छोरो ?
कसको बाबु गरीब ?
कुन आमाले काख लिंदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चन्द्रको नजर समीप ?
किन मुरझायो ? किन वैलायो ?
किन मधुरो यो जीवन दीप ?
बुद्धदेवको नजर अगाडि
यही भिखारी आएथ्यो;
मूर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो;
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलियो शेखी
पवित्र पारी निठुराएथ्यो ।
कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको
घर, घर, आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करुणामृत दिल भारी ।
युग-युगभरको आँसुहरूको
सार अपार उतारी
दु:खको दिलमा ईश्वर बोल्दछ
अधर अनन्त उघारी
माग्दछ करुणा भाइहरूमा
आई पृथिवीवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनमा एक भिखारी ?