सुनको बिहान (कविता संग्रह)
पृथ्वी – भकुण्डो
भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन
दिंदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन
सधैं पूर्वै फेंक्दो दिन दगुरिने पश्चिम गरी
भकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ?
छ ठूलोमा ठूलो चउर अति नीलो झिलिमिली
सधैं बत्ती बाली बहुत थरी हाँस्ने हिलिलिली
त्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नै
कतै फुट्बल् खेल्ने उसतरफ देख्यौ कि त कुनै ?
तस्वीर
(१)
भनन भनन नानी ! के गरी भो तयार ?
कति रससित राम्रो क्या मजा ! चट्ट क्या र ?
सकल मुख दुरुस्तै पार्न सक्ने अपार
कति चतुर कुरा यो जो छ तस्वीर सार ।।
(२)
मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ
रंग पनि त लुगाको ठिक्क क्या हेर ! बन्छ ।
रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त
म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ।।


सुनको दिन एक उदाउँछ रे