सरुभक्त
यात्रा
‘कुनै बेला, जब समय थिएन, ब्रह्माण्डको जन्म भयो’ –‘र त्यही प्रक्रियाअन्तर्गत निहारिकाहरू जन्मे, आकाशगङ्गा जन्म्यो, सौर्य परिवार जन्म्यो, पृथ्वी जन्मी । पृथ्वीमा जीवनहरुको जन्म भयो । मान्छे प्रजातिहरुको जन्म भयो । म जन्में । यदि म सय वर्ष बाँचे भनें, जुन मान्छेको पूर्ण आयु मानिन्छ…’
‘सूर्यलाई पृथ्वीले १०० पल्ट परिक्रमा गर्ने अवधि ।’ मान्छे निर्मित मान्छे मानिमाले टिप्पणी गर्यो । गिगो विहीन ।
सम्पिडायग्नोसिस
उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आफ्नो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत युद्ध’ लेखाउन बिर्सने छैन । अस्पतालको चार्ट होल्डरमा रोगीको असामान्य विवरण पढेर म आफ्नो युगको तर्फबाट छक्क पर्नेछु ।
भूपी, क्रिकेट र ब्रेडमन
ऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ ब्याटिङ गरिरहेको थियो, त्यो पनि मैले थाहा पाइनँ । उसको अर्कोपट्टि क्रिजमा को उभिइरहेको थियो, मैले ध्यान दिइनँ । उसको विकेटपछाडि को थियो, त्यो पनि मैले याद गरिनँ । मैदानभरि छरिएका फिल्डरहरूलाईर् देखेर पनि सायद देखिनँ । मैले उसलाईर् हेरें, हेरिरहें । कारण ऊ मैले देखेका मानिसहरूभन्दा बेग्लै थियो- कताकता जापानीजस्तो, अनेपालीजस्तो, अपोखरेलीजस्तो…।
