दारी सन्दर्भ
केही दिन अगाडि एउटा जम्काभेटमा एक स्थानीय नेताले मेरो बढेको दारीतर्फ इगिंत गर्दै भने – “मित्र ! दारी त खुब मौलाएछ नि ! क्या ! खतरा दारी !” उनको कुरा चुपचाप सुनिमात्र राखेको थिएँ । उनको कुरालाई मैले त्यति गम्भीर रुपमा लिएको पनि थिइनँ । तर म उनको टिप्पणी प्रति उदासिन रहेको देखेर पुनः मेरो दारीलाई आक्रमण गरे, दारी त खतरा छ नि यार । अब पुन्यजीको दारीसगै खतरा बढ्यो है । मेरो दारीमाथि उनको अनाबश्यक र अनपेक्षित हस्तक्षेप एवं चासो देखेपछि म भित्रको मनुज सहसा जाग्यो । उनले मेरो बढेको दारी औंल्याए झैं मैले उनको बढेको भुँडी औंल्याएर भन्न सुरु गरें, मित्र मेरो बढेको दारीबाट खतरा छैन खतरा त तिम्रो बढेकोभुँडी बाट छ । हिजोका झुप्रीबासी नेताका आज राता रात सात तले महल बने ती बढेका महलबाट खतरा छैन मेरो दारीबाट खतरा छ रु हिजोका एकतलेहरू पाँच तले बनेका छन् हिजोका टायरचट्टी टेकुवाहरू साठ्ठी लाखको प्राडो, पँजेरो, रोल्स रोयज चढेर हिंड्ने भएका छन् भन त मित्र उनीहरूका बढेका घरका तलाहरू, बढेका कार र ट्याक्सीहरूबाट खतरा नहुने अनि मेरो चिउडामा केही इन्च बढेका भुत्लाबाट चैं खतरा हुने रु मित्र नाजबाफ बने । उनी पनि पन्ध्र बर्षको बहुदलीय ब्यबस्थारुपी असल लैनो गाईलाई जिल्लामा बसेर मजाले दुहुने नेता भित्र पर्थे । जनताको निम्ति राजनीतिक गरेको दुहाई दिएर रातारात महल, मोटरसाइकल, मनि, मसल आदिको राम्रै जोरजाम गर्न सफल थिए उनी । हिजो दाप्सिएको भुँडी आज बाक्लिएर पुँडी सुँगुरको छाला जस्तो बनेको थियो । हिजोका खोपिल्टे गाला आज जुम्ली स्याउ जस्ता राता भएर पुष्टिएका थिए । मेरो जबाफले उनी एक भन्नु न दुई भन्नु भए । सायद मैले उनको बढेको भुँडीप्रति लक्षित गर्छु भन्ने थाहापाएको भए उनले मेरो बढेको दारीलाई चलाउने थिएनन् होला ।
