Skip to content

पुन्य कार्की

दारी सन्दर्भ

  • by

केही दिन अगाडि एउटा जम्काभेटमा एक स्थानीय नेताले मेरो बढेको दारीतर्फ इगिंत गर्दै भने – “मित्र ! दारी त खुब मौलाएछ नि ! क्या ! खतरा दारी !” उनको कुरा चुपचाप सुनिमात्र राखेको थिएँ । उनको कुरालाई मैले त्यति गम्भीर रुपमा लिएको पनि थिइनँ । तर म उनको टिप्पणी प्रति उदासिन रहेको देखेर पुनः मेरो दारीलाई आक्रमण गरे, दारी त खतरा छ नि यार । अब पुन्यजीको दारीसगै खतरा बढ्यो है । मेरो दारीमाथि उनको अनाबश्यक र अनपेक्षित हस्तक्षेप एवं चासो देखेपछि म भित्रको मनुज सहसा जाग्यो । उनले मेरो बढेको दारी औंल्याए झैं मैले उनको बढेको भुँडी औंल्याएर भन्न सुरु गरें, मित्र मेरो बढेको दारीबाट खतरा छैन खतरा त तिम्रो बढेकोभुँडी बाट छ । हिजोका झुप्रीबासी नेताका आज राता रात सात तले महल बने ती बढेका महलबाट खतरा छैन मेरो दारीबाट खतरा छ रु हिजोका एकतलेहरू पाँच तले बनेका छन् हिजोका टायरचट्टी टेकुवाहरू साठ्ठी लाखको प्राडो, पँजेरो, रोल्स रोयज चढेर हिंड्ने भएका छन् भन त मित्र उनीहरूका बढेका घरका तलाहरू, बढेका कार र ट्याक्सीहरूबाट खतरा नहुने अनि मेरो चिउडामा केही इन्च बढेका भुत्लाबाट चैं खतरा हुने रु मित्र नाजबाफ बने । उनी पनि पन्ध्र बर्षको बहुदलीय ब्यबस्थारुपी असल लैनो गाईलाई जिल्लामा बसेर मजाले दुहुने नेता भित्र पर्थे । जनताको निम्ति राजनीतिक गरेको दुहाई दिएर रातारात महल, मोटरसाइकल, मनि, मसल आदिको राम्रै जोरजाम गर्न सफल थिए उनी । हिजो दाप्सिएको भुँडी आज बाक्लिएर पुँडी सुँगुरको छाला जस्तो बनेको थियो । हिजोका खोपिल्टे गाला आज जुम्ली स्याउ जस्ता राता भएर पुष्टिएका थिए । मेरो जबाफले उनी एक भन्नु न दुई भन्नु भए । सायद मैले उनको बढेको भुँडीप्रति लक्षित गर्छु भन्ने थाहापाएको भए उनले मेरो बढेको दारीलाई चलाउने थिएनन् होला ।

चनौटौ, घोडा र थोत्रो मान्छे

  • by

करिब साठीबर्ष पछाडि यसपालि मेरो पिताजी काठमाडौं जानुभयो । विक्रमसम्वत् दुईहजार सालमा उहाँ अठार उन्नाइसबर्षको उमेरमा पहिलो चोटि काठमाडौं टेक्नु भएको थियो । त्यसपछिको एक लामो समयरेखा काठमाडौँबाट विरत भएर पूर्वी पहाडको एउटा अनाकन्टर गाउँमा आफ्ना आयुरेखाहरू फटाइरहनु भयो । दशैँको बेलाका खसीखरिदेहरूका मुखबाट काठमाडौंको पछिल्लो दृश्य चासो राखीराखी सुन्नुहुन्थ्यो । आफ्नो एक आयु उमेरमा खण्डखण्ड युगको आस्वाद लिनुहुन्थ्यो ।

पछिल्लो काठमाडौंयात्रामा विस्मृतिको गर्भमा पुरिएका थुप्रै पुराना कुराहरू सतहमा उत्रिए । पिताजीको मार्गदर्शक भएर काठमाडौंको अनेकौ ठाँउहरू वहाँलाई डुलाउँदा दुई भिन्नयुगका आवाजहरू, ध्वनि र धुमिल दृश्यहरू श्पर्श गर्न पाँए । उहाँले दुई हजार एक साल अगाडि चुला चौका जोरेर भात पकाएको टुँडिखेल खोज्नुभयो । बानेश्वरका खोल्सामा दिशा बसेका ठाँउहरू ठम्याउन खोज्नुभयो, त्यो गगनचुम्वी कन्क्रिटका महलको वीचमा व्लाकहोलमा तारा खसे जस्तो खोजाइ थियो ।

PunyaKarki

निन्दारस

मेरो एकजना साथी छन् । मसँग भेट भएपछि उनी, कसैको न कसैको कुरा काट्न थालीहाल्छन् । कुरा काट्ने उन्को अनौठो बानी छ । मसँग हुँदा उनी अरुको कुरा काट्छन्, अरुसँग हुँदा उनी मेरो कुरा काट्छन् भन्ने कुरामा म विस्वस्त छु । अचेलभरि म ऊसँग वढी सतर्क रहने गर्छु । कारण अरुको निन्दाभाव सुनेर समय वर्वाद पार्नुछैन । त्यसैले उनीसँग म जोगिई जोगिई हिँड्छु ।

कसैले मसँग जाति हुन, मेरो सामु अरुको कुरा मच्ची मच्ची काटिरहेको वेला मलाई झस्का पस्छ, यसले अरुको कुरा यसरी काट्ता मेरो कन्नापछाडि मेरै कुरा कति काट्तो हो । त्यसैलै उसले मसँग अरुको कुरा काटिरहेको वेला आज भोलि यस्तो लाग्न थालेको छ–यसले त मेरै पो कुरा काटिरहेको छ । यस्तो आभास पाउन थालेपछि निन्दारसप्रति वितृष्णा र घृणा उब्जिन थालेको छ । चारजना वसेको ठाउँमा जब अरुको कुरा काट्न थालिन्छ, निन्दा बखान्न थालिन्छ म कुनै नकुनै वाहना गरेर उठेर हिँडी दिन्छु । यी कानहरूले निन्दा सुन्नु नपरोस् भनेर हिँडे पछि मेरै पो धुवाँदार कुरा काटिँदो रहेछ । कति अचम्मको मनोविज्ञानमा अडिएकोछ निन्दारस ।

रसशास्त्रीहरूले त्यत्रो नवरसको वारेमा व्याख्या विवेचना गरे । तर निन्दारस जस्तो जन जनको आत्मामा भिजेको रसको चर्चै गर्न भुले । निन्दारस जस्तो महत्वपूर्ण रसलाई दसौं रसको रुपमा अंगिकार गर्न छुटाए । बरु कुनै कुनै रसशास्त्रीले वात्सल्य र भक्ति रसलाई दसौं एघारौं रसको रुपमा अवलम्वन गर्न आवाज उठाए तर निन्दारसलाई कसैले सम्झेनन् । मलाई लाग्छ सबै रसलाई माथ गर्ने, सबै भन्दा सक्तिशाली र भयंकर रस निन्दारसै हो ।

चिसा मान्छेहरू

ठण्डी सिजन बढेको छ । जाडोबाट बढी नै सर्तक हुने गर्दछु । जाडोमा ठण्डी गाडिने पिरले सधैँ सताउँछ । ठण्डी गाडियो भने त्यसलाई बाहिर निकाल्न निकै झम्मारहरू बेसाउनुपर्छ ।

बाहिरी बातावरणको ठण्डी त छँदैछ । म आज अर्को ठण्डीको कुरो गर्दैछु । मेरो वरिपरि केही चिसा मान्छेहरू छन् । चिसा मान्छेहरूसँग म किन सावधान रहन्छु भने उनीहरूको चिसोले मलाई भेट्ने हो कि भन्ने डर छ । चिसा मान्छेहरू हर्दम ठण्डीको प्रकोप बढाँउछन् । उनीहरू त चिसा छन् छन् अरुलाईपनि चिसा बनाइदिन्छन् । चिसा मान्छेहरूलाई एक किसिमले समाजलाई नै चिस्यानक्षेत्र बनाइदिन्छन् । संवेदनालाई जडतातर्फ धकेल्नु उनीहरूको दैनिक कर्मभित्र पर्दछ ।

दस हजार माइलको यात्रा

  • by

करोड किलोमिटरको यात्रा दस इञ्च छोटो सानो पैतलाबाट सुरु गर्नुछ । यो पैतालाको पनि केवल एकएक कदमबाट अन्तिम गन्तव्य टेक्नु छ । हिँड्नु छ धेरै लामो यात्रा तर हामी प्रस्थान बिन्दुमा नै अल्मलिरहेका छौँ । चढ्नु छ निकै अग्लाअग्ला शिखरहरू तर हामी फेदीमा नै मस्मिन्द घुरिरहेका छौँ । हामी आफ्ना छोटा टाङले हजारहजार कि.मी. एकैचोटि फड्को हान्ने कल्पना साँचेर वर्तमानको यात्रा बिसाउँछौँ ।

फिर्ता भएको मुस्कान

ऊ दोपहरको घाममा झोला बोकेर गेटभित्र के छिरेको थियो । बार्तलीमा खेलेकी छोरीले देखिहाली छे । हातको पुतली त्यत्तिकै छोडेर “बाबा ! आउनु भो चिच्याउँदै गेटमा बाबालाई च्याप्प समाउन पुगी । छोरीलाई दुई हातले च्याप्प उठाएर उसले दुईटै गालामा म्वाइँ खायो । छोरीले बाबाको गलो यसरी बेरी उसलाई सास फेर्न गाह्रो भयो ।

भित्री लय

  • by

जुनजुन व्यक्तिसँग भित्री लय मिल्छ, तीती व्यक्तिसँग मौनमा पनि संवाद चलिरहन्छ । निःशब्द मौनतामा वार्तालापको महक गम्किरहन्छ । भित्री लय भन्ने चिज बहुत अनौठो हुँदोरहेछ । प्रत्येक मान्छेभित्र, आ-आफ्नाखाले लय हुँदारहेछन् । ती लयहरूले उसको स्वभाव, बानी-व्यहोरा, सोच, शैली, चिन्तन, प्रवृति तथा चित्तवृत्ति निर्धारण गर्दोरहेछ । लयको समस्वरताले नै मान्छेका मनहरू एकापसमा जोडिँदारहेछन् । जोसँग लय मिल्दैन त्योसँग निकट सान्निध्य कायम नहुँदो रहेछ ।