Skip to content


केही दिन अगाडि एउटा जम्काभेटमा एक स्थानीय नेताले मेरो बढेको दारीतर्फ इगिंत गर्दै भने – “मित्र ! दारी त खुब मौलाएछ नि ! क्या ! खतरा दारी !” उनको कुरा चुपचाप सुनिमात्र राखेको थिएँ । उनको कुरालाई मैले त्यति गम्भीर रुपमा लिएको पनि थिइनँ । तर म उनको टिप्पणी प्रति उदासिन रहेको देखेर पुनः मेरो दारीलाई आक्रमण गरे, दारी त खतरा छ नि यार । अब पुन्यजीको दारीसगै खतरा बढ्यो है । मेरो दारीमाथि उनको अनाबश्यक र अनपेक्षित हस्तक्षेप एवं चासो देखेपछि म भित्रको मनुज सहसा जाग्यो । उनले मेरो बढेको दारी औंल्याए झैं मैले उनको बढेको भुँडी औंल्याएर भन्न सुरु गरें, मित्र मेरो बढेको दारीबाट खतरा छैन खतरा त तिम्रो बढेकोभुँडी बाट छ । हिजोका झुप्रीबासी नेताका आज राता रात सात तले महल बने ती बढेका महलबाट खतरा छैन मेरो दारीबाट खतरा छ रु हिजोका एकतलेहरू पाँच तले बनेका छन् हिजोका टायरचट्टी टेकुवाहरू साठ्ठी लाखको प्राडो, पँजेरो, रोल्स रोयज चढेर हिंड्ने भएका छन् भन त मित्र उनीहरूका बढेका घरका तलाहरू, बढेका कार र ट्याक्सीहरूबाट खतरा नहुने अनि मेरो चिउडामा केही इन्च बढेका भुत्लाबाट चैं खतरा हुने रु मित्र नाजबाफ बने । उनी पनि पन्ध्र बर्षको बहुदलीय ब्यबस्थारुपी असल लैनो गाईलाई जिल्लामा बसेर मजाले दुहुने नेता भित्र पर्थे । जनताको निम्ति राजनीतिक गरेको दुहाई दिएर रातारात महल, मोटरसाइकल, मनि, मसल आदिको राम्रै जोरजाम गर्न सफल थिए उनी । हिजो दाप्सिएको भुँडी आज बाक्लिएर पुँडी सुँगुरको छाला जस्तो बनेको थियो । हिजोका खोपिल्टे गाला आज जुम्ली स्याउ जस्ता राता भएर पुष्टिएका थिए । मेरो जबाफले उनी एक भन्नु न दुई भन्नु भए । सायद मैले उनको बढेको भुँडीप्रति लक्षित गर्छु भन्ने थाहापाएको भए उनले मेरो बढेको दारीलाई चलाउने थिएनन् होला ।

देशलाई खतरा कहाँबाट भइरहेको छ रु कोबाट भइ रहेको छ रु र कस्ता कस्ता कर्मबाट खतरा भइरहेको छ रु एकथरि मान्छेहरू दारीमा खतरा देख्छन् । किसानले बोकेको कोदालीमा खतरा देख्छन । कविले भिरेको कलममा खतरा देख्छन् । बिद्यार्थीले बोकेको पुस्तकमा खतरा देख्छन् । मेरो नजरमा यी हेराइहरू, यी देखाइहरू सर्बथा गलत छन् । आज बिना स्रोत र बिना हैसीयतको मानिस कंगालसिंह बाट रातारात करोडपति बनेको छ । त्यसका कर्म देश र प्रजातन्त्रको निम्ति खतरा कि मेरो चिउँडोका दारीझुस खतरा । हिजो ढाकी र डालामा भिन्डे खोर्सानी बेच्ने कुनै भेंडे खोर्सानी ब्यापारीको छोरो दश बर्ष राजनीतिको पेशा गरेर दसौंकरोड सम्पत्ति सँगाल्छ, अख्तियार र बिशेष अदालतले ठोस प्रामाण सहित नामुद भ्रष्टचारी किटान गर्छ । तर अदालतको दण्डबिधान बमोजिमको निसाफमा पिसाब तुक्र्याएर फुक्काफाल साँढे जस्तो उल्टै डुक्री हिँड्छ – “होक्राँ मलाई थुन्ने र जेल हाल्ने कोहि बहादुर छौ होक्राँ !” अब तपाईं भन्नुस् भेडे पुत्र वाग्लेकाजीका बढेका महल, बढेका घरेडी, बढेका खेतका कित्ताहरू, बढेका शेयर कित्ताहरूबाट देशलाई खतरा कि मेरा दारीबाट ।

भर्खरै मेरा एक मित्र काम बिशेषले आफ्नै पार्टीका मन्त्रीकामरेडको घर पुग्दा छाँगाबाट खसे सरह भएछन् । कारण सोद्धा आफूले अराध्यदेवतुल्य मानेको आफ्नो पार्टीभित्रको सबैभन्दा स्वच्छ, पवित्र, बिबादमुक्त, भ्रष्टचारमुक्त, शालीन, अनुशासित चरित्रवान नेता जो लामो समय तानशाही व्यबस्थाका बिरुद्ध भूमिगत बसेर अबिचल संघर्ष गरेको नेताको महल देख्ता बहादुर शमशेरको बहादुर महल फिक्का लागेछ, शंकर शमशेरको शंकर महल र बबरजंगको बबरमहल उसको स्वप्नबाटिका अगाडि लिलिपुट ठानिए रे । अझै पनि यता गाँउघरमा चाँहि उनलाई खोरिया खन्ने कर्मीसाइलाको छोरो किराँती कान्छाका रुपमा बुझ्ने गरिन्छ । पार्टी भित्रको जनवादी आदर्शमा टिक्ने नेताको नाममा उसको नाम लिने गरिन्छ । बहुदल आएपछि केहि महिना, केहि बर्षहरू मन्त्री भएका हुन्, उनी मन्त्री हुँदा पनि खुमबहादुर, गोबिन्दराज, बिजयगच्छादार, चिरिन्जिवी, राधाकृष्ण र ईश्वर पोखरेल जति गनाएका होइनन् । त यति आर्दशवान शालीन नेताको महल त राणादरवारलाई माथ गर्ने बनिएका छ भने अरु कुटिल कुख्यात नेताहरूका श्रीसम्पत्ति र महलहरू कति छन् कस्ता छन् अनुमान लगाउन पनि गारो छ ।

परिबर्तन नेताहरूलाई आयो, हाकिमहरूलाई आयो, सांसद र काजीसापहरूलाई आयो । जुन बर्ग र समुदायमा परिबर्तन आउनुपर्थ्यो, त्यँहा एक पित्को पनि खस्न दिएनन् । यिनै खोर्सानी व्यापारी र कर्मीसाइलाका पुत्रहरूले प्रजातन्त्रलाई घरका भित्ताहरूमा सजाएर प्रजातन्त्रलाई बाथरुममा चम्किला संगमरमरका टुक्रा बनाई टाँसे । मेरो मित्रका संम्पूर्ण आस्था र आदारका मूल्यहरू उनै नेताको दरबार अगाडि चकनाचुर पारी रित्तो छाती लिएर म भए ठाँउ आएर भने – मित्र एकचोटि त्यो दरबार हेर्न जानु होला । तपाईंको निम्ति एउटा निबन्ध या कथाको सामाग्री प्राप्त हुन्छ ।

आजभोलि राणाहरूले, पंचहरूले राष्ट्र खोक्रो पारे भनेर गाली गर्नु पनि मलाई बेकार बेकार लाग्न थालेको छ । हाम्रै कित्ताबाट दिन दुई गुणा रात चौगुणा नयाँ नयाँ राणाहरू, नयाँ नयाँ राजाहरू, नयाँ नयाँ सामन्तहरू पैदा भैरहेका छन् । चरम दण्डहीनता, न्यायहीनता, निसाफहीनताको ज्वालाबीच राष्ट्र पिर्सोलिएको छ । पुलिसका पूर्ब आइजिपीहरू मोतिलाल बोहोरा, प्रदिपशमहेर जबरा, अच्युतकृष्ण खरेललाई करोडौं करोड घोटला र भ्रष्टचार गरेको आरोपमा अख्तियारले अभियोग लाउँछ, उनीहरू मस्त सँग काजुसँग रेडलेबलको चुस्की लिएर आलिशान हवेली माथि खुट्टा हल्लाएर अख्तियार र न्यायलयलाई गिज्याइ रहेका छन् । जहाँबाट अपराधी र फटाहालाई दण्डको डण्डा हान्नु पर्ने हो तिनै डण्डापतिहरू राष्ट्रको एकनम्बर भ्रष्टाचारीमा गनिन्छन्, अनि सर्बसाधारणहरूले कसरी भेट्न सक्छन् न्याय । हाम्रा पुर्बजहरूले जो चोर उसको ठुलो स्वर भन्ने उखान त्यसै बनाएका होइन रहेछन् । सायद यतिखेरका नेताहरूलाई मध्यनजर गरेर बनाएका होलान् जो अगुवा उही बाटो हगुवा । राष्ट्रको फुलबारीमा सबैभन्दा बढी फोहोर गर्ने केही घृणित फोहोरी नामहरू छन् – गिरिजा, गच्छादार, खुमबहादुर, वाग्ले, राधाकृष्ण, रामाज्ञाप्रशाद चर्तुबेदी, ईश्वर पोखरेल, भरत मोहन, जयप्रकाश, वामदेब, तारणीदत्त, मथुराप्रशाद मास्के यी यस्ता नामहरू हुन जसलाई नियम, कानुन र संबिधानले कहिल्यै छुँदैन । चरम भ्रष्टचार गरेर अकुत संम्पति कमाउछन् र पनि दफा बिधानको कुनै पनि सुत्रीले यिनीहरूलाई कस्न सक्तैन ।

वलिउडका सेक्सबम हिरोइनहरू बिपाशा बशु, ब्रिट्नी र केलिहरू, नेहा धुपिया र मल्लिका शेराबतहरू, समिरा रेड्डि र हाम्रा झरना बज्राचार्यहरू के नांगिए र रु त्यो भन्दा धेरै नांगिए हामा्र प्रजातान्त्रिक नेताहरू । छिमेकी देशका एशार्द र पि.बि. नरसींह रावहरू सानो अपराध र भ्रष्ट्रचारमा जेल पर्छन । यहाँ चाहि अख्तियारको हिरासतबाट तारेखमा छुट्दा नेताले फूलमाला र हाई हाई भेट्छन् ।

नेपालको कानुन र दण्डबिधान ठ्याक्कै माकुरोको जालो जस्तो छ । माकुरोको जालोमा लाम्खुट्टे अल्झिन्छ, झिँगा अल्झिन्छ, भुसुनो अल्झिन्छ । तर मुसो अल्झिंदैन, काग, वाज, चिल, बेसारे, गिद्ध, हुच्चिल जातका पंक्षिहरू कहिले पनि अल्झिंदैनन् । अदालतको कारिन्दा सानो गल्तीमा दण्डको भागी हुन्छ तर सर्बोच्चको न्यायधिस छुट पाँउछ । बनमन्त्री र सचिबले बन तस्करी गर्दा केही हँुदैन । गाँउमा हलोको अनौ काट्ने बनमुद्धा लागेर जेल पर्छ । अर्कोतिर बन तस्करले हरियाली जोगाउने र वातावरण संरक्षणको भाषण गर्छ टि.भि.मा । एउटा बिसंगत गाइजात्रेपर्ब नेपालमा सनातन कालदेखि चल्दै आएको छ । यो बिडम्बनालाई हामी मुकदर्शक भएर हेरिरहेका छौं । दण्डहीनता, न्यायहीनता, अराजकता, बिध्वंसको आगो सल्किएपछि मानिसको छातीमा जाई, जुही, चमेली र जैतुन फुल्दैन, फुल्छ बिद्रोह, प्रतिशोध र बदलाको फूल । माकुरेजाल नियम कानुनले अल्झाउन सक्तैन बौडाइ, बाज र गिद्धका खुट्टाहरूलाई; फलामे तारको जालमा मात्र अल्झिन्छ यी ठुलाखाले पंक्षीहरू । बुदुना र असलमाछालाई थापेको जालमा व्हेलहरू अल्झिदैनन् । माथिका केही नामहरू व्हेल भ्रष्ट्रचारीहरू हुन् तिनलाई अल्झाउन थाप्नुपर्छ यमान यमानका बल्छी र जालहरू ।

दस बर्षको दर्बियानमा राष्ट्रियस्तरका चोरहरूको कुरा मात्र किन गरुँ मेरो आँखाकै सामु मै जिल्ला, ईलाका, गाँउहरूका स्थानीय चोरहरूले राष्ट्रको बजेटमा दाईं गरेको दृष्य सबैको सामु प्रष्ट छ । गाँउ, इलाका र जिल्लाका धुर्त, कुटिल, र खन्चुवा नेताहरूका, भष्ट्रकर्मचारीहरूका सदरमुकाम, सडक, र सहरमा घर बढेकाछन्, घडेरी बढेकाछन, सवारी साधन र अन्य भौतिक बिलाशका सामग्री बढेका छन्, सुनका लाप्सा बढेकाछन् खेतका कित्ताहरू बढेका छन् । बैंकमा खाताहरू बढेका छन् । उच्च खान्दान र कुलिन परिवारमा नाताहरू बढेका छन् । त्यो भन्दा पनि महत्वपूर्ण कुरा शरीरका अबयब अंगप्रत्यंग बढेका छन् । भुँडीमा बोसो बढेका छन्, चोसोमा लाली बढेको छ । गालाको आकार आयतन बढेर कान पुरिने स्थिति भएको छ । यी कुराको आकस्मिक बृद्धिमा समाजका सचेतन नजरहरू घोत्लिन्नन् । बृद्धि भएको चिजको हैसियत र स्रोतको अन्बेषण, अवलोकन गर्न चाहन्नन् । हिजो र आजको हबिगतलाई तुलोमा जोखिन्न । पद, प्रतिष्ठा, शक्ति र धनको पुजारी बन्ने संस्कृतिमा हुर्किएको हाम्रो मानसिकता यस्तो छ – धन अनुचित तरीकाले नै कमाओस् त्यो महान् हो, त्यो ठुलो हो त्यसको बिरोध गर्नु हुन्न भन्ने चिन्तनले घर गरेको छ । अनि फलानोले किन दारी बढायो रु किन कपाल बढायो रु अनाबस्यक र रुग्ण चिन्तनमा समाजको मूल मानसिकता केन्द्रित हुँदा धान खाने मुसो चैं जिउदै रहन्छ, सुरक्षित रहन्छ, अनाहकमा निर्दोष भ्यागुतो बारेमा अनर्गल कुरो लाएर निरिह भ्यागुतोलाई चोट खुवाइन्छ । त्यसैले मेरो दारी बढेको खतरा देख्ने महोदयलाई पुनःचेतना भया –
खतरा छैन कमरेड मेरो बढेको दारीमा
खतरा छ कमरेड तिम्री श्रीमतिको ५ हजारको सारीमा
खतरा छैन कमरेड मेरो जुँगाको लुँडीमा
खतरा छ कमरेड तिम्रो बाक्लेको भुँडीमा

उदयपुर
२०६१ पुस २०

Leave a Reply

Your email address will not be published. Required fields are marked *