Skip to content

पुन्य कार्की

चल्लो, जिराफ र मूर्ती

म किशोर अवस्थामा थिएँ होला, एकदिन हाम्रो घरको माउपोथीले चल्ला कोरल्यो । धेरै दिनको ओथारापछि नयाँ चल्लाहरूको नवीनम आवाजले म आकर्षित बनेँ । ओथाराभित्रबाटै आएको चल्लाको आवाजले मभित्रको चञ्चल किशोरावय शान्त रहन सकेन । पोथीलाई उचालेर हेरेँ; ओथारा दिएका अण्डाहरूमध्यका धेरै अण्डाहरू फुटेर बच्चा निस्किएछन् । त्यसमध्येका दुईतीन वटा अण्डाहरू अली अली फुटेर बच्चाहरू भित्र चेपिएको देखेँ । मलाई चेपिएका बच्चाहरूको माया लाग्यो फलस्वरुप फुलको बोक्रा कोट्याएर भित्रबाट चल्ला निकालेँ । मैले त्यसरी उद्दार गरेका बच्चाहरू राम्ररी थिग्रिन पनिसकेनन् । दु:खको कुरा केही घण्टा भित्रै ती बच्चाहरूको दु:खद मृत्यु भयो । आफैं जन्मिएका बच्चाहरू चाहिँ मजाले हुर्किए त्यतिखेरको मेरो बालमस्तिष्कले यो घटनामा किन यस्तो भयो ?; मैले उद्दार गरेका बच्चा किन चाँडै मरे ?; त्यसको सही लेखाजोखा गर्न सकेन । अर्थात कारण खोज्नुपर्ने आवश्यकता पनि ठानेन होला । तर अहिले आएर त्यो घटनाबाट ठूलो निष्कर्ष निकालेको छु; प्राकृतिवत ढंगले विकास हुने कुरालाई बाहिरी हस्तक्षेपबाट आफ्नो अनुकूलतामा छिटो गर्न खोजियो भने त्यसमा असफलता भोग्नु पर्दोरहेछ ।

एकान्तको सौन्दर्य

एकान्तको सौन्दर्यले मलाई मोहनी लाएको बेला एक अज्ञात बिद्वानको विचारले हृदयलाई छुने गर्छ । उनले भनेका रहेछन् – एकान्त ठाउँ मूर्खका लागि जेलखाना हो अनि ज्ञानीको लागि स्वर्ग हो । हुन त स्वर्ग र नर्क भन्ने कुरा कुनै भौगोलिक अवस्थितिभित्र पर्ने ठाउँ हुन् भन्ने कुरामा मलाई विश्वास छैन् । भूगोल र ब्रह्माण्डको परिधिभन्दा बाहिरका कल्पित स्थानको रुपमा यिनलाई बुझ्ने गर्छु । खगोल विज्ञानको त्वरित उचाईमा काहीँ पनि स्वर्ग फेला नपरेकोले वैज्ञानिक र अन्तरिक्ष यात्रीपनि थकित थकित भएर सुस्केरा काढिरहेका छन् यतिखेर । त्यसै यी चिज भौतिक स्थान नभएर मानसिक स्थानको रुपमा बढी लिने गर्छु ।

कृष्ण, इदीअमिन र दुनेहरू

एक समयका ज्यादै महशुर इराकी राष्ट्रपति सद्दाम हुसेन एउटा माकुरे दुलाबाट पक्राउ खाए । पक्राउ परेका बेला उनी निकै थकित, क्लान्त र शिथिल थिए । विश्व राजनीतिको रङ्गमञ्चमा एकछत्र प्रभुत्व पिट्न सफल अमेरिकालाई हुंकारका साथ चुनौती दिने त्यो अभय पुरुषले लाचारीका साथ याङ्की सैन्यसामु आत्मासमर्पण गर्यो । केही समय अघिसम्म त्यत्रो रजगजले इराकी दरबारमा विलासको जिन्दगी बिताएका सद्दाम अहिले यति निरीह अवस्थामा फेला परे, यथार्थको यस कटुरुपलाई पत्याउन पनि मुस्किल पर्छ । मुस्किलले भित्र पस्न सकिने त्यस दुलामा निकै अफ्ठ्यारो, लाचार र बिवश जीवन बिताएका रहेछन् ।

ज्योतिषीका ब्याख्याहरू

अलग अलग ठाउँमा, अलग अलग जातमा, अलग अलग समुदायमा, अलग अलग संस्कार, संस्कृति र मनोविज्ञानका स्वरुपहरू निर्माण हुदाँरहेछन् । त्यसै अनुरुप मानिसका अन्त:करणहरू कोरिँदा रहेछन् । हरेक कुरालाई अर्थ लाउने अलग आँखाहरू बनिँदारहेछन् । अँझ उत्पादनका साधनहरूको असमान वितरणले समाजलाई दुईधारमा बाढेँपछि एउटै ठाउँ, एउटै जात र एउटै समुदायमा पनि दुईखाले चिन्तन, सोचाइ, संस्कृति र मनोविज्ञानको अविर्भाव हुँदोर’छ । आर्थिक असमानताले विभाजित समानमा स्वार्थ अनुकूलका नजरहरू बढी चल्बलाउने रहेछन् । वस्तुलाई हेर्ने, घटनालाई हेर्ने र बाहिरी यथार्थका आयामहरूलाई आत्मासात गर्ने बिषयमा पनि जात पिच्छे, वर्गपिच्छे, समुदाय पिच्छे अलग दृष्टिकोणको निर्माण हुँदोरहेछ ।

भाग लागेको जीवन

जब हप्तामा एकदिन शनिबार आँउछ । तब म रोमाञ्चले केही प्रफुल्ल बन्छु । शनिबार एक दिन, मेरो लागि आफ्नो मौलिक जीवन आफ्नै ढंगले भोग्ने दिन । म यो दिन अरु दिनभन्दा बढी स्वायत्तताको अनुभूत गर्छु । यस दिनलाई अलि छुट्टै ढंगले सदुपयोग गर्ने कोसिस गर्छु ।

अरु दिन मेरो लागि आफैं पराधीन हुने दिन । मैले आफ्नो स्वायत्तता गुमाएको दिन । आफू आफूबाटै वन्धित, वाधित र परतन्त्रमा जकडिएको दिन । चारैतिर सिक्री नै सिक्रीले कसिएको दिन । समयको विवश वाँधा हुनु मेरो नियति ।

अधुरो सिर्जनाका पीडाहरू

रोजीरोटी जुटाउने सुसे धन्दामा दिनका सुन्दर हिस्साहरू खर्च हुँदाछन् । सातामा एकदिन आउने शनिबार फाइल भित्र चेपिएका कागज पल्टाउछु । अधुरा कविताका पानाहरू, अधुरा कथा, अधुरा निबन्ध र अधुरा समीक्षाका थुप्रै रचनाहरू वर्षौंदेखि बेबारिसे भएर फाइलमा थुप्रिएका छन् । अधुरो सिर्जनाका पीडा छातीभरि चस्किन थाल्छन् । कुन क्षण् कुन संबेगमा बेगिएर लेखिएका ती अपुरा सिर्जना पूरा गर्ने आँट आउँदैन । तिनलाई पूरा गर्न पुन: भावनाको मुल फुट्नुपर्छ मुटुभित्र; अहँ फुट्दैन, फुट्दैन फुट्दैन । जति गर्दापनि फुट्दैन । कोसिस गरेर लेख्दापनि त्यो मात्र कृतिम बन्छ । प्राकृतिक मुटु रसाउदै रसाउन्न ।

फूलको आँखामा

म यतिखेर आनी चोइङ डोल्माले गाएको कवि दुर्गालाल श्रेष्ठद्धारा रचित गीत सुनिरहेको छु । गीत सुमधुर स्वरमा बगिरहेछ मेरो कानमा –

फूलको आँखामा फुलै संसार
काढाको आँखामा काढै संसार
झुल्किन्छ है छाँया बस्तु अन्सार ।।

चित्त शुद्धहोस् मेरो बोली बुद्ध होस्
मेरो पैतालाले किरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार ।।

लोभको कथा

धेरै दिनदेखि एउटा सुन्दर कथा लेख्नलाई साँचेर राखेको कथाकंकाल अथवा कथाको प्लट यतिखेर मेरो मनस्तलबाट धरासायी भएको छ । यस्तो धेरैचोटि हुँदै आएको छ । कथा लेख्नलाई निर्माण गरेको सोच, पात्र, परिवेश, घटना र उद्धेश्यको रुपरेखा मनमा पकाइरहेको बेला कुनै देशी बिदेशी लेखक कथाकारहरूका रचना पढेपछि तीसँग धेरैकुरा ठयक्कै मिलिदिन्छन्, अनि लेख्ने सोचनै धरासायी बन्छ ; यस्तोबेला खुसीनै लाग्छ कथा लेख्न नपाए पनि ।

थरिथरिका सुब्रतोहरू

कान्तिपुरको एक अङ्कमा एउटा समाचार टिप्पणी छापियो । भारतकै महङ्गो बिहेमा डुब्यो लखनाउ शिर्षकमा छापिएको त्यस समाचारका केही अंश यसता थिय– एक समय मुगल राजधानी लखनाउ सहर एउटा पारिवारिक विवाह उतसवमा डुबेको छ अहिले ।

उत्तरआधुनिक पितृभक्ति

‘गोपे ! ए गोपे ! कता गो हँ यो बज्या ?’

‘हजुर याँ छु मालिक म’

‘के गर्या छस् त्याँ ? यता आइज ।’

‘याँ गोरुलाई भुसा काट्दै छु मालिक ।’

‘बँदेल भोकाइसक्यो, डिँगालाई भुसा काटिराख ।’

म अमिवा

  • by

जुन दिन म बुद्ध एअरको विमान चढेर आकाशमा केही हजार फीटमाथि मात्र उडेको थिएँ, त्यो क्षण मलाई परम सूक्ष्मताको बोध भयो । मान्छे बिशाल, महान र शक्तिशाली प्राणी हो भन्ने अहम् बिस्तारै धुलिसात हुँदैगयो । जब आकासबाट धर्तितिर हेरेँ, मान्छे घ्यू कमिलाजत्रो देखेँ, खेतमा जोतिरहेका गोरुहरूलाई ढ्याङ्ग्रे कमिला जत्रो देखेँ, सडकमा गुडिरहेका मोटरगाडीलाई बन साङ्ला जत्रो देखेँ । त्यो क्षण मैले माथिबाटै हात्ती देखेको भए ठुलो मुसो अथवा बिरालो भन्दा ठूलो देख्ने थिइनँ होला; त्यस घडीबाट म पृथ्वीको कति सानो प्राणी रहेछु, आफ्नो आकार को सूक्ष्मता बोध भयो ।

सास बन्द नेपाल

  • by

मेरो सात बर्षको छोरो आधीघण्टादेखि क्यालेण्डरमा धुँईं धुँईंती खोजी रहेकोछ । क्यालेण्डरमा खोई के खोजेको हो पत्तो पाउन सक्तिन । उसको खोजीमा म आफू अधैर्य बन्छु, अनी प्वाक्क सोध्छु – ‘नानी ! क्यालेण्डरमा के खोजेको ?’ मेरो प्रश्न भूँईमा खस्न नपाँउदै हातमा क्यालेण्डर बोकेर हुर्रिएर मनिर आयो, अनि सोध्यो –‘ बाबा ! नेपालबन्द कहिले पर्छ ? यो क्यालेण्डरमा त लेखेको छैन त ? कति खोजी सकेँ । भेट्तैभेट्तिनँ । ’

छोराको सोधाइले म अवाक बनेँ साथसाथै बिचलित पनि । दुई कक्षामा पढ्ने मेरो छोराले क्यालेण्डरमा नेपालबन्द खोज्न थाल्यो । उसको बालमस्तिष्कमा समयको एउटा क्रुर विम्व यसरी खोपिंदा मैले महसुस गरें, आजका हरेक नानीहरू नेपाल वन्दलाई एउटा नियमित पर्व या सार्वजनिक विदा या यस्तै कुराको रुपमा स्वीकार गर्ने अबस्थामा पुगिसके । छोरालाई कुरा बुझाउन निकै मुस्किल पर्यो । महिनाको दुईचाटि तीनचोटि या कहिलेकाँही त हप्तैपिच्छे आयोजना हुने नेपालवन्द क्यालेण्डरको अपरिहार्य अंग हुनुपर्ने कुरो मेरो छोराको अन्र्तदृष्टिमा परिसक्यो । छोराले आज मसँग जायज तर्क गरेको छ । पात्रो बनाउने पंचाङ्गकर्ता र थरिथरिका क्यालेण्डर निर्माण गर्र्नेे क्यालेण्डर निर्माताहरू ! नेपालवन्दलाई एउटा नयाँ तिथि र पर्वको रुपमा किन पात्रोमा किटान गर्दैनौ मलाई आश्चर्य लागेको छ ।

मेघमहिमा

  • by

जब मेघ घेरिएको आकाश देख्छु, मेरो हृदय गद्गद् भरिएर आँउछ । आकाशमा जसै उसले गर्छ गड्याङगुडुङको नाद, मभित्रपनि एउटा तिलस्मी नादको अभिर्भाव हुन्छ । मेघाच्छादित आकाशको अध्याँरो मलाई औधी प्यारो लाग्छ । मेघको गर्जन मन नपराउनेहरू पनि देखेको छु, कालोमैलो वादलको निन्दा बाँच्नेहरू पनि सुनेको छु । तर यी सबैको वीचमा घेरिएर पनि म उनीहरूको प्रतिकित्तामा उभिएर मेघमागल सुनाइरहेको छु, बादलवन्दना गाइरहेको छु । मेरो आकाश मेघले घेरिएपछि धर्तीमा म जीवनका अंकुरणहरू देख्न थाल्छु । तप्त घामले डढेको उत्तप्त धरणीमा हरियाली जीवनको अरुणिमा खुल्न थाल्छ । आँत सुकेर मुख आँ गरिरहेका फूल मञ्जरीमा रङको नयाँ चहक खुल्न थाल्छ । हावाका सूक्ष्म लहरहरूमा सुगन्धको नयाँ महक लहराउन थाल्छ । उजाड पाखाहरूमा चिउलाका नवीन प्रस्फूटनहरू गतिमान हुँदै जाँदा एउटा हेरिरहूँ जस्तो, लोभलाग्दो क्षितिज टाँगिन थाल्छ ।

मेघको बोलमा अबोल आनन्द छ । यसले त सधैँ मलाई जीवनको सरगम सुनाउँछ । मेघ बर्सेर पाउलो फेरेका पालुवालाई म किनकिन मेघ मञ्जरी भन्न रुचाउँछु । मञ्जरीहरूको जीवन मेघमा आवेष्टित रहेको सत्यलाई कति अहोभावका साथ हेरिरहेछु । जब पानीका वुँदहरूमा बर्सिछ मेघ, अनि यहाँ जीवनदायी शितलताको रसधारमा पौडिन्छन् स्यावर र जङ्गमका अनगिन्ति रचनाहरू ।

लयबद्ध जीवन

  • by

म जीवनको लयबद्धताको बारेमा सोचिरहेछु अथवा यसो भनूँ म लयबद्ध जीवनको अभिलाषा बोकेर जीवनपथमा भौतारिरहेको छु । म हर्दम संगीतबद्ध जीवनको कल्पना गर्छु, तर बिडम्बना मेरै जीवनमा कुनै सुर ताल मिलेका छैनन । लय, गति, यति मिलेका छैनन् । संगितबद्ध र संगतिबद्ध जीवनको लालसा सूक्ष्म कोषहरूमा बोकेर पनि संगतिहीन पाइला चालिरहेको छु, संगीतहीन धुन गुन्गुनाइरहेछु । शृंखलाबद्ध जीवनको याचना गर्छु तर पाउछु सर्बत्र बिश्रृंखलता, विदु्रपता र विपर्यासले मलाई कुंजोले जाँतो ढुँगे झैं ठुँगिरहन्छ हर्दम ।

बाह्य परिस्थिति र आन्तरिक मनस्थिति कुन शक्तिशाली हो, भेउ पाउन सक्तिन । भन्न त भन्छन् मनस्थिति ले परिस्थिति निर्माण गर्ने हो । तर मलाई परिस्थितिले लात्ते भुकुण्डो तुल्याएको छ । छातीमा एउटा सुन्दर मनोदशा निर्माण गर्ने प्रयत्न गर्छु, त्यो मनोदशाको जग नखनिंदै परिस्थिति यति दारुण र बिभत्स रुपमा प्रस्तुत हुन्छ, जसले क्षणमिनेटमा मेरो आन्तरिक मनोजगतको शान्तिलाई हरण गर्छ, आन्तरिक मनोजगतको संगतिलाई नाश गर्छ र चारैतिर जताततै बिसंगतिको राज कायम हुन्छ । त्यसपछि परिस्थितिको दास बन्ने सिलसिला सुरु हुन्छ । अनि म मनस्थिति भन्दा परिस्थितिनै जब्बर हुन्छ, शक्तिशाली हुन्छ भन्ने निचोडमा पुग्छु । हुन त मनस्थितिले परिस्थितिलाई पनि फेर्न सक्छ तर त्यो ज्यादै दुर्लभ र दुरुह संख्यामा मात्र फेरिएको छ । जब मान्छे परिवेश र परिस्थितिको निरिह दास बन्छ तब उसको आफैंमा चाउरिने सिलसिला सुरु हुन्छ । पुर्खाहरूले बनाएको उखान फेरि पनि सहिसत्य प्रमाणित हुन्छ, किन चाउरिस् मरिच आफ्नै रागले । मान्छे परिस्थितिको करिया बन्न थालेपछि रुग्ण मनस्थितिको भरिया पनि हुन थाल्छ; त्यसपछि ऊ क्रमिक गतिमा खुम्चन सुरु गर्छ । खुम्चिदै जान्छ, चाउरिंदै जान्छ । आफ्नो रागले आफैं सानो हुदैं जान्छ । अनि साँच्चैको मरिचमा रुपान्तर हुन्छ उसको जीवन ।

असली शिष्यत्व

  • by

महामुनि दत्तात्रेयले ब्रहमाण्डका चौबीसवटा बस्तु तथा जीबहरूलाई गुरु स्वीकारेका थिए । उनले थापेका गुरुमा पृथ्बी, जल, बायु, आकाश, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, समुद्र, पुुतली, भँबरा, मौरी, हात्ती, मृग, माछा, बेश्या, चिल, वालक, कन्याकेटी, वाण बनाउने मानिस, सर्प, माकुरो, कुमालकोटी थिए । प्रकृतिका यी गुरुबाट उनले सकारात्मक शिक्षामात्र लिएनन् कतिपयलाई नकारात्मक शिक्षाको निम्तिमा पनि उपयोग गरे । उदाहरणको लागि पुतलीलाई लिन सकिन्छ । सुन्दरता र प्रकाशको पछाडि अति मोहित भएर झुम्ंिमदा बत्तीमा डढेर मर्नुपर्छ; त्यसकुराबाट उनले साबधानीको शिक्षा लिएका छन्, कुनैपनि कुराप्रति अति मोह र अति आकर्षण सुखद नहुने शिक्षा अबलम्बन गरेका छन् । यसैगरी माछा, स्वादको आशक्तिले बल्छीमा उनिन पुग्छ । मौरी अति संचयको कारणले मान्छेको मशाल बाट झोसिन्छ । मृग आफ्नै श्रवणइन्द्रिय कानको आनन्दको निम्ति घण्टीको आवाजमा एकोहोरिंदा शिकारी र शिकारी कुकुरको फन्दामा पर्छ ।

पुराणमा दात्तात्रेयले असल खराब दुबैखालका चिजहरूबाट शिक्षा लिए झैं हामीले पनि हमेसा खराब, दुष्ट र नकारात्मक चिजहरूबाट शिक्षा लिन सक्नुपर्छ भन्ने कुरा निकै सारगर्वित छ । नत्र बेश्या, सर्प, अजिंगर र माकुरो जस्ता बस्तुहरू बिधायक रुपमा भन्दा पनि नकारात्मक अर्थमा हामी तिनलाई बढी उपेक्षा गर्ने गर्छौ तर ती चिजहरूबाट पनि निकै महत्वपूर्ण शिक्षा लिन सकिने रहेछ भन्ने कुरा पौराणिक आख्यानले देखाएको छ ।

कुकुरघृणा

  • by

निरपेक्षरुपमा कुकुरविरोधी त हुइन म; तर आज कुकुरघृणा लेखिरहेको छु । नरद्वैषी समाजमा मान्छले भन्दा कुकुर बढी मान, सम्मान र आदर पाउन थालेपछि मभित्र कुकुरघृणाको भाव भरिन थालेको हो । ठूलाठूला घरहरूमा कुकुरको जति इज्जत आदर त्यस घरका नोकर चाकर र कामदार वर्गलाई नभएकोले कुकुरप्रति नजानिँदो रोष जागेको कुरा सूक्ष्मरुपले अनुभूति गरेको छु । सिधासिधी अर्थमा साँच्चैको कुकुर र लाक्षाणिक अर्थमा कुकुर स्वभावका मान्छदेखि नजानिँदोसँग विरक्तिबोध भएको छ । कुकुरको साझा स्वभाव हो, मालिकको चाहना वा इसारा अनुसार कसैलाई भुक्नु, टोक्नु, झम्टिनु । कुकुर आफू कुकुर भएको नाताले आफ्नो अन्नदाता आराध्यदेवप्रति स्वामीभक्ति जाहेर गर्दछ । जसको सिता खानु उसकै गीता गाउनु भनेझैँ कुकुरले जसको जुठोपुरो चाट्न भेट्छ, उसैको लहलहैमा अरुलाई भुक्छ टोक्छ । कुकुरको छुट्टै विवेकशक्ति हुँदैन । आफ्नो विवेकलाई त उसले जुठोभातमा बन्धकी राखेको हुन्छ । उसले को सत्पात्र ? को असत् पात्र ?छुट्टयाउन सक्तैन । ऊभित्रको स्वतन्त्र विवेक मालिकको इसारामा कैद गरिएको हुन्छ ।

कुकुरको यसखालको स्वभाव जुनजुन मानिसको अन्तरभित्र आरोपित छ । त्यस्ताखालका मानिसलाई पनि समाजले प्रतीकात्मक अर्थमा कुकुरको विशेषण झुण्ड्याएको हुन्छ । फलानो त चिलानाको बासीभाते कुकुर न हो भनेर कुरा काटिन्छ । यसरी मान्छेलाई कुकुरको पदवी दिइरहँदा वाच्यार्थमा भन्दा लक्ष्यार्थ र व्यङ्ग्यार्थमा त्यसका अर्थहरू बढी ओजपूर्ण भएको देखिरहेको छु । त्यसैले आजभोलि प्रतीकमा मानिसका स्वभावहरूलाई केलाउन रुचि जागेको छ । बाँदर, सुँगुर, छेपारो, व्वाँसो, गोरु, गिद्ध, मुसो, लामखुट्टे आदिआदिका अनेकौँ लाक्षणिक तथा प्रतीकात्मक अर्थहरू छन् ।

घामको स्पर्ष

  • by

कति मीठो छ घामको स्पर्ष ! कति प्यारो छ घामको स्पर्ष ! कठ्याङ्ग्रिएर जडवत बनेका जीवनहरूमा प्राणऊर्जाको तरङ्ग फिँजाउँने गर्छ घाम । ब्रह्माण्डमा घाम नभैदिने भा के होला ? सोच्तामात्र कहाली लाग्छ । सजीव जगत्को अङ्गप्रत्यङ्गमा घामकिरणहरू लिपिएको पाउँछु । सकल ब्रह्माण्डलाई न्यानो उज्यालो दिने हरप्रकाशकी जननी हुन् घाम । हरेक तापपुञ्जहरूकी आमा हुन् घाम । आगोकी आमापनि घाम, रजनिशरोशनीकी उद्भवश्रोतपनि घाम । घामको महिमा लेखिसाध्य छैन । घामको फाइदा कहीसाध्य छैन ।

आदिम जङ्गलीयुगको लाटोमनुवा घामको स्मृति कल्पेर चिसोअँध्यारो रात काट्थ्यो । त्योरात ऊ बहुत कठिनले काट्थ्यो । शितकालमा त जाडो चिलेर कति जीवनहरू देह छोडेर भाग्थे । शनैः शनैः युग घस्रिने क्रममा आगोको आविष्कार गर्यो । त्योदिन धर्तीका एउटा सुनौला क्रान्ति सम्पन्न भयो । मानव विकासको इतिहासमा आगो देख्न पाएको दिन, काँचो शिकार आगोमा सेकाएर खान पाएको दिन, ठण्डीले गङ्ग्रिएका औँलाहरू आगोमा सेक्न पाएको दिन, त्योदिन अपूर्व खुशियालीको दिन थियो । आदिम मनुवाको अनुहारमा एक अपूर्व आभाको वर्षात छरिएको थियो । लामो कालसम्म मान्छेले आगोलाई विछट्टै माया गर्यो । विछट्टै जतन गरेर बोक्न थाल्यो । अहिलेको एक्काइसौँ शताब्दीमा सबै धनको जननी पैसा भएको छ । अहिले सबैचिज किन्नसक्ने क्षमता पैशामा रहेको कुरा अर्थशास्त्रीहरू आफ्ना सिद्धान्तहरूबाट उद्घोष गरिरहेछन् । यो बेलाको पैसाजस्तै बहुमूल्यचिज त्यसयुगमा आगो नै थियो, यसमा दुईमत छैन । एक त आगोले काँचोकचिलो भोजनलाई सुस्वादु पकवानमा फेरिदिएको थियो । जसले गर्दा युगयुगदेखिको अपचयुक्त अस्वस्थकर जीवनलाई तिलाञ्जली दिएको थियो र मान्छेलाई स्वस्थताको संसारतर्फ तानिरहेको थियो । अर्को कुरा रात्रीको अँध्यारो र चिसो आक्रमणलाई आगोले निस्तेज गरिदिएको थियो । त्यो बाहेक जङ्गली पशुहरूको रात्री आक्रमणबाट पनि मानिसलाई रमाइलो ढङ्गले बँचाएको थियो ।

रोजरोज मृत्युदर्शन

  • by

केहीदिन अगाडि बजारका शुभलाल तामाङ मरे । त्यसपछि बाईसबर्षे छिमेकी गोविन्द थापा मरे । अस्तिका दिन चौरासी बर्षीय केराबारी हजुरबुबा बिते । हिजो अठ्ठाईस-तीस बर्षका अशोक राउत बितेको खवर आयो । भर्खर भीमप्रसाद पराजुली गुरुकी मातालाई हेरेर आएँ । मोटरसाईकलको ठक्करबाट बेहोश अवस्थामा पन्ध्रबीस दिन अघिबाट थला पर्नु भएको छ । उँभो आउने अवस्था न्यून भएरै होला अस्पतालले घरमै फर्काइदियो । रोजरोज मृत्युका दृश्यहरू साक्षात्कार गरिरहेको छु । सम्भव भएसम्म र भ्याएसम्म मृतकहरूलाई भेट्न कुदिरहेको छु । मृत्युको क्षणमा मृतक ब्यक्तिहरूको अवस्था निरीक्षण गर्न नपाएपनि भरिसक्य मलामी गएर उनीहरूको अन्तिम दाहसंस्कारको दृश्यलाई नजिकबाट टुलुटुलु हेर्ने गर्छु ।

आजभोलि मेरो गाउँघरमा भित्रिएका प्रत्येक मृत्युहरूले मेरै मृत्युको खवर लिएर आएका हुन् जस्तो लाग्न थालेको छ । मृत्यु सबैभन्दा अकाट्य सत्य । जन्म अकाट्य सत्य नहुन सक्छ । तर मृत्यु घटाउन नमिल्ने, छाँटकाट गरी छोट्याउन नमिल्ने, लम्ब्याउन नमिल्ने अन्तिम सत्यको रूपमा यसलाई ग्रहण गर्न थालेको छु । म सानो हुँदा मृत्युदेखि असाध्यै डराउँथें । तीनचार बर्षको कलिलो बाल्यकालमा आमाको मृत्युलाई पहिलोचोटि नजिकबाट साक्षात्कार गरेपछि मृत्यु मेरोलागि औधि त्रासदिको विषय बन्यो । मृत्युको भीषण र भयानक रूपले मलाई तर्साउन थाल्यो । मेरी आमाको सम्झना आँउदापनि मृत्युकै बिभत्स दृश्य मेरो सामु खडा हुन पुग्यो । त्यतिखेर मेरो मनोदशा पूराका पूरा याद छ, म आमालाई सम्झिंदा पनि डराउन थालेँ । मेरो बालहृदयमा मृत्युको त्रासद चित्र यसरी खोपियो कि मेरी बात्सल्यमयी मातालाई चटक्क छिनेर लाने त्योचिज संसारमै क्रुर र आततायी अनुहारको हुँदो हो ।

ढोँगका हाटहरू

  • by

मभित्र थुप्रै थुप्रै ढोँगका हाटहरू लागेका रहेछन् । मभित्र थुप्रै थुप्रै पाखण्डका खाटहरू बिच्छिएका रहेछन् । अरुका ढोँगहरूको निन्दा बखानिरहेको बेला मभित्रका ढोँगहरू चुपाचाप सुतेजस्तो गरेर मलाई नै खिस्स खिस्स जिस्क्यिाउँदा रहेछन् । अरुको पाखण्डी चरित्रलाई कुरीकुरी गरिरहेको बखत मभित्रको पाखण्ड पुलकित आनन्दमा रमाउँदो रहेछ । म आफूभित्रकै ढोँगका हाटहरूमा किनमेल गरेर आफ्नो दिनचर्या बाँच्तो रहेछु । म आफ्नै पाखण्डका खाटहरूमा मस्मिन्द सुतेर अरुको खिसिटिउरी गर्दो रहेछु । कति विरोधाभाषी व्यक्तित्वको मखुण्डो धारण गरी म जीवन बाँच्दो रहेछु , आफैँलाई छक्क लागेको छ।

अन्तरमा अगतिशील चिन्तन

  • by

सहरका एक चर्चित पत्रकार । राष्ट्रिय दैनिकमा निकै तगडा आर्टिकल लेख्छन् । उनका सनसनीखेजपूर्ण रिपोर्टिङले कहिलेकाहीँ समाजलाई तताइदिन्छ । उनी सामाजिक अन्धविश्वास र रुढीवादी प्रथाको विरुद्धमा विगत केही समयदेखि कलम चलाईरहेका छन् । रुढिवादी चिन्तनको विरुद्धमा वैज्ञानिक विचारको वकालत गरेर शानदार लेख तयार गरी साइकल चढेर लेखलाई कुरियर सेवामा पुर्याउन सहरतिर लागे । सहर नपुग्दै अगाडिबाट विरालोले बाटो काट्यो । उनी सरक्क साइकल मोडेर घर फर्के । साढेँ विरालोले कस्तो अपशकुन लगायो । भोलिको पेपरमा निस्किने लेख ननिस्किने भयो भनेर कोठामा पिरिएर बसे ।

बजारको सिटिहलमा प्रगतिशील संस्कार संस्कृतिको उन्नयन र विकास तथा कुसंस्कारको अन्त्य विषयक विचारगाष्ठिको आयोजना गरिएको थियो । एक ब्राह्मण थरका जनवादी नेताले निकै क्रान्तिकारी विचारहरू पस्केर श्रोताहरूलाई स्तब्ध तुल्याए । जनवादी संस्कृतिका वैकल्पिक खाकाहरू निर्माण गर्नुपर्ने विषयमा निकै गहन दार्शनिक विचारहरू पोखे । उनको भाषण सुनेर निकै जनाले हात दुखुन्जेल ताली पिटे । भोलिपल्ट उनको गाँउमा डुल्न जाँदा थाहा भयो, उनी टपरामा खिरको डल्लो बोकेर पँधेरातिर कुद्दै रहेछन् । कमरेडले के लुकाएर बोकेका छन्, छिमेकीलाई सोधेँ । उनले जवाफ दिए, आज साराद थियो उनको घरमा । नभन्दै सातजना बाहुन पढाएर धुनधान पितृतर्पण गरिएको रहेछ । छिमेकीको कुराले म स्पष्ट भए ।