Skip to content


करोड किलोमिटरको यात्रा दस इञ्च छोटो सानो पैतलाबाट सुरु गर्नुछ । यो पैतालाको पनि केवल एकएक कदमबाट अन्तिम गन्तव्य टेक्नु छ । हिँड्नु छ धेरै लामो यात्रा तर हामी प्रस्थान बिन्दुमा नै अल्मलिरहेका छौँ । चढ्नु छ निकै अग्लाअग्ला शिखरहरू तर हामी फेदीमा नै मस्मिन्द घुरिरहेका छौँ । हामी आफ्ना छोटा टाङले हजारहजार कि.मी. एकैचोटि फड्को हान्ने कल्पना साँचेर वर्तमानको यात्रा बिसाउँछौँ । हामीपछिका कति यात्रीहरू हामीलाई उछिनेर कहाँकहाँ पुगिसके, केके गरिसके ? त्यसको ठीकठीक हिसाबकिताब लगाएर आफ्नो बानी सुधाने दिशातर्फ जाँदैनौँ । रामभरोसामा छोडिदिएका छौँ यात्रालाई ! कामभरोसाको चैतन्य कहिले स्फुरण होला ? र हामी द्रुतगतिमा पाइलाहरू चालौँला । हर्दम यी प्रश्नहरूले मनस्तललाई चिथोर्छन् ।

लगातार हिँडिरहेर कमिलाले हजार कि.मी.को यात्रा सहजै पार गर्दो हो तर मस्मिन्द सुतेर हात्तीले एक किलोमिटर बाटो पनि छिचोल्न सक्तैन । यात्रामा पछि परेपछि हात्तीले कमिलाको गतिलाई गिज्याउनै मिल्दैन । जसरी घसि्रने कछुवासित सुतुवा खरायो हार खाएथ्यो त्यसरी नै हामी दिनदिन हारिरहेका छौँ । हामी पछिका कति यात्रीहरूले गन्तव्य चुमिसके, हामी पुग्नुको कुनै थाहापत्तो छैन ।

हामी हजार मिटरको छलाङ लाउने सपनामा एक कदम यात्रालाई थाती राखिराखेका छौँ । एकएक कदमको महत्वलाई भुलिरहेका छौँ । सपनाको मनचिन्ते झोलीमा वर्तमानका यात्राहरू थन्क्याएका छौँ । हामीलाई सानो कदमको कुनै भरोसा छैन । हृदयमा आफ्नो छोटो पैतालाप्रति कुनै विश्वास छैन । एकैचोटि ठूलो भाग हसुर्ने मीठो कल्पनामा, पाएका सानासाना गाँसहरू पनि गुमाइरहेका छौँ ।

चीनका प्राचीनकालीन बुद्धपुरुष लाउत्सुले भनेको कथा अष्टाबक्र महागीताको कुनै खण्डमा पढ्न पाएको छु । त्यो कथाका अनुसार एउटा मानिस वर्षौंंंंदेखि एक पहाडी तीर्थयात्रामा निस्किने विचार गर्छ । उसले त्यो यात्राका लागि वर्षौंवर्ष योजना बनाउँछ तर ऊ योजनामा मात्र सीमित रहन्छ, यात्रामा निस्किने आँट गर्न सक्तैन, कारण तीर्थयात्राको बाटो ज्यादै लामो हुन्छ । पहाडको भिरालो बाटो हिँड्नुपर्थ्यो । उसका लागि त्यो अनकण्टार बाटो छिचोल्नु ज्यादै गाह्रो काम थियो । फेरि त्यो बाटो दिनमा मात्र हिँडेर पुगिन्नथ्यो । अँधेरी रातमा पनि हिँड्नु पर्थ्यो । बाटो त्यत्तिकै ठाडो उकालो र विकट थियो ।

वर्षौंपछि एकदिन ठूलो आँट सँगालेर उसले यात्रामा निस्किन लालटिन सल्कायो । यो यात्रामा हिँड्ने यात्रीले झण्डै आधारातबाट यात्रा सुरु गर्नुपर्थ्यो । आधारातमै घरबाट हिँडेन भने यात्री गन्तव्यमा पुग्न सक्तैनथ्यो । कारण घनघोर जङ्गल छिचोलेर मात्र त्यस ठाउँमा पुगिने भएकाले मानिसहरू सबेरै यात्रा सुरु गर्थे ।

त्यो तीर्थयात्री लालटिन सल्काएर के बाहिर मात्र निस्केको थियो, टाढाटाढा फैलिएको विशाल अन्धकारको साम्राज्य देखेर कहालियो । उसले सोचेको थियो, अन्धकारको आयतन ज्यादै पातलो होला, अन्धकारको आयतन ज्यादै सानो होला तर बाहिर निस्किनेबित्तिकै देख्यो, क्षितिज ढाकेर फिँजारिएको कालो अन्धकारको घनघटा । यस अन्धमुस्ली निशासँग ऊ यसरी डरायो कि, उसले एक कदम अगाडि बढाउनको लागि पनि हिम्मत गर्न सकेन ।

अँध्यारोको लम्बाइ हेर्‍यो, त्यो हजारौँ किलोमिटर टाढासम्म फिँजारिएको छ । आफ्नो लालटिनले फालेको उज्यालो हेर्‍यो, त्यो मुस्किलले एक मिटरभन्दा टाढा गएको छैन । उसले अँध्यारोको लम्बाइ र लालटिनको उज्यालोको लम्बाइलाई दाँज्यो । अनि हिसाब लगायो, दस हजार माइल लामो अन्धकारले ढाकिएको बाटोमा यो नाथे एक मिटरको रोशनीले कसरी यात्रा गर्न सकिन्छ ? यति लामो अँध्यारो काट्न यो पिलपिले लालटिनको के बुता चल्दो हो । यस्तैयस्तै कुरा गुनेर ऊ थुचुक्क भुइँमा बस्यो ।

पुनः आफ्नो लालटिनको उज्यालोको लम्बाइ हेर्छ, त्यो केवल दुई हात मात्र फिंजारिएको छ । अनि अगाडिको बाटोतर्फ आँखा उठाउँछ, त्यहाँ लम्बेतान अन्धकार पसारिएर बसेको छ । उसको हिँड्ने बाटोभरि असीम अन्धकारले राज गरेको छ । ऊ एक दोकानदार न थियो, उसले गणितीय हिसाब निकाल्यो अनि एउटा निक्र्योलमा पुग्यो- यो तीर्थयात्रा छिचोल्न असम्भव छ । एक मिटरको उज्यालोले कसरी दस हजार माइल लामो पहाडी बाटोको अन्धकार चिर्न सक्छ र ? यो त एकथोपा पानीले सिङ्गो पहाड भिजाउन खोजे जस्तो मात्र भयो ।

उदास भएर सोचिरहेको बेलामा, निराश भएर झोक्राइरहेको बेलामा परबाट एउटा पिलपिले उज्यालो आफूतिर आउँदै गरेको देख्यो । त्यो बाटो तीर्थयात्रामा जाने मूलबाटो नै थियो । त्यो सानो उज्यालो बोकेर आउने मानिस उसकै समिपबाट अगाडि बढ्यो । त्यसको हातमा त झन् सानो पिलपिले बत्ती थियो । त्यस मानिसले त्यति सानो उज्यालोको भरमा यात्रा गरेको देखेर उसलाई आश्चर्य लाग्यो । ऊ निकै अगाडि बढिसकेको थियो । उसको मनमा खुल्दुली उठ्यो । हतारहतार उठेर उसलाई बोलायो । त्यस मानिसले पनि उभिएर पछाडितर्फ हेर्‍यो । उसले मनको जिज्ञासा यसरी पोख्यो-भाइ ! तिमी कहाँ भौँतारिएका छौ ? तिम्रो हातको उज्यालो त मेरो लालटिनको उज्यालोभन्दा सानो र छोटो छ त । तिम्रो अगाडि अँध्यारो कति लामो छ ? देख्तैनौ । यो त हजारौँ माइल फैलिएको छ त । तिमीसँगको उज्यालोले त मुस्किलले दुई पाइला मात्र चाल्न सकिन्छ । तिमीले कति मूर्खतापूर्ण यात्रा गरिरहेका छौँ हँ ?

त्यतिखेर त्यो मान्छे शानका साथ बोल्छ- तिमी पागल भएका छौ ? दुई कदम मात्र तिमी हिँड्ने कोसिस गर त, तिम्रो हातको उज्यालो अरू दुई कदम अघि बढ्छ । फेरि दुई कदम अगाडि बढ, तिम्रो उज्यालो अरू दुई कदम अगाडि बढ्छ । यसरी नै सानो उज्यालोबाट हजारौँ हजार माइलको बाटो छिचोल्न सकिन्छ । तिमी आफ्नो यात्रालाई रोकेर गणितीय हिसाबकिताबमा अल्झिबसेका छौ । तिम्रो गणितीय हिसाब एकदम भ्रान्त छ ।

तिमी दस माइल लामो रोशनी लिएर मात्र यात्रा गर्ने भन्छौ भने त्यो असम्भव छ । त्यति लामो दूरीसम्म उज्यालो फ्याँक्ने लालटिन या प्रकाशको साधन कहाँ पाउन सक्छौ र । फेरि एकचोटि त्यति लामो उज्यालोको अवश्यकता पनि छैन । आखिर बाटो छिचोल्ने त छोटा टाङहरू नै हुन् । यी टाङलाई एकैचोटि दस माइलको उज्यालोको के काम छ र ?

केवल दुई हात लामो उज्यालो भयो भने त्यो नै काफी छ । त्यसैले अहिले दुई कदम लामो रोशनी नै पर्याप्त छ, यो मौजुदा उज्यालोले दुई कदम लामो बाटोलाई प्रकाशित गर्‍यो भने दुई कदम यात्रा मजाले छिचोल्न सकिन्छ । फेरि अर्को दुई कदम, फेरि अर्को दुई कदम, फेरि अर्को दुई कदम । यसरी नै एकएक कदम पाइला चालेर दस हजार माइलको यात्रा छिचोल्न सकिन्छ ।

कथामा त्यो अल्छे पामर यात्रीलाई मजाले नै शिक्षा दिइएको छ तर त्यो यात्रीले यात्रा सुरु गर्‍यो, गरेन त्यो कुरा कथाले बोल्दैन तर हाम्रो सन्दर्भमा त्यो कथा ज्यादै उपयुक्त र सान्दर्भिक छ । हामीमा पनि गणितीय हिसाबकिताबको जडताले मजाले गाँजेको छ । हामी हजार किलोमिटरको यात्राको चिन्ता गर्छौं, अनि एकदम उन्नति पथमा दुई कदम खुट्टा चाल्न चाहिँ बिर्सि दिन्छौँ ।

जीवनमा सानासाना कदमले उत्कर्षका उकाली चढाउँछ भन्ने कुरालाई हेक्का राख्तैनौँ । यसका लागि त क्षणक्षणको उपयोग गर्नु जरुरी हुन्छ । हामी जीवनका क्षणहरूलाई यति सस्तोमा गुमाइदिन्छौँ, जसको महत्वलाई चोट खाएपछि मात्र बुझ्छौँ ।

एकैचोटि ठूलो भाग खोज्नु, सानोसानो काम नगरी ठूलो पद रोज्नु तलका प्रारम्भिक खुट्किला नटेकी माथिल्लो तलामा उक्लिन खोज्नु, हाम्रो पहिचानको विषय भएको छ । पढाइको कुरा गरुँ, एस.एल.सी पास नगरी नै विद्यार्थी डाक्टर, इञ्जिनियर भईसक्छ । उत्तम श्रेणीमा तत्कालको परीक्षा उत्तीर्ण गर्ने कुराले भन्दा भविष्यको डाक्टर, इञ्जिनियरको सपनाले उसलाई गोलमाल गरिरहेको हुन्छ । व्यापार गरेर भविष्य बनाउने सोच राख्ने मान्छेहरूको कुरा सुन्छु-उनीहरूलाई सय-हज्ाार कमाई गर्ने व्यापारमा आँखै लाग्दैन । एकैचोटि लाख/करोड कमाउने धुनले गाँजेको देख्छु । एकैचोटि हवाईलोकमा टेक्ने हवाई सपनाको माखेसाङ्लोले बेरेर न त करोडपति नै हुनसकेका छौँ, न त सय-हजार नै कमाउन सकेका छौँ ।

वर्तमानको आवश्यकता हजार कदमको होइन, एक कदमको हो । एक-एक कदमका जोडले हजार कदम निर्माण हुन्छ तर हामी डाँफा हानेर जीवनको यात्रा छिचोल्न खोज्छौ, जुुन हाम्रो टाङको क्षमताभन्दा बाहिरको कुरा हो । तेञ्जिङ्ग र हिलारीका यिनै छोटा टाङले पहिलोपटक सगरमाथाको शिखर छोएका थिए । उनीहरूले डाँफा हानेर, एकैचोटि छलाङ मारेर त्यो यात्रा पूरा गरेका थिएनन् । सुस्तसुस्त पाइल्ाा, फुकीफुकी चालेर उनीहरू शिखर चढेका थिए । सगरमाथाको काखमा बसेर तेञ्जिङ्ग र हिलारीका छोटाछोटा कदमहरूको अनुसरण गर्न बिर्सेका छौँ । कपासको बीउ रोप्नु कता छ, कता छ हामी अघि नै सुती कारखानाको मालिक भैसक्छौँ । धर्तीको तिर्खा मेटाउन हामी धर्तीमै कुलो खन्ने कुरो गर्दैनौँ । हवाईलोकमा नहर निकाल्छौँ । आकाशलोकमा खनेको कुवाले हाम्रो आँतको तिर्खा कति मार्दो हो ? तपाइँ अनुमान गर्न सक्नुहुन्छ ।

हामीलाई सुती कारखानाको अनुकल्पनामा रमाउने मान्छेभन्दा घुर्‍यान र करेसाबारीमा कपासका बिरुवा हुर्काउने मानिसहरू चाहिएको छ । आकाशलोकमा नहरको योजना बुन्ने मान्छेभन्दा पनि खोल्सीको पानी, सानो कुलो खनेर घरसम्म ल्याउने मानिस चाहिएको छ । अझ योभन्दा बढी लाउत्सुको साहसी यात्री चाहिएको छ । आफूसँग भएको छोटो, सानो उज्यालोमा असीम विश्वास राखेर जीवनको अनकण्टार उकालो छिचोल्न आँट गर्ने मानिस चाहिएको छ । समाजको विशाल अन्धकार नास्नलाई आफूसँग भएको उज्यालोको सूक्ष्म शिखालाई प्रयोग गर्ने व्यक्ति चाहिएको छ । किरणको सानो सूत्री समातेर महाप्रकाशको दुनियाँ रच्ने मानिस चाहिएको छ । तपाइँ नै त्यो व्यक्ति बन्न तयार हुनुहुन्छ ?

२०६४ फागुन २, मोतीगडा, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *