Skip to content

जीवन काश्यप

तिमी जिन्दगीमा

तिमी जिन्दगीमा सधैँ नै रमाऊ
सधैँ गीत मीठा तिमी गुन्गुनाऊ ।

नयाँ बाग चुन्दै नयाँ बीज रोप्दै
तिमी पुष्पका पत्रमा दिल सजाऊ ।

म चाहन्न तिम्रा खुसी खोस्नलाई
सधैँ हर्षमा मात्र आँशु बगाऊ ।

ठान्छु भाग्यमानी

कहाँ सुक्छ सधैँ बग्ने जरूवाको पानी
जरूवा झैँ रसिला छन यी आँखाका नानी ।

रारा फेवा आँखाभित्रै बोकेको छु मैले
मनपोल्दा छचल्किन्छन आफैँ जानी जानी ।

क्षितिज पारि परदेशमा मेरो जिन्दगी छ
सम्झनामा तिमी आउछौ धेरै टाढा भा नि ।

रोक्न चाहे परेलीले

रोक्न चाहे परेलीले अश्रु भेल रोकिएन
किन बग्यो ?आँखाबाट कारणसम्म सोधिएन ।

जसको कुनै मूल्य हुन्न अनमोल हुन्छ त्यही
मोती भए खोजिने थ्यो तर आँशु खोजिएन ।

धेरै लेखेँ धेरै मेटेँ मैले आफ्ना अक्षरहरू
दुईटा अक्षर ‘माया’को यो तृष्णा भने मेटिएन ।

अतित नसम्झाऊ

अतित नसम्झाऊ भविष्यको स्वप्न जर्जर हुन्छ
सत्य निडर हुन्छ सधैँ असत्य नै काँतर हुन्छ ।

म पत्थर कुँदेर मूर्ति बनाउछु पेटको सवाल हो
म तिरस्कृत हुन्छु तर पूजनीय त्यो पत्थर हुन्छ ।

जमाना खराव छ साथी विचार गर्नु मित्रता गर्दा
तिम्रो खल्तीमाथि मित्रताको आयु निर्भर हुन्छ ।

आमा

मान्छे भित्र सँधै रहोस् सरलता सौहाद्रता शिष्टता
बोलीमा पनि होस् सुवास दिलको माया सँगै नम्रता ।
हेर्दा सुन्दर होस् मुहार हँसिलो मुस्कानका साथमा
आत्मा शुद्ध सँधै उदार पनको दृष्टान्त होस् बातमा ।।१।।

दोषी नेत्र भए समस्त जगतै देखिन्छ दोषी अरे
माटोमा पनि मिल्छ है सुन यहाँ खोजी मजाले गरे ।
सानो हुन्न कुनै बिशाल न कुनै पेशा तथा काम त्यो
आफ्नो जीवनको अभाव पहिलो खाँचो छ जो माम हो ।।२।।

JeevanKashyap

ल्याऊँ भयो पालुवा

सम्झे हुन्छ सधैँ प्रसन्न मनमा बिर्से सधैँ पीरले
छाती दुख्छ यता चसक्क सँगले घोचे सरी झीरले ।
तिम्रो नाम लिदै हरेक पलमा बग्छन नदी झैँ गरी
आँखा मात्र नभै प्रसस्त पसिना आमा सधैँ बेसरी ।।१।।

आफ्नो देश भए अवस्य मन यो रम्थ्यो खुसी साथले
अर्कैको उपकारको रहर यो व्यर्थै गर्यो हातले ।
खाली हात उसै फिरेर घरको गर्जो नटर्ने भयो
तिम्रो दर्शनको थियो रहर जो आमा अधुरै रह्यो ।।२।।

सधैँ गीत गाऊ

सधैँ गीत गाऊ, गजल गुन्गुनाऊ
कला जिन्दगी हो, कलामै रमाऊ।

अनायास आजै, छिन्यो तार मनको
म जोडूँ कसोरी, सखी लौ बताऊ ।

अनौठो छ नाता, अनौठो कहानी
उता चोट लाग्दा, यता दुख्छ घाऊ ।

आव्हान

बाचेँ भन्छन तर दिन दिनै मर्छ मान्छे घडीमा
कसले देख्यो ?जहर छ कडा कालको त्यो छडीमा ।
हिड्दा हिड्दै फरर मनको उड्छ पंक्षी नभैमा
के फर्केला?भन न वनको त्यो सुगा पिंजरामा ।।

तेरो मेरो कलह नगरी मात्र हाम्रो भने पो
हेरौँ लाग्ने जगत सबले खूव राम्रो हुनेथ्यो ।
जाने जान्छन तर पनि कतै सम्झना हुन्छ आलो
बन्दै आभा असल जन ती छर्दछन है उज्यालो ।।

पानाभरि शब्द पोख्छु

पानाभरि शब्द पोख्छु, तिम्रो सम्झनामा
हराए झैँ हुन्छु आफैँ, आफ्नै भावनामा ।

माया भन्नु यस्तै हो कि, सोधूँ सोधूँ लाग्छ
वर्षौँदेखि पागल छ दिल, कसको चाहनामा ?

प्यासी नयन टोलाएर, यता उता हेर्छन
के देखिन्छ ? के भेटिन्छ ? शून्य तिर्सनामा ।