बाचेँ भन्छन तर दिन दिनै मर्छ मान्छे घडीमा
कसले देख्यो ?जहर छ कडा कालको त्यो छडीमा ।
हिड्दा हिड्दै फरर मनको उड्छ पंक्षी नभैमा
के फर्केला?भन न वनको त्यो सुगा पिंजरामा ।।
तेरो मेरो कलह नगरी मात्र हाम्रो भने पो
हेरौँ लाग्ने जगत सबले खूव राम्रो हुनेथ्यो ।
जाने जान्छन तर पनि कतै सम्झना हुन्छ आलो
बन्दै आभा असल जन ती छर्दछन है उज्यालो ।।
लाली छर्दै वनवन जहाँ फुल्छ लाली गुराँस
“आफ्नै माटो प्रिय छ” मनको माझमा राख आज ।
गाऊँ बस्ती नगरहरुमा सिर्जनामा रमेका
छैनन साँच्चै युवक युवती देश आफ्नो बुझेका ।।
डाँडा माथी ढलपल हुँदा घाममा हुन्न न्यानो
कस्ले टाल्ने भन न चुहियो बासको जीर्ण छानो ।
तान्यो के ले ?किन पर भए? जोशिला हात तिम्रा
भन्द्यौ है लौ युवक अहिले के भए?बात तिम्रा ।
नेपाली ती रगत पसिना बालुवामा नपोख
आफ्नो आस्था फगत धनको त्यो तुलामा नजोख ।
यै माटोमा जगमग हुने स्वर्ण फल्ने छ आऊ
हातेमालो गर र घरमै नाम आफ्नो कमाऊ ।
के पायौ ती बगरहरुमा ? चोट चिन्ता शिवाय
आऊ खोजौँ अब मुलुक मै जम्न सक्ने उपाय ।
नौला नौला प्रविधिहरु छन उन्नति गर्नलाई
के जान्छौ त्यो जहर नगरी ब्यर्थमा मर्नलाई ।
कविता: आव्हान
छन्द:मन्दाक्रान्ता
गण सूत्र
म भ न त त गु गु
sss sii iii ssi ssi s s
