Skip to content
JeevanKashyap


सम्झे हुन्छ सधैँ प्रसन्न मनमा बिर्से सधैँ पीरले
छाती दुख्छ यता चसक्क सँगले घोचे सरी झीरले ।
तिम्रो नाम लिदै हरेक पलमा बग्छन नदी झैँ गरी
आँखा मात्र नभै प्रसस्त पसिना आमा सधैँ बेसरी ।।१।।

आफ्नो देश भए अवस्य मन यो रम्थ्यो खुसी साथले
अर्कैको उपकारको रहर यो व्यर्थै गर्यो हातले ।
खाली हात उसै फिरेर घरको गर्जो नटर्ने भयो
तिम्रो दर्शनको थियो रहर जो आमा अधुरै रह्यो ।।२।।

छैनन यो परदेशमा हिमचुली डाँफे चरी लाँकुरी
बज्दैनन नगरा मृदंग जसरी बज्थ्यो त्यहा बाँसुरी ।
ती पाखा पहरा र रम्य छहरा नागी तथा खर्कमा
जो बेला मन पुग्छ त्यो बखतमा देखिन्छु है हर्षमा ।।३।।

मान्छे यन्त्रसँगै स्वयं छ विचरा यन्त्रै बनेको यहाँ
खुल्ला व्योम तथा सुशान्त वनको हावा हरायो कहाँ? ।
फाटेका कपडा सहन्छु घरको मीठो ढिडो खान्छु म
बाँझो खेत खनी प्रयत्न धनको गर्छु उतै जान्छु म ।।४।।

पापी लोभ सधैँ रहन्छ मनमा मेटिन्न त्यो बढ्छ नै
जो कोही जव मर्छ त्यो धन यतै छाडी चिता चढ्छ नै ।
आफ्नो त्यो परिवार नै जगतको सर्वश्व ठान्छु ठुलो
बाँकी वैभव व्यर्थको रहर हो साँच्चै धराको धुलो ।।५।।

आमा देश दुबै समान सबले पुज्ने गरौँ यी दुबै
माटो, पाद, छुँदै पवित्र मनले सेवा गरौँ भन्छु है ।
धेरै भो अब लौ सहेन तनले तातो रुखो बालुवा
आफ्नै खेत गरा डुलेर वनमा ल्याऊँ भयो पालुवा ।।६।।

छन्द:शार्दूलविक्रीडित

1 thought on “ल्याऊँ भयो पालुवा”

  1. इन्द्रमणि

    मन छुने कविता बिषेशत हामी
    मन छुने कविता बिषेशत हामी परदेशको पिडा बोक्नेहरुलाई…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *