Skip to content

युवराज भण्डारी

जीवन रंग


बाटो लामो अनेक रंगमा फुल्दै हिडे म
हर्षहरू बाड्दै आए आँशुहरू भुल्दै हिडे म ।

हर बिहान तर्दै साँघु बेसी खोलामा
फर्कन्छु सपना बोकी मनको झोलामा
बाटो लामो अनेक रंगमा फुल्दै हिडे म
मिलनको यादमा बाँचे चोट भुल्दै हिडे म ।

के दिऊँ प्रिये

के दिऊँ प्रिये उपहार तिमीलाई
हृदयभरिको चोखो प्यार तिमीलाई।

मेरा अधरहरू तिमीलाई बोलाइरहन्छन्
तिम्रो संझनामा नजरहरू टोलाइरहन्छन्
के दिऊ प्रिये उपहार तिमीलाई
मेरो भन्नु सारा संसार तिमीलाई।

नेपाल छोडी विरानो देशमा


घरमा रुन्छिन् ती बुढी आमा फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।

सांचेर व्यथा ह्दयभरि ती बुढी बस्दछिन
आंखामा आंशु लिएर ढल्पल मुलबाटो हेर्दछिन्
आमाको आंशु पुछ्ने नै भए फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।

टुहुरा तिम्रा भाइवैनी छन् मसान जस्तो घर
मर्छ की दाजु लडाइमा भनी लाग्दो हो कति डर
बाबाले पनि छोडेर गए सम्झेर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।

साहुले लुट्यो खेतबारी सबै केही छैन साहारा
कल्पन्छ कठै आमाको मन त्यो छोरो कहां छ

छातीभित्र मुटु रुन्छ


छातीभित्र मुटु रुन्छ बाहिर भने हांसेको छु
आफ्नै मनको दुनियामा वैरीभई बांचेको छु ।

शुन्यतामा उडे सपना सिमलको भुवासरी
व्यथाहरु विनास्वरै अलापेर बसुं कति ?
आफ्नै आकाश चिथोरेर सपनाहरु सांचेको छु
छातीभित्र पहाड बोकी बादल बनी उडेको छु ।
छातीभित्र मुटु …………………

सपनीमा रोपेको फूल मनैभित्र ओइलाई झर्यो
जहां जाउ आज मलाई आफ्नै सासले पोल्न थाल्यो ।
चुंडिएको जीवनरेखा आज फेरि गांसेको छु
ओइलाएको फूलमाथि शीत बनी बर्षेको छु ।
छातीभित्र मुटु …………………

हृदयको ज्योति बनी आऊ

आऊ तिमी हृदयको ज्योति बनी आऊ
म तिम्रो सिपी तिमी मोती बनी आऊ ।

म तिम्रो अधरमा खुशी छरिरहुला
तिम्रो हर पाइलामा उमंग भरिरहुला
आऊ तिमी अँधेरीमा ज्योति बनी आऊ
म तिम्रो सिपी तिमी मोती बनी आऊ ।

जीवन खोज्दै हिड्छु


यो सडकमा म जीवन खोज्दै हिड्छु
हराएको मेरो आफ्नो धर्ती खोज्दै हिंड्छु।

रुझेका परेलीहरु खुशी किन खोज्दछन्
बल्झिएर घाउहरु आफै किन दुख्छन्
यो सडकमा म जीवन खोज्दै हिड्छु
टुक्रिएको मेरो आफ्नो सपना खोज्दै हिड्छु।

यसरी किन अध्यारोतिर मोडियो जिन्दगी
सानै चोटमा सीसा झैं तोडियो जिन्दगी
यो सडकमा म जीवन खोज्दै हिड्छु
ओइलाएको मेरो आफ्नो रहर खाज्दै हिड्छु।

कल्पना नयाँ नेपाल


नेपालको इतिहासमा दूर्भाग्यपूर्ण धेरै घटनाहरु भए, जस्तो कि भीमसेन थापाको रहस्मय पतन, मदन भण्डारी र जीवराज आश्रित अनि राजा बिरेन्द्रको हत्या।
तैपनि नेपालमा नँया संबिधान बन्यो २०७२ सालमा।
त्यसको ५ वर्ष पछि म नेपाल फर्किदा त म तिन छक परे। राजनीति अब कुनिती रहेन। सप्रिएछ नेतागणको विचार। नेपाल स्वर्ग भएछ। के चाही गरेछन यिनले यत्रो बिकाश र उपलब्धिको लागि।
१ रास्ट्रीय पहिचान
२ आपसी बिश्वाश र सफा राजनीति
३ शिक्षा, स्वाश्थ्य, कृषी, पर्यटन र यातायात विकाश

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

जहाँ बसे पनि हामी नेपालका सन्तति
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

तराई फैलिरहोस् सदा पहाडको काखमा
सगर छुने हिमाल हाम्रो एउटै छ लाखमा।
माटोको सुगन्ध मीठो फूलकै सुवास सरि
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

केही टुक्राहरू (इतिहास बाँचिरहन्छ)

इतिहास बाँचिरहन्छ
मेटिन सक्छन
राष्ट्रघातीहरू।

अदालत र मन्दिर
एकै कुरा
आउछन् जान्छन् अपराधीहरू।

भोरमा
भट्टीबाट
बाहिरिए पण्डितहरू।

कालोलाई सेतो
भन्छन्
होइनन् अन्धाहरु।

मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती

मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
जति सुन्यो उति मीठो बाँसुरीको धुन जस्ती।

टाढा नहुनु यी नयनबाट धैर्य टुटी सक्यो
छोडी नजानु चाहनाको ज्वार उठिसक्यो
मेरी मायालु तिमी सागरको लहर जस्ती
जति हेर्यो उति राम्री फूलैफूलको शहर जस्ती।

मनभित्र पोखिरहें


मनभित्र पोखिरहें सम्झनाका आँशुहरु
होश छंदै बन्द गरे बेहोशीका पलहरु
नदेखेको सपनीमा पीरै पीरले मुटु दुख्यो
विपनीमा झस्किएर सपनीलाई सम्झिरहें।

रहर मेरा पुरानै छन्, तर मन फेरिए छ
नभोगेको जीवन कथा छातीभरि कोरिएछ।
संघारैमा छोडिएछन् बटुवाका पाइलाहरु
कसैसित सारिएछन् भोगिएका यात्राहरु
साटिएको बाटोभरि घिस्रदै म हिडिरहे
कसको होला मुटु मेरो सबैसित सोधिरहे
आज कसको सम्झनामा साटिएको मुटु दुख्यो
मेरो भन्नु केही छैन मेरो मुटु कहाँ दुख्यो
हृदयका पानाहरु कसले च्याती लग्यो मेरो

जात

वर्षौ पहिले
राजा राजौटा को मर्जीले सुरु भई
अन्त्यको घोषना पनि भो धेरै अघि
तैपनि केही पुरातनवादी रुढीवादीहरू
अँझै लगिरहेछन् जातको पछि पछि।

कर्तव्यबोध


मलाई एक्कासी कोठाभित्र पस्दै गरेको देखेर उ बेस्सरी झस्कियो। उसको हात थरर्र काप्यो। दशको नोठ भुईमा झरयो। अब म र उसको बीच एक हातको दुरी मात्र बाकी थियो। उ पिजरामा परेको पंछी जस्तै निसास्सियो। उ डरले काप्दै थियो। उसका झुकेका आंखाहरु क्षमाको भिख मागिरहेका थिए।

शुभकामना तीजको


शुभकामना तीजको बेला
गाउने नाच्ने सांस्कृतिक मेला
आज मनमा के को रमाइलो
तीजले बनायो दिन घमाइलो।

वर्ष दिन पछि आएको चाड
हर्षोल्लास धेरै नेपाली माझ
रंगिन पहिरन परम्परा रीत
चेलीबेटी गाउछन् तीजका गीत।

सुखदुख बाडने गीतैको भाका
सम्झिन्छन् गाउँ ती डाडापाखा
गाऊ शहर राष्ट्र एकै ठाउँ आउछ
सास्कृतिक बिम्बले देश बनाउछ।

शुभकामना सबै नेपाली नारी
तीजको रमझम फुलबुट्टे सारी
सम्झेर आफ्नो नेपाली पन
माइतीघर जान्छन् तीज मनाउन।

शुभकामना तीजको बेला
गाउने नाच्ने सांस्कृतिक मेला

नशाको लत छोडी


नशाको लत छोडी फर्क फेरी जीवनमा
तिमीले चाहे फुल्नेछन् फूलहरु आंगनमा।

भोलिको बिहान संझ नबाच नशाको भरमा
नशा हो अन्धकार त्रास किन जिउछौ डरमा?
आफ्नो सपना सजाउन फर्क फेरी जीवनमा
आफुमा विश्वास गर उर्जा बढाउ मनमा।

परिवार समाज र संस्कार बिग्रन्छ नराम्रो संगतले
स्वास्थ्य र धन नाश हुन्छ पोल्नेछ आफ्नै रगतले।
एक असल उदारहण बनी फर्क फेरी जीवनमा
हजारौ जीवनलाई बाटो देखाउने अठोट गर मनमा।

नशाको लत छोडी फर्क फेरी जीवनमा
तिमीले चाहे फुल्नेछन् फूलहरु आंगनमा।

YuvRajBhandari

तिमीलाई आँखाभित्र

तिमीलाई आँखाभित्र सजाई राख्छु
माया मात्रै होइन मुटु पनि बाड्छु।

रात पर्दा तिमी तारा बनी उदाउछेउ
हरदिन बिहानमा ज्योति छर्दै आउछेउ।
तस्वीर तिम्रो छातीभित्र सजाई राख्छु
माया मात्रै होइन मुटु पनि बाड्छु।

Yubraj Bhandari

आज तिम्रो संझनामा


आज तिम्रो संझनामा मुटु साह्रै दुखेको छ
पत्थर भन्थेउ मलाई पत्थर पनि फुटेको छ।

आँफैलाई ठाउँ छैन आफ्नै मनको शहरमा
स्वाभिमानी शिर मेरो शरमले झुकेको छ।

मौनताले सिउनु पर्यो मेरा यी अधरहरु
जीवनको नाउ आज मजधारमा रुकेको छ।

झुक्याएर कहाँ गयौ मेला जाने निहुँमा
हृदयमा बिश्वासको धनु पनि टुटेको छ।

आज तिम्रो यादमा जीवन मेरो डुबेको छ
सागर भन्थेउ मलाई सागर पनि सुकेको छ।