हरिभक्त कटुवाल
सूर्यमुखी
उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ – ‘सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस् । नमार् आफ्नो प्रतिभालाई !’
कतै आउला कि कुनै यस्तो दिन
हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा,
दलिनमा झुण्डिरहेको थियो
ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि
मलाई लाग्यो-
म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर
व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई,
कतै आउला कि कुनै यस्तो दिन,
जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा
हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू
आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन् !