सुबिसुधा आचार्य

लण्डन शहर र नेपाली युवती

मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन शहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । मेरो यात्रा थेम्स नदीमाथि बनेको गोल्डेन जुब्ली ब्रिज हुँदै अगाडि बढ्छन्, आहा ! कति निर्मल, सुन्दर, कन्चन थेम्स नदी, ब्रिजबाट नियाल्छु म नदीलाई धित नमरून्जेलसम्म ।

अञ्जुलीमा उठाउन मन लाग्छ थेम्न नदीको हिउँ जस्तो सेतो पानी, लुकामारी खेल्न मन लाग्छ त्यही पानीभित्र । नदीमा डुङ्गा तैरिएको देख्दा यस्तो लाग्छ नदी एक सुन्दरीको मुहार र डुङ्गा उसले लगाएको सिंगारको सामान, चुम्न मन लाग्छ भित्रैबाट नदीलाई उसको सुन्दरताले मोहित बनाएर किन किन ।

गोल्डेन जुब्ली ब्रिज पार गरेर म जुब्ली गार्डेनमा पुग्छु । मात लगाउँछ त्यहाँको मनमोहक दृश्यले उसैउसै । झस्स मलाई काठमाडांै, रत्नपार्कको याद आउँछ तर कहाँको बदाम र सुन्तलाको बोक्राले बिफर आएको मान्छेको गाला जस्तो फोहोरो रत्नपार्क, कहाँ आफ्नै पैतालाको मैलो सर्लाझैँ चम्किलो सफा सुकसुकाउँदो जुब्ली गार्डेन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अँध्यारो रातमा रहस्यमय

निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलाई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै ।

हो, म त्यहीँ अँध्यारोभित्र आफूलाई खोज्दै अनुमानसँग अनुभव धरौटी राखेर पार गर्छु तमोर नदी एउटा सानो लठ्ठीको सहायताले । हुन त त्यति जवान भएकी छैन ऊ तर पनि नदी, खोला नतरेको मेरो बानी ढुङ्गामा लागेको लेउ करौती बन्छ मेरो साहसलाई टुक्र्याउन अनि त गुहार माग्छु नर्कटको सिम्किनुसँग ।

ओ हो ! मान्छेलाई ज्यानको माया कति बिघ्न, पिडौंला पिडौंला आउने पानीको बेगले के मलाई ढाल्दो हो र ? लौ ढाली हाले पनि त बगाउने क्षमता हुँदैन नि, बिचरो म वनको बाघ भन्दा मनको बाघले सिध्याउँछ एउटा खतरनाक हाउँगुजी बनेर । त्यसैबाट बच्न लठ्ठीसँग हारगुहार मागेको हुँ नदी तर्नु अगाडि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनयुद्वबाट पिडित शिक्षकलाई हत्याराको पगरी

“म हत्यारा हैन, सुन्नु भएन तपाईंहरूले, म हत्यारा हुँदै हैन । सत्ते सत्ते, मेरो आफ्नै प्राणको कसम, पशुपतिनाथले भस्म गरून्, पत्याउनु भएन । श्री मनकामना माईले नाश गरून् मैले झुटो बोलेको भए, म हत्यारा हुँदै हैन ।”

“यी हेर्नुस् के मेरा हातहरू दिन दहाडै कसैको गला रेट्ने जस्तो छ त ? नियालेर हेर्नुस् पैताला, हजारौं सोझा निमुखा गरिबको लासमाथि कुल्चेको जस्तो देखिन्छ र ? छाम्नुस्, विश्वास नभए मेरो ढुकढुकी, के यसमा हत्याराको धड्कन धड्किन्छ कहीँ कतै, के तपाईंले पाउनु हुन्छ ? अँहँ भेटिन्न र पाउनु हुन्न पनि । किनकि म भित्र हत्याराको निसानी छाप सङ्केत केही छैन । बुझ्नु भो तपाईहरूले म हत्यारा हुँदै हैन ।”

झ्यालखाना भित्र, झ्यालको बारमा भुन्डिएर ऊ त्यसै भनेर चिच्याइरहेछ, एकनास पुस माघको चीसोले नीला भएका हातहरू थर्थर कमाउँदै डन्डीमा यसरी समाति रहेछ, मानौं त्यो डन्डी फुत्किन सक्छ, भाग्न सक्छ ऊ बाट टाढा, धेरै टाढा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20110205_SelaekoGham

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित

२०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिकामा सम्पादक समेत रहेका कवि तथा गीतकार विद्याप्रसाद घिमिरेको “सेलाएको घाम” नामक कवितासङ्ग्रह बि.एन. पुस्तक संसारले हालै बजारमा ल्याएको छ । वीपी घिमिरेको नामबाट विभिन्न पत्-रपत्रिकाहरूमा समसामयिक राजनीतिक चिन्तन र अध्यात्मिक लेखहरू लेख्दै आएका घिमिरेको प्रस्तुत कवितासङ्ग्रहमा विषयगत विविधता रहनुका साथै वर्तमान युगीन राष्ट्रिय र मानव जनजीवनसँग सम्बन्धित ४१ वटा कविता रहेका छन् । सामाजिक विशृङ्खलता निम्त्याउने र समाजलाई अधोगतितर्फ धकेल्ने प्रकृतिका साहित्यलाई निरूत्साहित गर्नुपर्ने र समाजलाई समुन्नततर्फ उठाउनुपर्ने विचारका पक्षमा उभिने घिमिरेका रचनामा सामाजिक सद्भाव र अग्रगतिकै स्वर मुखरित छ ।

विसङ्गत वर्तमान परिवेशको चित्रण, जीवनयात्राको अभिव्यक्ति, वर्तमान विसङ्गत परिस्थितिप्रति चिन्ता, विधवाको दुर्दशाको चित्रण, जीवनको कारूणिकताको वर्णन, युगीन याथार्थको प्रस्तुतिको अभिव्यञ्जना पाइने यस सङ्ग्रहका कविताहरूमा राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्यसमेत प्रहार गरिएको छ । कतिपय कवितामा आक्रोश, व्यङ्ग्य, विद्रोह र सहानुभूतिको स्वरसमेत मुखरित छन् । घुमाउरो पाराले अध्यात्मिक चेतनाको अभिव्यञ्जना भेटिने घिमिरेका कतिपय कवितामा युगीन राष्ट्रिय सन्दर्भअनुरूप सकारात्मकभन्दा नकारात्मक बहुल वातावरणको प्रस्तुति भेटिन्छ भने अधिकांश कविताले जीवनका विविध पाटासँग सम्बन्धित यथार्थको प्रकटीकरण बोकेका छन् । राजनीति सापेक्ष नभई राजनीति निरपेक्ष रहेका यिनका कवितामा अभिव्यञ्जित विचार कुनै राजनीतिक वादविशेषमा केन्द्रित नभई मानवीय संवेदनामा केन्द्रित छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चड्कन किन हानें त ?

अत्याचारको सिमाना, बढेर चड्कन हानेँ ।
मूल्य भाउले भर्याङ्ग, चढेर चड्कन हानेँ ।

मैं खाऊँ मैँलाऊँ भनेर, बनायौ देश ध्वस्त
काला कतुर्त जति छन्, पढेर चड्कन हानेँ ।

रङ्गशाला भो हैन ?, यो धर्ती तिमीलाई
मनोमानी बेहिसाब, गढेर चड्कन हानेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SubiSudhaAcharya-02

वचनको पालना

  • by

“काम फत्ते भयो त पूर्ण ?” हातको सियोलाई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलो खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि त काम अधुरो भएको हुनुपर्छ र मेरो मन साघुराउन उसले वास्तबिकता ओकल्न चाहेन अथवा सुनेर पनि बुझ पचाउँदैछ । त्यसो त कहिले पो राम्रो मिजासिलो बोलिले नजरमा नजर जुधाएर बोलेको थियो र मसँग । पूर्व दिशा म बस्दा पश्चिम मुहडा फर्काएर हिँड्छ, हरेक मेरा हरेक शब्दलाई हेय, पाराले जवाफ दिने बानी भनांै वा आचरण छ उसको । म नाताले दाजु हूँ, शैक्षिक योग्यताको हकमा उसँग पौठेजोरी खेल्ने सामथ्र्य ममा छैन, त्यो म बुझ्छु तर त्यसको मतलब म उसँग हरेक समय, पल झुक्नु पर्छ, डराउनु पर्छ, हच्किनु पर्छ भन्ने त छैन । मेरो शिरले उसको भन्दा बढि शीत थापेको छ, मेरो आङ्गले बढिनै भोटा फटाएका छन् ।उसको तुलनामा गोडा पाँचैवटा हिउँद बढि मैले थेगेको छु तर पनि बाँसको मुनाझैं झुक्नु परेको छ मैले पटक पटक…………. । कसिङ्गरझैं बढारिनु पर्छ कुचाले हरेक साँझ र बिहानमा । मायाको बन्धनले नझेल्दो हो त जमानामा नै कमण्डलु बोकेर काशी गयाको बाटो तताउँथे । एकहोरो बिचार उग्राइमैं म कलको पाङ्गो बेस्सरी घुमाउँछु, त्यो घुमाइसँगै घुम्छ मन, सोंचाइ र जीवन, एकजोर मयलपोस जसरी भएपनि आजै सिलाएर सिध्याउनु छ नत्र मुखियाको हप्काई असिना झैं बर्षन्छ मेरो शिरमा । कपडा सिलाउँदा सिलाउँदै उचालेर हेर्छु, आधा आधी मात्र भएको हुन्छ । घाम डाँडातिर धमाधम ओर्लंदै छ । अब दिन धेरै बाँकी छैन, मन अमिलो बन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SubiSudhaAcharya

कलिलो मनका यादहरूमा

पच्छ्याउन खोज्ने साथ बैगुनी ।
रित्याउन खोज्ने याद बैगुनी ।।
बिर्सिऊ भन्दा हृदयको माझ बसेर–
बिउँझाउन खोज्ने रात बैगुनी ।।।

साथ, याद अनि सिङ्गो रात बैगुनी भएपछि यहाँ कसको के लाग्छ र ? हिउँको सम्झना चिसोसँग, आगोको याद रापसँग, सूर्र्यको झझल्को तापसँग, दियोको याद उज्यालोसँग, रातको झझल्को अँध्यारोसँग अनन्त अनन्त रहिरहन्छ खोलाको सम्झना बगरले गराएजस्तै । फूलको याद बासनाले दिलाएसरि हावाको स्पर्श चिसोले अनुभूति गराएझैँ, हो यही त हो साथ, याद र रात बैगुनी हुनाका मुख्य कारणहरू ।

खोलाझैँ बग्ने जीवन, हावाझैँ कावा खाँदै उड्ने मन, सगरमाथाझैँ चुलिने चाहना, आकाशसरि फैलिदो सम्झना र सागरजस्तो गहिरो यादले रोकिदिन्छ बगिरहने जीवनको बेगलाई । तब याद र सम्झना चुल्ठी परेर मुछिन्छ जीवनको हरेक पाटाहरूमा र बन्छ एउटा मीठो स्मृति अनि त्यही स्मृति टाँसिन्छ हरेक भोगाइहरूमा अतीतदेखि अनादिसम्मको लागि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •