SubiSudhaAcharya-02


“काम फत्ते भयो त पूर्ण ?” हातको सियोलाई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलो खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि त काम अधुरो भएको हुनुपर्छ र मेरो मन साघुराउन उसले वास्तबिकता ओकल्न चाहेन अथवा सुनेर पनि बुझ पचाउँदैछ । त्यसो त कहिले पो राम्रो मिजासिलो बोलिले नजरमा नजर जुधाएर बोलेको थियो र मसँग । पूर्व दिशा म बस्दा पश्चिम मुहडा फर्काएर हिँड्छ, हरेक मेरा हरेक शब्दलाई हेय, पाराले जवाफ दिने बानी भनांै वा आचरण छ उसको । म नाताले दाजु हूँ, शैक्षिक योग्यताको हकमा उसँग पौठेजोरी खेल्ने सामथ्र्य ममा छैन, त्यो म बुझ्छु तर त्यसको मतलब म उसँग हरेक समय, पल झुक्नु पर्छ, डराउनु पर्छ, हच्किनु पर्छ भन्ने त छैन । मेरो शिरले उसको भन्दा बढि शीत थापेको छ, मेरो आङ्गले बढिनै भोटा फटाएका छन् ।उसको तुलनामा गोडा पाँचैवटा हिउँद बढि मैले थेगेको छु तर पनि बाँसको मुनाझैं झुक्नु परेको छ मैले पटक पटक…………. । कसिङ्गरझैं बढारिनु पर्छ कुचाले हरेक साँझ र बिहानमा । मायाको बन्धनले नझेल्दो हो त जमानामा नै कमण्डलु बोकेर काशी गयाको बाटो तताउँथे । एकहोरो बिचार उग्राइमैं म कलको पाङ्गो बेस्सरी घुमाउँछु, त्यो घुमाइसँगै घुम्छ मन, सोंचाइ र जीवन, एकजोर मयलपोस जसरी भएपनि आजै सिलाएर सिध्याउनु छ नत्र मुखियाको हप्काई असिना झैं बर्षन्छ मेरो शिरमा । कपडा सिलाउँदा सिलाउँदै उचालेर हेर्छु, आधा आधी मात्र भएको हुन्छ । घाम डाँडातिर धमाधम ओर्लंदै छ । अब दिन धेरै बाँकी छैन, मन अमिलो बन्छ ।

सुसेलीको रन्को कानको पर्दामा ठक्कर लाग्दा म कपडाबाट आँखा हटाएर आवाजलाई पच्छ्याउँछु । नयाँ जिन्स पाइन्ट र कलेजी टिसर्टमा रातो क्याप पछाडि फर्काएर लगाउँदै ऊ उकालो लाग्दै रै‘छ । “कता हिँडिस् फेरि यो साँझमा, भर्खर आएको हो क्यारे आराम गरेर बसे हुन्छ नि ।” मनलाई बाँध्न खोज्दा खोज्दै बन्दुकबाट गोली फुत्किए जस्तै आवाज फुत्किन्छ मेरो मुखबाट । हिँडाइको गतिलाई टक्क रोकेर हान्ने गोरुले सिङ थापेझैं मुन्टो टेडो बनाउँदै बोल्छ ऊ –“मतलव नभएको कुराको त वास्तै नगर्नु नि, नजाने गाउँको बाटो सोधेर बेर्थै समय किन खर्च गर्नु ?” हाँडिमा मकै पड्के झैं पड्कन्छ ऊ । म फेरि अर्को प्रश्न सोध्ने हिम्मत जुटाउन सक्दिन । शिर निहुराएर नजर कलको सियोमै आवद्ध गराउँछु । बाबाले तुलसीको मठमा सुताएको अन्तिम अवस्थामा मेरो हात समाउँदै भनेका थिए–“जेठा, म अव यो संसारमा नरहने भएँ, मेरो काँधको साह्रा दायित्व अव तेरो काँधमा पर्ने भएको छ । आमा र भाइको ख्याल राखे । एउटा दाजु हैन पिता भएर अभिभावकको जिम्मेवारी निर्वाह गरेस्, मैले आफ्नो कर्तब्य पुरा गर्न सकिन । समयले म माथि घात गर्यो । तँ त छस् नि हैन ? बचन दे जेठा ! आमा र भाइको आँखाबाट आँसु झर्न दिन्न भनेर मलाई बचन दे । म यो संसारबाट ओझेल परे पनि माथिबाट तँलाई पच्छ्याइरहेको हुन्छु । बचन दे बाबु मलाई बचन दे ।

फुस्रा र चाउरी परेका गालाबाट अबिरल इन्द्रावती बर्षाउँदै अन्तिम अवस्थामा बुबाले मलाई बाचा गराउनु भएको थियो । त्यसो त बुबाले नअर्थ्याएको भए पनि जेठो बाठो भएको नाताले त्यो मेरो जिम्मेवारी हो । म आफूले अग्निपरिक्षा नै किन दिन नपरोस् । मैले उहाँहरूको इच्छा, चाहना र रहर पुरा गर्नै पर्थ्यो । जसरी घरमूलीको नाताले बाबाले गर्नु हुन्थ्यो । बाबाको बचनलाई शिरोपर गर्दै मैले आफू भोकै बसेर भएपनि नाङ्गै बसेर भएपनि आमा र भाइको इच्छामा कुनै तुषारापात गर्न चाहिन । बिगत सम्झेर टम्म भरिएको आँखाले कपडाको मेलो पैल्याउन छाडेपछि आँखा चिम्म गरेर खोबिल्टाको आँसु गालाको बाटो हुँदै बगाइदिन्छु र नजर उठाएर हेर्छु, ऊ आफ्नो बाटो लागि सकेको हुन्छ । चिसो स्याँठले पछाडिबाट नराम्रोसँग ढाड सेकेपछि म आँखा कपडाबाट हटाएर हेर्छु, घाम पूरै डाँडाबाट लुकिसकेछ, अव त खर्कमा स्याँठले सेकेर बस्न सकिन्न म कल काँधमा बोकेर अर्को हातले कपडाको बोरा र थोत्रो गुन्द्री च्यापेर घरतर्फ लाग्छु ।

काँधको कल झिकेर पिंढीमा बिसाउन मात्र के लागेको हुन्छु कताबाट हो कुन्नि हुत्तेर कुखुराको चल्लो भ्याट भ्याट गर्दै मेरो खुट्टामा लट्पटिन आइपुग्छ । उसले पीडा मिश्रित स्वर पनि अलाप्दै छ । म उसलाई उठाएर भुइँमा राख्छु एउटा खुट्टाले टेक्दैन । रगतको छिटाले भुत्ला पनि केही भिजेको छ यसो नियालेर हेरेको त सानो छालाको त्यान्द्रोले मात्र खुट्टालाई जोडेर राखेको रै‘छ । नत्र पुरै छुट्टेको अवस्थामा, मन भित्रभित्रै उकुसमुकुस भएर आयो । चोट त चल्लालाई लागेको हो तर पीडा मलाई भयो “हरे ! कसले यस्तो बनाइदियो होला ? बिचरो यसलाई कत्रो मोहले दुईदिनको काम दाउमा लगाएर ल्याएको थिएँ ,खुट्टा नै पो भाँचिएछ त ।” म चल्लालाई हातमा लिएर मायाले मुर्साछु । “ओ हो । आफ्नो अर्घेलो चाहि पटक्कै देख्ने होइन उल्टै अर्कालाई देखि सहन्नन् यिनी । दिनभरी लगाएर रोपेको रायोको बिरुवा एकै छिनमा पो उतारि दियो तिम्रो साँढेले ।” दैलोमा हसिया बोकेर चिच्याउँदै उभिन्छे बुहारी । “हरे ! तिम्रो बुद्धि, यो काम गर्न हुन्छ र यो गर्न हुदैन भन्ने ज्ञान भएको भए यो पंक्षीनै हुने थिएन । यही त फरक छ हामी र पशुपंक्षीमा । मान्छेलाई त गल्ति गर्दा सम्झाइ बुझाइ गरिन्छ, यातना दिइन्न भने बिचरो यो पंक्षीलाई किन यति सकस दिएकी तिमीले ?” मेरो आवाज भुइँमा खस्न नभ्याउँदै –“चुप लाग बुढा, बढि बोल्ने हैन । यो कुखुराको त्यति बिघ्न माया लाग्छ भने राख्नु नि सन्दुकमा हालेर, कमसेकम मेरो सागबारी त फाँड्न आउन्न, आज त खुट्टामात्र छिनाली दिएँ । भोलि पनि मेरो सागबारीमा पस्यो भने दिउँसै कराइमा तारेर एक डवका जाँडसँग चपाउँछु ।” खुट्टा बजार्दै भित्र जान्छे ऊ । बिचरो चल्लो भूइँमा पल्यात्त पसारी रै‘छ । मन कटक्क दुखेर आयो तर दुख्नु के थियो र यस्ता झिना मसिना घट्ना त दूध र भात हुन थालेको छ मलाई । चल्लो समातेर भित्र खोरमा लगि थपक्क राख्छु । अब त साँझ पनि बिस्तारै भित्रन थालेको छ । ला ! आज पनि मयलपोस सकिएन, राती अबेरसम्म टुकीमा सिउन सक्दिन बुढेसकालले सताएर हो कि एकछिन बत्तीमा काम गरेपछि आँखा पोलेर आँसु खस्दा केही देखिँदैन । भोक त छैन तर साँझमा भोकै बस्दा मान्छे मरेर छाक छोडेको जस्तो हुन्छ भन्छन् भोकै पनि के बस्नु ? थकाइले भुतुक्क भएको छु । जाँगर नलाई नलाई अँगेनाको दाउराका ठुटा ठाकठुक पारेर आगो बाली ढिंडाको पानी करार्ईमा बसाल्छु । बूढो शरीर शारीरिक थकाई र मानसिक थकानले थिलथिलो बनाएको हुन्छ । जति मरिमेटेर काम गरेपनि साँझ बिहान हातमुख जोर्न सधैँ धौ धौ, के कमाउनु बिष्ट ? के सिलाउनु कपडा ? अनायासै लामो सुस्केरा निस्कन्छ मुखबाट । एक डवका जाँड भएपनि सट्ट पिउँथे र लडाउँथे यो बूढो शरीर जमिनमा, जाँड ! कहाँ पाउनु ? आफूलाई बनाउन न जाँगर चल्छ न त बनाउनको लागि प्रसस्त अन्ननै बाँकी हुन्छ । भएको खेतबारी कान्छाले हडपि हाल्यो । एउटा खेत त उसैलाई पढाउँन खातिर जिम्मल कहाँ धितो राखेर पैसा निकालेको थिएँ तर…………… । कमाइ समाइ केही होइन भनेको बेला ब्याज बुझाउन नसक्दा ब्याजको स्याज गर्दै जिम्मलले नै हडप्यो । उल्टै मैले बेचेर खाएको भन्दै पटक पटक टोकस्छन् भाइबुहारी । आमाले पनि बुढेसकालमा आएर बुद्धि बिगारिन् कसलाई के भन्नु, पचासको उमेर ढल्कदा पनि कुन्नि कुन जोसमा एउटा बिष्ट टिपेर हिँडिन् । नहिडेर पनि के गरुन्, यो अहंबादी समाजले सानो जात र ठूलो जातको पर्खाल तेर्साएर हामीलाई सधँै पैतलाको धुलो बनाइरहे, त्यसमा पनि आफ्नै आमा बैगुनी भएपछि कस्को के लाग्छ ? देशमा परिवर्तन आयो, यो दल त्यो दल स्वतन्त्रता, मानव अधिकार, समानताको भाषण र नारा घन्कन्छ तर ब्यवहारमा सधँै छोइ छिटो……………. ।

सानो थियो पूर्णे आमाले छोड्दा, पिठँयूमा कल र त्यसमाथि उसलाई बोकेर म मालिकहरू कहाँ कपडा सिलाउन जान्थेँ । कहिले उनीहरूको बच्चाको खेलौना चलाएर, कहिले पानीको गाग्रो छोइदिएर त कहिले फोहोर चलाएर त कहिले हातले कपडा समाती दिएर खुब गाली खुवाउँथ्यो मलाई,“भोलिदेखि काममा आउँदा त्यसलाई नल्याएस् ।” कति सजिलै भन्थे, तर म कसरी सक्थे र त्यो नावालक भाइलाई घरमा भोकै राखेर आफू बिष्टहरू कहाँ भात खान ? उसलाई अगाडि राखेर नखुवाएसम्म पानीको घुट्को मेरो घाँटिबाट छिर्दैन थियो । को थियो र उसको म बाहेक, बाबा बितिहाले, आमाले पनि सानैमा छोडेर गइहालीन् संझेर मुटु कुटुक्क चोइटिन्थ्यो र जति गाली अपमान, घृणा र तिरस्कार सहेर भएपनि सँगै लिएर हिँड्थे काममा । जब अलि बुझ्ने भयो गाँस कटाएर भएपनि स्कुलमा भर्ना गराएँ । उफ ! त्यो बेलामा पनि कत्रो घोचपेच सहनु परेको थियो । सानाजातका मान्छे स्कूल जान थाले भनेर । जति तिता र टर्रा बचन भएपनि म सबै सहजै पिउँथे र पचाउन सक्थेँ । महादेवले कालाकूट बिष पिएझैं, मेरो सपना ठूलो थियो भाइलाई एस.एल. सी. पास गराउने । प्रमाणित गर्नु थियो उसले सुनेका ती उद्धगारलाई “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।” कैयौ बसन्त र शिशिर बिते मैले एक जोर नयाँ कपडा आङमा हालिन, सधैँ अरुले दिएको जडौरी टालटुल पारेर लाउँथे । चाडबाड आउँदा कचौरामा भाइलाई मात्र थोरै भात पकाइदिन्थे र आफू कोदाको ढिडो टिमुर मिसाएको नूनमा चोपेर टोक्थेँ । मनमा भाइलाई ठूलो मान्छे बनाउने सपना सजाएर होला त्यहि ढिडो र नून चौरासी ब्यञ्जन झैं लाग्थ्यो मलाई । मेरो मेहनत र मेरो पसिना माटोमा मिल्न दिएन उसले, जीवनमा सबैभन्दा बढि खुशी भएको त्यो क्षण थियो जति बेला ऊ एस.एल. सी. प्रथम श्रेणीमा पास भयो । शहरमा उच्च शिक्षा पढाउन पठाउने औकात त थिएन मेरो, दिन रात कल चलाएर पेट पाल्ने सुचिकारको भाइ कसरी शहरमा कलेज पढ्न सक्छ ? तैपनि उसको चाहना र रहरको गला दवाएर मन दुखाउन चाहिन मैले, खेत धरौटी राखेर क्रृण लिइ पढन् पठाएँ काठमाडौं । सोच्थेँ भाई धेरै पढेर जागीर खाला अनि मेरो दुःखका दिन सकिनेछन् –“भो दाइ कति बुढो हड्डि घोट्छस् अब त म पनि कमाउने भएको छु ।” बस् यस्तै भन्ने दिन आउँछ भन्ने कल्पनामा टहल्दा टहल्दै उमेरले नेटो काटेको पत्तै भएन, खै कति बेला बितेछ जवानी ? उसैलाई पढाउनको दौडधुपमा बिबाह गर्नु पर्छ भन्ने समेत भुलेछु मैले ।

एकदिन सेन्टर जेलबाट उसको चिठ्ठी आउँछ, लागू औसत बिक्री बितरण गरेको आरोपमा ऊ जेल परेछ । यो खवर सुन्दा म बेहोस नै भएको थिएँ । जब होस आयो गाउँमा दुइचार पैसा क्रृण पान गरेर उसलाई भेट्न गएँ । अनुहार रोटी फुलेको जस्तो फुक्क सुनिएको रै‘छ, जिउभरि निलडाम, कलेटी परेको ओठ, मलाई देख्ने बित्तिकै धेरै रोयो । उसको आँखाबाट झरेको आँसुले म खुब जलेँ भित्रभित्रै जलेँ । पग्लिएर पानी भएँ । “दाइ मलाई बचा, म यो ठाउँमा बस्न सक्दिन । मलाई निकाल यहाँबाट राक्षसहरूले पिटेर मेरो शरीर छिया छिया भएको छ । तँ त मलाई बिश्वास गर्छस् नि हैन ? मैले त्यो हिरोइनको ब्यापार गरेको थिइन कसैले फसाउन मेरो झोलामा राखिदियो प्लिज दाइ यो नरकबाट मलाई उकास् ।” ऊ पिलपिलाउँदो मुख लगाएर मसँग सहयोगको भीक माग्न थाल्छ । मैले सहन सकिन, सानैदेखि मेरै काखमा आची र सुचि गरेर हुर्केको भाई जेलमा सडेको कसरी सहन सक्थेँ र ? आफ्नो शरीर चौक्टा र लाम्टा बनाउँदा जति पीडा हुन्छ त्यसको दोब्बर पीडा उसको अवस्थाले बनायो । छातीमा छुरी रोपिंदाको जलनभन्दा बढ्ता उसको दयनिय अवस्थाले गरायो मलाई । म मणी हराएको साँप जस्तो बेचैनमा जेलबाट बाहिरिएँ । कहाँ–कहाँ को कोसँग सहयोगको भीक मागिन, त्यो म आफैलाई थाहा छ । ब्रेक फेल भएको गाडी झैं अनावरत म खुब भौतारिएँ । भाइलाई त्यहाँबाट निकाल्नको लागि कुनै उपाए थिएन, रङ्गेहात समातेको उनीहरूको दावी थियो । अन्तमा यतिसम्म भने कि, चालीस हजार धरौटी राखेर मात्रै निकाल्न सकिन्छ । म जस्तो एउटा साधारण ब्यक्तिले चालीस हजारको जोह कताबाट गरौं, घरबारी नै बिक्री गर्दा पनि दश हजार आउन्न थियो । कमाइ खाने एउटा थोत्रो कल चौध पन्ध्र सय आउँदो हो त्यसबाट, तर समस्याको समाधान थिएन । भाइलाई जेलबाट छुटाउन नसके म बाँच्नुको कुनै औचित्य थिएन । मेरो ऊ बाहेक अरु को नै थियो र त्यतिका वर्षदेखि खाइ नखाइ दुःख गरेको उसैको लागि त हो । न दिनमा भोक थियो न त रातमा निन्द्रा नै । खोलामा फाल हालेर मरौं जस्तो पनि लाग्यो तर त्यो गर्नु भनेको पनि पूर्णेलाई जेलमै सडाउनु थियो यस अर्थमा चौतर्फी भौतारिने क्रममा एकजनासँग भेट भयो । ऊ मानौ दलाली रहेछ, उसले मलाई मृगौला बेच्न उक्सायो । एउटा मृगौलाको तीस हजारदेखि नब्बे हजार सम्म आउँछ रे । फेरि मानिसको शरीरमा दुइवटा मृगौला हुने कारण एउटा मृगौला बेच्दा पनि खासै असर नपर्ने बतायो । म भाइको लागि मृगौला मात्र हैन आफ्नौ प्राण नै बेच्न पनि पछि पर्नेवाला थिइन् किनकि भाइको मायाले मलाई पागल जस्तै बनाएको थियो । उक्त अपरिचित ब्यक्तिको कुरा जायज लाग्यो र उसँगै नयाँ दिल्ली गएँ । करीव पन्ध्र दिनको समयमा पचास हजार लिएर एउटा मृगौला बेची काठमाडौ फर्किएँ । घाउ आलै र नातागतले रिगटा लागेकै थियो तर भाइलाई जेलबाट मुक्ति दिलाउन पाएकोमा ती पीडा सारा मत्थर भयो । चालीस हजार गनेपछि भाइ जेलबाट मुक्त भयो आफूसँग बाँकी रहेको दश हजार पनि पढाइ खर्च उसैको हातमा थमाएर घर फर्किएँ । त्यत्रो पढेको भाइ त्यतिका पैसा दाजुले कहाँबाट ल्यायो होला भन्ने कुरा उसले एकपटक पनि मलाई सोधेन । बरु पैसा हातमा परेपछि दंग पेरेर बाटो लाग्यो । म भाइको स्वर्णिम भविष्यको कल्पनामा रम्दै जाँदा अन्धो बनँे, भाइले भने मलाई पटक्कै बुझेन । पढाइ सकेर जागिर खाने बेलामा ऊ त पढाइमा ब्याक लागेर श्रीमती पो बोकेर घर फर्कन्छ । त्यसमा पनि मैले कुनै चित्त दुखाइन किनकि उसको बिबाह मैले एउटा अभिभावक भएको नाताले गरिदिनु पर्थ्यो तर त्यो जिम्मेवारी बहन गर्न नसक्नु मेरै कमजोरी हो । म नै मूर्ख हुँ । खुशी थिएँ आमाको बिछोडपछि यो घरले नारीको दर्शन पाउन सकेको थिएन । नारीको कोमल हातले चुरा बजाउँदै पकाएको खाना खान पनि अर्को जन्म कुर्न पर्छ कि ेजस्तो लागेको थियो । तर बुहारी आएपछि म ज्यादै खुशी थिएँ । मेरो खुशीको महल बालुवाको हो भन्ने कुरा मैले भुलेको रै‘छु । बुहारी भित्रेको एक महिना बित्न नपाउँदै उनीहरूले मलाई घरबाट निकाले । भाइले झगडा गरेर काम गरी खाने कल पनि तोडफोड गरिदियो । आफूले माया गरेको मान्छेले यातना नै दिएपनि मन बुझ्दो रहेछ । बिष्टबाट पैसा सापट लिएर अर्को लिलामी कल किनेँ किनकी मैले मुखमा माड लगाउनु थियो, बाहिर फ्याँकेको सामान बटुलेर घर अगाडिको गोठमा भित्राएँ । यस्तै रहेछ संसार जो आफ्नो हो भन्ने सोचेर सर्वस्व गुमायो, उसैले पराइको ब्यवहार गर्दा पनि मर्न त कहाँ पो सकिदो रहेछ र ? कारण जन्म र मृत्यु आफ्नो बसको कुरा थिएन ।

म बिगतलाई केलाउँदै रहँदा ढिडो पाकि सकेछ, बिहानको फर्सीको तरकारीमा ढिडाको पानी राखेर अँगेनामा तताएँ, मीठो खानु त मलाई कहाँ थियो र केबल एक मुठी प्राण राख्नु थियो, त्यहि राख्न दुई गाँस तातो खानु नै पर्ने, ढिडाको डल्लो फर्सीको तरकारीमा चोपेर मुखमा लान मात्र के खोज्छु–“ ए ! तँलाइ लाज लाग्दैन म बजार गएको मौका पारेर बुहारी माथि हात पात गर्ने, तँ कस्तो दाजु होस् हँ । छि ः छि तेरो अनुहार हेर्न पनि मलाई घृणा पो लाग्छ थुक्क ।” रक्सिले मातेर ऊ भित्र पस्छ र मैले खान लागेको ढिडाको थालमा थुकिदिन्छ । गाँस हाल्न लोगेको ढिडा बीचमै रोकेर हेरेको हेर्यै हुन्छु म । ऊ लर्बरिदै चुलामा आउँछ र ढिडाको थाल टिपेर बाहिर आँगनमा मिल्काइ दिन्छ साथमा मेरो कठालो समातेर घिसार्दै बाहिर पिडिमा ल्याएर पर्छाछ । बुहारी संघारमा बसेर प्रसन्न मुद्रामा मुसुक्क मुस्कुराई रहेकी हुन्छे । मेरो भने ढोकामा ठोक्किएर छाती कताकता नराम्रोसँग चस्केर दुख्छ म त्यहि दुखाइमा छाती सुमसुमाइरहन्छु । बस पीडालाई मत्थर गर्न छाती सुमसुमाइरहन्छु ।

ठेगाना ः
पो. ब.नं.८९७५
ईपिसी २६७६
काठमाडौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *