कलिलो मनका यादहरूमा

SubiSudhaAcharya


पच्छ्याउन खोज्ने साथ बैगुनी ।
रित्याउन खोज्ने याद बैगुनी ।।
बिर्सिऊ भन्दा हृदयको माझ बसेर–
बिउँझाउन खोज्ने रात बैगुनी ।।।

साथ, याद अनि सिङ्गो रात बैगुनी भएपछि यहाँ कसको के लाग्छ र ? हिउँको सम्झना चिसोसँग, आगोको याद रापसँग, सूर्र्यको झझल्को तापसँग, दियोको याद उज्यालोसँग, रातको झझल्को अँध्यारोसँग अनन्त अनन्त रहिरहन्छ खोलाको सम्झना बगरले गराएजस्तै । फूलको याद बासनाले दिलाएसरि हावाको स्पर्श चिसोले अनुभूति गराएझैँ, हो यही त हो साथ, याद र रात बैगुनी हुनाका मुख्य कारणहरू ।

खोलाझैँ बग्ने जीवन, हावाझैँ कावा खाँदै उड्ने मन, सगरमाथाझैँ चुलिने चाहना, आकाशसरि फैलिदो सम्झना र सागरजस्तो गहिरो यादले रोकिदिन्छ बगिरहने जीवनको बेगलाई । तब याद र सम्झना चुल्ठी परेर मुछिन्छ जीवनको हरेक पाटाहरूमा र बन्छ एउटा मीठो स्मृति अनि त्यही स्मृति टाँसिन्छ हरेक भोगाइहरूमा अतीतदेखि अनादिसम्मको लागि ।

गुम्सिएका व्यथाहरू र खोतलिएका कथाहरूको समिश्रणमा पोखिन्छ छताछुल्ल भावना, उद्बेग र रहरहरू अनि तीतो अतीत जुन चाहेर पनि भुल्न नसक्ने र बिर्सन नसक्ने, पच्छ्याउन खोज्ने साथ बैगुनी, रित्याउने याद बैगुनी अनि बैगुनी हुन्छ बिउँझाउने रात, हो त्यही बैगुनी हो कलिला मनका यादहरूमा रूवाउन आउने सम्झनाका तरङ्गहरू ।

चौध वर्षको अन्तरालपछि तिमी पुनः सम्झनाको मझेरीमा यादको पर्खाल बनेर ठडियौ र मलाई यसरी घेर्यौ कि पर्खाल भत्काउन सक्छु न नाघ्न नै, तिम्रा यादहरू अग्लिदै चुलिदै गयो र मलाई छोप्दै ।

म चुपचाप छोपिएँ, भासिएँ आफूमै सिलित्त बिलाउने गरेर, पुरिनु, छोपिनु, हराउनु र बिलाउनु मात्र एउटा विकल्प भयो मेरा लागि । तिमी चन्द्रमा बनेर आकाशमा विराजमान भयौ म तिम्रो प्रकाशको प्रतीक्षामा धर्तीको धुलो पन्छाउँदै बिलाएँ त्यसैमा ।

हो स्मृति, तिम्रो अभावमा म कति बेचैनी छु, त्यो मात्र मलाई थाहा छ । मेरो बेचैनीको पराकाष्ठ कुनै समय एउटा अजिबको पहाड बनेर क्वाप्पै निल्न खोज्छ मलाई नै, पहाडको निलाइबाट बच्न र आफूलाई बचाउन सम्झना, याद र कल्पनाबाट भाग्नुपर्ने हुन्छ टाढा अति टाढा । आज पनि तिमी मेरो अङ्गालोमा भएकी भए चौध वर्षकी भरभराउँदी युवती हुन्थ्यौ यौवनका खुड्किलाहरू चढेर । जङ्गलका कल्पवृक्षदेखि लिएर हावा, पानी र घाम, जून सम्मले ईर्ष्या गर्दा हुन् तिम्रो रूप र यौवन देखेर ।

तर यी त सब कल्पना गर्ने कुरा न हुन्, वास्तविक भोगाइमा तिम्रो मात्र याद र सम्झनाहरूको उर्लाइ बाँकी छ । हो म त्यही उर्लाइ समेट्ने प्रयासमा छु मनको प्यास मेटाउन । दुर्भाग्य त्यो पनि कहाँ सम्भव छ र हावाको झोका न हो सम्झना, सानो बेग आउँदा पनि सिलित्त पखालिन्छ दिमागबाट अनि रित्तो बन्छु म आफैभित्र ।

हाम्रो बिछोड पछिका वर्षहरू कहिले सुनामी बनेर त कहिले नब्बेसालको महाभूकम्प बनेर गुज्रियो मेरो अगाडिबाट । रेट्नु, चिमोट्नु, रित्याउनु र सिध्याउनु ती वर्षहरूको दैनिकी बन्यो । म त्यही समयको पञ्जामा काँचको पुतली बनेर रिगिरहेँ खुब मज्जाले । त्यसरी रिग्नुमा, नाच्नुमा एउटा विवशता थियो मेरो जसलाई पन्छाउन असमर्थ भइरहेँ । यसो भनौँ असमर्थतामा राखेर थुनियो मलाई ।

जतिजति दिनहरू बितेर समयले फन्को मार्दै तिम्रा सम्झनाहरू पखाल्न चाहन्थेँ तर त्यति त्यति तिमीलाई सम्झिरहेँ मैले । त्यही पाँच, छ मैनाको कलिलो शिशु, पक्क परेका पाकेको मुस्ताङ्गी स्याउझैँ राता गाला, गुलाफ फक्रिएका जस्ता ओठ, खण्ड–खण्ड परेका पिडौला, तिम्रा शारीरिक बनावट अति सुन्दर थियो । तिमी हावासँग कुरा गर्थ्यौ, जूनसँग सवाल लडाउँथ्यौ र बोल्थ्यौ अमूक भाषा मसँग । आहा, कति मीठा थिए ती सोधाइ, बोलाइ अनि हेराइ, मदिरा जस्तो लठ्ठ बनाउने, सारङ्गीको धुनझैँ मन नचाउने ।

कति बुझेर कति नबुझेरै टाउको हल्लाउँथे म, तिम्रो शिशु स्पर्शले उसै मोहक बनाउँथ्यो मलाई कताकता काउकुती लगाएर । तिमी थियौ नै त्यस्तै आँखामा सिङ्गै लुकाउँदा पनि पटक्कै नबिझाउँने । अचम्म धुलोको सानो कण समेट्न नसक्ने आँखा थाहा छैन तिमीलाई कसरी समेट्थ्यो निर्लिप्त पार्दै आफूमा टाँसेर ।

तिमीलाई थाहा छ स्मृति प्रसूति गृह थापाथलीको भव्य गृहभित्र अँध्यारो रातलाई धमाधम पोल्टामा बत्तीहरूले बटुल्दै गर्दा रातको एघार बजेर सैंतीस मिनेट जाँदा तिमीले यो स्वर्णिम धर्तीमा आफ्नो अबोध आँखा खोलेकी थियौ, जलकुण्डबाट धर्तीलाई स्पर्श गर्दा तिम्रो ललित ओठ फट्टिएका थिए, च्याँ को आवाजसँगै । यो मेरो मात्र कल्पना हो, किनकि तिम्री आमा बेहोश थिइन् म भने इमर्जेन्सी वाडको ढोकामा घरि यता घरि उता, केही हराएको मान्छेझैँ बेचैनीमा छटपटाइरहेकी थिएँ कारण मलाई भित्र जान प्रतिबन्ध थियो ।

म चाहन्थेँ छिटोभन्दा छिटो भेटूँ तिमीलाई, अँगालौ, खोकिलामा नफुत्कने गरी कसौँ मायाको कसिलो बन्धनले, तर यी त सब सम्झने कुरा न थिए । तिमीले धर्तीमा पदार्पण गरेको खवर एउटी नर्सले दिँदा म आँ गरेको गर्यै भएकी थिएँ मुखबाट वाक्य ओकल्न नसकेर । तिम्रो प्राप्ति, वाह ! कति मीठो आनन्द, प्यारो अनुभूति, रौँ–रौँमा रोमाञ्चित हुने परिवेश । सायद पहिलो पल्ट नयाँ मान्छेको आगमनमा सबैलाई यस्तै हुँदो हो कि ?

खबर पाएको एक घन्टासम्म तिमीलाई वार्डबाट निकालिएन, हुन सक्छ तिम्री आमाको स्वास्थ्य राम्रो थिएन होला । तिमी त पारदर्शी काँचको सिसामा करेन्टको कृत्रिम न्यानो पाएर आनन्द विभोर भएरै निदाइरहेकी हुँदी हौ तर त्यो एक घण्टा, एक सय वर्ष जस्तो भएको थियो मलाई । तिमी आमा छोरीलाई भेटने पर्खाइको प्रतीक्षामा । साँच्चै पर्खाइको पीडा अझै मीठो पो हुँदो रैछ । एकघन्टा पछि तिम्री आमालाई ह्विलचेयरमा राखेर र तिमीलाई कपडामा गुटुमुट्याएर ढोकाबाट निस्केथे नर्सहरू । ढोकाबाट बाहिर निस्कने बित्तीकै तिम्रो न्यानो आफ्नोपनको हस्को स्वार्र आयो मेरो मनमा र त नर्सको हातबाट खोसेँ तिमीलाई आफ्नो खोकिला भर्न । तिमी पाकेको गोलभेडा जस्ती राती थियौ असाध्यै, आँखा बन्द नै थिए त्यति बेला । सानु मुख हल्का फट्टयाएर जिब्रो निकाल्यौ सायद आमाको स्तन र त्यसको स्वाद खोजिरहेकी थियौ कि कुन्नि ?

जीवनमै त्यो पहिलो अनुभव थियो मेरो, मान्छेको कलिलो बच्चा देख्नु, नजिकबाट स्पर्श गर्नु र आफ्नो खोकिलामा बोक्नु, बाहिरी मनले मात्र हैन भित्री आत्मादेखि नै तिमीलाई अङ्ग–अङ्ग चुमिरहेकी थिएँ म । तिमी असाध्यै प्यालप्याले यसो भनौँ गवरा लागेको केराको पोथ्रा झैँ थियौ जता समाउँदा पनि कुहिएको फर्सीजस्तो । तै पनि मलाई बडो आनन्द आएथ्यो तिमीलाई सुम्सुमाउनु र बोक्नुमा एउटा अनौठो आत्मसन्तुष्टि ।

प्रकृतिको नियम, मेरो साइनो थपिएको थियो, म पनि आमा भएकी थिएँ सानीआमा यानेकी सानीमा । ओ हो कस्तो होला टुकुटुकु गर्दै संघार ठेलाबाट बाहिरभित्र हुँदै सानीमा भनेर तिमीले बोलाएको क्षण । गाउँका दौतरीले “अब त तँ पनि आमा भइस् नि ।” भन्दै घोचपेच गरेको समय । कल्पनैमा म लाजले भुतुक्क हुन्छु । साँच्चै म बूढी भएँ कि अलिकति अप्ठेरोले गिजोल्छ कताकता भित्रैबाट त्यहीपल ।

तिमी र तिम्री आमालाई वार्डमा लगेर राख्दा रातको साढे बाह्र भएथ्यो । गार्डले मलाई भित्र बस्न दिएन, तिमी दुर्ईलाई वार्डमै छाडेर म अस्पताल बाहिर कम्पाउन्डमा रात बिताउन विवश थिएँ । सिङ्गो जिन्दगी नै अनुभव र अनुसन्धानको एउटा श्रृङ्खला हो भन्छन् । हो मैले पनि अर्को नयाँ अनुभव बटुलेँ अस्पताल बाहिर रात कटाएर त्यो पनि भोकभोकै ।

अझै पनि सम्झना छ चिसो रात, एउटा पातलो सलको भरमा खाली पेट, समय बिताउन मुस्किल त भएथ्यो नै तर भोलिको कलिलो सूर्योदयसँगै तिमीलाई भेट्न पाइने, तिमीसँग नजिकिन पाउने मीठो प्यासमा भोक, निन्द्रा, थकाइ, अप्ठेरोपन सबै पिएकी थिएँ तनतन ढुक्कैसँग । अनगिन्ती अप्ठेराहरू, असङ्ख्य सकसहरू नौनीझैँ कोमल र रसवरी जस्तो रसिलो भएको थियो तिम्रो आगमनमा । एउटा मीठो अनुभूति, उमङ्गको क्षण पारिलो थियो समय उसैउसै तिम्रो प्रतीक्षामा ।

बिदाइ गर्दाको र गुमाउनु पर्दाको क्षण भन्दा चौगुना बढी आनन्दित हुन्छ प्राप्त गर्नुको अनुभूति । हो स्मृति ! हामीले तिमीलाई पाएका थियाँै, स्विकारेका थियाँै र थियाँै भेटेका । न्वारानमा पुरेतले तिम्रो नाम जे सुकै जुराए पनि मेरो आफ्नो मनोमानीमा स्मृति राखेँ मैले । किनकि म चाहन्थेँ तिमी हाम्रो परिवारको मात्र होइनौ सारा संसारकै मीठो स्मृति बन्ने छौ । तिम्रो हजुरबाबा र आमालगायत सपरिवार साथमा मावलीका हामी सबै खुसीले उसै पुलकित भएका थियौँ । सबैको आँखाको ज्योति, मुटुको ढुकढुकी थियौ तिमी । तिमी एक सेकेन्ड रोयौ मात्र भनेपनि उछिटिन्थ्यो हाम्रो मुटु बाहिरै ।

किन किन तिमी अति प्यारी थियौ, मायालु थियौ र थियौ स्नेही । कसोकसो मसँग अलि बढी नै झ्याम्मियौ पनि, हाम्रो पहिलो जुनीको नाता नै थियोझैँ गरेर । श्रावणको भेल झैँ बयली खेल्दै उठेको रूवाइको हिक्का मेरो सुमसुमाइले ह्वात्तै घट्थ्यो श्रीकृष्णलाई गोकुल पुराउँदा यमुना सुकेझैँ गरी । मेरो छातीको स्पर्शले उसै तिमी खिलखिलाएर हाँस्थ्यौ कति मोहक, मोहनी हुथ्यो त्यो हँसाइ । सारा पीडालाई निचोरेर सुकाउने ।

सबैको हातहातमा नाच्थ्यौ तिमी अमूल्य हीराझैँ बनेर, के कम थियो हीरा र तिमीमा तिम्रो चमक सूर्यको गुलावी किरणभन्दा उत्तम थियो र त त्यसैको रापिलो प्यारमा उसिनिन्थ्याँै हामी सबै परिवारका सदस्य खलखल पसिना छुट्ने गरी । आँखामा तिम्रो तस्विर, कानमा हँसाइको झन्कार, हृदयमा मायाको प्रलय, चाहनामा तिम्रो आफ्नोपन, आहा कस्तो मदहोशी हुँदै थियो हाम्रो समय ।

अभाव, दुःख पीडा कुन चराको नाम हो सम्झन छाडेछौँ तिम्रो सामीप्यतामा । थियो त केवल खुसी, उन्मादी अनि आत्मासुखानुभूति, प्यारिलो संसार । तिमी पाँच महिनाकी भयौ तर हामीले मात्र पाँच दिनको अनुभव गर्याँै । यस्तो लाग्थ्यो दिन र रात दुई पाटा बोकेर समय हाम्रो अगाडि पटक्कै चियाएन, आयो त मात्र सूर्योदयको दिन बोकेर, जुनेली रात साथमा लिएर तिमीलाई नचाउँदै, हँसाउँदै र खिलखिलाउँदै अनि तिमीमा शारीरिक परिवर्तनको भुल्का छुटाउँदै ।

जूनको शीतलता, ताराको चम्काहट, सूर्र्यको उज्यालो, इन्द्रेणीको सुन्दरता फूलको सुवास, झरनाको मीठो ध्वनि सबका सब तिमीमा लिहिन हुन्थें जब तिमी मेरो काखमा आएर नाच्थ्यौ । तिमीसँग खेल्दा, तिमीलाई नचाउँदादेखि लिएर तिमीलाई खाना खुवाउँदा समेतको मीठो अनुभूति छ मसँग । तिमी लिटो नखाएर सताउँथ्यौ तिम्री आमालाई तर जब मेरो स्पर्श पाउँथ्यौ कुन्नि किन त्यही लिटो सुदामाको कनिका कृष्णले अमृत मानेर मुक्काएजस्तै गर्थ्यौ तिमी ।

चन्द्रपक्षको चन्द्रमा जस्ती तिमी चम्किलो बन्दै गयौ हाम्रो आँखाभरि, मनभरि अनि तनभरि …….. । तिम्रो आगमनमा हामी ज्यादै हर्सोल्लासमय भएका थियाँै । यस्तो लाग्थ्यो समय नामको घोडाको सारथी हामी स्वयम् हौँ जसलाई आफ्नो मुठ्ठीमा कसेका छौँ चाहेको बेला दौडाउन सक्ने गरी तर…….. ।

सबै खुसी, सबै रहर कहाँ जीवन्त रहँदा रैछन् र ? दिनसँग फुर्के झुन्डाएर कालो रात पनि लस्किदो रै‘छ मन अँध्यारो बनाउँदै, पूर्णिमाको चाँदलाई ग्रहणले ढपक्क छोप्दो रै‘छ उज्यालो पराजित गरेर त्यसो त सधैँ अरूलाई प्रकाश बाँड्ने सूर्य पनि बादलको घुम्टोभित्र निसासिन विवश बन्दो रहेछ आफ्नो उज्यालोको खोजीमा ।

सायद यी सबै तीतो धु्रवसत्य यथार्थवादी भैपरी आउने घटनाको अनुमान लगाउन नसक्नु गल्ती हाम्रै हुनुपर्छ त्यसमाथि पनि म जो तिम्रो प्राप्तिमा विश्वलाई मुठ्ठीमा लिएको कल्पना गर्दै चन्द्रमामा बायुपंखी घोडा कुदाएको परिकल्पनामा रमाउँथे तिमीलाई अगाडि राखेर । मलाई थाहै थिएन स्मृति त्यो घोडाले मलाई पृथ्वीमा खसालेर मात्र तिमीलाई लैजान्छ भन्ने कुरा । म संसार जित्छु भन्थँे तर संसारले मलाई हराईसकेछ नराम्रोसँग पछारेर ।

सोचाइ र भोगाइको अन्तरद्वन्द्वमा म नराम्रोसँग पिसिएछु घट्टमा मकै पिसिएझैँ । खुसीको सगरमाथामा अर्को एउटा सुनामी ह्वात्तै आयो सारा उमङ्ग निमिट्यान्न बगाउने गरी । हरियाली उर्वरा मनको फाँट छिनभरमा मरूभूमि बन्यो मात्र तातो बालुवाको मुस्लो उठेर, सपना सजिने आँखामा निर्लज्ज बूढी गण्डकी सुसायो भित्रभित्रै दबिएर । हिउँमा लागेका आगो र आगोबाट निस्केको पानी बढी खतरनाक हुन्छ भन्थे बूढापाकाहरू साँच्चै जब मनको सगरमाथामा आगो लाग्छ र त्यही आगोबाट पानी निस्कन्छ भने अति पीडा हुन्छ त्यो पानी पिउनुमा । बरू सजिलो हुन्छ बिष पिउन ।

हो स्मृति दुर्ईहजार पचाससालको श्रावण महिनामा पानी आरीले घोप्टाएकोझैँ वर्सिरहेको थियो । म निथ्रुक्क भिज्दै ट्युसनबाट घर फर्किएकी मात्र थिएँ मलाई हतार थियो त्यो दिन तिमीलाई भेट्न जानको लागि । प्रत्येक हप्ताको शनिबार मेरो रूटिङ्ग नै हुन्थ्यो तिम्रो घरसम्म धाउँनु । तिम्रा परिवारले रूचाउनु वा नरूचाउनुमा कुनै चासो नै थिएन म मात्र जान्थेँ तिम्रो लागि, तिमीलाई भेट्न । कहिँ जानु पर्दा खाना पटक्कै नरूच्ने बानी, आमाले कति मायाले पस्किनुदिनु भएको खाना बसेर खाने फुर्सद मलाई कहाँ म जहाँ थिएँ मन त्यहाँ पटक्कै थिएन हतारपनले प्रशस्त गिजोलेर भर्याङमा उठी उठी भातको गाँस एकपछि अर्को चाङ लगाउँदै थिएँ म । श्वास नै थुनिएला जस्तो गरेर ।

मेरो चुलबुलता, चञ्चलताले लामो समय स्थान जमाउन सकेन, बजार जानु भएको बुबा युद्ध हारेर फर्केको सिपाइझैँ लखतरान भएर फर्की पिंढीमा बस्नु भो टुसुक्क । उहाँले आमासँग गरेको कुरा हल्का ठोक्किन आयो मेरो कानसम्म र त थाहा नपाई हातको भातको थाल बाख्राको खोरमा पुग्यो । म जे सुन्न चाहन्न थिएँ, जे कल्पना गर्न सक्दैन थिएँ हो त्यही भोग्नु पर्यो ।

मलाई एक्लै छाडेर तिमी सुटुक्क जुन मामाकहाँ सदाको लागि गइसकेछौ म कसरी सहन सक्छु यति ठूलो बज्रप्रहार । तिम्रो र मेरो त्यो माया, त्यो आफ्नोपन, त्यो ममताको डोरी चुडिनु भनेको आकाश खसे भन्दा ठूलो भयो मेरा लागि । शरीरमा लागेको घाउ जति गहिरो भएपनि सहन सक्थँे म र मलम लगाएर निको पनि बनाउन सक्थेँ तर बिडम्वना मनमा लागेको घाउ भित्रभित्रै पाक्दै, दुख्दै र खोलिदै गयो जसको पीडामा फत्र्याक फत्र्याक परी छटपटाइरहेँ अरू विकल्प थिएन मेरो । तिम्रो सम्झना, याद, झझल्को मनभरि पालेर नीरस, उदास जीवन बाँच्नु त छदँै थियो बस बाँचे स्मृति एउटा जिउँदो लासजस्तो बनेर । शरीर थियो सञ्चालन थिएन, आँखा थिए दृश्य थिएन, कान थियो श्रवण शक्ति थिएन, मुटु थियो ढुकुढुकी थिएन, मन थियो उमङ्ग थिएन, रात थियो निदरी थिएन, दिन थियो उज्यालो थिएन । यस्तै यस्तै भयो मेरो लागि । के थियो के थिएन म थिएँ बस् मेरो चेतना पटक्कै थिएन ।

समय कहिले कसरी चिप्लियो, चिप्लियो मलाई धेरै पछाडि छाडेर, जहाँ थिएँ जस्तो थिएँ त्यस्तो नै भैरहेँ । ममा कुनै परिवर्तन आउन सकेन । के बन्छु के हुन्छु भन्ने सपना थियो ती सबै तिमीसँगै क्षितिजमा बिलायो । तिम्री आमा त केही समय घायल बनिन् । एकवर्ष पछि समयले उनको पोल्टामा तिम्रो भाइ राखिदियो र तिम्रो सम्झना अनि यादहरू मनबाटै निकालेर फालिन् होला । हुन त जानेहरूलाई सम्झेर साध्य हुन्न तर कुन्नि किन मैले भने भुल्न सकिन । तिमीले स्थान बनाएको मुटुको कुनामा तिम्रो भाइले ठाउँ ओगट्न पटक्कै सकेन र त खाली नै भइरह्यो ।

तिम्रो मृत्यु पश्चात् त्यो गाउँ, त्यो ठाउँमा अहँ मैले पाइला टेक्न चाहिनँ, कसरी सक्छु म त्यो घरभित्र पस्न ? तिम्रो अभाव छातीको भित्ताबाट राप्ती बनेर बग्न थालेपछि, जति जति समय बित्दै गयो तिम्रो याद गाढा बन्दै गयो । वसन्त आयो शिशिर आयो समयले कोल्टे फेर्यो तर मेरो हृदयमा लागेको घाउमा मलम कहिल्यै लागेन । त्यस्तो कुनै चीज थिएन जसले घाउ निको होस् ।

अब त तिम्रो भाइ पनि बाह्र वर्षको भइसक्यो, जब म उसलाई सामु देख्छु फेरि मुटु कोपर्न सुरू गर्छ तिम्रो यादले । हो स्मृित, तिमीलाई अरूले भुले पनि, बिर्सेपनि म तिम्रो यादमा हराइरहेको छु, आफ्नो गन्तब्यबाट धेरै टाढा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “कलिलो मनका यादहरूमा”

  1. साँच्चै भावहरूले उन्मुक्त लेख
    साँच्चै भावहरूले उन्मुक्त लेख छ । पढ्दा टड्कारै लाग्छ हृदयबाट निस्किएको भावना सिधै सुनिराखिएको छ । प्रस्तुति बेजोड छ । स्मृति मृत्युभैसकेको कुरा, म पात्र सानिमा (अनि महिला)भएको कुरा आदिको रहस्योद्घाटन स्वादिलो लाग्यो । लेखमा काल्पनिकताभन्दा वास्तविकताको स्वाद अधिक झल्किन्छ । रचनाको लागि धेरै धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *