तारानाथ शर्मा
प्यारिसकी पोक्ची
प्यारिस टेकेको तीन घण्टापछि सेन नदीको सौन्दर्यमा आफूलाई सम्पूर्ण रुपले हराएर रु दु पोएँ नेफ्को साँघुमाथि म उभिएको थिएँ। उत्ताउला न उत्ताउला रङ्ले ठाँटिएर कुर्सी भरिभरि बसेर कराइरहेका र रक्सीले टुन्न भइरहेका असङ्ख्य पर्यटकहरुलाई जिउभरि स्याउँ-स्याउँती सलबल्याउँदै ललामा यन्त्रचालित नाउहरु ममुनिबाट ओहोर-दोहोर गरिरहेका थिए। अल्छी पाराले म असंख्य मोटरहरु दगुरेको कुरालाई ध्यानै नदिएर पेटीपेटी उत्तर फर्किंदै गएँ।
