ठीक ५७ वर्षअघि इलाम जिल्लाको फिक्कल भन्ने रमणीय स्थानको हाम्रो घरबाट मेरो पिताले मलाई अंग्रेजी महाविद्यालयमा भर्ना गराउन भनेर दार्जीलिङ लानुभएको थियो । गाडीबाट चोक बजारमा ओर्लिनेबित्तिकै हामी बाबुछोराले उच्च स्वरमा एउटा गीत सुन्यौँ ।
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमालचुचुरा
गम्केर बजाऊ खैँजडी नाच मुजुरा ।
त्यो स्वर हाम्रा आदरणीय जनकवि धर्मराज थापाको थियो । वास्तवमा भर्खरै इतिहासमा सर्वप्रथम हाम्रो सर्वोच्च शिखर सगरमाथामा मनुष्यपाइलाहरूले टेक्ने सौभाग्य पाएका थिए र पहिले त्यस चुचुरामा टेक्न पुग्ने व्यक्ति हाम्रै सोलुतिर जन्मेका तेन्जिङ शेर्पा थिए, जसले सँगै अभियानमा संलग्न न्युजिल्यान्डबासी एड्मन्ड हिलारीलाई पनि तानेर आफूसित शिखर कुल्चन हार्दिक सहयोग गरेका थिए । तेन्जिङको महान् उपलब्धिमा मख्ख पर्दै र गर्व गर्दै म र मेरा पिता भाडाको गाडीमा चढी उत्तरविन्दुस्थित सन्त जोसेफ नामक अंग्रेजी मातृभाषा हुनेहरूले सञ्चालन गरेको प्रसिद्ध महाविद्यालयमा पुग्यौँ । सरकारी महाविद्यालय नगरबाट नजिक भए पनि र त्यहाँ प्रवेश सरल र सुविधायुक्त भए पनि पिता मलाई सन्त जोसेफमै पढाउन चाहनुहुन्थ्यो । त्यस महाविद्यालयमा पढाउने बहुसंख्यक शिक्षकहरू अंग्रेजी मातृभाषा भएका र त्यहाँ पढ्नेहरू पनि उच्चवर्गीय हुनाले राम्रो र स्तरीय अंग्रेजी संस्कार र ज्ञानसित मेरो पूर्ण परचिय हुनेछ भन्ने उहाँको पूरा भरोसा थियो ।
हो, शिक्षकहरू क्राइस्टेली धर्मगुरु भए पनि त्यसबेला त्यहाँ बेलायतका राजघरानादेखि लिएर ठूल्ठूला सामन्ती परिवारबाट विरक्त भई क्राइस्टेली धर्मका पछि लागेका व्यक्तिहरूकै प्राधान्य थियो । धर्मगुरुमा सद्भाव हुनुपर्ने तर तीमध्ये कति सामन्ती व्यवहारमा चुर्लुम्म डुबेका थिए र आफूलाई माथ्लो तहका मान्ने गर्थे । अमेरकिा, फ्रान्स, क्यानाडा र बेल्जियमबाट आएका मध्ये पनि कुनै राजकुमार तथा कुनै धनीमानी मातापिताका पुल्पुलिएका सन्तान थिए । त्यसका साथै त्यस महाविद्यालयको दसौँ श्रेणीसम्मको पठनपाठन बेलायतको केम्ब्रिज विश्वविद्यालयको रेखदेखमा भएकाले त्यहाँ उच्चवर्गीय सामन्तका छोराहरू नै धेरै हुन्थे र त्यहीँ नेपालका तत्कालीन राजकुमारहरू वीरेन्द्र र ज्ञानेन्द्र पनि पढ्दै थिए ।
मेरा पिता त्यसैबाट प्रभावित हुनुहुन्थ्यो । उहाँ सामान्य सरकारी जागिरमा भए पनि आफ्नो छोरालाई पूर्णरूपले अंग्रेजी जान्ने विद्वान् बनाउने दृढ इच्छा गर्नुहुन्थ्यो । हुन पनि केही वर्षअघि सरकारी कर्मविशेषले उहाँलाई इलामका बडाहाकिमले कोलकाता पठाएछन् । त्यहाँ ट्राम जाने निश्चित स्थानविशेषमा अल्मलिएकाले उहाँले छेवैमा उभिइरहेका एक टोप, सुटबुट र टाईधारी अंग्रेजलाई विनम्रतापूर्वक हिन्दीमा फलानो ठाउँ पुग्न कुनमा चढ्ने भनेर सोध्न पुग्नुभएछ । उसले अभद्रतापूर्वक ‘तिम्रा आँखा छैनन्, देख्दैनौ ? त्यहीँ लेखेकै छ नि !’ भनेछ ।
त्यही लेखेको अंग्रेजी पढ्न नजानेर नै उहाँले सोध्नुभएको थियो तर त्यस अशिष्ट कुइरेले उहाँलाई साह्रै नराम्ररी भनेपछि उहाँले बर्रर आँसु खसाल्दै मनमनै प्रतिज्ञा गर्नुभएछ ः “म मेरो ठूलो छोरालाई अब संस्कृतबाट छुटाएर अंग्रेजी नै पढाउँछु !”
अनि, उहाँले फिक्कलमै अंग्रेजी विद्यालय खोल्नुभयो र मलाई सधैँ भन्नुभयो ः “बाबु तारा ! तँ आफँैले मात्र अंग्रेजी पढेर पुग्दैन, तेरा भाइबहिनीलाई मात्र होइन, सारा गाउँलेलाई पढाउनुपर्छ । र हेर् बाबु ! तँ यसरी अंग्रेजी सिक्, जसले गर्दा पछि गएर यी अंग्रेजहरूलाई नै अंग्रेजी पढाउन सक् । त्यसो गरसि् भने अन्तिममा मेरो सास सजिलै र आनन्दसाथ जानेछ ।”
त्यसैले म सन्त जोसेफ महाविद्यालयमा भर्ना भएँ तर पहिलो कक्षामै मैले एउटा तीतो अनुभव गर्नुपरेको थियो । मेरो कक्षामा ४० जना जति थिए र तिनमा छात्राहरू पनि निकै थिए । छात्रछात्राहरू धेरैजसो केम्ब्रिज विश्वविद्यालयको परीक्षामा उत्तीर्णहरू नै थिए, जसको अंग्रेजी राम्रो हुन्थ्यो ।
यस्तैमा एक जना अंग्रेज पादरी लामो झ्याम्लाङे कालो जामा लगाएर कक्षाभित्र प्रवेश गर्दा सबै जनाले उठेर अभिवादन गरे, “शुभप्रभात, पिताजी !”
म बायाँतिरको अघिल्लो आसनमा बसेको थिएँ भने दायाँतिरको अघिल्लो आसनमा उच्चवर्गीय छात्राहरू टिमिक्क परेर मेरो नेपाली टोपीलाई खिसी गर्दै बसिरहेका थिए । उनी अंग्रेजी कविता पढाउने शिक्षक रहेछन् तर उनको दृष्टि झ्वाट्ट मेरो ढाकाको टोपीमा परहिाल्यो । (यहाँ स्पष्ट पारहिालूँ । प्रवेशिका पढाउने विद्यालय विभागमा अनिवार्य रूपले विशेष पोसाक लगाउनैपर्ने व्यवस्था भए पनि प्रवेशिकापछिका उच्च कक्षाहरूमा सो नभएकैले मैले आफ्नै राष्ट्रिय पोसाक लगाएको थिएँ । कमानतिरबाट आएका नौ-दस जना नेपाली छात्रहरूले टोपी नलगाए पनि दौरा वा कमेजसित सुरुवालका साथ कोट लगाएका थिए र दुई-चार केटीहरूले हाम्रै सारीचोला लगाएका थिए ।) ती शिक्षकले शिष्टतासमेत बिर्सेर नमीठोसँग मतिर औँल्याउँदै काँठे अंग्रेजीमा भने, “यू च्याप, टेक अफ योर ह्याट ! डोन्ट यू ह्याट्स् आर टेकन अफ इन क्लासेज ? (अर्थात्, ए ठिटा, तिमी टोपी फुकालिहाल, कक्षाभित्र टोपी लगाउनु हुँदैन भन्ने तिमीलाई थाहा छैन ?)”
मलाई भाउन्न भयो तर रसिलाई नियन्त्रण गरेर मैले पछिल्तिर हेरेँ । एउटा शिख केटाले टाई र सुटमै पनि फेटा गुथेको रहेछ । मैले तुरुन्तै उस्तै अंग्रेजीमा उत्तर फर्काएँ, “फादर, ह्वाई डोन्ट यू आस्क् द्याट च्याप टू टेक अफ हिज ह्याट ? (पिताजी, किन तपाईं त्यस गाउँले केटालाई उसको टोपी फुकाल्न भन्नुहुन्न ?)”
केम्ब्रिज उत्तीर्ण गरेकी मै हुँ भन्ने एउटी सामन्ती केटीले मलाई व्यंग्य गरी, “त्यो त उसको राष्ट्रिय पोसाक हो ।”
सबै जना गलल्ल हाँसे । अनि, मैले पनि उच्च स्वरमा भनेँ, “त्यो राष्ट्रिय पोसाक हो भने मेरो टोपीचाहिँ के हो नि ? म झन् विश्वको सर्वोच्च शिखर भएको स्वतन्त्र राष्ट्रको नागरकि हुँ, जुन राष्ट्र कुनै विदेशीको अधीनमा कहिल्यै परेन, बुझ्नुभो, यो मेरो टोपी सगरमाथाको प्रतीक हो । हामी कक्षाभित्र अथवा कुनै पनि औपचारकि भेलामा सगरमाथाको अपमान गर्दै मुडुला बस्तैनौँ । कोही मर्यो भने मात्रै हामी हाम्रो पवित्र टोपी फुकाल्छौँ । पिताजी, के यहाँ कोही मरेको छ र म मेरो पवित्र टोपी फुकालूँ ? के तपाईं मलाई सगरमाथा नै ढाल्ने सल्लाह दिनुहुन्छ ?”
गाउँले भुच्चुक भन्ठानिएको ठिटाले धाराप्रवाह अंग्रेजीमा अकाट्य तर्क प्रस्तुत गरेपछि ती शिक्षक चुइँक्क बोल्न सकेनन् । त्यसरी मेरो राष्ट्रिय गौरवको रक्षा गर्ने सानै भए पनि मैले सौभाग्य पाएको थिएँ । र, यस्तो राष्ट्रिय गौरव राख्ने मौका सधैँ मिल्यो भने मलाई पुग्यो, अरू केही चाहिँदैन ।
नेपाल साप्ताहिक ३९९
