Skip to content

के सबै भत्किएकै हो त?

  • by

के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ
नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ
समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन्
समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१)

नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु
इतिहास उज्यालो छ वीरताको म ठान्दछु
तर आज अहो हाम्रो हिमालै ढुन्मुनाउँछ
हत्याआतङ्कले गर्दा मुटु नै ढुक्ढुकाउँछ (२)

गाउँबाट सबै भागी थुप्रिए राजधानीमा
धेरैजसो काम खोज्दै भासिए परदेशमा
जो भाग्न सक्तथे भागे, नभाग्ने पिटिए सब
लुटिए, मारिए रित्तो भयो नेपालगौरव (३)

लूटमार गरी जोजो चिनिए उग्र नाममा
राजधानी आइसके धेरै धाकरबाफमा
साझा यो फूलको बारी फुटाए सब भत्कियो
टुक्राटुक्रा भयो राष्ट्र घृणाको भाव रन्कियो (४)

एकता कसरी फेरि ल्याउनु यस देशमा?
भावना कसरी भर्नु सहयोग र प्रेममा?
सर्वत्र मनमा सल्क्यो डढेलो उग्र दन्दनी
नदीनाला सबै सुक्ता फैल्यो सर्वत्र सन्सनी (५)

मरुभूमि भयो राष्ट्र जनता अब आत्तिए
घुस्याहा र भ्रष्ट स्वार्थी जति छन् सब मात्तिए
अनुशासन नै छैन, ऐन छैन कतै पनि
विकासको नाम छैन, अभावै छ जता पनि (६)

बिजुली बत्ती नै छैन, छैन तेल र चामल
खाने पानी नपाएर शरीरै हुन्छ ढल्मल
छैन, छैन, कतै छैन बाँच्ने आधार हल्लियो
सप्तरङ्गी राष्ट्रघाती दैत्यले राष्ट्र डल्लियो (७)

शक्तिको कुर्सीमा बस्ने जति छन् आज देशमा
लोकतन्त्र भनी नित्य कुर्लन्छन् छद्मभेषमा
वास्ता चाहिँ कतै छैन लोककल्याण गर्नमा
विदेशी तालमा नाच्छन् स्वामीकै लागि मर्नमा (८)

के सबै भत्किएकै हो त? मनमा हुरी चल्दछ
कालभैरव नै उठ्छन् शिवको नेत्र बल्दछ
ढल्दैन राष्ट्र नेपाल दह्रो आत्मा छँदै छ यो
अनन्तसम्म बलियो हाम्रो यो देशको हियो (९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *