Skip to content


केही महिनाअघि मैले मेरा आदरणीय पाठकहरूसमक्ष ‘भ्वाङको महिमा’ प्रस्तुत गरेको थिएँ। त्यस लेखमा म आधुनिक विचारमा सीमित भएर मोटर र रेलहरू चलाउन मिल्ने पहाड र भुइँमुनि खनेर बनाइएका दुले बाटाहरूकै महत्ता गाउन तम्सेको थिएँ। हुन पनि न्युयोर्क, लन्डन, टोकियो र ताइपेईजस्ता महानगरीमुनिमुनि घुइँकिएका रेल र मोटरगाडीका वेगमय र आरामदायी अनुभवबाट नै अत्यन्त प्रभावित हुँदै आफ्नै देशका चन्द्रशमशेर राणाद्वारा निर्मित चुरे पहाडको गाडी छिर्ने सुरुङलाई सम्झन र प्रशंसा गर्न म त्यस लेखमा सुरिएको थिएँ।

इतिहासलाई फेर्नु हुँदैन र सकिँदैन पनि। तिनै चन्द्रशमशेर हुन्, जसले हाम्रो समाजबाट सतीप्रथालाई सधैँका लागि बिदा गरे। उनले त्यस महान् कार्यलाई साहससाथ सम्पादन नगरेका भए आज पनि कतिपय पत्नीहरू आफ्ना पति मरेपछि तिनका शवसँग जिउँदै डढेर प्राणत्याग गर्न विवश हुने थिए। त्यति मात्र होइन, नेपालभरि कमाराहरू किनिन्थे र बेचिन्थे। सामान्य मालमत्ताजस्तै किनबेच हुने र निरीह गोरुझैँ निर्ममतापूर्वक जोतिने करयिाहरूलाई मुक्त गरेर (अर्थात् अम्लेख गरेर) तिनै राणा प्रधानमन्त्रीले ‘अमलेखगन्ज’ बसाए र तिनीहरूको स्वतन्त्र जीविकाको व्यवस्था गरििदए। ‘त्रिचन्द्र कलेज’ खोल्ने, फर्पिङबाट बिजुली निकाली हाम्रो राजधानीलाई ‘चन्द्रज्योति’ले झिलिमिली पार्ने अनि भीमफेदीबाट मोटरहरू बोकाई उपत्यकामा मोटरगाडीहरू गुडाउने व्यवस्था पनि उनैले गरेका थिए। उनले धेरै राम्रा कामहरू युगौँअगाडि गरेका थिए। मेलम्चीबाट सुरुङमार्फत कलकल गर्ने नदी छिराई उपत्यकालाई पानीको छेलोखेलोद्वारा समृद्ध बनाउने उनको साह्रै प्रशंसनीय योजना थियो तर उनी त्यस कार्यको व्यवस्थापनअगावै कालकवलित भए।

संयुक्त राज्य अमेरकिाको मिसिगन राज्यबाट वासिङ्टन डीसीतर्फ मोटर हाँकेर जाँदा अलेगेनी पहाडको मुटु छेडेर बनाएका विशाल दुलाहरू भित्रभित्रै कुदेपछि अर्कापट्ट िपुग्दा देखिएका पहाड र ती पहाडका रमणीय गाउँहरू हेरेर नेपाल सम्झँदै धेरै बेर रोएको आज म सम्झन्छु। हाम्रा पहाडहरूलाई पनि छेडेर, भ्वाङ पारेर र ती दुलाहरूमा सुन्दर चिप्ला मोटरका बाटाहरू बनाएर गाडी कुदाउन पाए कस्तो रमाइलो हुन्थ्यो होला ! अहिले हाम्रो काठमाडौँका चौबाटाहरूमा बस, ट्रक, मोटर र भट्भटेहरू थुप्रिएर र धुइरिएर घन्टौँअगाडि सर्न नपाउँदा यहाँ पनि भुइँमुनि भ्वाङ पार्नुपर्ने वा माथिमाथि साँघु बनाएर गाडीका आवतजावतलाई सुविस्तापूर्ण बनाउन सकिन्थ्यो नि भन्ने भावना जाग्छ तर मूलसडकका साँघुरा निकास अनि खाल्डाखुल्डी देखेर अत्यास लाग्छ। यस देशमा अर्को चन्द्रशमशेर किन नजन्मेको नि भन्ने पीडाबोध हुन्छ।

यता आएर केही व्यक्तिहरूले गाडीहरूको अत्यधिक चाप र घचारो देखी तथा प्रशस्त समय र इन्धन नष्ट भएको बुझी हेटौँडाबाट पहाडहरूमा भ्वाङ पारी काठमाडौँ छिराउने वा नभए नौबिसेदेखि थानकोटसम्म छेडेर सवारीसाधनहरूका प्रयोगकर्ताहरूलाई सुविधा प्रदान गर्ने गफ छाँटेको निकै भयो। यस्ता गफी र कुरौटेहरूबाट एउटा झिँगो पनि मर्दैन, जनताले ढुक्क भए हुन्छ।

तपाईंहरू भन्नुहोला, ‘हाम्रो सुरुङ खन्ने, भुइँमुनि दुलो पारेर र भ्वाङ निकालेर गाडी चल्ने बाटा बनाउने कुनै परम्परा पनि छैन, हामीसँग प्रविधि पनि छैन !’

म मान्दिनँ। बालकृष्ण सम मलाई भन्नुहुन्थ्यो, “तारानाथजी, हाम्रा एक महान् पुर्खा थिए, जसको नाम दीर्घत्तमा थियो। ती ठूला दार्शनिक र उद्भट विद्वान् थिए। १० हजार वर्षअघि ती हाम्रै काठमाडौँको शिवपुरीमा प्रकृतिनिर्मित गुफामा बसेर चिन्तन गर्थे !”

म सोध्थेँ, “प्रकृतिनिर्मित कि मनुष्यनिर्मित थियो त्यो गुफा, जसमा हाम्रा दीर्घत्तमा वेदका श्लोकहरूको रचना गर्थे? तपाईं सधैँ ओम् खम् ब्रह्म ! भन्ने महान् र पवित्र मन्त्रका बारेमा मलाई व्याख्या गर्नुहुन्छ।”

सम भन्नुहुन्थ्यो, “हो त, ओम् खम् ब्रह्म अर्थात् यो सारा विश्व ब्रह्माण्ड ब्रह्मा, विष्णु र महेश्वरले व्याप्त छ, उज्ज्वल चेतनाले व्याप्त छ र यो ऋग्वेदको मन्त्र मात्र होइन, चारै वेदको रचना यसै नेपाल पुण्यभूमिमा भएको हो।”

अनि, म दमौलीको गुफालाई सम्झन्थेँ, जहाँ वेदव्यास बस्थे, जसले चारै वेद खारेका थिए र अठारै पुराण रचेका थिए। व्यासका साथै वाल्मीकिलाई म सम्झन्छु, जसले हाम्रै नारायणी नदीका तीरको एउटा गुफामा बसेर अध्यात्म रामायणको रचना गरेका थिए। अनेकौँ महान् देवषिर् र महषिर्को तपस्याको स्थल, ज्ञानको गरिमामय ठाउँ हाम्रै ओडारहरू, सुरुङहरू, गुफाहरू र भ्वाङहरू नै थिए। त्यसो भएको हुनाले सुरुङको परम्परा नै यहाँ थिएन भन्नु अज्ञान नै हो ।

नेपाल साप्ताहिक अंक ४७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *