नेपाली साहित्यका वर्तमान कालखण्डका कुशल सर्जक बाबुराम लामिछानेको प्रशासनिक र साहित्यिक दुवै व्यक्तित्व सवल र सशक्त रहेको छ । उनी प्रशासक भएर विभिन्न जिल्लामा बस्दा अनुभूत व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका सत्यतथ्यहरू पाखाको कथासङ्ग्रहमा सहज र सम्प्रेष्यरूपमा उद्घाटित छन् ।
महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्ग्रिएर आहतआहत बाँचिरहेको छु म ।