नेपाली साहित्यका वर्तमान कालखण्डका कुशल सर्जक बाबुराम लामिछानेको प्रशासनिक र साहित्यिक दुवै व्यक्तित्व सवल र सशक्त रहेको छ । उनी प्रशासक भएर विभिन्न जिल्लामा बस्दा अनुभूत व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका सत्यतथ्यहरू पाखाको कथासङ्ग्रहमा सहज र सम्प्रेष्यरूपमा उद्घाटित छन् । प्रतिद्वन्द्वीको खोजी (२०५३) कविताकृति र हातभन्दा पर (२०६०) कथा कृतिपछि प्रकाशित कथा सर्जक बाबुराम लामिछानेको पाखाको (२०६६) भित्रका कथाहरू यस्तै खिरिला, भरिला र रसिला छन् । जम्मा एक्काइस थान कथानक भावविम्बहरू रहेको यस कथाकृतिको पहिलो भावविम्ब ‘बाबरीको महक’मा नारी अस्मिताको विज्ञापन, अस्तित्वबोधको पीडा, नारीलाई भोग्या वस्तुको रूपमा प्रयोग, नारी विज्ञापनबाट आर्थिक आर्जन, पतिको निकृष्ट स्वार्थी मनोवृत्ति, नारीप्रतिको भेदभाव र कुदृष्टि एवम् नारी मनोदशाको जिउँदो तस्बिर छ । प्रकोपमा प्राकृतिक प्रकोपको विपत्ति, मानवीय दयाहीनता, पशु र मानवबीचको अन्तर्सम्बन्ध, प्रवल जिजीविषा, आफन्तको ममताहीनता, स्वार्थी मनोवृत्ति र मानवताहीनको पराकाष्ठाको यथार्थ प्रस्तुति छ । ‘जाडो र बत्तीको राप’ मा दुर्गममा बस्नु पर्दाको असहजपन, अभाव र असन्तोषले ग्रस्त मनस्थिति, प्राकृतिक उदासीबाट उत्पन्न नीरसपन, बिरसिलो कर्मचारी जीवन, परिस्थितिको परिबन्द, राजनीतिक निकृष्टता, मदिरा र मनमायाको यथार्थ, मानसिक तनाव र असन्तुष्टिको वास्तविकता उद्बोधित छ । यौन मनोविज्ञान, नारी चाह, हठ र रतिक्रियाको उत्कण्ठा, घरज्वाइँ प्रथा, त्यसको विवशता, आत्मसम्मानमा धक्का, सांसारिक रमझमबाट विमुख एकान्तिक जीवन भोगाइको संवेदना ‘महमा भुनभुनाएको माहुरी’ मा पाइन्छ ।

त्यस्तै, ‘घाउ’ मा त्रास, करुणा र पीडामय परिस्थिति, मानवीय दुर्दशा र दुष्परिणाम, उत्तरदायित्वहीन सन्ततिको स्वच्छन्द क्रियाकलाप, युगीन यथार्थ, आफन्तको चोट, पराइको अपनत्व, आन्तरिक ग्लानि, राजनीतिक विकृति, त्यसको दुष्परिणाम, चेतना, विवेक र संवेदनाशून्य मानवीय हृदयको उदण्डता उद्घाटित छ । ‘भावार्थ ओढेर’मा जीवनको आकस्मिकता, समयको कठोरता, परिस्थितिजन्य परिवर्तनशीलता, कर्म र प्राप्ति, चाहना र भोग, बाध्यता र विडम्बना, ममता र वात्सल्य, अहम्प्रदर्शन र परिणाम, दाम्पत्य र अस्मेलता, उपेक्षा र तिरस्कार, भौतिकता र तुष्टि, नारी तुजुक र वैभव प्रदर्शनको कृत्रिमता अभिव्यञ्जित छ । ‘काँधको मान्छे’मा आकस्मिक परिस्थितिको बोझ र सामना, अन्तर्पीडा र प्रवञ्चना, त्रास र आशङ्का, पाखण्ड र बर्बरता, स्वार्थ र धुत्र्यांइँ, जीवनको कमजोरी, लोभ, लाभ र ग्लानि, काँधमा चढेको मान्छेबाट हुने पीडाबोध सम्बोधित ‘झ्यालको कारबार’मा मानवीय संवेदना, उत्तेजना, उत्सुकता, उत्कण्ठा, प्राकृतिक सुन्दरता, युवा मानसिकता, आन्तरिक मनोदशा, आकर्षण, विकर्षण, उद्वेग, यौवनजन्य जिज्ञासा, अधीरता, विषाद र परिस्थितिजन्य उदासिनता चित्रित छ । ‘नयाँ प्रारम्भ’ मा प्राकृतिक शाश्वतता, एक्लोपनको निरसता, युवा आकर्षण र कटुता, आकस्मिक संयोग र त्यसबाट उत्पन्न मनोभाव एवम् धनी र गरिब वर्गबीचको अन्तर्भाव सम्पुटित छ । ‘प्रवञ्चना’ मा यौवनको आवेग, इच्छा दमनको पीडा, चाहपूर्तिको उत्कण्ठा, जीवनको सुखदुःख, राजनीतिक जीवनको अस्मेल अवस्था, अकर्मण्यता, बेरोजगारी, दरिद्रता, नैराश्य, नारीमनोदशा, अतृप्ति, अभाव र समस्याग्रस्त जीवनको कहालीलाग्दो यथार्थ अभिलक्ष्यित छ । कथाबुनोटमा लाक्षणिकता र भावसम्प्रेषणमा व्यञ्जनात्मकताका कारण भाषिक संरचना खजमजिएको जस्तो आभास भए पनि विषयवस्तुगत बैविध्य र शैली शिल्पगत लालित्यले गर्दा पाखाको नेपाली कथा क्षेत्रको एउटा सुन्दर कथाकृति हो भन्नुमा कुनै अतिशयोक्ति हुने छैन ।

कृति ः पाखाको (कथासङ्ग्रह)
कथाकार ः बाबुराम लामिछाने
प्रकाशक ः साझा प्रकाशन
प्रकाशन ः २०६६
पृष्ठ ः १२७ + ८
मूल्य ः रु. १९५।-
मधुपर्क २०६८ बैशाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *